चैत २४ अर्थात् ऐतिहासिक जनआन्दोलन दिवस । यो दिवसको मूल सन्देश भनेको एकातिर जनतन्त्र र अर्कोतिर राष्ट्रियताको पक्षमा निरन्तर संघर्षको अपिल हो । निरन्तर संघर्षप्रतिको संकल्प हो । देशीय र विदेशी प्रतिक्रियावादी सत्ता, व्यवस्थाका विरुद्ध मात्रै नभएर संशोधनवादी र अवसरवादी कम्युनिस्टहरुका विरुद्धको पनि विद्रोह हो । तसर्थ, यो दिनको ऐतिहासिक र क्रान्तिकारी महत्व स्थापित छ । नेपालमा विशेषतः क्रान्तिकारी धाराका कम्युनिस्टहरूले चैत्र २४ लाई ‘जनआन्दोलन दिवस’का रूपमा मनाउँदै आएका छन् । र, नयाँ जनवादी क्रान्ति पूरा गरी वैज्ञानिक समाजवाद स्थापनाका लागि निरन्तर संघर्षको संकल्प गर्ने गर्दछन् । यो वर्ष नेपालमा क्रान्तिकारी धाराको नेतृत्व गर्दै आएको मोहन वैद्य किरण नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले यही उल्लेखित संकल्पका साथ देशका सातवटै प्रदेशमा जनआन्दोलन दिवस मनाउने तयारी गरिरहेको छ ।
ऐतिहासिक तथ्य के हो भने २०४६ सालको चैत २४ गते तात्कालीन समयको नेपालको इतिहासमै सबैभन्दा ठूलो जनआन्दोन भएको थियो । उक्त दिन पहिलो पटक नेपाल बन्दको आह्वान गरिएको थियो । त्यो आन्दोलनको नेतृत्व ‘संयुक्त राष्ट्रिय जनआन्दोलन संयोजन समिति’ नामको संयुक्त मोर्चाले गरेको थियो । उक्त मोर्चामा नेपालका क्रान्तिकारी धाराका कम्युनिस्ट पार्टीहरू नेकपा (मशाल), नेकपा (मसाल), सर्वहारावादी श्रमिक सङ्गठन र कम्युनिस्ट लिग सामेल थिए । उनीहरू सबैको लक्ष्य र उद्देश्य नेपालमा पञ्चायती व्यवस्थाको अन्त्य गरि नयाँ जनवादी क्रान्ति सम्पन्न गर्नु थियो ।
चैत २४ गतेको नेपाल बन्द अभुतपूर्वरूपमा सफल भयो । अरू दिनको आन्दोलन भन्दा हजारौँ गुणा बढी जनता सडकमा ओर्लिएर ‘पञ्चायती व्यवस्था– मूर्दावाद, राजतन्त्र –मूर्दावजाद, गणतन्त्र–जिन्दावाद, नयाँ जनवादी क्रान्ति–गर्छौं गर्छौं, आदि गगनभेदी नाराले आकाश धर्ती गुञ्जायमान बनाउँदै जनता पुलिसका लाठी र गोलीको समेत् पर्वाह नगरेर सडकमा ओर्लिएका थिए । उता त्यसै समयमा पञ्चायती सरकारले देशका बिभिन्न सहरहरूमा पञ्च¥याली गर्दै क्रान्तिकारी जनताको आन्दोलनलाई मत्थर पार्ने र पञ्चायती व्यवस्थालाई भरथेग गर्ने कुचेष्टा गरिरहेको थियो । त्यसै गरि तात्कालिन नेकपा (माले), नेकपा (माक्र्सवादी), नेपाल मजदूर किसान पार्टी, नेकपा (चौम), लगायतका सात वटा संसोधनवादी कम्युनिस्ट पार्टीहरू सम्मिलित संयुक्त बाम मोर्चा र नेपाली काङ्ग्रेसहरूको संयुक्त नेतृत्वमा पनि