काठमाडौं । सहिद प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री समेत रहेका नेकपा (माओवादी) केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका कार्यालय सदस्य तथा पार्टी प्रवक्ताबिच जुहारी चलेको थियो । प्रचण्डभन्दा अगाडि बोलेका धर्मेन्द्र बास्तोलाले हालै इण्डियन मिडियाहरुले प्रचण्डलाई ‘भारतीय घोडा’को संज्ञा दिएको प्रसंग कोट्याउँदै भारतले किन प्रचण्डलाई, नेपालको प्रधानमन्त्रीलाई यसो भन्छ ? के भारतको हेपाहा प्रवृत्तिका विरुद्ध लड्न सकिन्न ? भनेर प्रश्न गरेका थिए । धर्मेन्द्र बास्तोलाले नयाँ परिस्थितिमा क्रान्तिकारी कम्युनिस्टहरुबीच वृहत एकताको खाँचो रहेको पनि बताएका थिए । उनले दलाल चरित्रको संघीय लोकतान्त्रिक गणतन्त्रलाई नयाँ जनगणतन्त्र÷वैज्ञानिक समाजवादमा बदल्न तयार हुनुपर्नेमा जोड दिएका थिए । बास्तोलाले अमेरिकाको एमसीसी र भारतीय विस्तारवादी हस्तक्षेपको बारेमा समेत प्रश्न उठाएका थिए ।
प्रचण्डले बोल्ने क्रममा धर्मेन्द्र बास्तोलातर्फ इङिगत गर्दै केही साथीहरुले अझै कुरा नबुझेको देख्दा दुःख लागेको भन्दै आफू कसैको घोडा नभएर नेपाली जनताको घोडा भएको स्पष्टीकरण दिएका थिए । उनले अहिले सत्ता गठबन्धन बदलेर आफूले मुलुकमा ठूलै उथपलपुथल ल्याएको र आफू बाँचुन्जेल यस्तो उथलपुथल आइरहने बताएका थिए । उनले अब आफूहरु वृहत् कम्युनिस्ट एकताको कोर्समा अगाडि बढेको बताएका थिए । उनले विप्लवको भने पटक पटक प्रशंसा गरेका थिए ।
उत्ता नेकपाका महासचिव नेत्रविक्रम चन्दले संघीय लोकतान्त्रिक गणतन्त्र जनयुद्धकै सन्तान भएकोले सन्तानको रक्षा गर्न सबै माओवादीहरु एक हुनुपर्ने बताए । उनले यो संघीय लोकतान्त्रिक गणतन्त्रबाट समाजवादी व्यवस्था जन्मिने पनि दावी गरे ।
कार्यक्रममा नेपाल समाजवादी पार्टीका प्रतिनिधि जनक शाह लगायतले पनि बोलेका थिए । कार्यक्रमको अध्यक्षता धर्मशिला चापागाई र सञ्चालन युवराज चौलाईले गरेको कार्यक्रममा माओवादी केन्द्रकी उपाध्यक्ष पम्पा भुसाल, प्रतिष्ठानका पूर्व अध्यक्षहरु हितराज पाण्डे, एकराज भण्डारी लगायतका नेताहरुको समेत उपस्थिति रहेको थियो ।