क्रान्तिकारी यायावर चे ग्वेभारको जन्म दिनमा उनका स्मरणीय कुरा

क्रान्तिकारी यायावर चे ग्वेभारको जन्म दिनमा उनका स्मरणीय कुरा

अर्नेष्टो चे ग्वेभारा लिञ्च– यो लामो नाम नै आफैमा एउटा नमूनाको उदाहरण जस्तो छ । यो विश्वब्यापी त छँदैछ, यसले एउटा मानवीय पहिचान दिन्छ । अर्नेष्टो मूल नाम हो, यो उनका हजुरबाको सम्मानमा राखिएको नाम हो । डन अर्नेष्टो चेका पिताको नाम । चेका पिताले क्यूवाली क्रान्तिका कालखण्डमा राखिदिएको नाम हो ‘चे’ जसको अर्थ हुन्छ ‘प्रिय’ । हुन त क्यूबाली जनताले हरेक प्रिय चीज महसुस गर्नका लागि यो ‘चे’ शब्दको प्रयोग गर्दछन् । ग्वेभारा शब्द चेलाई उनका पिताको तर्फबाट मिल्यो । अनि यस परिवारमा आमाको उपनामलाई पनि आफ्नो नामसँग जोडिने गर्दछ । चेका मावलाका हजुर बा लिञ्च समुदायका थिए । यसरी बनेको थियो पूरा नाम– अर्नेष्टो चे ग्वेभारा लिञ्च । उनको जन्म १४ जून १९२८ मा भएको थियो । उनका योगदानहरु अनेक र महत्वपूर्ण छन् । तीमध्ये केही कुरा मात्र यहाँ उल्लेख गरिएका छन् ।
अर्जेण्टिनी मूलका यी क्यूबाली क्रान्तिकारीको नाम मुखमा आउनासाथ जुन छवि मनमा बन्छ त्यो एउटा रिसाहा युवाको छवि लाग्छ । यद्यपि चेको पूरा जीवन एउटा रोमाञ्चकारी कविता जस्तै रहेको छ । जसमा जीवनलाई महसुस गर्न सकिने सुनसान प्रकृतिको रहेको छ भने दुखान्त त्रासदीहरुको अन्तहीन सिलसिला जस्तो पनि । अनि संघर्षका बीचमा आफन्तहरुसँगका शान्तिका पलहरु पनि यसमा सामेल छन् । चेको यस विविधतापूर्ण जीवनलाई अनेक किसिमले चित्रित गर्ने गरिएको पाइन्छ र गर्न सकिन्छ पनि । तर यस सन्दर्भमा सबैभन्दा मजाको कुरा होला चेका बिरोधीहरुको उनका प्रतिको राय । कुनै ब्यक्तित्वलाई जान्न र बुझ्न एउटा राम्रो माध्यमा उसका बिपक्षीहरुको उसप्रतिको राय पनि हो । चेका बारेमा यस प्रकारको रायहरु निकै अनौठा पनि छन् ।
क्यूबाको सफल क्रान्तिपछि चे ग्वेभारा क्यूबाली राष्ट्रिय बैंकको अध्यक्ष बनेका थिए । त्यस अवसरमा जुलाई १९६० मा अमेरिकी‘न्यूज एण्ड वल्र्ड रिपोर्ट’ मा भनिएको थियो– ‘अर्नेष्टो चे ग्वेभारा नै क्याष्ट्रो सरकारका मस्तिष्क हुन् । ग्वेभारा क्यूबाली होइनन्, अर्जेण्टिनी हुन् । उनी स्वभावले कुनै भावुक ल्याटिन–अमेरिकी पनि होइनन् । तर ठण्डा मस्तिष्कले सोच विचार गर्ने कम्युनिष्ट हुन् । यी ग्वेभारा फिडेल या राउल क्याष्ट्रो होइनन् । ग्वेभारा र उनका कम्युनिष्ट सहायकहरुका लागि क्यूवा मिशनको एक घटना मात्र हुन् र त्यो मिशन हो– ल्याटिन अमेरिकाका अधिकांश हिस्सामा कम्युनिष्ट सत्ता स्थापना गर्नका लागि क्यूबालाई एउटा किल्लाको रुपमा बिकसित र खडा गर्नु ।’
