शनिबारीय साहित्य : समालाेचना
*** ***
मार्क्सवादको विकाससँगै मार्क्सवादी कला चिन्तनको पनि विकास भएको हो । मार्क्सवादले कला (साहित्य) लाई अधिरचनाका रुपमा व्याख्या गर्छ र अधिरचना रुपी कला सम्बन्धित समाजको (आर्थिक) आधारको विचारधारात्मक प्रतिबिम्बनका रुपमा अस्तित्ववान् हुन्छ भन्ने मान्यता राख्दछ । यस आधारमा कुनै समाजको आधार अर्थात् उत्पादक शक्ति र उत्पादन सम्बन्ध जस्तो छ त्यसको अभिव्यक्ति कला (साहित्य) मा हुन्छ वा यसो भनौं त्यसको प्रतिबिम्बन कला साहित्यमा हुन्छ (मार्क्स, मिश्र, पृ. ३०० मा) । यसले के पनि स्वीकार गर्दछ भने आधारमा आउने परिवर्तनले अधिरचनालाई पनि परिवर्तित गर्दछ । कार्ल मार्क्सले राजनीतिक अर्थशास्त्रको आलोचनाको भूमिकामा भनेका छन् – भौतिक जीवनको उत्पादन पद्धतिले नै हाम्रो सामाजिक, राजनीतिक र बौद्धिक जीवनको प्रक्रियालाई अनुकूलित गर्दछ । मनुष्यको चेतनाले उसको अस्तित्वको निर्धारण गर्दैन, अपितु उसको सामाजिक अस्तित्व (वा भौतिक जीवन) ले उसको चेतनाको निर्धारण गर्दछ” (मिश्र, पृ. ३०१ मा उद्धृत) । यसरी हेर्दा कुनै पनि समाजको उत्पादन पद्धति र उत्पादन सम्बन्ध त्यहाँको भौतिक जीवन हो अथवा त्यो सामाजिक अस्तित्वको नियामक हो । त्यसैले मार्क्सले भनेझैँ त्यही सामाजिक अस्तित्व रुपी उत्पादन सम्बन्धले कला रुपी चेतनाको निर्माण गर्दछ । मार्क्सले अधिरचनाका रुपहरुलाई विचारधाराको अथवा आधारको विचारधारात्मक प्रतिबिम्बनको संज्ञा दिएका छन् । आर्थिक धरातल (आधार) माथि उभिएको विशाल अधिरचनालाई मार्क्सले विचारधारात्मक अधिरचना भनेका छन् । यसबाट राजनीति, धर्म, कानुन, दर्शन जस्तै कला साहित्य पनि विचारधाराकै एउटा रुप हो भन्ने स्पष्ट हुन्छ । साहित्य सम्बन्धी मार्क्सवादी मान्यताका यस सन्दर्भमा प्रथमत: दुई वटा कुरा उल्लेखनीय र विचारणीय छन् ।
पहिलो कुरा, के (आर्थिक) आधार (वा उत्पादन सम्बन्ध) प्रमुख हो र त्यसकै विचारधारात्मक प्रतिबिम्बन कला साहित्यमा हुन्छ भन्नुको तात्पर्य कला साहित्यको रुप र अन्तर्वस्तुलाई आधारले निरपेक्ष रुपमा प्रभाव पार्ने र निर्धारण गर्ने काम गर्दछ र त्यसको स्वायत्त सत्ता हुँदैन भन्ने हो त ? यो प्रश्न मार्क्सवादी साहित्य चिन्तनका सन्दर्भमा अत्यन्त महत्वपूर्ण प्रश्न हो । यसैलाई आधार बनाएर नव मार्क्सवादी, उत्तर मार्क्सवादी र उत्तर आधुनिकतावादी चिन्तक/चिन्तनले मार्क्सवादमाथि आक्रमण पनि गर्ने गरेका छन् । यसलाई उनीहरुले मार्क्सवादको आर्थिक सङ्कुचनवाद भनी आरोप पनि लगाउने गरेका छन् । यसबारे धेरै अघि एङ्गेल्सले दिएको जवाफ निकै ऐतिहासिक महत्वको छ । उनी भन्छन् :
