शनिबारीय साहित्य ः पुस्तक समीक्षा
*** ***
कथा लेखनबाट साहित्यिक यात्रामा पाइला टेकेका अनिल श्रेष्ठ नेपाली साहित्यिक क्षेत्रका सुपरिचित नाम हो । उहाँको लेखनयात्रालाई नियाल्दा तीन दशक पार गरिसकेको छ । यस अवधिमा उहाँको ‘प्रजातन्त्र र पागल’ कथासङ्ग्रह (२०५०), ‘राष्ट्रले शोकधुन बजाएको छ’ (२०५१), ‘मृत्युपर्व होइन मेरो देश’ (२०५५), ‘आरू फुलेको साँझ’ कविता सङ्ग्रह (२०६३), ‘फेरि पनि छिम्कालेकमा गुन्जिरहन्छन् यी गीतहरू’ संस्मरण (२०६६), ‘मफलर युद्ध’ कविता सङ्ग्रह (२०६९), ‘टाइगर हिलकी पुनम’ निबन्ध सङ्ग्रह(२०७१), ‘प्रतिनिधि कविता’ (२०७३), ‘मध्यरातमा मुर्कट्टा’ (२०७८) र ‘यो मन कहाँ दुख्छ’ निबन्ध सङ्ग्रह गरि दश वटा कृतिहरू प्रकाशनमा आइसकेको छ ।
साहित्यका मुख्य विधाहरू मध्ये कविता, कथा र निबन्ध सबैमा राम्रो दखल भएका अनिल श्रेष्ठको पछिल्लो प्रकाशन हो ‘यो मन कहाँ दुख्छ’ निबन्ध सङ्ग्रह । निरन्तरको अभ्यास र अध्ययनले खारिएका लेखक श्रेष्ठको यस सङ्ग्रहभित्र १९ वटा निबन्धहरू रहेका छन् । जसमा वैयक्तिक, संस्मरणात्मक र अनुभूतिमूलक गरि तीन प्रकारका निबन्धहरू छन् । ‘निर्मलाको साधिन्य’ शीर्षकमा प्रेमचन्दको संक्षिप्त जीवनी थाहा पाउन सकिन्छ भने अँध्यरोको जुनकीरीमा सुकरातको जीवनी र आदर्शलाई समेटिएको छ । त्यस्तै गरेर ‘प्रमोदित प्रमोद’मा उनका रचनाहरूको चर्चासहित बाल साहित्यकार प्रमोद प्रधानलाई अध्ययन गर्न सकिन्छ भने ‘घनश्याम ढकाल जो सँधै निष्ठाले बाँचिरहे’ मा समालोचक तथा राजनीतिज्ञ घनश्याम ढकालसँग जोडिएका प्रसङ्गहरूका साथै ढकालप्रति लेखकको धारणा पनि थाहा पाउन सकिन्छ ।
अनुभूतिमूलक ढाँचामा लेखिएको समीक्षात्मक निबन्धहरू पनि छन् । जसमा उल्लेखित कवि र कवितामाथि लेखकको दृष्टिकोण व्यक्त भएको छ । यस किसिमका निबन्धहरूमा ‘आँसुको सौन्दर्य’ शीर्षकमा कवि विन्दु शर्माका कवितामाथि चर्चा गरिएको छ भने ‘सुमिनासँग संवाद’ सुमिनाको कविता र कुराकानीमा केन्द्रित छ । त्यस्तै गरेर ‘कविताको मैदानमा शानदार ब्याटिङ’ शीर्षकमा कवि राधिका कल्पितको कवितामाथि लेखकका धारणा पढ्न सकिन्छ ।
संस्मरणात्मक निबन्धहरूमा दुई किसिमका निबन्धहरू रहेका छन् । एकाथरि संस्मरण व्यक्ति र विषयसँग सम्बन्धित छन् भने अर्काथरि निबन्धहरू यात्रा संस्मरणमा आधारित छन् । व्यक्ति विशेषमा केन्द्रित निबन्धहरूले व्यक्तित्व र कृतित्वसँग साक्षात्कार भएका प्रसङ्गलाई पाठकसमक्ष पु¥याउने काम गरेको देखिन्छ । घनश्याम ढकाल, लक्ष्मणबाबु श्रेष्ठ र प्रमोद प्रधानलाई यस अन्तर्गत अध्ययन गर्न सकिन्छ ।
