विश्व प्रगतिवादी साहित्यमा ल्यु सुनको योगदान

विश्व प्रगतिवादी साहित्यमा ल्यु सुनको योगदान

विश्व प्रगतिवादी साहित्यमा ल्यु सुनको योगदानबारे निरन्तर चर्चा÷गरिचर्चा हुँदैआएको छ । गतसाता बुधबार अर्थात सेप्टेम्बर २५ तारिखका दिन उहाँको चीनलगायत विश्वभरनै जन्मदिनको संझना गरिएको थियो । उहाँको जन्म सन् १८८१ को सेप्टेम्बर २५ मा भएको हो । उहाँको खास नाम झोउ सुरेन र लेखकीय नाम ल्यु सुन हो । उहाँले करिव १३० वटा छद्म नामबाट बिभिन्न समयमा लेख रचना प्रकाशित गर्नुभएको मानिन्छ । सन् १९४९ मा चिनियाँ कम्युनिष्ट पार्टीले सत्ता लिनुभन्दा १३ वर्ष अगाडिनै सन् १९३३६ को अक्टोबर १९ तारिखका दिन शाङहाईमा उहाँको निधन भएको थियो । उहाँ कहिल्यै पनि चिनियाँ कम्युनिष्ट पार्टीको सदस्य बन्नुभएन तर आफ्ना साहित्यिक रचनामार्फत सधैँ शोषित पीडत र श्रमिक वर्गको आवाजलाई मुखरित गरिरहनु भएको थियो । उहाँलाई साहित्यिक बहुविधाका श्रष्टा मान्ने गरिन्छ । उहाँ लघुकथा लेखक, सम्पादक, अनुवादक, आलोचक, निबन्धकार र कवि हुनुहुन्थ्यो । उहाँका कृतिहरु विश्वका नेपाली लगायतका धेरै भाषामा अनुवाद पनि भएका छन् । उहाँले सन् १९२१ डिसेम्बरमा लेखेको व्यग्य नाटक ‘आह क्यूको साँचो कथा’ को नेपालीमा अनुदित नाटक ‘टलकजंग भर्सेस टुल्के’ निकै लोकप्रिय रहेको छ र चलचित्रसमेत बनिसकेको छ । नेपालमा देवकोटा– ल्यु सुन प्रज्ञाप्रतिष्ठानसमेत स्थापना गरिएको छ ।

सन् १९१७ देखि लेखन शुरुगर्नुभएका ल्यु सुनले १६ वटा निबन्ध संग्रह लेख्नु भएको थियो । उहाँले लेखेका २१ वटा पाण्डुलिपी चीनका बिभिन्न संग्रहालयमा सुरक्षित रहेका छन् । चिनियाँ सांस्कृतिक क्रान्तिका एक अगुवासमेत रहनु भएका ल्यु सुनका कथा, साहित्य र बैचारिक लेखरचनाहरु विश्व प्रख्यात मानिन्छन् । खासगरी ल्यु सुनका निबन्धहरुले चिनियाँ साहित्यका साथसाथै चिनियाँ क्रान्तिलाई अगाडि बढाउनसमेत ठूलो योगमान पुगेको मानिन्छ । ल्यु सुनले जीवनको उत्तराद्र्धका १० वर्षमा एघार भोलुम निबन्धहरु लेख्नु भएको पाइन्छ । उहाँका निबन्धहरुमा देशभक्ति र अग्रगामी सामाजिक विकास र परिवर्तनका कुराहरु पाइन्छन् । ल्यु सुनले आफ्नो लेखनमा सामाजिक र राजनीतिक परिस्थितिलाई कलात्मकरुपमा उतार्नु भएको पाइन्छ । तत्कालीन अवस्थामा कतिपय चिनियाँ प्रेसले उहाँलाई लेख्नबाट रोक लगाए र केही निबन्धहरु पनि मेटाउने काम पनि भयो तर उहाँले आफ्नो निबन्धमा जबरजस्ती कवितात्मकरुप दिएर जोगाउनु भएको थियो । समाजवादी साहित्य लेख्ने उहाँ तत्कालीन अवस्थामा चीनको