सामयिक टिप्पणी
*** ***
हिजमात्रै सुनकाण्डको आरोपमा महरा पक्राउ परे र अनुसन्धानका लागि प्रहरी हिरासतमा छन् । हिज मात्रै सुन काण्डका पेसेबर दलाल जीवन गुरुङ धरौटीमा रिहाइ भए । हिजमात्रै उता गण्डकी प्रदेशमा पेसेबर गुण्डाका रूपमा चिनिएका दीपक मनाङे मन्त्री भए । त्यही समयको वरपर पोखरामा गृहमन्त्रीको सहकारी ठगी प्रकरणबारेको ज्ञापनपत्र पीडितहरूले प्रधानमन्त्रीलाई बुझाए । उता संसदमा नेपाली काङ्ग्रेसले सहकारी ठगीमा मुछिएका व्यक्तिलाई नै गृहमन्त्री बनाएर ‘चोरलाई चावि’ दिइएको भन्दै संसद अवरुद्ध गरेर प्रधानमन्त्रीको जवाफ मागिरहेको छ । आज संसदमा जवाफ दिँदा प्रधानमन्त्रीले रविलाई चोख्याउँदै सफाइ दिइरहेका छन् । रवि र उनको पार्टीले दिनुपर्ने जवाफ प्रचण्डले दिनु परेको छ । हिजो जनयुद्धमा ज्यान हत्केलामा राखेर परिवारका सबै सदस्यलाई युद्धमा होमेर लडेर गण्तन्त्र ल्याएका नेता जेल जाने र जनयुद्ध दवाउन माओवादीलाई कत्लेआम गर्न हिडेका पार्टीका नेता र तिनका संरक्षणमा पालित पोषित गुण्डा, डन तथा साम्राज्यवादले अगाडि सारेका प्यादाहरू जो प्रमाणित रुपमा ठग र तस्कर बनेका छन् तिनीहरु जेलबाट छुट्ने, मन्त्री बन्ने र अझ गृहमन्त्री नै बनेर जनयुद्धका नेतालाई जेल कोच्न आदेश दिने ठाउँमा पुग्छन् । यो परिदृश्य केवल संयोग मात्रै होइन । यो सबै राजनीतिले ओह«ालो बाटो पकड्नुको परिणाम हो । माओवादी केन्द्रका बरिष्ठ वा कनिष्ठ नेताहरू मात्रै नभएर माओवादी धाराका जुनसुकै पार्टीका नेताहरू पनि दलाल, तस्कर, माफिया, चोर, लुटेरा, पार्टीका नाममा अकुत चन्दा उठाएर आफ्नो नीजि स्वार्थ पूरा गर्ने, जनताका मुद्दा मिलाउने नाममा रकम अशुलेर आफ्नो नीजि सम्पत्ती जोड्ने, हिज जनयुद्धका बेला पार्टीले कब्जा गर्न लगाएका जमिन्दारहरूका जमीन २०६३ पछि जमिन्दारसँग सस्तो मूल्यमा खरीद गरेर प्लटिङ गर्दै धन कुम्ल्याउने र वास्तविक जोताहा किसानलाई बेदखली गरेर नाङ्गो बनाउने जस्ता अपराधिक कर्ममा सङ्लग्न छन् तिनीहरूलाई राज्यले कारबाही गर्नु पर्छ र जेल हाल्नु पर्छ । तर यहाँ त्यस्ता अपराधिक कर्म गरेका नेताहरू शाषक बनिरहेका छन्, शहरमा ठूलाठूला महल बनाएर सानसौकतको जिन्दगी बिताएका छन् । स्थानीय सत्ताका मालिक बनेर पूmर्ती झारेका छन् । त्यसरी कमाएको (खासमा लुटेको) धनलाई आज उद्योग, ब्यापार, शेयर मार्केटमा लगानी लगाएर महङ्गा कारमा शयर गरेका छन् ।
