शनिबारीय साहित्य : कविता
*** ***
तिमीभित्रकाे गहिरो विषाद
निस्किएर ह्रदयकाे गहिराइबाट
कसरी पाेखिएकाे थियाे अनुहारभरि
आँखाका डिलहरूबाट
कसरी बगेको थियोे त्याे
बाेल्न चाहेर पनि
कसरी बाेल्न असमर्थ थिए तिम्रा ओठहरू ।
तिम्रो असीम वेदनामा
म थिएँ , हामी थियौँ
छाेटाे जीवनका असंख्य स्मृतिहरू थिए
यहाँभन्दा पर सायद अरू काेही थिएन , केही थिएन
तिमी एक मुठी सास अलि चाँडै गयाे हुन्थ्यो भन्थ्याै
तर गइरहेको थिएन त्यो
त्यसले हेरिरहेको थियाे हामीलाई
लाग्थ्यो उसकाे ह्रदय पनि काँपिरहेछ
सन्तापले भरिएका हाम्रा अनुहारहरू हेरेर
ऊ पनि भित्र भित्र मैनझैँ पग्लिरहेछ ।
आज मात्र स्मृतिहरू छन्
केही डाेबहरू छन् तिमीले छाेडेका
केही गीतहरू , सुस्केराहरू, स्वप्नहरू छन्
केही राग- विराग, आँसु- हाँसाेहरू छन्
काेसिस गरेकाे छु तिनलाई सुरक्षित राख्न
ह्रदयकाे विशाल सङ्ग्रहालयमा
घिसिदै विस्तारै विस्तारै सकिने पाे हुन् कि
डर लागिरहेछ, डर ।
तिम्रा स्मृतिहरू छन् र त हे आमा !
थाेरै सजिलो छ जीवन
जीवनकाे कठिन उकालोमा
मिठाे संवाद गर्छन् तिनले मसँग
तिमी नै भएजस्तो लाग्छ सँगसँगै
र जीवनबाट बगिरहन्छन्
सहस्र उर्जाका धाराहरू ।

(माघ १२ गते । ४३ वर्ष अघि आमाकाे निधन भएकाे थियाे । ४४ वर्षकी हुनुहुन्थ्यो आमा । बाँचेकी भए आज ८७ वर्षकी हुनुहुन्थ्यो । उहाँको असामयिक निधन हाम्रा निम्ति अत्यन्त पीडादायी थियाे । आज हामीसँग उहाँसँगका सुन्दर स्मृतिहरू मात्र छन् र तिनले हामीलाई जीवनकाे कठिन बाटोमा हिड्न उर्जा दिइरहेछन् । आमाप्रति हार्दिक श्रद्धाञ्जली । यही ठाउँ हाे जहाँ उहाँको सम्पूर्ण जीवन बितेको थियोे । आमाको सम्झनामा प्रस्तुत छ एउटा कविता – लेखक)