यातनागृहमा जन्मेको कविता

यातनागृहमा जन्मेको कविता

शनिबारीय साहित्य : कविता
****  ***
 
कुनै पासपोर्ट, नागरिकता
या पहिचानको
कुनै प्रमाणपत्र मसँग छैन
परिचय बस यत्ति नै छ कि
कविताको संसारमा
म संदिग्ध आप्रवासी हुँ,
जिन्दगी र सपनाहरूको
एक जना खोजी रिपोर्टर,
आत्माहरूको एक गुप्तचर,
अन्धकार र आतङ्को घनघोर झरीको
पूर्व चौतावनी दिने
साइरनको तिखो आवाज हुँ ।
बिर्सिइसकिएको
पहाडको गाउँसम्म
टाढा प्रदेशबाट आएका चिठ्ठीहरू पुर्याउने
हुलाकी हुँ ।
पतझरमा खस्ने
पँहेला पातहरूका तर्फबाट
फक्रिदै गरेका कोपिलाहरूलाई पठाइएको
म शुभकामना सन्देश हुँ ।
कुनै उपत्यकाको बन जङ्गलमा
आफ्नो हराएको बच्चा खोज्दै हिडेकी
घाइते बघिनी हुँ ,
चकमन्न रातमा
नदीको पारिपट्टिबाट आएको
चखेवाको प्रेमातुर पुकार हुँ ।
म अँध्यारोमा बाँचिरहेका मान्छेहरूका
हृदयमा ठेगाना खोजिरहेको
यातनागृहमा जन्मेको
रगतपच्छे कविता हुँ ।
जगमगाउँदा भव्य सभाहरूमा
र अति सुसंस्कृत सुसज्जित बैठकहरूमा
मलाई जानु पनि छैन ।
मैले ती बैठक र सभाहल मुनि बनेका
गोप्य स्थानहरूलाई भत्काउनु छ
जहाँ अतिशय कला,
अराजनीतिक मानवतावाद
र फासिवादी बिचारका
नयाँ नयाँ बाली उब्जाउने गरिन्छ ।
(अनु : मुक्तिपथिक)