चर्चित साहित्यकार पारिजात हामी माझबाट भौतिकरुपमा बिदा हुनुभएको पनि आगामी पाँचगते ३० बर्ष पूरा भएर ३१ बर्ष लाग्दै छ । उहाँ २०५० बैशाख पाँच गते वीर अस्पतालमा बित्नुभएको थियो । जतिबेला म काम बिशेषले महोत्तरीको जलेश्वरमा थिएँ । उहाँ प्रायः बिरामी भैरहनु हुन्थ्यो । तर त्यति नआतिने र मनोबल उच्च भएका कारण बिरामी भएको देखाउने र बताउने गर्नुहुन्थेन । त्यसैले मैले जलेश्वरमा पहिले सुन्दा उहाँ बिरामी भएर वीर अस्पतालमा भर्ना हुनुभएको भन्ने रहेको थियो र त्यसलाई मैले सामान्य रुपमै लिएको थिएँ । पछि उहाँ बित्नुभएको खबर पाउँदा ज्यादै मर्माहत भएँ । साहित्यकार पारिजातलाई मैले ०३६ सालको आन्दोलनपछि मुख्यत ०३७ सालको जनमत संग्रह ताका चिनेको हुँ । जतिबेलाबाट म पत्रकारितामा प्रबेश गरेको थिएँ । जनमत संग्रहको घोषणा भएपछि शुरुमा तत्कालीन नेकपा(चौम) ले बहिष्कारको नारा दिएको थियोभने पछि सो निर्वाचनमा भाग लिने कुरा भएको थियो । त्यसपछि पार्टीले नै शक्ति लम्सालको योजना मासिक पत्रिकालाई साप्ताहिक बनाएर सञ्चालन गरेको थियो । समाचार लेख्दै जाँदा म सो पत्रिकासँग जोडिन पुगेँ । सोहीक्रममा शक्ति लम्साल र म पहिलो पटक पारिजातको निवास म्हेपी पुगेकोजस्तो लाग्छ । त्यसपछि उहाँसँग करिव १३ बर्ष निरन्तर सम्पर्कमा रहेँ । ०३७ पछि म पार्टीले सञ्चालन गरेको मूल्यांकन साप्ताहिक र पछि चर्चालगायतका अन्य पत्रिकाहरुमा संलग्नहुँदै गएँ । जहाँ पारिजातले लेख रचना र कतिपय समाचारहरु पनि दिनुहुन्थ्यो । म क्षेत्रपाटीमा बस्थेँ । त्यसैले मलाई उहाँको निवासमा साँझ बिहान जान सहज थियो । पछि चर्चा साप्ताहिकको छापाखाना म्हेपीमै सरेको थियो । जसलेगर्दा मलाई उहाँको निवासमा गैरहने एक प्रकारको बानीनै परेको थियोभने हुन्छ । ०३७ सालपछि उहाँको निवासमा धेरै साहित्यिक कार्यक्रमहरु पनि हुन्थे । ति कार्यक्रमहरु मार्फत उपत्यकामा रहेका अधिकांश प्रगतिवादी लेखक र साहित्यकारहरुसँग पनि साक्षत्कार हुने मौका मिलेको थियो । त्यहाँ नै मैले आनन्ददेव भट्ट, गोबिन्द भट्ट, मञ्जुल, खगेन्द्र संग्रौला र निनु चापागाइँ लगायतसँग चिनजान र अन्तक्र्रियागर्ने मौका पाएको हुँ ।
पार्टीका कतिपय केन्द्रिय तहका भूमिगत नेताहरुसँग पनि उहाँकै निवासमा परिचय र सम्पर्क भएको थियो । उहाँ साहित्यकार भएपनि पत्रकारितामा पनि राम्रो दखल थियो । त्यसैले उहाँको निवासमा लेख, कथा कविता, निवन्ध र बिचारोत्तेजक राजनीतिक लेखहरु कसरी लेख्नुपर्छ भन्नेबारे बेला बखत अन्तक्र्रियाहरु पनि हुने गर्थे । उहाँ पारिजातका अतिरिक्त ‘सुमित्रा काँडा’ लगायतका अन्य केही उपनामबाट पनि कविता लगायतका बिधामा कलम चलाउनु हुन्थ्यो । उहाँको सानिध्यमा रहेर लामो समय काम गरेका कारण मेरा उहाँसम्बन्धी धेरै संस्मरणहरु रहेका छन् । जसमध्ये केहीलाईमात्र यो आलेखमा उल्लेख गर्दछु । २०३९ सालमा उहाँको अनिदो पहाडसँगै उपन्यास प्रकाशित भएको थियो । उहाँले सो उपन्यासमा जे जति पात्रहरुको चित्रण गर्नुभएको