इतिहासको भौतिकवादी अवधारणा अनुरुप अन्तिम रुपमा इतिहासको निर्धारक तत्व भनेको वास्तविक जीवनको उत्पादन र पुन: उत्पादन हो । न मार्क्सले र न मैले नै यो भन्दा बढी केही पनि दावी गरेका छौं । त्यसैले यदि कसैले आर्थिक आधार एक मात्र निर्धारक तत्व हो भनी भन्छ भने उसले उक्त प्रस्थापनालाई अर्थहीन र विसङ्गत कथनमा रुपान्तरित गर्दैछ । आर्थिक स्थिति आधार त हो, तर अधिरचनाका थुप्रै तत्वहरुले ऐतिहासिक सङ्घर्षहरुलाई प्रभावित तुल्याउँछन् र थुप्रै अवस्थामा त्यसको रुपलाई पनि निर्धारित गर्दछन् । …. हामी हाम्रो इतिहास बनाउँछौं, तर (सर्वप्रथम) अत्यन्त निश्चित प्राक्कल्पना र अवस्थाहरु अन्तर्गत । ती मध्ये आर्थिक कुराहरु अन्तत: निर्णायक नै हुन्छन् । तर राजनीति आदि र अझ परम्पराहरु जसले मानव मस्तिष्कलाई गाँजिरहन्छन्, तिनले निर्णायक रुपमा नभए पनि एक हदसम्म भूमिका निर्वाह गर्दछन् (स्टोरी, ६० मा उद्धृत) ।
एङ्गेल्सको उपर्युक्त भनाइको आशय के हो भने कला साहित्य जस्ता अधिरचनाका रुपहरु प्राथमिक शक्ति होइनन्, तर पनि ती ऐतिहासिक परिवर्तनमा अथवा सामाजिक स्थायित्वमा सक्रिय माध्यम हुन सक्छन् (स्टोरी, ६१) । वास्तवमा ऐतिहासिक परिवर्तन र समाज विकासको निर्णायक र आधारभूत तत्व उत्पादन पद्धति र त्यसमा आउने परिवर्तन नै हो तर त्यसलाई गति दिने र ऊर्जा दिने काममा अधिरचना रुपी (अन्य तत्व जस्तै) कला साहित्यको पनि भूमिका हुन्छ । यसरी आधार र अधिरचनाको भूमिका दोहोरो नै हुन्छ । एकातिर अधिरचनाले आधारलाई अभिव्यक्त गर्नुका साथै वैधता प्रदान गर्दछ भने अर्कातिर आधारले अधिरचनाका रुप र अन्तर्वस्तुको निर्माण र निर्धारण गर्दछ (स्टोरी, ६०) । निष्कर्ष के हो भने आधार (उत्पादन सम्बन्ध र पद्धति) केन्द्रीय वा निर्णायक हुन्छ भन्ने कुरालाई यान्त्रिक ढङ्गले र अन्यले आरोप लगाए झैं साँच्चिकै आर्थिक सङ्कुचनवादी ढङ्गले लिनु हुँदैन र एङ्गेल्सले भने झैं कला साहित्यको समाज रुपान्तरण वा ऐतिहासिक परिवर्तनमा महत्वपूर्ण भूमिका हुन्छ भन्ने कुरालाई पनि आत्मसात् गर्नु पर्छ । यसले सम्बद्ध कालखण्डको आधारलाई मात्र अभिव्यक्त गर्दैन अपितु त्यसको रुपान्तरणमा समेत सहकारी भूमिका निर्वाह गर्दछ ।
कला साहित्यको समाज रुपान्तरणकारी भूमिका हुन्छ भन्ने कुरामा मार्क्सवादी कला चिन्तन स्पष्ट छ । धेरै अघि मार्क्सले “अहिलेसम्म सबै दार्शनिकहरुले संसारको व्याख्या मात्र गरे तर मुख्य कुरा यसलाई बदल्नु हो” भनी उल्लेख गरेको विचारबाट मार्क्सवादी कला चिन्तन र रचना प्रक्रिया दुवै डोरिएका छन् । निश्चित रुपमा मार्क्सले भने झैं हरेक युगमा शासक वर्गको विचार शासकीय विचार नै हुन्छ र जुन वर्ग शासकीय भौतिक शक्तिका रुपमा रहन्छ, त्यो त्यस समयको बौद्धिक शक्तिका रुपमा रहन्छ । मार्क्सको यस भनाइको तात्पर्य के हो भने भौतिक उत्पादनका साधनमाथिको स्वामित्व