संस्कृतिभित्रको प्रदुषण

शनिबारीय साहित्य ः सांस्कृतिक आलेख
*** ***

संस्कृति भन्ने बित्तिकै हाम्रो सामु हामीले मान्दै आएका चालचलन रहनसहन भेषभुषा आदिलाई बुझ्ने गर्दछौँ तर संस्कृतिको क्षेत्र व्यापक छ ।
– ‘धेरै समयदेखि देश, काल सापेक्ष भई आन्तरिक वैचारिक तथा परम्परागत धारणाका रूपमा विकशित हुँदै आएको र आचार विचार, रहनसहन आदिको स्वरूप खुट्टिने यावत मान्यता, भावना, चिन्तन–मनन र भौतिक अभिब्यक्तिहरूसमेतको समूह वा साधन’ संस्कृति हो । (बृहत् नेपाली शब्दकोश)
– ‘कुनै वस्तुलाई परिमार्जन गरेर वा संस्कृत रूप दिएर चम्किलो उज्यालो र निख्खरा बनाउने काम’ । (उही)
– ‘कला, साहित्य, इतिहास, भाषा, धर्म, दर्शन आदि विभिन्न बिषय वा मूल्यपरम्पराको समष्टी नाम’ । (उही)
– ‘कुनै राष्ट्र वा जातिको सामाजिक जीवन, राजनीति, अर्थव्यवस्था आदिमा प्रतिबिम्बित हुने र तिनका कला कौशल बौद्धिक आदिमा प्रकट हुने सम्पूर्ण क्रियाकलापको परिष्कृत रूप’ । (उही)

संस्कृतिबारे नेपाली शब्दकोशले अथ्र्याएको विषयलाई आधार मानेर वर्तमानमा चलनचल्तिले संस्कृतिमाथि पारेको प्रभाव बारे यो आलेखमा छोटो चर्चा गरिने छ ।

संस्कृतिको क्षेत्र निकै फराकिलो छ । यसले पुस्तौँ पुस्ताको सम्बन्धलाई जोड्छ । यो इतिहास र धर्मसित पनि जोडिएकोले यसभित्र अतिपरम्परित चालचलन र मान्यताहरू रहेका छन् ।

समाज विकासका खास खास चरणमा सामाजिक जीवनसित केही कर्महरू र पर्वहरूको स्थापना गरिए । ऋृतु, मास वा जन्म मृत्यु जस्ता प्राकृतिक घटनाका दिनहरूको सम्झनालाई निरन्तरता दिने क्रममा संस्कृति बनेर लोक जीवनमा बसे । त्यस्तै पर्वहरूको सुरुवात कृषि युगमा श्रम कार्यबाट सुरु भएको मानिन्छ । श्रम कार्यमा लिप्त सामाजिक रहनसहनमा मनोरञ्जनका लागि पर्वहरूको प्रचलन आयो । मानव चेतनाको विकास हुँदै आएपछि नाता कुटुम्बसित भेटघाट र उत्पादन अनुसारका खाद्य वस्तुले आफन्तहरूको स्वागत गरिने परम्परा बस्यो । ऋृतु परिवर्तन, नयाँ अन्न बालिको उत्पादन, श्रम अभियानको थालनी र समापन जस्ता दिन वा मासहरूलाई उत्सवमय बनाउँदै लगियो । परिवारमा नयाँ सदस्यको जन्म, उनीहरूको पास्नी, बिबाह जस्ता कर्महरूलाई चाडपर्वको रूपमा मनाउने परम्परा बस्यो । जब समाजलाई बुझ्ने मान्यतामा ईश्वरीय शक्तिको विश्वास पैदा भयो अनि उनीहरूको पूजा अर्चना, स्तुति जस्ता कर्महरूको जन्म भयो र तिनीहरू सांस्कृतिक पर्वको रूप लिएर स्थापित गरिए । तात्कालिक युगमा उत्पादनको सीमितता सामाजिक बन्धुत्वको भावनाले सामान्य किसिमले पर्वहरूको समापन गरिन्थ्यो । त्यस्ता पर्वहरूले आत्मियता र आफन्तिपनलाई दिगो राख्न मद्दत पुग्थ्यो । अर्कोतर्फ कुनै शासक व चिन्तकको रुढिग्रस्त चेतनाले जात प्रथा, मालिक र दास प्रथा शासक र शासित प्रथाहरू पनि जन्मने र विकास हुने गर्दै आए र ती संस्कृतिकै रूपमा जरा गाडेर बसे । वर्तमानसम्म आउँदा कतिपय संस्कृति विकृत बनेर समाजलाई सताइरहेका छन् ।