थियो, ति पात्रहरु हामी नै थियौंजस्तो लाग्छ । त्यसबारे हामीले उहाँकै अगाडि चर्चा पनि गरेका थियौं । तर उहाँले हो नै त भन्नु भएन । तर पात्र भनेका आफ्नै वरिपरीका लिनुपर्छ र उनीहरुको चरित्र चित्रण काल्पनिक नभएर सजिव हुनुपर्छ भन्नुभएको थियो । त्यतिबेलाको परिवेशमा उपन्यासमा उल्लेखित पात्रहरु हामीसँग मिल्दा जुल्दा थिए । जसका बारेमा हामीले अलग्गै पनि चर्चा ग¥यौं । उहाँ जहिले पनि कथा होस वा उपन्यास जे लेख्दा पनि शुरुमा प्लट बनाउनु हुन्थ्यो । त्यसपछि पात्रहरुको चरित्र अध्ययन गरेर आफ्नो कृतिमा उतार्नु हुन्थ्यो । त्यसैले उहाँका कृतिहरु पाठकहरुका लागि सजिवझै लाग्थे । उहाँको सानिध्यले मैले पनि केही कथा र कविताहरु लेखेँ । जो बेदना र अक्षलोक लगायतका साहित्यिक पत्रिकाहरुमा प्रकाशित पनि छन् । पछि निरन्तर समाचार लेख्ने बानीलेगर्दा साहित्यिक शैलीमै परिवर्तन आयो । मैले साहित्यिक लेखनलाई निरन्तरता दिन सकिन । कतिपय टिप्पणीकारहरुले उहाँको २०२२ मा प्रकाशित शिरिषको फूल उपन्यासलाई गैह्र प्रगतिशील कृतिकारुपमा पनि चर्चा गर्नेगरेका थिए । कतिपयले त उहाँले पछिल्लो समयमा आफ्ना कृतिको सूचीबाट त्यसलाई हटाइ दिए पनि हुन्छ भन्नु भएको टिप्पणी पनि गरेका थिए । तर त्यसमा त्यति सत्यता थिएन । किनकी उहाँले सो कृतिलाई पनि असाध्य माया गर्नुहुन्थ्यो । उहाँले त्यसलाई आफैले अंग्रेजीमा अनुवाद गरेर ‘ब्लु मेमोसा’ नामाकरण गर्नुभएको थियो । जसका केही प्रतिहरु अझै पनि मसँग सुरक्षित रहेका छन् । पछि सो कृति अमेरिकाका विश्व बिद्यालयहरुको पाठ्यक्रममा राखिएको भन्ने जानकारी आएको थियो । उहाँका धेरै कृतिहरु विश्वका बिभिन्न भाषामा अनुदित भएका थिए । उहाँसँग धेरै समय उपलब्ध थिएन । जहिले पनि ब्यस्त रहनु हुन्थ्यो । बिहान, दिउँसो भेट्ने मानिसहरुको भिड लागि रहेकै हुन्थ्यो । त्यसैगरी हरेक दिन कहीँ न कहीँ कार्यक्रमहरु हुन्थे । उहाँ साहित्यिक कार्यक्रमदेखि महिला मुक्तिका कार्यक्रमहरु समेतमा पुग्नुहुन्थ्यो । सबैले उहाँलाई नै रोजाइको बक्ता मान्दथे । समाचार संकलनका लागि म पनि कतिपय कार्यक्रमहरुमा पुग्थेँ । उहाँको संलग्नता बन्दी सहयोग समितिमा समेत रहेको थियो । मुख्यत पञ्चायत कालमा राजबन्दीहरुले जेल भरिएका हुन्थे । उहाँले प्रायः सबै कारागारहरुमा पुस्तक र पत्रपत्रिकाका साथै बिभिन्न चाड पर्वहरुमा बिभिन्न सामग्रीहरु पठाउने गर्नुभएको थियो ।
त्यसमध्ये मेरो भागमा बिभिन्न छापाखानाबाट नियमित रुपमा पत्रपत्रिका र पुस्तक संकलन गर्नेदेखि मुख्यत भद्र बन्दी गृह र नख्खु कारागारमा ति सामग्रीहरु पु¥याउने रहेका थिए । त्यहीँ मैले केपी ओली र राधाकृष्ण मैनालीहरुलाई चिन्ने मौका पाएको थिएँ । मोदनाथ प्रश्रितलाई मैले गौर कारागारमा रहनुहुँदा समेत हुलाकबाट पत्रिका पठाएको थिएँ । पछि उहाँ जेलबाट छुटेर आउनु भएपछि मलाई ‘मेरो गोलघरको साथी’ भन्नुहुन्थ्यो । पारिजातले बिभिन्न पत्रिकामा स्तम्भसमेत लेख्ने गर्नुभएको थियो । म मार्फतबाट