र नियन्त्रणका कारण शासनमा रहेको प्रभुत्वशाली वर्गले बौद्धिक उत्पादनमाथि पनि निश्चितै रुपले नियन्त्रण राख्दछ (स्टोरी, ६१) । यस सत्यबाट मार्क्सवादले निकालेको महत्वपूर्ण निष्कर्ष के हो भने वर्ग समाजमा कला साहित्य (अधिरचनाका अन्य रुप झैं) वर्गीय हुन्छ । यसको तात्पर्य के पनि हो भने कला साहित्यको एउटा धार शासन केन्द्री हुन्छ र अर्को धार वैकल्पिक रुपमा सामाजिक कुरुप यथास्थिति एवं त्यसको नियन्ता शासक वर्गका विरुद्ध परिवर्तनको चेत (माथि मार्क्सले भनेझैं संसार बदल्ने आवश्यकता बोध) सँगै क्रियाशील रहन्छ । त्यसैले कला साहित्य वर्गबोध र वर्ग चरित्रबाट असम्पृक्त रहनै सक्दैन ।
दोस्रो महत्वपूर्ण कुरा कला साहित्यमा आधारको विचारधारात्मक प्रतिबम्बन हुन्छ र कला साहित्य त्यही आधारमाथि आश्रित हुन्छ भन्नुको अर्थ यसको कलात्मक निजत्व हुँदैन भन्ने हो त ? माथि कला साहित्यको जुन किसिमको भूमिकाको उल्लेख गरियो त्यस सन्दर्भमा हेर्दा अधिरचनाका अन्य रुपका दाँजोमा कला साहित्यको आफ्नो निजत्व र पार्थक्य स्पष्ट रुपमा रहेको छ । अधिरचना हुनुका कारण र आधारको प्रतिबिम्बन हुनुका कारण राजनीति, दर्शन, विज्ञान, कानुन जस्तै अधिरचनाका रुप झैं कला साहित्य पनि विचारधारा नै हो तर यसो भनेर न त यो समाज रुपान्तरणको निरपेक्ष रुपमा एउटा औजार मात्र हो न त यो विशुद्ध विचारधारा मात्र हो । विचारधारा कलाको एउटा महत्वपूर्ण तत्व हो । विचारधारात्मक भूमिका कलाका तिन भूमिका मध्ये एउटा महत्वपूर्ण भूमिका हो । त्यसैले मार्क्सवादले कलालाई आधारको विचारधारात्मक प्रतिबिम्बन भन्दा भन्दै पनि यो दर्शन र राजनीति झैं विशुद्ध विचारधारा होइन र यसमा इन्द्रियबोध र भावहरुको सान्निध्यमै विचारको उपस्थिति रहन्छ भन्ने कुरालाई समेत स्वीकार गरेको छ (मिश्र, पृ. ३०२) । मान्छेको सृष्टि सौन्दर्य नियमहरुबाट परिचालित छ भन्दै मार्क्स एङ्गेल्सले मानवीय संवेदना र भावबोधलाई कलाको स्वभावका रुपमा प्रस्तुत गरेका छन् । यसलाई कलाका तिन भूमिकाका सन्दर्भबाट पनि बुझ्न सकिन्छ ।
कलाका संज्ञानात्मक, विचारधारात्मक र सौन्दर्यात्मक तिन भूमिका हुने कुराप्रति मार्क्सवादी कला चिन्तन स्पष्ट छ । संज्ञानात्मक भूमिका यथार्थको बोध वा संज्ञान गराउने कुरासँग सम्बन्धित छ । आफ्नो यथार्थवादी चरित्रका कारण कलाले जीवन जगत् वा हामी बाँचेको समाजको सुखद/ दु:खद (प्रहसनात्मक / दु:खान्त), सुन्दर / कुरुप, अपेक्षित / अनपेक्षित यथार्थको बोध गराउँछ तर त्यसको प्रक्रिया बिम्बात्मक वा पुन: सिर्जनात्मक हुन्छ । यसले सुन्दर / कुरुप यथार्थका जुनसुकै पक्षको सरदर र यथातथ्यात्मक (फोटोकपीमूलक) होइन उदात्तीकृत र प्रारुपीकृत पुन: सिर्जन गर्दछ । त्यसैले त्यो अधिरचनाका अन्य