शनिबारीय साहित्य ः कविता
*** ***
टाढा–टाढा जहाँसम्म दृष्टि पुग्छ
समुन्द्रजस्तै फैलिएको छ
आङ तन्काएर कोशी बाँध
यो तटवर्र्ती आहत गाउँहरूको
आँसुको आर्त–सागर हो
या डुबानपीडित बस्तीहरूको
पीडाको गल्छी हो
यो कोशी टप्पु
यो सिमसार क्षेत्र ।
महाप्रलय भएजस्तो
चारैतिर पानी पानी
केबल अगाध पानी
मानौं मत्स्य–पुराणमा वर्णित
जलाम्य पृथ्वीजस्तो
सर्वत्र पानी ! अथाह पानी !
यो सुन्दर स्वप्नहरूको
मनोरम सरोवर हो
या कुरूप दुःस्वप्नहरूको
विद्रुप धरोहर हो
अथवा जलदस्युहरू विहार गर्ने
कुनै आरक्षित जलडमरू हो
यो कोशी टप्पु
यो सिमसार क्षेत्र ।
पराजित युद्धबन्दीजस्तै
विवश पुर्खाहरूमाथि करले लादेको
अतीतको सुगौली सन्धिजस्तै
मितेरीको मीठो भाङ खाएर
देशको छातीमा घनले ठोकेको
अपमानको गहिरो किलोजस्तो
यो कोशी तटबन्ध
असमान सन्धिको रक्षाकवच पैरेर
जन्माइरहेछ मुलुकभित्र
नौलो उपनिवेशजस्तै
नौलो विस्थापित मुलुक
बत्तीमुनिको अँध्यारोजस्तै
जहाँ पानी छ, सिंचाइ छैन
बाढी छ, बिजुली छैन
बस्ती छ, विकास छैन
जमिन छ, लालपूर्जा छैन
बनको आरक्ष छ, तर जनधनको सुरक्षा छैन
मानौँ अझ स्वतन्त्र भइनसकेको
पराधीन र पराश्रित
यो पूर्वी टिमोर हो
या मकाओ द्वीप हो
यो कोशी टप्पु
यो सिमसार क्षेत्र ।
जहाँका महिलाहरू सधैं
नारी अस्मितालाई हत्केलामा राखेर
सन्त्रासमा बाँच्ने गर्छन्
जहाँका बासिन्दाहरू सधैं
अनिश्चित र असुरक्षित जिन्दगीको
त्रासदी बोकेर
कुनै अनागरिकजस्तै
सधैं बेखबर
र, सधैं बेठेगान भविष्यको
सुनिश्चित ठेगान खोज्ने गर्छन्
गहिरो तालजस्तै
सधैं आँसुमा डुबेका तरल आँखाले
देशबाट आफ्नै निष्कासनजस्तै
वर्षौंवर्ष लामो अतिक्रमणको
पुरानो सन्धिपत्र पढ्दै
नयाँ नेपालको पुनःनिर्माण खोज्ने गर्छन्
आफ्नै आफन्तहरूबाट अन्जान
सधैं उपेक्षित र गुमनाम
यो हाम्रो कालापानी हो
यो अण्डमान निकोबार द्वीप समूह हो
यो कोशी टापु
यो सिमसार क्षेत्र ।
१५ माघ, ०५७ राजविराज, कारागार
(नोट ः प्रस्तुत कविता कृष्ण सेन ‘इच्छुक’ले राजविराज कारागारमा बन्दी अवस्थामा रहँदा लेख्नुभएको थियो । वर्षा लाग्दै गर्दा कोशी टप्पु क्षेत्रका जनताले कविताले भनेजस्तै सास्ती हरेक बर्स भोग्नुपरिरहेको छ । यतिखेर पनि यो कविताको उत्तिकै सान्दर्भिकता रहेकोले इच्छुक प्रतिष्ठानको अनुमतिमा इच्छुक रचनावलीबाट साभार गरिएको हो । – सम्पादक)