नेपालको पहिलो केवलकार मनकामना केवलकार र उक्त केवलकार बनाउने जिम्मा पाएका लक्ष्मणबाबु श्रेष्ठको सफलता असफलताका कथाहरू जानकारीमूलक रहेका छन् । ‘त्यो रमाइलो डाँडा’ शीर्षक दिइएको यो निबन्ध विद्यालय स्तरका बालबच्चाहरूलाई पढाउन सकिने सामग्री बनेको पाइन्छ ।
यस सङ्ग्रहमा रहेका निबन्धहरू मध्ये यात्रा संस्मणको संख्या धेरै देखिन्छ । यारी र मेरा यारना, झिमरुकमा बयलिन हिँडेको मन, चितवनको तोरीको प्युरिटी र साहित्यको ओरिजिन, लहैलहै जिन्दगी, बरेली बजार र तेजी सुरीको हराएको झुम्का, ग्वालियरमा छुटेको मन, सिराइचुलीलाई सिरानी हालेर आदि यात्रा संस्मरणसँग सम्बन्धित निबन्धहरू हुन् ।
त्यस्तै गरेर ‘योग ः एक उन्मुक्त जीवनशैली’, ‘साहित्यमा समाजको सौन्दर्य निर्माण बिम्बको प्रभाव’ आदिमा कविले आफ्नो ज्ञानको दायरामा रहेर विषय वस्तुमाथि विवचना गरेका छन् । जसबाट विभिन्न स्थानको बारेमा जानकारी र साहित्यिक कार्यक्रमहरूको पनि जानकारी लिन सकिन्छ साथसाथै पर्यटन प्रवर्द्धनको काम पनि भइरहेको पाइन्छ उनका निबन्धहरूमार्फत् ।
प्रगतिवादी धारामा सुन्दर कविता लेखिरहने कवि अनिल श्रेष्ठले निबन्धमा पनि कुशल ढंगले आफ्ना अनुभूतिहरूलाई शब्दमा बुनेको पाइन्छ ।
उनका निबन्धहरू पढिरहँदा श्रेष्ठ आँबु खैरेनीमा बसेर गोरखालाई, पोखरालाई, चितवनलाई र काठमाडौलाई उत्तिकै माया गर्ने र महत्व दिने साहित्यप्रेमी हुन् भन्ने कुरा थाहा पाउन सकिन्छ ।
कविता लेखनमा सरल तर गम्भीर कविता लेख्ने अनिल श्रेष्ठले यस निबन्ध सङ्ग्रहमा पनि प्रायः कविताकै प्रसङ्गहरू जोडेर निबन्धलाई पनि कवितामय बनाएका छन् । ‘बिम्बको प्रभाव’ कविताममा कवि कृष्णसेन इच्छुक र चुनु गुरुङका कवितांश सहितको विश्लेषण प्रभावकारी छ । हरेक निबन्धभित्र भेटिने कविता पुञ्जहरूले पाठकलाई आकर्षित गरिरहन्छ । त्यस्तै छोटा छोटा मनछुने उक्तिहरू पनि विशेष लाग्दछन् निबन्धमा ।