रुपले गर्ने यथार्थको प्रस्तुति भन्दा भिन्न र भव्य हुन्छ । यसै गरी कला स्वभावैले सुन्दर हुन्छ । सुन्दर हुनु कलाको आधारभूत वैशिष्ट्य हो । कालीगढीपूर्ण आङ्गिक विन्यासबाट कलाले सौन्दर्य प्राप्त गर्दछ र यही सुन्दर हुनुका कारण यसले मान्छे (भावक)का रागात्मक आवश्यकता पुरा गर्ने वा आत्मिक जगत्लाई प्रभावित/आह्लादित गर्ने र तुष्ट गर्ने काम गर्दछ । तर यहाँ यो पनि स्पष्ट पार्नै पर्छ कि केवल सुन्दरका तŒव हुनुका कारण मात्र आत्मिक जगत्को तुष्टि गर्ने काम कलाले गर्दैन । सुन्दरका तत्व अन्तर्वस्तुलाई व्यक्त गर्ने माध्यम हुन् र अन्तर्वस्तुको ओज र उपयोगिताले नै मुख्य रुपमा आत्मिक जगत्लाई प्रभावित तुल्याउने सामथ्र्य राख्दछ । त्यसका निमित्त यथार्थको उदात्त पुन: सिर्जन र संसार बदल्ने अर्थात् कुरुपलाई सुन्दर बनाउने विचारको साहचर्य आवश्यक हुन्छ । यसरी बन्ने अन्तर्वस्तुका अभावमा सुन्दरका तत्वले मात्रै कलालाई सार्थक र प्रभावकारी बनाउन सक्दैनन् । अर्को ढंगले समष्टिमा भन्दा संज्ञान (यथार्थ), विचार (भौतिकवादी दृष्टिकोण) र सुन्दरका तिनै तत्वको उच्च संयोजनमा कलाले आत्मिक जगत्को तुष्टि र परिष्करणको काम गर्दछ ।
कलाको मूल्याङ्कनका सन्दर्भमा माओले राजनीतिक र कलात्मक दुई मापदण्डको कुरा अघि सार्नु भएको छ र संशोधनवादी एवं पुँजीवादी वृत्तबाट यसको आलोचना पनि भएको छ । वास्तवमा कलाको मूल्याङ्कनका मापदण्डबारे माओको दृष्टिकोण पूर्णत: मार्क्सवादी छ र त्यो कलाको वर्ग चरित्र सम्बन्धी अवधारणामा अडिएको छ । अझ अर्को प्रकारले भन्ने हो भने अहिलेसम्म सबैले संसारको व्याख्या मात्र गरेका छन्, मुख्य काम यसलाई बदल्ने हो भन्ने मार्क्सको (र मार्क्सवादको) प्रख्यात भनाइ नै यसको आधार हो । यो संसार वर्गीय छ, त्यस कारण संसारमा वर्गीय उत्पीडन कायम छ । संसारमा वर्गीय (र अन्य प्रकारका समेत) उत्पीडन छ र नै यो संसार कुरुप छ । त्यसैले यसलाई बदल्न जरुरी छ । त्यस दायित्वबाट कला साहित्य पनि पृथक् वा निरपेक्ष रहँदैन । त्यो दायित्व निर्वाह गर्न कुरुप संसारको संज्ञान मात्र पर्याप्त छैन, परिवर्तनकामी विचारको साहचर्य पनि आवश्यक छ । तीव्रतर वर्ग विभक्त समाजमा विचारको मूर्तन राजनीतिमै हुन्छ र राजनीतिबाटै त्यो व्यक्त पनि हुन्छ । कुनै वर्ग समाजमा कुनै रचनामा समाजका कुरुपताप्रति र त्यसलाई बदल्ने कुराप्रतिको दृष्टकोण राजनीतिक विचारबाटै स्पष्ट हुन्छ । त्यसैले कलाको सार्थकता र मूल्यको आकलनका लागि केवल सुन्दरको मानदण्ड मात्र पर्याप्त छैन भनेर नै माओले राजनीतिक मापदण्डको प्रस्थापना अगाडि सार्नु भएको हो । राजनीतिको तात्पर्य कुनै पार्टी विशेषको राजनीति होइन, उत्पीडित जनताको हित, श्रमिक जनताको हित र सुन्दर भविष्यसँग