शनिबारीय साहित्य ः बाल कविता
*** ***
असारमास हिलो र पानी बादल फुर्काले
क्या शोभा दिन्छ किसानलाई हलो र जूवाले ।
चाहिन्न राम्रो लुगा र फाटो चाहिन्न चिल्लो कार
खेतमा गाँस खेतमै बास हलो गोरुकै भर ।
पाखुरी उनका मेसिन जस्तै पसिना अमृत
हिलोमा गढी संसार पाल्ने धन्य हो कृषक ।
लालच छैन स्वर्गमा जाने धर्ती नै स्वर्ग हो
माटो र पानी मुछेर स्वर्ण झुल्दछ अन्नको ।
फालीले घोँची चिरेर छाती यो कर्मभूमिको
भर्दैछन् प्राण किसान बाले दुई दिने जुनीको ।
पसिना छरी सुकेको माटो रसिलो बनाउँछन्
असार रोप्छन् मङ्सिर टिप्छन् सबैलाई खुवाउछन् ।
क्या उपकारी किसान हाम्रा जीवनदाता हुन्
परन्तु तिनकै पौरखमुनि दुःखका कथा छन् ।
को देखिदेला को सुनिदेला दिलको कहानी
अँध्यारोभित्र बसेर बाँड्छन् उज्यालो बिहानी ।
माटोमै उम्य्रो पानीमै फुल्यो दुईबारे जवानी
माटो र पानी मथेर अन्न निकाल्ने मदानी ।
सारङ्गी जस्तै रोएर मिठो असार गाउँछन्
मदानी जस्तै डुबेर नौनी निकाली चखाउँछन् ।