काठमाडौं । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको माओवादी केन्द्र र चन्द्रदेव जोशी नेतृत्वको नेकपा (संयुक्त) मा विद्रोह भएको छ । त्यस पार्टीबाट विद्रोहको घोषणा गर्ने युवा नेताहरूलाई क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले भव्य स्वागत गरेको छ ।

अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघले आयोजना गरेको नयाँ ध्रुवीकरण र शहिदहरुको चर्चा कार्यक्रममा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका कार्यालय सदस्य हरिभक्त कंडेल प्रतिक, महासंघका संयोजक दिनेश शर्मा, सह संयोजक वसन्त बोगटी, विनोद थापा, भगिरथ न्यौपाने र गोर्की श्रेष्ठ सहितका नेताहरूले विद्रोह गर्ने युवा नेताहरुको भव्य स्वागत गर्नुभएको छ ।

नेकपा माओवादी केन्द्रबाट विष्णु कार्की र नेकपा संयुक्तबाट हरिशचन्द्र गैरे क्षितिजको नेतृत्वमा विद्रोह सम्पन्न भएको हो । नयाँ ध्रुवीकरणमा सहभागी हुँदै क. विष्णु कार्कीले नेपाली क्रान्तिका आगामी कार्यभार सम्पन्न गर्न विद्रोह आवश्यक भएको स्पष्ट गर्नुभयो । “हाम्रो ध्रुवीकरण एकातिर नयाँ र महान क्रान्तिको सृष्टिद्वारा नेपाली समाजका युगिन कार्यभार सम्पन्न गर्ने एक सचेत र महान प्रयत्न हो ।

त्यसै गरि अर्कोतिर संशोधनवाद, नव संशोधनवाद, प्रतिगमन र विद्यमान दलाल तथा नोकरशाही सामन्त वर्गीय राज्यसत्ता र संसदीय व्यवस्था विरुद्धको महान विद्रोह हो । हामी यसै विद्रोह मार्फत माओवादी केन्द्रसँग रहेका हाम्रा सम्पूर्ण जिम्मेवारीहरु खारेज गर्न चाहन्छौं । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल र त्यसले अवलम्बन गरेको विचार, संगठन, नेतृत्व र आन्दोलनमा एकताबद्ध अघि बढेको सगौरव घोषणा गर्न चाहन्छौं ।”