काठमाडौं । नेपालमा २०४७ सालको राजनीतिक परिवर्तनपछि सत्ता सञ्चालन गर्न पुगेका उच्च पदस्थहरुको सम्पत्ति छानबिनको माग गर्दै अयाोजित कार्यक्रममा भएको प्रहरी हस्तक्षेप र गिरफ्तारीको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले तीव्र भत्र्सना गरेको छ । वक्तव्यमा गिरफ्तार गरिएका सम्पूर्ण विद्यार्थी तथा युवाहरुलाई अविलम्ब र विना सर्त रिहाइ गर्न नेपाल सरकारसित जोडदार माग गरिएको छ ।
पार्टी प्रवक्ता कञ्चनले जारी गरेको वक्तव्यमा भनिएको छ, “नेपालमा २०४७ सालको राजनीतिक परिवर्तन पछि सत्ता सञ्चालन गर्न पुगेका प्रधानमन्त्रीहरु, मन्त्रीहरु, उच्च पदस्थ सचिवहरु र नेपाल सरकारको उच्च ओहोदामा पुगेका सम्पूर्ण कर्मचारीहरुको सम्पत्ति छानबीन गर्नका लागि जनस्तरीय छानबीन समितिको गठन र दोषीमाथि सख्त कार्बाहीको मागगर्दै अखिल क्रान्तिकारी र क्रान्तिकारी युवा संगठन नेपालको संयुक्त आयोजनामा सिंहदरवारको दक्षिण ढोका सामु गरिएको शान्तिपूर्ण विरोध प्रदर्शनमाथि प्रहरी प्रशासनले अन्धाधुन्ध बलप्रयोग गरी दर्जनौ प्रदर्शनकारीलाई गिरफ्तार गरेको छ । गिरफ्तार हुनेहरूमा हरिकृष्ण गजुरेल, मिलन राई, वीरेन्द्र शाह, अविनाश कुँवर, गोकर्ण जोशी, कमला परियार, लक्ष्मी पाण्डे, राहुल वि.क., दिनेश नेपाली, आयुष घिमिरे, जगत ओली, सुदिप सुर्खेती, गीता बुढा, लोकेन्द्र थापा, जय रावल, निशान कटुवाल लगायत हुनुहुन्छ । हाम्रो पार्टी शान्तिपूर्ण प्रदर्शनमाथि गरिएको यस प्रहरी दमनको तीव्र भत्र्सना तथा विरोध गर्दै गिरफ्तार गरिएका सम्पूर्ण विद्यार्थी तथा युवाहरुलाई अविलम्ब र विना सर्त रिहाइ गर्न नेपाल सरकारसित जोडदार माग गर्दछ ।”
