साम्राज्यबादका जुन प्रवक्ताले यी पङ्क्तिहरु लेखे उनलाई फेलिक्स ग्रीनले आफ्नो एउटा किताबमा ‘दुश्मन’ भनेका छन् । यसको दोस्रो पक्ष के छ भने चेका घनघोर बिचारधारात्मक शत्रुहरु पनि उनीसँग प्रभावित थिए । चेमा आफ्ना बिरोधीहरुलाई आफ्नो प्रशंसाका लागि बाध्य तुल्याउने गुण थियो । चेको जीवन यसै कुराको उदाहरण हो कि एउटा ब्यक्ति जो सारा विश्वकै शोषित पीडित जनताको मुक्तिको क्रान्तिकारी संघर्षमा होमिएको र जुधिरहेको छ कसरी जनताका शत्रुहरुबाट पनि मान्यता र आदर हासिल गर्न सक्छ । यो आदर सम्मान हमेशका लागि कायम रहन्छ र यस कारण चेको स्मृति क्रान्तिकारी मनहरुमा चिरस्थायी जस्तै बन्छ ।
यहाँ के उल्लेख गरिनु आवश्यक लाग्छ भने ८ अक्टोबर १९६७ मा छापामार र बोलिभियाको सैनिक टुकुडीका बीच घमासान लडाईं चल्यो । चे गम्भीररुपमा घाइते भए । उनलाई बन्दी बनाइयो । सैनिक कमाण्डर पराडो सालमनले चेलाई तुरुन्तै चिनिहाल्यो । उसले सन्देश पठायो ‘५०० केसाण्डो’ यो कोडको अर्थ थियो ‘चेलाई पक्राउ गरियो ।’ उनलाई कडा सुरक्षा र निगरानीका साथ हीग्वेरा पठाइयो । बिहान हुने बित्तिकै बोलेभियाका ठूला सैनिक हस्तीहरु र अमेरिकी गुप्तचर संस्था सीआईएका एजेण्टहरु हिग्वेरा पुगिसकेका थिए ।
तीमध्येका एकजना एजेण्ट डा. गोञ्जालेले चेसँग सोधे– तिमी के सोचिरहेका छौ ? चेले मजाले उत्तर दिए– ‘म क्रान्तिको अमरत्वका बारेमा सोचिरहेको छु ।’ वास्तवमा यी चेका अन्तिम शब्दहरु थिए । चेका यी अन्तिम शब्दकासाथ क्यूबा आजको एउटा उदाहरण बनेर रहेको छ विश्वका हरेक क्रान्तिकारीका लागि । क्यूबामा क्रान्तिको जुन बाटो तय गरियो त्यो विश्वका अरु मुलुकहरुका लागि सही छ कि गलत ? भौगोलिक रुपले ठूला देशहरुका क्रान्तिका अवधारणा क्यूबा जस्ता साना देशबाट उदाहरण बन्न सक्तैनन् ? अनि क्यूवाको क्रान्ति जुन परिस्थितिमा घटित भयो त्यसलाई सारा संसारले आधा शताब्दी पछाडि छोडेर आएको हो ?
यी सारा प्रश्नहरु आफ्नो ठाउँमा सही हुन सक्छन् र यी पनि सत्यको एउटा प्रभावकारी पक्ष हुन सक्छ कि हिंसारहित क्रान्तिहरु पनि कुनै बेला आफैमा एउटा अनौठो उदाहरण बन्न पनि सक्लान् ? तर आज जुन ब्यक्तित्वका बारेमा हामी कुरा गरिरहेका छौं उनी यस्ता प्रश्नहरुसँग सारा जीवनभर जुधिरहे र लगातार त्यसको जवाफ पनि दिदै रहे । उनले हिंसाको बाटो अख्तियार गरेका थिए । तर त्यसको चयन अनायास गरेका थिएनन् । अर्नेष्टो चे ग्वेभारा लिञ्चको जीवनको आरम्भिक हिस्सा यसको साक्षी रहेको छ ।
यस्ता ब्यक्तिको मनमा आफ्ना जनताका प्रति जीवन्तताको महसुस र तिनको मुक्तिको निम्ति सफलताको कामना रहनु, हुनु कुनै अनौठो कुरा भएन । चेको मनमा यही आकांक्षा उनको युवाअवस्थादेखि नै थियो नै । यद्यपि चेले आफू स्वयंले आफ्नी पूर्व प्रेमिकालाई लेखेको एउटा पत्रमा स्वीकारेका छन् कि शुरु शुरुमा उनी केवल एउटा जोखिम उठाउन तत्पर हुने ब्यक्तिवादी युवा थिए । फिडेल क्याष्ट्रोले चेलाई बदलिदिए । उनलाई महान उद्देश्य दिए । जुन उद्देश्यले अर्नेष्टो चेलाई परिवर्तन गरिदियो । चेको सम्पूर्ण जीवन रहस्यमय जस्तो लाग्छ र उनका बारेमा कैयांै किसिमका हल्लाहरु पनि लगातार फैलिदै फैलाइँदै रहे, खासगरी अमेरिकी पूँजीवादी पिछलग्गुहरुको तर्फबाट ।