जोडिएको राजनीति हो । राजनीति शक्तिको प्रयोग र नियन्त्रण पनि हो । कलामा यो त्यसको अन्तर्वस्तुसँग जोडिएको हुन्छ । त्यसैले राजनीतिक मापदण्डप्रति विमति राख्नु पर्ने वा विरोध गर्नु पर्ने कारण छैन । सुन्दरका गुणले त्यस अन्तर्वस्तुलाई अझ प्रभावकारी र सामथ्र्ययुक्त बनाउँछन् तर राजनीतिक अर्थात् वैचारिक दृष्टिले कुनै कलारुप यदि जीवनका पक्षमा छैन, सुन्दर मानव भविष्यका पक्षमा छैन, गौरवपूर्ण मानव इतिहासका प्राप्तिका पक्षमा छैन र त्यसले समाजभित्रका अन्तर्विरोधको भेदन गर्न सक्दैन भने त्यो सुन्दर उपकरण युक्त भएर पनि सुन्दर हुँदैन । त्यसैले सुन्दर हुनुको अर्थ केवल सुन्दर उपकरणयुक्त वा कालीगढीपूर्ण हुनु मात्र होइन, उपयोगी विचार र यथार्थको संज्ञानात्मक सामथ्र्ययुक्त हुनु पनि हो । यस अर्थमा नै राजनीतिक मादण्डको अर्थ स्पष्ट हुन्छ ।
मार्क्सवादी कला चिन्तन सम्बन्धी उपर्युक्त विमर्शपछि अब निष्कर्षमा मार्क्सवादी दृष्टिमा सार्थक र सुन्दर कलाका अभिलक्षणहरुलाई यसरी सूचीबद्ध गर्न सकिन्छ :
– मानव इतिहासमा भएका महान् प्रगति र परिवर्तन (जसलाई उत्तर आधुनिकतावादीहरु महाख्यानको संज्ञा दिन्छन्) प्रति गौरवबोध र आस्था/विश्वास भाव
– वर्तमानका सामाजिक अन्तर्विरोधको भेदन, वर्ग सङ्घर्षको चित्रण र त्यसका सुन्दर पक्षको उदात्तीकरण/पुन: सिर्जन
– क्रान्ति, परिवर्तन र सुन्दर मानव भविष्यप्रति विश्वास,
– हिंसा वा आतङ्कको वर्ग चरित्रको सकार र इतिहासका विशिष्ट परिवेशमा आतङ्कमा आनन्दको उपस्थिति बोध
– सबै प्रकारका मानवीय उत्पीडनको विरोध र मुक्तिको कामना
– औसत पात्रत्वभन्दा माथि उठेका नयाँ उदात्त नायकको निर्माण
– जीवन यथार्थको सत्यनिष्ठ संज्ञान
– अमूर्तन र अर्थ नर्तन (एपोरिया)को विरोध र मूर्त एवं अर्थपूर्ण सिर्जना
– सत्यको सापेक्ष र वस्तुगत सत्ता हुने कुराप्रति विश्वास
– सुन्दर पक्षको केन्द्रणमा जीवनका सुन्दर र कुरुप दुवै पक्षको कालीगढीपूर्ण बिम्बात्मक पुन: सिर्जन
यी बुँदाहरुले कला सम्बन्धी मार्क्सवादी चिन्तनका मूलभूत पक्षलाई स्पष्ट पार्दछन् । यिनै अभिलक्षणका आधारमा कला आफ्नो युगको महाख्यान बन्छ अनि त्यसले पाठकका आत्मिक जगत्मा आह्लाद सिर्जना गरेर रागात्मक तुष्टि पनि दिन्छ भने सामाजिक परिवर्तनको प्रक्रियामा ऊर्जाको महान् स्विचबोर्ड (शब्द कडवेलका) बनेर विशिष्ट भूमिका पनि निर्वाह गर्दछ ।
(प्रस्तुत रचना प्रवर्तककाे अङ्क ३ मा प्रकाशित समालाेचनाकाे एक अंश मात्रै यहाँ प्रस्तुत गरिएकाे छ । ताराकान्तकाे दाङमा सडक दूर्घटनामा परि मृत्यु भएकाे र अाज नै उहाँकाे शाेकसभा गरिने भएकाेले उक्त सन्दभृमा उहाँकाे सम्झनामा याे लेख प्रस्तुत गर्नु सान्दर्भिक ठानेर यहाँ पुन प्रकाशितगरिएकाे हाे । – सम्पादक)