शनिबारीय साहित्य : तीन वटा कविताहरू:
**** ****
(१) सुल्तान
यदि मलाई
मेरो ज्यान तलवितल नहुने कुरा थाहा हुने हो भने
म सुल्तानसँग भेट्न सक्थें
अनि उसलाई भन्ने थिएँ:
मेरो हजुर सुल्तान !
तिम्रा खुङ्खार कुकुरहरूले
मेरा कपडा च्यातेर धुजा धुजा पारिदिए
तिम्रा जासुसहरूले मेरो पिछा गर्छन
तिनीहरूका नाकले मलाई जहिलै सुँघ्छन
उनीहरूका पाइला मलाई पछ्याउछन
तिनीहरू
मेरी श्रीमतीलाई हिरासतमा राखेर सोधपुछ गर्छन
मेरा साथीहरूका नाम लेखेर राख्छन ।
हजुर सुल्तान !
जब म तिम्रो बाहिरी पर्खाल नजिक आउछु
अनि आफ्ना विरह विलौना सुनाउन थाल्छु
तिम्रा सिपाहीहरू मलाई बुटले पिट्छन
मलाई जबर्जस्ती मेरा जुत्ता चाट्न लगाउछन ।
सुलतान !
तिमीले दुई वटा लडाइँ हारिसकेका छौ
सुलतान !
किन भने
हाम्रा आधा मानिससँग जिब्रो छैन
जिब्रो नभएका मान्छेको के अर्थ
हाम्रा आधा मान्छे
पर्खालभित्र थुनिएका
कमिला र मुसाजस्ता छन ।
यदि मलाई
मेरो ज्यान सुरक्षित हुन्छ भन्ने लाग्ने भए
म भन्ने थिएँ :
तिमीले दुई वटा युध्द हारिसकेका छौ
बच्चाहरूको स्पर्श तिमीले बिर्सिसकेका छौ ।
(२) अफीमको एक खोराक
शब्द यस्तो उफ्रिरहेको भकुण्डो हो
जसलाई शासकहरू
आफ्नो बार्दलीबाट फ्याँक्छन
जनता त्यै भकुण्डो पछि पछि कुद्छन
उनीहरूका जिब्रा
भोका कुकुरको जसरी
बाहिर झुण्डिरहन्छ ।
अरब संसारमा शब्द
यस्तो चम्किलो बुख्याँचा हो
जसले सात थरि भाषा बोल्छ #
अनि एउटा रातो टोपी लगाउछ
त्यसले
स्वर्ग अनि भड्किलो पाउजु बेच्छ
ठूला आँखा भएका बच्चा बेच्छ
सेता खरायो अनि परेवा बेच्छ ।
शब्द असाध्य व्यस्त हुने
वेश्याजस्तै हो
लेखक त्यससँग सुत्छ
पत्रकार त्यसैसँग सुत्छ
मसजिदको इमाम त्यसैसँग सुत्छ ।
सातौं शताव्दिदेखि
शब्द
अफीमको एक खोराक हो
शासकहरू
आफ्नै तरपकाले जनतालाई चुप बनाउछन
शब्द हाम्रो देशमा
एउटी त्यस्तो आइमाई हो
जसले पुरुषको कामना गर्छे
जबदेखि कानून
त्यो पवित्र पुस्तक बनेको छ ।
(३) शासक र भँगेरा
आफ्ना कविताहरू पढ्न
मैले आफ्नो अरव देशको भ्रमण गरें
कविता जनताको रोटी थियो
भन्ने कुरा म बुझ्थें
म यो पनि मान्दथें कि
शब्द माछा थिए
र जनता पानी थिए ।
एउटा नोटबुक मात्र लिएर
मैले आफ्नो अरब देशको भ्रमण गरें
पुलिस चौकीले मलाई
यता र उता लखेटेर सतायो
सैनिकहरूले यता उता दौडाएर सताए
आखिर मेरो गोजीमा के नै थियो र
एउटा भँगेरो मात्रै होइन र
तर अधिकारीहरूले
भँगेराका लागि पासपोर्टको खोज्यो
हाम्रो देशमा शब्दको लागि पासपोर्ट चाहिन्छ
बालुवाका बोराहरू हेर्दै
पोस्टरहरू पढ्दै
जसले एउटै देशको कुरा गर्थे
जसले जनतालाई एक हुनु पर्छ भन्थे
म आफ्नै देशको सीमानामा
कट्न पाइन्छ कि भनेर पर्खेर बसें
तर फुटेको सिसा जसरी
मलाई बाहिर फ्याँकियो ।
# सीरियामा जन्मेका अरबी मुलका कवि निजार कब्बानीका तीन वटा कविताहरू:कुरान पढ्ने सात थरि तरिकाबाट विनोद दासको हिन्दी पाठकाे नेपाली अनुवाद: मुक्ति पथिक