चेका बारेमा यो झूटो कुरा लगातार गरिदै रह्यो कि उनी भावुक छैनन् । चेले यो कुरा कैयौं पटक भनेर होइन, गरेर झूटो साबित पनि गरिदिए । उनी आफ्ना मित्रहरु, परिचितहरु, परिवार र खासगरी बालबच्चाहरुका प्रति गहिरो संवेदना राख्ने गर्दथे १९६० मा चेले आफ्ना अर्जेण्टिाइनी मित्र अल्बर्टो, जोसँग पूरै ल्याटिन अमेरिकाको मोटरसाइकल यात्रा गरेका थिए, सँग भनेका थिए ः ‘म यहाँ आरामसँग बसेको छु, मेरा मित्रहरु बोलिभिया समेत अन्य स्थानहरुमा मेरा गुरिल्ला प्रयोगलाई गलत तरिकाले लागु गर्दै मरिरहेका छन् ।’ स्पष्ट छ कि चे गुरिल्ला युद्धको योजनालाई न्यूनतम हिंसाका रुपमा देख्ने गर्दथे ।
साम्राज्यवादका बिरुद्ध सारा संसारमा चलिरहेका आन्दोनलहरुको एकजुटताका लागि सघन यात्रा गरिसकेपछि चे १४ मार्च १९६५ का दिन क्यूवाको राजधानी हवाना फर्किए । त्यसपछि सार्वजनिकरुपले कतै देखा परेनन् । झण्डै एक महिनापछि फिडेल क्याष्ट्रोले यस बारेका केवल यत्ति कुरा भने कि उनी हर हमेशा त्यही ठाउँमा रहन्छन् जहाँ क्रान्तिका लागि उनको सबैभन्दा बढी आवश्यकता पर्दछ र लाभदायक हुन्छ । यसबाट कुन तथ्य स्पष्टसँग उजागर हुन्छ भने चे क्यूबामा रहेका छ्रैनन् । तर कहाँ छन् त ? यस प्रश्नको उत्तर त्यतिबेला पूँजीवादी समाचारपत्रहरुले बेग्ला बेग्लै किसिमले दिइरहेका थिए ।
चेले क्यूवा यस कारणले छोडे किनकि उनी हतियारबन्द बनेर साम्राज्यबादहरुका बिरुद्ध संघर्ष गर्न चाहन्थे । यसलाई उनी आफ्नो सर्वोच्च कर्तब्य मान्दथे । १९५७ मा चे एक अपरिचित अर्जेण्टिनी डाक्टर थिए, जो परिस्थितिवश मेक्सिकोमा पुगेका थिए । फिडेल क्याष्ट्रोको नेतृत्वमा सक्रिय क्रान्तिकारीहरुसँग उनको भेट भएको थियो । १९६५ चे विजयी क्यूबाका एकजना प्रमुख नेता र क्रान्तिकारी सरकारका एक महत्वपूर्ण हस्ती बनेका थिए । त्यहॉँबाट अब नयाँ क्रान्तिकारी क्रियाकलापको खोजीमा उनी क्यूबा छोडेर अचानक बाहिर गए । अझ राम्रो र सुन्दर संसारको सपना देख्ने गरेका यी यायाबर नोभेम्बर १९६६ को पहिलो सातामा छद्म नामबाट बोलिभिया पुगे र त्यहॉँ एउटा स्थानमा छापामार आन्दोनलको अखाडा स्थापित गरे ।
चे आज यो संसारमा हुन्थे भने शायद अहिले पनि यही कुरालाई निरन्तरता दिइरहेका हुन्थे । अपेक्षा के गरिनुपर्दछ भने सर्वहारा वर्गका जनताका पक्षमा खडा भएका प्रगतिशील, जनवादी समुदायलाई यो कुरा सम्झना हुनु पर्दछ कि उसले सच्चा सर्वहारा अन्तर्राष्ट्रियतावादतर्फ आफ्नो कदम अझ दृढताका साथ बढाउने छ । यही नै चेका लागि साँचो अर्थमा क्रान्तिकारी अभिवादन पनि हुनसक्छ । ९६औं जन्म जयन्तिका अवसरमा अब्बल क्रान्तकारी नेतालाई सादर उच्च सम्मान तथा अभिबादन !