स्वाधीनताका निम्ति एक जुझारु अभियन्ता पनि मानिनुहुन्थ्यो । चीनको स्वतन्त्रता आन्दोलनमा उहाँको महत्वपूर्ण योगदान रहेको थियो । उहाँ आफू कम्युनिष्ट पार्टीको सदस्य नरहे पनि उहाँका रचनाहरुले देशमा आमूल परिवर्तनको निम्ति क्रान्तिकारी साहित्यमात्र लेखेर पुग्दैन, क्रान्तिकारी योद्धा पनि चाहिन्छभन्ने सन्देश प्रवाह गरिरहेका हुन्थे ।
माओ त्सेतुङलेसमेत उहाँलाई चिनियाँ सर्वहारावर्गको सांस्कृतिक क्रान्तिका अगुवा भएको बताउनु भएको थियो । त्यसैले उहाँलाई मरणोपरान्त चिनियाँ कम्युनिष्ट पार्टीको मानार्थ सदस्यता पनि प्रदान गरिएको थियो । पछिल्ला दिनमा चीन सरकारले ल्यु सुन साहित्य पुरस्कारको स्थापना गरेको छभने बिद्यालयहरुमा बिभिन्न तहका पाठ्यक्रममा उहाँका साहित्यिक रचनाहरु समावेश गरिएका छन् । उहाँका कतिपय रचनाहरु एड्गर स्नोले अंगे्रजी भाषामा अनुवाद गर्नुभएको थियो । चीनमा गणतान्त्रिक सरकार स्थापना भैसक्दा पनि विदेशी हस्तक्षेप सम्पूर्णरुपमा समापत भैनसकेकोभन्दै उहाँले आफ्ना रचनाहरुमार्फत साम्राज्यवादी हर्कतमाथि कडा प्रहार गर्नुभएको थियो । त्यसैले त्यतिबेला कतिपयले उहाँलाई साम्राज्यवाद बिरोधी लेखकका रुपमासमेत सम्बोधन गर्नेगरेका थिए । सन् १९११ को राजतन्त्रविरोधी आन्दोलनमा त उहाँले बुद्धिजीवीहरुको नेतृत्वसमेत गर्नुभएको थियो । इतिहासअनुसार डा. सनयात सेनको नेतृत्वको गणतान्त्रिक आन्दोलन सफल भएपछि उहाँले शिक्षा मन्त्रालयमा बिभिन्न महत्वपूर्ण पदहरुसमेत सम्हाल्नु भएको थियो । ल्यु सुनको समकालिन परिवेशमा चीनमामात्र नभएर विश्वमै साम्राज्यवादी शक्तिहरुको दबदबा बढ्दैगएको थियो । चीन गृहयुद्धमा फसेको थियो । चिनियाँ समाजमा चरम शोषण र उत्पीडनहरु कायमै थिए । छिमेकी रुसमा समाजवादी क्रान्तिको सफलताले उत्साह बढाएको थियो । चिनियाँ जनतामासमेत त्यसको प्रत्यक्ष प्रभाव परेको थियो । त्यतिबेला लेखक तथा साहित्यकार ल्यु सुनले छद्म नामबाटसमेत साम्राज्यवाद र सामन्तवादविरोधी कथा ‘एउटा बौलाहाको डायरी’ नै लेख्नुभएको थियो । सोही कथाबाट चीनको आधुनिक कथा साहित्य प्रारम्भ भएको मनिन्छ । जतिबेलाको कोमिन्ताङ सरकारले पाँचजना युवा लेखकहरुको हत्या गरेको थियो । त्यतिबेला सरकारको उक्त दमनबाट बच्न ल्यु सुनले भूमिगत भएर भएपनि आफ्नो लेखनलाई निरन्तरता दिनुभएको थियो । उहाँले आफ्ना लेख रचनामार्फत तत्कालीन कोमिन्ताङ सरकारको अत्याचारको भण्डाफोर गर्नुभएको थियो । त्यतिबेला उहाँले लेख्नु भएका ‘चिनियाँ सर्वहारा साहित्य र अग्रगामी लेखकहरुको रगत’ र ‘अँध्यारो चीनमा कला साहित्यको वर्तमान स्थिति’ नामक लेखहरु हालसम्म पनि चर्चामा रहेका छन् । उहाँको लेखन बिद्यार्थी कालदेखि नै शुरुभएको देखिन्छ । उहाँको पहिलो कथा ‘फर्केर हेर्दा’ लाई मानिन्छ । उहाँले बीचमा आफू शिक्षक हुँदासमेत लेखनलाई निरन्तरता दिनुभएको थियो । ल्यु सुनले अंगे्रजी र जर्मनेली भाषा सिकेर अन्तराष्ट्रिय साहित्यकोसमेत राम्ररी अध्ययन गर्नुभएको थियो । त्यतिबेलाको अर्ध–सामन्ती र अर्ध–औपनिवेशिक अवस्थाको चीनमा जन्मनुभएका ल्यु सुन प्रगतिशील साहित्यकारमात्र नभई साम्राज्यवाद विरोधी अभियन्ताकारुपमासमेत अगाडि बढ्नु भएको थियो । ल्यु सुनको जन्म चीनको पूर्वी प्रान्त चेकियाङको शाउनोशिङ शहरको एक खानदानी परिवारमा भएको थियो । उहाँका बाजे मञ्चु दरबारका एक अफिसर हुनुहुन्थ्यो ।
उहाँ वर्षकोहुँदा उहाँका बाजे जेल पर्नुभएको थियो । उहाँका पिता पनि दीर्घरोगले थला पर्नुभएको थियो । त्यसको केही बर्षमै पिताको निधन भएकाले उहाँले गरिबी र अभावको प्रत्यक्ष अनुभव गर्नुपरेको थियो । तथापि आमाका कारण उहाँले पढन पाउनु भएको थियो । उहाँको पढाई पनि तेज थियो । उहाँका पिताको मृत्यु रोगबाट भएकाले उहाँ डाक्टर बनेर समाजको सेवागर्न चाहानु हुन्थ्यो । भनिन्छ उहाँले त्यतिबेला चिनियाँ महाँ बिद्यालयबाट स्नातकोपाधि हाँशिल गरेपछि पनि जापानमा गएर डाक्टरी पढ्ने बिचार गर्नुभएको थियो । त्यसका लागि उहाँ जापान सरकारबाट प्राप्त हुने छात्रवृत्ति पाउनका लागि जाँचमासमेत सम्मिलित हुनुभएको थियो । जाँचमा सफल भएर उहाँ सन् १९०२ मा टोकियो पुग्नुभएको थियो । कोबुन कलेजमा भर्ना पनि हुनुभएको थियो । उहाँ फेरी सन् १९०४ मा कोबुन कलेजबाट सेनडाई मेडिकल कलेजमा भर्ना हुनुभएको थियो । तत्कालीन समयमा चीनमा रहेको मञ्चु सरकार बिरुद्ध चिनियाँ जनता हड्ताल, जुलुसगर्दै आआफ्नो उकुसमुकुसलाई व्यक्त गरिरहेका थिए । विदेशमा पढिरहेका युवा बिद्यार्थीहरुलाई पनि देशलाई बचाउन र मञ्चु सरकारको विरोधमा आन्दोलनमा उत्रन आह्वाहरु भएका थिए । त्यसैक्रममा ल्यु सुन जापानमा पढ्दै मञ्चु सरकारको विरोधमा लागेका अन्य चिनियाँ युवाहरुसँग जोडिन पुग्नुभएको थियो । जापान बसाईकाक्रममा उहाँले बिभिन्न देशका साहित्यकारहरुका कृति पढ्ने अवसरसमेत पाउनु भएको थियो । त्यसैक्रममा उहाँले शेली, पुस्किन, बाइरन, हेपनी, पेटाफो किमिविज, लेरमेन्टाफ आदि साहित्यकारका कृतिहरु पढेको मानिन्छ । त्यतिबेला उहाँले रुस–जापान युद्धको एउटा सिनेमा हेर्नुभएको थियो । जसमा एकजना चिनियाँ युवकलाई जासुसको