संयुक्त रुपमा रातो झण्डा ओडाएर शहिद पिता खनालको अन्तिम बिदाई !

संयुक्त रुपमा रातो झण्डा ओडाएर शहिद पिता खनालको अन्तिम बिदाई !

नवलपरासी – पश्चिम नवलपरासीमा माओवादी घटकहरुले संयुक्त रुपमा शहिद पिता देवीलाल खनालको बिदाई गरेका छन् । शनिवार निधन भएका खनाललाई माओवादी घटकहरुका नेताहरुले संयुक्त रुपमा हसिँया हतौडा अंकित रातोझण्डा ओडाएर अन्तिम श्रद्धान्जली दिएका हुन् ।
सरावल गाउँपालिका–१ नयाँटोल निवासी खनाल जनयुद्धका शहिद रामप्रसाद र लक्ष्मीका पिता हुनुहुन्थ्यो । विप्लव नेकपाको पार्टी सदस्य रहेका उहाँलाई बिदाई गर्न नेकपा पोलिटब्युरो सदस्य बिनोद उपाध्याय, जिल्ला सेक्रेटरी प्रताप मिश्र क्रान्तिकारी कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्यद्वय क्षेत्रबहादुर थापा र रवि पाण्डेय, माओवादी केन्द्रका जिल्ला संयोजक रामानन्द यादव , बर्दघाट नगर उपप्रमुख रुद्र प्रकाश उपाध्याय सहितका बिभिन्न बामपन्थी पार्टीका नेता कार्यकर्ता त्रिवेणीधाम पुग्नुभएको थियो ।
उहाँलाई तीनवटै पार्टीका नेताहरु नेकपाका उपाध्याय , क्राकपाका थापा, माओवादी केन्द्रका यादव र जनप्रतिनिधिको तर्फबाट उप प्रमुख उपाध्यायले अन्तिम बिदाई गर्दै झण्डा ओडाउनुभयो । ‘शहिद र शहिदका परिवार भनेको साझा हुन्छ’–क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका केन्द्रीय सदस्य तथा जिल्ला संयोजक पाण्डेले भन्नुभयो – ‘त्यसैले जनयुद्धको मर्मलाई आत्मसाथ गरेर संयुक्त रुपमा कार्यक्रम गरेका हौ ।’