अक्टाेबर क्रान्ति

शनिबारीय साहित्य : कविता
*** ***
 
आऊ किसानहरु
हसियाँ उठाउँ
र खेतको धान नसकिदासम्म काटौं
भरिया काका,
त्यो उकालो र यो ओरालो गर्दै
भारी बोकी राख्नु
ड्राइभर दाइ,
तपाई पनि आउनुस्
गन्तव्य नपुग्दासम्म यो गाडी गुडाइराख्नुस्
डकर्मी भाइ,
तिमी पनि सुन
यो घर, यो आलिशान महल नबन्दासम्म
यी मज्दुर साथीहरुसंग
मिलेर काममा जुट
किन कि हामीलाई हाम्रै विश्वास छ
हाम्रो हरेक सुस्केरामा
हरेक हण्डर–ठक्करमा
र तुरुक्क चुहेको हरेक पसिनाका थोपा थोपामा
महान् क्रान्ति छ ।
दुर्भाग्य,
हामीभन्दा थोरै पर एउटा दुनियाँ छ
जहाँ हाम्रै पसिनामा टेकेर
एकथरि कथित सर्वहाराहरु
देशको ढुकुटीमा दूधको चौकीदारी गरिरहेछन्
धनसारभित्र मुसाहरु
अनेकौं सुरुङमार्गबाट
धन ओसारिरहेछन्
र भट्टी पसल पसेर
बेसूर अक्टोबर क्रान्तिको भजन गाइरहेछन् ।