शीर्ष निबन्ध ‘यो मन कहाँ दुख्छ’ झट्ट सुन्दा प्रश्न गरे जस्तो लाग्छ तर निबन्धभित्र ‘मन’ बारे मजाले मन्थन गरिएको छ । लेखक मनको अस्तित्व खोज्दै जान्छन् र विचारको तरङ्गले शरीरमा पार्ने प्रभाव नै मन हो भन्ने निष्कर्षमा पुग्दछन् । अनिल श्रेष्ठ कुनै पनि विषयमा आफ्नै धारणा र दृष्टिकोण निर्माण गर्नसक्ने लेखक हुन् । उनका निबन्धहरूको अन्तमा निचोड वाक्यहरू रहेका हुन्छन् । ‘सत्य एउटै छ । सत्यलाई जानेपछि असत्यले कमजोर बनाउन सक्दैन ।’ यो ‘योग ः एक उन्मुक्त जीवनशैली’मा निबन्धकारले योग सम्बन्धी विवेचना गरिसकेपछिको सुन्दर निचोड हो ।
कविताहरूमाथि लेखकले राम्रो विश्लेषण गरेका छन् । तर पढ्दै जाँदा पृष्ठ ७८ मा रहेको ‘कुन अवतार लिउँ म ?’ शीर्षकको कवितांशले सरर्र पढ्दै गएको मनलाई केहीबेर अल्झायो । हुन त कुनै पनि विषयलाई ग्रहण गर्ने तरिका र बुझाई आआफ्नै हुन्छ । तर पनि उक्त कवितांश र लेखकको बुझाइमा सबै पाठक सहमत हुन सक्छन् भन्न चाहिँ सकिँदैन । उद्धृत अंशमा महिलालाई पुरुषले चाहेका अनेक अवतार मध्ये ‘कुन चाहिँ अवतार लिउँ’ भन्ने दुविधा उब्जिएको छ । यो दुविधाको युग होइन । महिलाहरू पनि रूपान्तरित हुनुपर्छ भन्ने र त्यसैतर्फ प्रोत्साहित गर्ने युग हो र अग्रगमनतर्फ धकल्ने युग हो । कविताले पाठकलाई सधैँ सत्यको बोध र सौन्दर्यको खोज गर्न मात्रै सिकाउँदैन । कविताले विचारको उडान भर्न पनि सिकाउनुपर्छ । सत्यको बोध भइसकेपछि असत्यप्रति विद्रोह बोल्न पनि सिकाउनु पर्छ । समाज परिवर्तनको आकांक्षा राख्ने कविताले यथास्थितिबाट बाहिर निस्कन पनि सिकाउनुपर्दछ र कविता लेखनले कविलाई मेडिटेटिभको काम गर्छ भने पाठकमा मोटिभेटिभ गर्ने क्षमता पनि हुनुपर्दछ । आफै अलमलमा परेको कवितामा त्यो शक्ति हुँदैन । प्रस्तुत उद्धरणमा महिला जसरी अलमलमा परिन् पाठक पनि अलमलमा पर्ने चाहिँ देखिन्छ ।
यति भन्न पनि त केही सामग्री चाहिन्छ । केही विषय र दृष्टिकोण चाहिन्छ । मथ्नको लागि दही नभइ नौनी बन्न सक्दैन । अनिलका निबन्धहरू नौनीसहितका निबन्धहरू हुन् पढेर नौनी निकाल्ने र ग्रहण गर्ने काम पाठकको हो । विषयको उठान र विवेचना गर्ने क्रममा साहित्यभित्र पनि कवितालाई महत्वकासाथ उल्लेख गर्नु र साहित्यसँग सम्बन्धित विषयले नै स्थान पाउनु यस निबन्ध सङ्ग्रहको विशेषता हो । भुँडीपुराणले प्रकाशनमा ल्याएको निबन्ध सङ्ग्रह ‘यो मन कहाँ दुख्छ’ साहित्यको क्षेत्रमा विगत र वर्तमानलाई बुझ्न पनि पढ्नैपर्ने पुस्तक बनेको छ । समग्रमा सङ्ग्रहयोग्य निबन्धसङ्ग्रहका लागि लेखक अनिल श्रेष्ठलाई हार्दिक बधाई !
२०८१÷४÷१७