जात, वर्ण, लिङ्ग र स्थान विशेषले पनि संस्कृतिको निर्माणमा भूमिका खेलेको हुन्छ । संस्कृतिभित्रका कतिपय मान्यताहरू विज्ञानसम्मत पनि छन् त कतिपय चाहिँ विज्ञान विरोधी मात्र होइन जनविरोधी पनि छन् । हाम्रोजस्तो बहुल जाति, बहुल भाषी, मुलुकमा मानिदै आएका संस्कृतिहरू कुन जनपक्षीय र कुन जनविरोधी छन् यसबारे विमर्श हुनु जरुरी छ । सतिप्रथा दासप्रथा जस्ता मानवता विरोधी संस्कृतिहरू पनि हाम्रो सामाजिक इतिहासमा कलङ्क बनेर उभिएको थियो । मानव चेतनाको विकासले सतिप्रथा जस्तो कुरूप संस्कृतिको त अन्त्य ग¥यो तर दासप्रथा भने विभिन्न स्वरूपमा अहिले पनि बाँचिरहेकै छ । समाज वर्गीय भएझैँ संस्कृति पनि वर्गीय हुने नै भयो । सामन्त, उच्च कुलीन वर्ग वा पूँजिले सम्पन्न वर्गले मान्दै आएको संस्कृति श्रमिक वर्गका लागि अहितकर छ । यस्तो संस्कृतिको अन्त्य र श्रमिकहरूको हितको संस्कृति निर्माणतिर अब हामीले सोच्नु पर्दछ ।

अहिले हाम्रो मुलुकभित्रका शासक, पूँजिपतिहरूले जनसंस्कृतिलाई निषेध गर्ने र बजारमुखी वा उपभोक्तामुखि संस्कृतिलाई जबरजस्त स्थापित गराउनतर्फ उद्दत छन् । हामीले ब्यहोर्दै र देख्दै आएको संस्कृति हो मन्दिर संस्कृति । धर्म वा देवी देवता, प्रभु, ईश्वर अथवा अल्लाहको नाममा वैधानिक ठगी गर्ने र आफ्नो प्रभुत्व जोगाइराख्ने यो संस्कृतिलाई बढवा दिइनु हुन्न भनेर जान्दा जान्दै पनि हरेक गाउँ टोल र सार्वजानिक स्थलहरूमा मन्दिर निर्माणको अभियान चलेको चल्यै छ । यतिसम्म कि आफ्ना गोतिया बन्धुहरूको कुलाईन मन्दिर निर्माणमा समेत राज्यकोषको धनराशी समेत लगानी हुन थालेको छ । सम्बिधानमै धर्म निरपेक्षताको घोषणा भैसक्दा पनि मन्दिर संस्कृति मौलाईरहनु युगसम्मत ठहर्दैन । धर्म मन्दिर र पूजापाठसित जोडिएको अर्को कर्मकाण्डीय संस्कार संस्कृति जबरजस्त बाँचिरहेको छ । एकातिर यसको वैज्ञानिकता शून्य छ र अन्धविश्वासले पूर्ण छ भने अर्कोतिर पूँजिवादले प्रचलनमा ल्याएको उपभोक्तावादलाई भित्र्याउँदो छ । यो संस्कृतिले आफुलाई कम्युनिस्ट बताउने नेता कार्यकर्तालाई पनि आफ्नो बशमा पारेको छ । मानिस जन्मनु वा मृत्यु हुनु जस्ता प्राकृतिक घटनामा सबैभन्दा अगाडि आएर यो संस्कृति उभिएको हुन्छ । यस संस्कृतिका अधिष्ठाता पुरोहित वा पण्डितलाई समेत यसले निर्दिष्ट गरेका कर्मप्रति विश्वास छैन तर धन आर्जन हुने माध्यम बनेकाले उनीहरू यस संस्कृतिलाई जोगाइराख्न कसरत गरिरहेछन् । यो कर्मकाण्डीय संस्कृति पूँजिवादसित पनि मिल्छ, शामन्तवादसित झन् नमिल्ने कुरै भएन । जन्म, मृत्यु, बिबाह जस्ता कर्महरूमा अनिवार्य उपस्थितिको दाबी गर्ने यो संस्कृतिमा तडकभडकले गहिरो प्रभाव पार्न थालेको छ । यो कर्मकाण्डीय संस्कृतिभित्र पूँजिवादी उपभोक्तावाद यति व्यापक बन्दै गएको छ कि साधारण आर्थिक हैसियत भएका किसान, मजदूरहरूले धान्नै नसक्ने अवस्थामा पुगेका छन् । यो प्रचलनलाई भत्काउन ढीला भैसकेको छ ।