सरकारी माओवादीका कैयन नेता र तिनका सन्तान आज जेजसरी तस्करी, दलाली, यौनकाण्ड र माफिया काण्डमा सङ्लग्न भएका छन् त्यो भन्दा पनि ठूलो अपराध त यिनीहरूले त्यति ठूलो बलिदानीपूर्ण जनयुद्धलाई विसर्जन गरेर प्रतिकृयावादी सत्ताको कलो चाट्न विस्तारवादी र साम्राज्यवादी शाषकहरूको तलुवा चाटेर गरेका छन् । सजाय त यिनीहरूलाई नेपाली जनताले अर्को युद्ध मार्फत दिनुपर्ने छ । प्रतिकृयावादी सत्ताका प्रहरी, प्रशासन, अदालत आदिबाट कार्वाही हुनु भनेको त सामान्य कुरा हो । यी निकायहरूको काम भनेको त विभिन्न दलहरूका गुटिए लडाइँको मतियार बन्नु मात्रै हो ।
महरा जेजसरी बलात्कार काण्ड वा सुन काण्ड वा चिनियाँ ब्यापारीसँग पैसा मागेको टेपकाण्ड वा सञ्चार प्रविधिका मामिलामा नेपाली आकाश बेचेको काण्ड होस् यस्ता अपराधिक काण्डमा सजायँ भोग्नु सर्वथा स्वाभाविक छ । तर उनी जस्तै विभिन्न काण्डहरूमा मुछिएका विभिन्न पार्टीका अरू नेताहरूले छुट पाएका छन् । धमाधम धरौटीमा छुटेर पार्टीले सुनपानी छर्केर चोख्याइरहेका छन् । उता प्रचण्डलाई भने आफ्नै वर्गबैरीहरूलाई बोकेर आफ्नो कुर्ची बचाउन रातदिन सङ्घर्ष गर्नु परिरहेको छ । हिज जनयुद्धमा त उनी प्रवासमा सानको जीवन विताउँदै एउटा वक्तव्य र परिपत्रका भरमा देशमा जनयुद्ध सञ्चालन गर्थे र युद्धले उत्कर्षतातिर फड्को मार्ने लडाइँ हुन्थ्यो । उनले त दस्तावेज लेखेर सर्कूलर र वक्तव्य मार्फत् आदेश मात्रै दिन्थे भित्र ठूला ठूला मोर्चामा लडेर विजय प्राप्त गर्ने त दोस्रो, तेस्रो, चौथो, पाँचौँ, आदि तहका नेता कार्यकर्ता र जनताले वलिदानीपूर्वक लडेर विजय हासिल गर्थे । परन्तु आजका दिनमा भने प्रचण्ड नित्तान्त आफ्नो कुर्ची, पद–प्रतिष्ठा र आफ्ना परिवारजनको व्यवस्थापनका लागि पलपलको मृत्युसँग जुधिरहेका छन् र कहिले साम्राज्यवादलाई खुसी पार्न देशलाई दाउमा राख्छन् भने कहिले हिन्दू फासिवादी शाषकको पाउ मल्दै उसको घोडा बनेर पितवस्त्रमा महाकालेश्वर पुज्न र उसले बोकाएको जल लिएर पशुपतिमा चढाउन पुग्छन् । अनि आफ्नै आदेश पालना गर्न प्यादा बनेका विचरा आफ्नो सति जान पनि तयार हुने सहयोद्धाहरूलाई वर्गवैरीका पोल्टामा हुत्याएर रसातलमा हाल्न लगाउँछन् ।
रवि लामिछानेले हिजोका दिनमा मिडिया चलाउँदा संसदीय व्यवस्थाका मुख्य ठेकेदारहरू काङ्ग्रेस, एमाले तथा माके पार्टीका शीर्ष तहका नेताहरूको उछित्तो काढ्नमै आफ्नो मिडियाको मूलकर्म बनाएका थिए । त्यसो गर्ने वातावरण स्वयम् यिनै दलहरूले मिलाएका थिए । त्यति ठूलो बलिदानीपूर्ण युद्धबाट आएको प्रचण्ड मण्डली र २०४६ को परिवर्तित राजनीतिबाट सुपर पावरमा आएका काङ्ग्रेस र एमालेहरूको राजनीतिक उद्धेश्य नै सत्तामा पुग्ने र आफ्नो सात पुस्तालाई पुग्ने सम्पत्ती जोड्ने देशलाई साम्राज्यवाद र विस्तारवादका हातमा बेच्ने र उनीहरूको तलुवा चाटेर जिन्दगी गुजारा गर्ने मात्रै भयो । देशलाई हरिकङ्गाल बनाउने र आपूm अकूत सम्पत्तीको मालिक बन्नेमै यिनीहरूको राजनीति चलिरह्यो । त्यसले रवि तथा बालेनहरू जाग्ने अवसर पाए । पार्टीभित्रको सामन्तवादी प्रवृत्तीकै कारण आफ्नो पार्टीमा राजनीतिक भविश्य नदेख्ने युवा जमातले यी नयाँ पात्रहरूलाई साथ दिन तयार भए । त्यसको परिणाममा रातारात सत्तामा जादूगरी तरिकाले पुग्न रवि वा बालेनहरू सफल भए ।
