देश हराएपछि

देश हराएपछि

शनिबारीय साहित्य : कविता
*** ***
 
तिमीभन्दा धेरै टाढा छु म
फेरि पनि तिमी जस्तै
सोच्न सक्छु म ।
 
देश हराए पछि
दुनियाँबाट नै
पुस्तौंदेखि
आफ्नो भूमिबाट
विलगन बनाइए पछि
हुन्छ नि निर्मम युद्ध
साम्राज्यवादीका षड्यन्त्र
घुसपैठ र आक्रमणबाट
टुक्राटुक्रा भएपछि ।
 
दुनियाँका असल मानिस
सधैंभरि ब्युँझिरहन्छन्
मानिसभित्रको अग्निराप
प्यालेस्टाइन झैँ
तिमी अहिले
त्यहाँ सल्किएका छौ
मलाई तिम्रो आगोले
मिठो स्पर्श गरिरहेको छ
तिमीलाई मनैदेखि
चुम्न मन लागिरहेको छ
दुनियाँकै दुस्मनलाई
दुनियाँबाटै गलहत्याउन
मन लागिरहेको छ ।
 
म पनि एमसिसिबाट
लुटिंदै गएको छु
बिस्तारै तिमी हुनेवाला छु
तिम्रो साहस जुनुन आँट
मभित्र जन्माइ रहँदा
आशावादी बन्दै गएको छु
म त संसारभरिकै
देश खोज्ने मानिसका
पक्षमा छु
प्रेमको पक्षमा छु
त्यसकै निम्ति
आत्म उत्सर्ग गर्न इच्छुक छु ।