संस्कृति बचाउने नाउमा अनावस्यक ढर्रा दर्शन हुन थालेको छ । बाह्य आयातित पोशाक, खाद्य परिकार, गीत सङ्गीतका भद्दा प्रस्तुती र दान पुण्यका नाउमा बढ्दै गएको मोलिमोलाउ अहिलेको यथार्थ हो । हिन्दू संस्कृतिभित्र जबरजस्त मौलाएको अर्को मान्यता पुराण संस्कृति हो । पौराणिक कालिक मिथकहरूको आधारमा बनेका पुराणहरू अहिले पनि जब्बर संस्कृति बनेर हाम्रो समाजमा जमिरहेछन् । धर्मको जलप लागेको पुराण संस्कृति धनको आडम्बर सिवाय अरू केही होइन भनेर जान्दाजान्दै पनि मानिसहरूमा पुराणमोह जरा गाडेर बसेको छ । पुराण संस्कृतिले बिशेषगरी महिलाहरूमा प्रभाव छोडेको छ । एकातिर महिलाहरू घरेलु उत्पीडनमा परेका र लैङ्गिक हिँसामा परेर पनि पुराण संस्कृतिबाट मुक्त हुन नसक्नु बिडम्बना नै मान्नुपर्दछ ।

सांस्कृतिक रूपमा मानिदै आएका सांस्कृतिक पर्वहरू पनि खर्चिलो र भड्किलो बन्दै गएका छन् । यसरी भड्किदै जाँदा पर्वहरूको महत्व घट्दै जाने र पूँजिवादको अर्को स्वरूप स्थापित हुने खतरा नजिकिँदो छ । बिबाह, ब्रतबन्ध, पास्नी वा जन्मोत्सवहरूमा दिइने महङ्गा उपहार र तडकभडकपूर्ण खानपानले हाम्रो परम्परित संस्कृति हराउँदै गएको छ । आस्थालाई आधार बनाएर घुसपैठ भएका परसंस्कृतिले आफ्नोपन हराउनु अशोभनीय खतरा हो ।

युगको विकाससँगै उत्पादनका क्षेत्र र उत्पादित बस्तुहरूको विकास हुनु स्वाभाविक मानिन्छ तर उत्पादित वस्तु उपभोगको नाउँमा हामी परमुखी बन्दै गएका छौँ । यो हाम्रो संस्कृतिमा आएको विचलन हो । यसले हाम्रो आफ्नो पन नष्ट गर्दै आइरहेको छ । एकातिर स्वदेशी उत्पादनमा ह्रास आउँदै जानू र अर्कोतिर बिदेशी उत्पादनले हाम्रो बजार कब्जा गर्दै आउनु यो शुभसङ्केत मान्न सकिँदैन । वैज्ञानिक र ब्यवहारिक संस्कृतिको जागेर्ना गर्नु र प्रदुषित संस्कृतिलाई भित्रिन नदिनुको मुख्य दायित्व राज्यको हो तर यो हाम्रो विकृत संसदवादी राज्य व्यवस्था नै प्रदुषित संस्कृतिको सिकार बनेको छ । नेपालका सबैजसो संसदवादीहरू चालू व्यवस्थालाई लोकतन्त्र भन्ने गरेका छन् । लोकतन्त्र भनेको लोकहितमा चल्ने व्यवस्था हो तर के अहिलेको व्यवस्था लोकहितमा चलेको छ त ? होइन यसको लक्षण कतै देखिँदैन । २०७२ को संविधान लागू भएपछि गठन भएका सङ्घ वा प्रदेशका संसदहरूका निर्णयहरू र गतिविधि लोककल्याणमा भन्दा दलकल्याणमा उद्दत देखिएका छन् । संसद गठन हुने प्रारम्भिक प्रकृयालाई गहिरिएर हेरौँ, लोककल्याणको चरित्र कतै पनि देखिँदैन । लोकतन्त्रमा जनताको स्वतन्त्र अभिमत निर्णायक हुनुपर्नेमा त्यस्तो छैन । अहिलेको संसदको चुनावलाई पैसा र पावरले प्रभावित बनाएको छ । जब राजनीतिमा पैसा र शक्तिको प्रदर्शन हुन्छ त्यहाँ लोकको भलो सोचिएको हुँदैन । त्यहाँ व्यक्ति वा दलको मात्र स्वार्थ सोचिएको हुन्छ । र यो नै अहिलेका संसदवादीहरूको साझा संस्कृति बनेको छ ।

राज्य सञ्चालनका नाउमा हुने गरेका बेथिति र अराजक गतिविधि राज्यको मूल संस्कृति बनेको छ । दलीय व्यवस्थाले आत्मसात गरेको संरचना र अधिरचनाका मान्यता कुल्चिएर अराजनीतिक गठजोड गर्नु सरकार टिकाउने नाउँमा विधायकहरूको किनबेच गरिनु सत्ताको मूल चरित्र बनेको छ । सरकार सञ्चालको जिम्मेवारी लिएका राजनीतिक दलहरू नै सम्बिधानको भावना र मर्मको विपरीत गतिविधि गर्नुले मुलुकभित्र अराजकता बढ्दै जानू मूल कारण हो । अहिलेको संसदवादी व्यवस्थाले मलजल गरेको विद्रुप संस्कृति देश र जनताको हित विपरीत छ । यसका विरूद्ध खबरदारी गर्नु आम संस्कृतिकर्मिको दायित्व हो ।