शनिबारीय साहित्य : कविता
*** ***
इतिहासले ओढेको निस्पट्ट अँध्यारो मेटन
सुर्योदयको रातो किरण भेट्न
बोकेर गरुङ्गो भारिको बोझ
जब हामी चढिएथ्यो उकालो
साथमा एउटा फराकिलो छाता
हातमा लट्ठी र कुन्जा
पहाड नाघ्न उक्लिएथौँ
मेचिको धुर्को देखि कालिको टुप्पोसम्म
साझा थियो सातु नुन र सिरौँला
बाँढेर खाइयो सामल र पानी
यात्रामा ठेस लाग्दा सङ्गै झर्थ्यो आँसु
पाकेका फल भेट्दा सङ्गै बड्थ्यो हाँसो
कहिले दर्कन्थ्यो आगोको असिना
ढुङ्गाको आड लागेर गरेथ्यौँ प्रतिबाद
बिषालु आँधिको बेगले जति हिर्काओस
किन्चित थिएन अत्यास
निराशाका भेल बाढिमा पनि
खुट्टा दह्रा थिए अहँ हल्लिएनौँ ।
शिखर ताकेर हिँडेका हामी
जब भेटियो साघुरो चौतारि
साथिहरुमा जाँगर मरेर आलस्य जाग्यो
छाता च्यात्ने सल्लाह भयो
लट्ठी फाल्ने सल्लाह भयो
साथिहरुको थाकेको तन
चौतारोले तानेको मन
छुटेर दौतरिको साथ
लम्कन पो थाल्यो लामो लामो हात
रोकेर अदम्य यात्राको अभियान
च्यातेर जिउँदो स्वभिमान
फोहोरमा गडेका झिङ्गा जस्तै
सर्प बिच्छी र भ्यागुता सङ्गै
चुर्लुम्मा डुबेका दौँतरी छोडेर
केही जोर पैतालाहरु
खोजी रहेछन अर्को अभियान
चलिरहेछन निरन्तर यात्रामा
शिखरको चुचुरो चुम्न
आउ साथी सङ्गै यात्रामा जुटौँ
झुल्कने छ नया घाम एक बिहान
दिल बहादुर रम्तेलको समाधिमाथी उभिएर
उनका भतिजहरुले नया सपना उनेको यो समयमा
हर्ष बहादुर र तारामानहरु फेरि कल्पनाको धरातलमा
अर्को अभियानको योजना बुन्दै छन
नजिकै छन बासी सपनाका ब्याज खानेहरु
भाँजा तेर्स्याउदैछन भ्रमका पुलिन्दा बुन्नेहरु
इतिहासका आला घाउहरुले मल्हम खोजिरहेको बेला
उठ ललन सदाहरु
बुझ दोक्ला लामाहरु
धर्तिमा छिट्फुट उम्र्न लागेको रातो अनारको बिरुवामा
काम्ले जुका र खुम्रे किराले नष्ट गर्न थालेपछी
ढोड बालेर धुवाँउदै
निमोठ्नु पर्छ लार्भा र फुल
एउटा टोर्नाडो आँधी निम्त्याएर मिल्काउनु पर्छ भाँजाहरु
सनमाया रनमाया र सुक बहादुरहरु
जुटेर एउटै मैदानमा सल्काऔँ सल्लको पाँजाहरु