चर्चा साप्ताहिकमा झण्डै दुईबर्ष उहाँको आदि आकाश स्तम्भमा त्यतिबेलाको परिवेशमा लेखिएका लेख र टिप्पणीहरु प्रकाशित भएका थिए । ति पत्रिकाका प्रतिहरु हाल मसँग पनि छैनन् । उहाँले त्यतिबेला मूल्यांकन, छानविन र पृष्ठभूमी लगायतका साप्ताहिक पत्रिकाहरुमा पनि कतिपय लेखहरु लेख्नु भएको थियो । कतिपय साहित्यिक समीक्षाहरु पनि प्रकाशित भएका थिए । पारिजात लगायतका साहित्यकारहरुकै पहलमा एकतामा उत्साह मासिक पत्रिकालाई सबैको साझा साहित्यिक पत्रिका बनाएर प्रकाशित गरिएको थियो । जसमा आनन्द देव भट्ट, गंगा उप्रेती र रमेश बिकललगायत संलग्न हुनुहुन्थ्यो । सो पत्रिकामा मेरो जिम्मेवारी बिभिन्न लेखक र साहित्यकारबाट रचना संकलनगर्ने र प्रुफ सम्पादनगर्ने थियो । हरिगोविन्द लुइँटेल कार्यकारी सम्पादक हुनुभएको थियो । त्यसका लागि हरेक महिना साहित्यिक जमघट हुन्थे । रचनाहरु बाचन गरेर छलफलका माध्यमबाट छनोटगर्ने गरिन्थ्यो । सोक्रम तीन बर्षजति चलेजस्तो लाग्छ । आखिरी समयमा कार्यकारी सम्पादकको जिम्मेवारी मलाई नै प्राप्त भएको थियो । पछि देशमा बुहदलीय ब्यवस्था पुनस्थापना भएर सबै साहित्यकारहरु समेत बिभिन्न पार्टीमा बाँडिएपछि सो पत्रिकाले निरन्तरता पाउन सकेन । एकपटक पारिजात दार्जलिङ पुग्नुहुँदा म पनि क्याम्पसबाट टुरमा त्यहाँ पुगेको थिएँ ।
उहाँको त्यहाँ जुनस्तरको सम्मान भएको थियो, त्यसबाट म धेरै आल्हादित भएँ । पारिजातको कार्यक्रमका लागि दार्जलिङका सबै सिनेमा हलहरु बन्द गरिएका थिए । त्यहाँ ठूलो राजनीतिक र साहित्यिक जमघट भएको थियो । उहाँमार्फतनै मैले पश्चिम बंगालका भारतीय कम्युनिष्ट पार्टी (माक्र्सवादी) का केही नेताहरुसँग परिचय गर्न र बिचारको आदान–प्रदान गर्न पाएको थिएँ । दार्जलिङ नगरका प्रमुख प्रधान थरका (नाम बिर्से ) नेतासँग लामै छलफल भएको थियो । उहाँले नेपालमा हरेक डाँडामा कम्युनिष्ट पार्टी गठन भएका छन् रे ! कुनैपनि कम्युनिष्ट पार्टीका नेताहरु एक अर्कासँग मिल्दैनन् रे ! भन्ने कुरा सुनाउनु भएको थियो । मैले नेपालका कतिवटा कम्युनिष्ट पार्टीको नाम थाहा छ ? भन्नुस त भनेर सोध्दा उहाँ निरुत्तर हुनुभएको थियो । पछि नेपाली एकता समाज र अभानेविसंघ लगायतका पार्टीका प्रवासमा रहेका संगठनहरुका बारेमा छलफल भएको थियो । हामी केही दिन त्यहाँ रहेर कालिङपोङ, सिक्किमको ग्यानटोक तथा मिरिकलगायतका क्षेत्रहरुको भ्रमणमा ग¥यौं । त्यहाँ पनि पारिजातकाबारेमा धेरै चर्चाहरु भए । उहाँलाई त्यहाँका नेपाली भाषिहरुले ज्यादै आदरका साथ नाम लिएका थिए । सिक्किम भारतले निलेको केही बर्षमात्र भएको थियो । मैले ग्यानटोकमा कुरागर्दा स्थानीय मानिसहरुले सिक्किम भारतमा बिलय भएको कुरालाई अस्वीकार गरेका थिए । साहित्यकार पारिजातलाई आज पनि बारम्बार संझन्छु । उहाँ जस्तो बिलक्षण प्रतिभा फेरी नेपालले पाउन कठीननै होलाजस्तो लाग्छ । उहाँसँगको संस्मरण र उहाँका कृतिहरुकाबारेमा समीक्षात्मक पुस्तक लेख्ने मन छ, हेरौं समयले के भन्छ ?