मिडिया चलाउँदा जुन कुराको विरोध रविले गर्दथे सत्तामा गएर त्यही कुरा आपूmले लागू गर्दा पनि नेपाली समाजको एउटा तप्काको जमात रविलाई भगवान ठानेर वावाही गरिरहेको छ । बिडम्बना त यो हो । वास्तवमा रवि आफै पनि अमेरीकाबाट बैंक ठगीमा परेर भागेर नेपाल आएको, नेपालमा पुरानो नागरिकता प्रयोग गरेर मन्त्रीसम्म बनेको, दुईवटा राहदानी र पासपोर्ट प्रयोग गरेको र पछिल्लो समयमा सहकारीबाट रकम लिएर ठगी गरेको जस्ता काण्डहरू कान्तिपुर लगायतका मिडियाहरूले प्रमाण दिएर टिप्पणी गरिरहेका छन् । त्यसमा उनले नैतिकता देखाउनु नपर्ने । कानूनले उनलाई नसमात्ने । अझ स्वयम् प्रधानमन्त्रीले नै यो सबै झुठा कुरा हो बनेर गृहमन्त्रीको बचाउ गर्दै जनतामा भ्रम छर्नुपर्ने । किनकि आफ्नो कुर्ची बचाउनु छ । आफ्नो टाउकोमा थोपरिएका जनयुद्धका मुद्धाबाट बच्नु छ ।
महरा पटक पटक विभिन्न काण्डमा मुछिएर आफ्नै सत्ताका पुलिसबाट पकडिएर जेल वा हिरासतमा जानुका पछाडि मुख्यतः दुई÷तीन वटा कारण देखिन्छ । पहिलो त उनी आफ्नै कारण यस्ता काण्डमा पर्नु हो । नेपालीमा उखान छ नि ‘हावा नचली पात हल्लिन्न’, ‘न पादी गन्हाउन्न’ । हावा त उनले अलिअलि चलाएकै हुनु पर्छ तर उनका आफ्नै पार्टीभित्रका प्रतिद्वन्दी र बाहिरका वर्गवैरीहरूले पात मात्रै हल्लिएको मौका पारेर रुखै उखेल्न गुप्त रूपबाट डोजर चलाइदिए । पादेको मात्रै कुरालाई लिएर यसले त बिस्तरैभरी छेरिदियो भनेर कोठाबाट निकाल्ने मौका यही हो भनेर निकालिदिए । मिडियामा आएका प्रमाण सहितका समाचार र सत्तादारी माओवादी पार्टीका नेता कार्यकर्ताहरू जो विभिन्न तहका शक्तिमा छन् उनीहरूको रवाफ र जीवनस्तर हेर्दा यी कुनै पनि उपर्युल्लिखित अपराधिक कर्मबाट चोखा बचेका छैनन् भन्ने नै देखिन्छ । तर पटक पटक महरा मात्रै शिकार किन बनाइन्छन् ? किनकि महरासँग उनलाई बचाउन सक्ने उनको पछाडि सङ्गठनात्मक गुट अर्थात् पावर छैन । यद्यपि २०४८ सालदेखि उनी बुर्जुवा संसद र सरकारमा पुग्नुका पछाडि प्रचण्डको इमान्दार हनुमान हुनु हो । त्यसबेलादेखि उनी भूगोलको सङ्गठनमा पकड बनाएर आफ्नो गुटमा लाग्ने कार्यकर्ताको जमात बनाउन सकेनन् । उनले सत्ताको उपरीसंरचनाका खेलाडीहरूसँग मात्रै हिमचिम बढाए र पार्टीमा मध्यपन्थी धारको नेता बनेर सबैको प्रिय बन्ने बाटो समाते । अब बुर्जुवा व्यवस्थाका खेलाडीदेखि साम्राज्यवाद र विस्तारवादी शाषकहरूसँग सिधै सम्पर्क गर्ने काम प्रचण्ड आफैले गरिरहेका छन् । त्यसैले उनलाई मध्यस्तताको जरुरी छैन । तसर्थ महरा प्रचण्डका लागि आवश्यक पात्र बनेनन् । महरा आफैले खनेको खाल्डोमा आफैँ पर्दा प्रचण्डलाई अरूका निम्ति ‘म आफ्नै पार्टीका नेतालाई पनि छोडेको छैन है’ भनेर चोखो राजनीति गरेको देखाएर केही क्षणका लागि पिसावको न्यानो भएको छ । कुरा यति मात्रै होइन ।