आरोप लगाएर पाताफर्काई बाँधिराखेको दृश्यसमेत थियो । जतिबेला अन्य चिनियाँहरु तमासे बनेका देखिन्थे । सो दृश्यले उहाँको बिचार बदलिएको थियो । त्यसबाट उहाँ डाक्टर भएर रोगीलाई निको पार्नुभन्दा पनि मानिसको मनोवृत्तिलाई परिवर्तनगर्नु जरुरी रहेको निष्कर्षमा पुग्नुभएको थियो । त्यहीँबाट उहाँ साहित्यिक क्षेत्रमा सक्रिय ढंगले लाग्नुभएको मानिन्छ । त्यसपछि उहाँले आफ्ना मौलिक रचनाकासाथै प्रसिद्ध साहित्यकारहरुका रचना अनुवादगर्न थाल्नुभएको थियो । उहाँले जापानमै नयाँ जुनी नामको पत्रिका निकाल्न खोज्नुभएको तर आर्थिक अभावले उक्त प्रयास अधुरो रहेको थियो ।
त्यसैक्रममा उहाँ सन् १९०९ मा जापानबाट चीन फर्किनु भएको थियो र अध्यापनमा लाग्नुभएको थियो । उहाँ स्वदेश फर्केको दुईबर्षपछि नै सन् १९११ मा डा. सनयात सेनको नेतृत्वमा चीनमा क्रान्ति भयो । उहाँले क्रान्तिमा भाग लिन बिद्यार्थीहरुलाई ठूलो प्रेरणा दिनुभएको थियो । सोही क्रान्तिले मञ्चु सरकार ढल्यो । जुन क्रान्तिको नेतृत्व पूँजीवादी बिचारधाराका मानिसहरुले गरेका कारण चिनियाँ जनताले अपेक्षित उपलब्धी हाँशिलगर्न सकेका थिएनन् । सोहीक्रममा सन् १९१७ मा रुसी अक्टोवर क्रान्ति भएको थियो । त्यसले चिनियाँ जनताकोसमेत आँखा खुलाउने काम गरेको थियो । सन् १९११ को क्रान्तिबाट शिक्षा लिएर ल्यु सुनले कलम चलाउन थाल्नुभएको थियो । जसले समाजमा जनचेतना जगाउन ठूलो भूमिका खेलेको थियो । ल्यु सुन कलम चलाउनेमात्र नभएर आन्दोलनहरुमा पनि भाग लिनुहुन्थ्यो । सन् १९२६ को मार्च महिनामा तुवान ची जुइमा भएको बिद्यार्थी हत्याकाण्डको विरोधमा भएको प्रदर्शनमा ल्यु सुनले सक्रिय भएर भाग लिनुभएको थियो । उहाँले सन् १९२१ मा ‘आह क्यूको साँचो कथा’मार्फत मुकुण्डोधारी क्रान्तिकारीहरुसित होसियार रहन आह्वान गर्नुभएको थियो । लङमार्चमा अगाडि बढेको लालसेना उत्तरी शेन्शी पुगेको खबर पाउँदा ल्यु सुनले उत्साहित भएर माओ त्सेतुङलाई एक बधाई सन्देशसमेत पठाउनु भएको थियो । जीवनको अन्तिम समयमा ल्यु सुन शाङघाईमा हुनुहुन्थ्यो । बिरामी अवस्थामा पनि उहाँले लेख्ने काम रोक्नुभएको थिएन । उहाँको ‘श्वी माओ युङलाई जवाफ र जापानी आक्रमण विरोधी संयुक्त मोर्चाको प्रश्न’ शीर्षकको लेखलाई अन्तिम मानिन्छ । सन् १९३६ अक्टोवर १९ मा ५६ बर्षको उमेरमा उहाँको निधन भएको थियो । उहाँले ब्यवहारलाई रचनात्मक ढंगले आफ्नो साहित्य र अन्य लेखनमा उतार्ने कलाको जुन विकास गर्नुभएको थियो, त्यो आज पनि प्रेरणादायी छभने युगयुगसम्म प्रेरणादायी रहिरहने छ ।