जनआन्दोलन भइरहेको थियो । तर उनीहरू हिंसात्मक झडपमा जाने सोचमा थिएनन् । शान्तिपूर्ण रूपमा सत्याग्रह, जुलुस, सभा मात्रै गरिरहेका थिए । नेपाल बन्द गर्ने, सडकमा ओर्लिएर जाम गर्ने, पुलिसको दमनको निशस्त्र रूपमै पनि तोड्ने गरि आन्दोलनलाई तेज बनाउने दिशातिर काङ्ग्रेस र बाम मोर्चा तयार थिएनन् । ‘संयुक्त राष्ट्रिय जनआन्दोलन संयोजन समिति’ भने सरकारी दमनको प्रतिरोध गरेर आन्दोलनलाई सशक्त बनाउने नीतिमा थियो ।
त्यसैले चैत २४ गते नेपाल बन्दको आह्वान गरेको थियो । संराजआ घटकका कम्युनिस्टहरू तथा बाम मोर्चामा सामेल कम्युनिस्ट र काङ्ग्रेसका बिचमा राजनीतिक लक्ष्य र उद्देश्य मिलेको थिएन । आन्दोलन बाम–काङ्ग्रेसको बलबुता र योजना भन्दा बाहिर गयो । वास्तवमा जनता संराजआको नेतृत्वमा आन्दोलित भइरहेका थिए । किनकि संराजआको आन्दोलनको नारा अग्रगामी थियो भने बाम–काङको आन्दोलनको नारा यथास्थितिवाद भन्दा अगाडि थिएन । उनीहरू केवल पञ्चायतको मात्रै अन्त्य चाहन्थे भने संराजआले पञ्चायतसँगै राजतन्त्रको अन्त्य र गणतन्त्रको स्थापना चाहन्थ्यो । जनताले गणतन्त्र प्राप्तिको आन्दोलनलाई साथ दिएका थिए । यो आन्दोलनबाट आत्तिएर काङ्ग्रेस र बाममोर्चाले दिल्ली दरबारको इसारामा राजासँग घुँडा टेके । राजा पनि पञ्चायतको अन्त्य र राजतन्त्रसहितको बहुदल घोषणा गर्न तयार भए । दलमाथि लागाएको प्रतिबन्ध फुकुवा गर्न सहमत भए । त्यसपछि चैत २६ गते राती दरबारमा बाम–काङ्ग्रेसका नेता गणेशमान सिंह र साहाना प्रधान तथा दिल्ली दरबारका प्रतिनीधि चन्द्रशेखर तथा राजाका बिचमा आन्दोलन अन्त्य गर्ने र पञ्चायत हटाएर दलमाथिको प्रतिबन्ध फुकुवा गर्दै बहुदलको घोषणा गर्ने सहमती भयो । यसरी चैत २४ ले पैदा गरेको जनउभारलाई षड्यन्त्रपूर्वक तुहाउने काम गरियो । संराजआले ‘दरबारसँग भएको सम्झौता धोका हो’, ‘जनआन्दोलन जारी छ’ भन्दै २०४७ को असारसम्म बहुदलीय व्यवस्था र चैत २६ को धोकापूर्ण सम्झौताको भण्डाफोर अभियान चलायो । उता काङ्ग्रेस र बाम मोर्चा भने विजय ¥याली गर्दै हिँडे । यसरी २०४६ सालको जनआन्दोलन दिवस दुई भागमा बाँडियो । क्रान्तिकारी धाराका कम्युनिस्टहरूले चैत २४लाई मनाउन थाले भने काङ्ग्रेस र बाम मार्चाले २६ गतेलाई मनाउन थाले । चैत २४को दिवस अग्रगामी तथा क्रान्तिकारी आन्दोलनको धारा हो । तसर्थ जनआन्दोलन मनाउनुको अर्थ त्यसका कार्यभार पूरा गर्न नयाँ क्रान्तिको तयारी गर्नु अर्थात् निरन्तर क्रान्तिको दिशामा अगाडि बढ्नु हो ।