जनयुद्धका क्रममा मोहन वैद्य किरणलाई भारतमा पकडियो र जेल हालियो । त्यसमा प्रचण्ड बाबुरामको सङ्लग्नता थियो भनेर भन्न सकिने आधार त छैन । प्रमाण बिना कसैमाथि अनुमानमा तिर चलाएर आरोपति गर्नु पनि हुँदैन । तर आज जसरी भारतीय खुफियाका नेतादेखि सत्तासीन पार्टी र ब्युरोक्रेसीका प्रमुखहरूले लगातार प्रचण्ड–बाबुरामहरू आफ्नो निर्देशनमा चलेका थिए वा पाहुना थिए वा जेसुकै कुरा बताए पनि र सुधिर शर्माले लेखेको ‘प्रयोगशाला’ बाट के प्रष्ट हुन्छ भने भारतीय विस्तारवादी शाषकहरूले योजनावद्ध रूपमा किरणको गिरफ्तारी गरेका थिए । प्रचण्डलाई किरणको पोल्टाबाट निकालेर आफ्नो स्वार्थ पूरा गर्न बाबुरामाको पोल्टामा हालेपछि जनयुद्ध समाप्त पार्न सकिन्छ भनेर नै उनलाई पकडिएको पुष्टि हुन्छ । त्यसमा साम्राज्यवादीहरूको पनि इसारा हुन सक्छ । जनयुद्धलाई दमनबाट समाप्त पार्न सकिँदैन भन्ने हेक्का राखेर नै साम्राज्यवाद विस्तारवादले मन्द विष प्रयोग गर्ने नीति लिए । त्यसका लागि प्रचण्डलाई प्रयोग गरेर माओवादी पार्टीलाई नै वैचारिक विचलनमा पु¥याएर समाप्त पार्ने खेल खेलियो । त्यसैको कडि हो चुनवाङ बैठकमा बाबुरामको एजेण्डालाई प्रचण्डले आफ्नो बनाएर पेस गर्नु । चुनवाङको कार्यदिशा बाबुराम आफैले पेस गरेको भए पार्टीको ठूलो हिस्सा जो वास्तवमा जनयुद्धमा फिल्डको नेतृत्व गरेको थियो ले अस्वीकार गर्ने खतरा थियो । त्यो बाबुरामा प्रचण्ड दुबैलाई थाहा थियो । त्यसैले प्रचण्डबाटै त्यो प्रस्ताव आएपछि सबै नेताहरूले आँखा चिम्लिएर समर्थन जनाए । किनकि पार्टीमा प्रचण्डलाई त देवत्वकरण गरिएको थियो । त्यही कार्यदिशाको परिणाम आज माओवादीकेन्द्रले भोगरिहेको छ । पार्टी पनि छिन्नभिन्न हुन पुगेको छ भने इमान्दार नेता कार्यकर्ताहरूको विल्लिबाट भएको छ । र जतजिति साम्राज्यवाद तथा विस्तारवाद सामू लम्पसार परेर ढोग्न पुग्छन् उतीउती उनीहरूले प्रचण्डलाई चुटेर कमजोर बनाउँदै एक्लाउँदै छन् । चिनियाँ साहित्यकार ल्यु सूनले एक ठाउँमा भनेका थिए ‘तलाउमा फसेको कुकुरलाई लट्ठीले बेस्सरी हिर्काऊ’ । आज वैदेशिक प्रतिक्रियावादीहरूले प्रचण्डमाथि नै ल्यु सूनको भनाई प्रयोग गरिरहेका छन् ।
