‘एकता महाधिवेशनबाट क्रान्तिको नयाँ खाका कोर्छौं’

‘एकता महाधिवेशनबाट क्रान्तिको नयाँ खाका कोर्छौं’

काठमाडौं । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका संयोजक मोहन वैद्य किरणले आसन्न महाधिवेशनबाट क्रान्तिको नयाँ खाका कोर्ने बताउनु भएको छ । वर्गदृष्टि र मूलबाटो डटकमलाई अन्तर्वार्ता दिंदै उहाँले यस्तो बताउनु भएको हो । उहाँले नेपालमा राजनीतिक संकट चुलिएको, देशमा जनअसन्तुष्टी चुलिएको र जनताले क्रान्तिकारी विकल्पको खोजी गरिरहेको विश्लेषण गर्दै उहाँले क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल नै नेपाली राजनीतिको एकमात्र क्रान्तिकारी विकल्प रहेको पनि दावी गर्नुभयो ।

उहाँले मंसिर १३ देखि २३ सम्म काठमाडौंमा हुने महाधिवेशनबाट नेपालमा विद्यमान राजनीतिक संकट समाधानका लागि आवश्यक पर्ने राजनीतिक क्रान्तिको कार्यभार पूरा गर्ने गरी राजनीतिक कार्यदिशाको विकास गर्ने जानकारी दिनुभयो । उहाँले पार्टीभित्र ‘माओवाद र माओविचारधारा’, जनयुद्धको मूल्यांकन, संघीयता, जातीय तथा क्षेत्रीय स्वशासन, तत्कालीन कार्यनीति लगायतका विषयमा रहेका फरक मतहरुलाई सही व्यवस्थापन गर्न आन्तरिक फोरमहरु सञ्चालन भइरहेको जानकारी दिनुभयो । यी फरक मतहरुलाई एकता–संघर्ष–रुपान्तरण, जनवादी केन्द्रीयता र सहमतीय विधिबाट व्यवस्थापन गरिने पनि बताउनु भयो ।

उहाँले नयाँ जनवादको खुड्किलो पार गर्दै वैज्ञानिक समाजवादी क्रान्तिको दिशामा अगाडि बढ्ने कार्यदिशा नै सही र वस्तुवादी रहेको भन्दै यो कार्यभार पूरा गर्न तत्कालीन नेकपा (क्रान्तिकारी माओवादी), नेकपा (बहुमत) र नेकपा (मशाल)बिच एकता भएकोले नै आसन्न महाधिवेशनलाई एकता महाधिवेशन भनिएको पनि स्पष्ट पार्नुभयो । आसन्न महाधिवेशनलाई महान बहसमा रुपान्तरण गर्दै महान संश्लेषणमा पुग्ने, निरन्तरतामा क्रमभंग र छलाङको महाधिवेशन बनाउने, वस्तुगत आवश्यकता अनुसार आत्मगत क्षमतालाई सुदृढ तुल्याउने र पार्टी र क्रान्तिलाई नयाँ उचाईमा उठाउने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले पुराना र नयाँ संसदवादीहरुबाट देशको स्वाधीनताको रक्षा र जनजीविकाका समस्याहरुको वास्तविक समाधान नहुने भन्दै संसदीय व्यवस्थाको भ्रष्ट चक्रव्यूहबाट अब देशलाई मुक्त गर्नुपर्ने बेला आइसकेको बताउनु भयो ।

उहाँले बचेखुचेको सामन्तवाद, दलाल तथा नोकरशाही पुँजीवादका विरुद्ध लडेर नेपालमा नयाँ जनगणतन्त्रमा आधारित नयाँ जनवादी व्यवस्थाको स्थापना गर्नुपर्ने अपरिहार्यता बढेर गएको विश्लेषण गर्दै संकटको समाधान क्रान्ति नै भएकोमा जोड दिनुभयो ।

उहाँले प्रचण्ड नेतृत्वको माओवादी केन्द्रले भन्ने गरेको माओवादीहरुको एकता ०८४ को चुनावको लागि भएको पनि स्पष्ट पार्नुभयो । प्रचण्डहरु यही पुरानै संसदीय व्यवस्थालाई संरक्षण गर्ने पक्षमा रहेकोले अहिले उनीहरुले गर्ने गरेको क्रान्तिकारी कुरा वास्तविक क्रान्तिकारीहरुलाई भ्रमित तुल्याउने र भ्रम जालमा पारेर आफूमा समाहित तुल्याउने चालबाजी मात्रै रहेको पनि स्पष्ट पार्नुभयो ।

उहाँले प्रचण्डहरु लगायत संसदवादी कम्युनिस्टहरुले दिने गरेको समाजवादको नारा नेपाली कांग्रेसले भन्ने गरेको प्रजातान्त्रिक समाजवादभन्दा फरक नरहेको भन्दै स्पष्ट पार्नुभयो, “बँचेखुचेका ७ वटा सरकारी उद्योगहरुको निजीकरणको प्रक्रिया अगाडि बढाउनेहरु, कमिसनका लागि बेचिखानेहरु कसरी कम्युनिस्ट समाजवादी हुन्छन्, यिनीहरु सबै नक्कली समाजवादी हुन् । यिनीहरुको भ्रममा पर्नु हुन्न ।” उनीहरुले गर्ने गरेको समाजवादको परिभाषा अमूर्त र भ्रामक रहेको पनि उहाँले स्पष्ट पार्नुभयो । “भन्ने समाजवादी गर्ने साम्राज्यवादीहरुको सेवा । नवउदारवादी अर्थनीति अँगाल्ने, सबै कुरा बजारलाई छाडेर राज्य, सरकार रमिते बन्ने, अनि समाजवादका कुरा गर्ने ?” उहाँले प्रश्न गर्नुभयो, “यिनीहरु नक्कली कम्युनिस्ट, नक्कली समाजवादी हुन् ।”

उहाँले संघर्षको प्रक्रिया अगाडि बढाएर मात्र वास्तविक क्रान्तिकारी कम्युनिस्टहरुलाई एकताबद्ध तुल्याउन सकिने भन्दै राष्ट्रियता, जनतन्त्र र जनजीविकाका मुद्दाहरुलाई लिएर संघर्षलाई व्यवस्थित र सशक्त रुपमा अगाडि बढाउनु पर्ने आवश्यकता रहेकोमा जोड दिनुभयो ।

यसैबिच, क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको महाधिवेशन प्रचार प्रसार समितिले शनिबार साँझ भर्चुअल बैठक सम्पन्न गरेको छ । समितिका संयोजक रामसिंह श्रीसको अध्यक्षतामा सम्पन्न भएको बैठकमा महाधिवेशनको प्रचार प्रसारको क्रममा सबै प्रदेश र जिल्लाहरुका तोकिएका स्थानमा होडिङ बोर्ड झुण्ड्याइएको, भित्तेलेखनहरु भएको र पर्चा पम्प्लेटहरु पनि व्यापक रुपमा वितरण भएको संयोजक श्रीस लगायत सहभागीहरुले रिपोर्टिङ गर्नुभएको थियो । महाधिवेशनको प्रचार प्रसारका लागि अब मिडिया परिचालन गर्नुपर्नेमा जोड दिइएको थियो । अन्तर्वार्ता, समाचार, लेखरचना, मिडिया अन्तरक्रिया लगायतका कार्यक्रमहरुलाई जोड दिनुपर्ने सहभागीहरुले सुझाव दिएका थिए ।