अहिले साम्राज्यवादी तथा विस्तारवादी शाषकहरूले माओवादीलाई जनयुद्धका मुद्धा लगाएर सिद्ध्याउने खेलमा भन्दा यस्तै बुर्जुवा कानूनले रूपमा निषेध गरेका काण्डमा फसाएर सिद्ध्याउने खेलमा लागेको देखिन्छ । त्यसो गर्दा साप पनि मर्ने लट्ठी पनि नभाँच्नु पर्ने । जनयुद्धका मुद्दामा भने स्थानीय तहमा रहेका तल्लो तहका कार्यकर्ताहरूलाई मात्रै फसाइरहेको छ । त्यसैको सुरुआत हो महरा काण्ड । आज महरालाई फसाउँदा एकातिर पार्टीभित्रै पनि उनका प्रतिद्वन्दी भित्रभित्र रमाउने भएको छ भने अर्कातिर प्रचण्डलाई एक्लो बनाउँदै लैजान पनि सजिलो हुने भएको छ । यो काण्डमा प्रतिकृयावादीहरू सफल भए भने क्रमशः अरूलाई पनि यस्तै काण्डमा सिद्ध्याउँदै लगेर अन्त्यमा प्रचण्डलाई एक्लो बनाएर सिद्ध्उँछन् । यसमा एमाले नेतृत्वले पनि भूमिका खेलेको देखिन्छ । केपीले नै रविलाई गृहमन्त्री बनाउन लबिङ गरेर प्रचण्डलाई बाध्य पार्नु त्यही कारण हो । रविलाई प्रयोग गरेर माकेलाई सिद्ध्याउने र काङ्ग्रेसलाई कमजोर पार्ने अनि मिसन चौरासीमा आपूm सफल हुने रणनीति एमालेले लिएको प्रष्ट देखिन्छ ।
अर्कातर्फ भारतको संस्थापन र ब्युरोक्रेसीले पनि अब पुराना पार्टीका नेताहरूलाई भन्दा नयाँलाई आफ्नो घोडा बनाउने नीति लिएको देखिन्छ । साम्राज्यवाद पनि भारतलाई अगाडि सारेर आफू आउन चाहन्छ । किनकि त्यसो गर्दा चीनको व्यापारिक साझेदार भारतलाई समेत अगाडि राखेर आउँदा नेपालमा चीन विरोधी गतिविधि गर्दा भारत चुप बसोस् । त्यसका निम्ति पनि रावि जस्ता नयाँ पात्र अमेरिकी साम्राज्यवादलाई चाहिएको छ । नत्र आफ्नो देशमा बैंक ठगीको मुद्धा परेको व्यक्तिलाई नेपालको सत्ताको मेरुदण्डमा पुग्दा नेपाल स्थित अमेरिकी दुताबास चुप लागेर किन बस्थ्यो । खेल निकै गम्भीर छ । यसतर्फ क्रान्तिकारीहरूले सजगतापुर्वक हेर्नु जरुरी छ र वर्गसङ्घर्षलाई नयाँ ढङ्गबाट उठाउन आवश्यक छ ।
नेपालमा सुन तस्करीमा आज जो जेजसरी संलग्न भएको देखिएको छ त्यो त सामान्य परिघटना मात्रै हो । सुन तस्करीको जालो अन्तर्राष्ट्रियसम्म देखिन्छ । नेपाल त जक्सन मात्रै हो । एकातिरबाट नेपाल आउने र नेपालबाट बाहिर जाने नै हो । यहाँकाले दलाली गरेर कमिसन खाने मात्रै देखिन्छ । यो कार्य पञ्चायत कालेदेखि नै लगातार चलिरहेको छ । जनयुद्ध सम्पन्न गरेर नेपालमा नयाँ जनवाद स्थापना गर्ने लक्ष्य उद्धेश्य लिएर सबै कुरा त्यागेर परिवार नै पार्टीमा होमेर ज्यान हत्केलामा राखेर प्रतिकृयावादी सत्ताबाट टाउकाको मोल तोकिएर समर्पित भएका उच्च तहका नेताहरू नै यस्ता खाले तस्करीमा मुछिनु माओवादी आन्दोलनमा लागेका सबै नेता कार्यकर्ताहरूका निम्ति लज्जाबोधको विषय भएको छ । भन्न त जुन औँलामा रोग लाग्यो त्यही औँला झर्छ भनिन्छ तर राजनीतिमा त्यसो नहुँदो रहेछ । दुईचार जनाले नराम्रो काम गर्छन् तर त्यसको वदनामको भारी भने इमान्दारहरूले पनि बोक्नुपर्ने हुँदो रहेछ ।
२०८० चैत ६