शनिबारीय साहित्य ः कथा
***
घोराहीबाट अक्सर घर गइरहन्छु म । घर अथवा, रोल्पा तिलागाउँ ।
जन्मभुमि । अथवा सालनाल गाडिएको ठाउँ । कसलाई पो प्यारो नहोला र ?
जहाँ पहिलो पटक यस धरतीमा पाइला टेकेकी हुँ । संसार देखेकी हुँ पहिलो बार । ताते ताते गर्दै पाइला चाल्न सिकेकी हुँ । हुर्किएकी हुँ । बढेकी हुँ । खेलेकी हुँ । जहाँको बनपाखाले सदबाटोमा डो¥यायो । जहाँको हावापानीले मान्छे बन्न सिकायो । स्वाभाबिक हो– त्यहाँको भूगोल, समाज, हावापानी बिछट्टै प्यारो लाग्नु । फर्केर खोज्न मन लाग्छ, बाल्यकालमा लडीबुडी गरेका मेरा पाइलाका डोबहरू । छोएर सुँघ्न मन लाग्छ शैशवकालमा मेरा आँशु र पसिनाले भिजेका बनपाखाका माटोका डल्लाहरू । हो, मन लाग्छ औधी नै । गर्मीमा शितलो प्रेम दिएका रुखका हाँगाहरू, पातहरू बेस्सरी चुम्न मन छ अँगालोमा बेरेर । ठण्डीमा न्यानो काख दिएका ओभानो पाखा र तापालो आँगनका डिललाई ढोग्न मन छ । तिर्खामा प्यास मेटिदिने मुलपानीका पवित्र जल शीरमा राखी पुजा गर्न मन लाग्छ । आमा बुवाका आशिर्वाद जस्तो अग्लो आस्थाको थुर्पालेकलाई मार्गदर्शन मानेर श्रद्धा गरेकी हुन्छु हरबखत ।
आफ्नो नीजि कामले गाउँ जाँदा घर वरिपरिको परिबेशमा म आफैलाई भुलाउनु, इष्टमित्र भेट्नु, गफगाफ गर्नु, सञ्चो बिसञ्चोबारे कुरा गर्नु– प्रत्येक पटकको मेरा घरफिर्ती तालिकाभित्र पार्ने गरेकी छु । दिदी पनि छिन् यस पटकको साथी ।
यस पटक चाहीँ किन किन पुरानो ब्यारेकतिर डुल्न मन लाग्यो, पहिले जनसेना बसेको ब्यारेक, अथवा क्यान्टोनमेन्ट । अझ भनुँ, असली मेरो जन्मस्थान । मेरा सालनाल गाडिएको ठाउँ, जहाँ मेरी आमाले सैन्य शिबिरको सामान्य टेन्टभित्र प्रसववेदना सहेर मलाई जन्म दिनु भएको ठाउँ, अथवा आमाका प्रसवपीडामा रगतले भिजेको माटो हेर्न मन लाग्यो । जनसेनाको त्यो शिबिर, जहाँ मेरा बुवाआमाले सैनिक जीवनका अन्तिम दिनहरू बिताउनु भएको हो ।
युद्धकालमा बुवाले आठ कक्षा पास नगर्दै बन्दुक बोक्नु भएको हो अरे कलिलो उमेरमा । पुलिसले घर बस्नै नदिएपछि बाध्यताबश युद्धमा सामेल हुनु परेको थियो अरे । त्यसपछि दर्जनौ ठाउँमा लडाई लड्नु भएको कहानी हामीलाई सुनाउनु हुन्थ्यो । कुनै शिक्षकले कक्षामा पढाउँदा ध्यान दिएर सुनिरहेका विद्ययार्थीझैँ हामी चरमोत्कर्षमा ध्यान केन्द्रित गरिरहेका हुन्थ्यौँ, बुवाका लडाईका कहानी सुनेर । पुलिसचौकी कब्जा गर्दाको कहानी सुनेर मैले भनेकी थिएँ– “त्यसपछि पुलिसलाई मार्नु भयो, हैन ?”
“हैन मारेनौँ । दोेहोरो भिडन्तमा मरेका बाहेक अरू कसैलाई गोली हान्दैनथ्यौँ । बरू घाइतेलाई पनि उपचार गरेर छाडथ्यौँ ।”– बुवा मुस्कुराउनु हुन्थ्यो ।
“सबलाई गोलीले टिच्याउँ पारिदिनु पर्ने ।”– बुवाले सुनाउनु भएको पुलिस ज्यादतीको कहानीले मेरो बालमनमा पारेको छापको अभिब्यक्ति थियो त्यो ।
बुवाले मेरो कपाल सुमसुम्याउँदै मायालु तवरमा भन्नुहुन्थ्यो– “हाम्रो लडाई त सरकारसँग थियो । पुलिस त गरीब जनताका छोराहरू थिए नि छोरी ।”
“अनि गरीव भएर नि किन हामी गरिवका घर जलाएका त ।”– मेरो बालसुलभपना थियो ।
“उनीहरूलाई सरकारले नुनपानी खुवाएर गरीवमाथि दमन गर्न अह्राएको हुन्छ नि ।”
ताजै छ मनमा । म सानो छँदा बुवाले लडाईको कहानी सुनाउने बेला भएको सम्वाद हो यो । कानमा गुन्जिन्छ अहिले पनि ।
हरेक साँझ लडाईँका कुरा सुन्न कर लगाउँथ्यौँ बुवालाई । झर्को नमानी बुवाले सेनासितका लडाईँ फेहरिस्त सुनाउनुहुन्थ्यो । बुवाको कथासँगै भीषण बमबारी र गोलीवर्षा बीच पुग्थ्यौँ हामी पनि । तीब्र कौतुहलताले भरिएका प्रश्न गथ्र्यौँ । उहाँ धेरै पटक घायल हुनु भएछ । थुप्रै पटक मृत्युको मुखबाट फुत्किनु भएछ । कथाकै सिलसिलामा एक दिन आफ्नो तिघ्रा र पाखुरा तथा छातीमा रहेको खत देखाउँदै भन्नु भएको कुरा म बिर्सेकी छैन । भन्नु भएको थियो– “रुकुमको खारामा दुई पल्ट नै कसो नमरेको ।”
लडाइमै बुवाले आमासित मायाको डोरीमा लगनगाँठो कस्नुभयो अरे । छुवाछुट र जातिय भेदभावको अन्त हुनुपर्छ भनेर म्याग्दीकी दलित छोरीसित रोल्पाको मगर बुवाले सँगै जिउने कसम खानु भएछ, हँसिया हथौडा अंकित रातो झण्डा छोएर । बृहद् शान्ति सम्झौतापछि बुवा आमा तिलाको अस्थायी शिबिरमा बस्नु भयो । यही शिबिरको चिनोको रूपमा म जन्मिएकी हुँ भन्दा पनि हुन्छ । युद्धकालको चिनो चाहीँ दिदी छँदै थिइन् ।
पहिलेको जस्तो सजिसजाउ र आकर्षक गेट छैन अहिले । त्यसै त्यसै म करिब दश वर्ष अघिको चित्रमा गएर अडिन्छु । आँखामा उभिन्छ– आकर्षक ड्रेस, शिरमा रातो तारा चम्किएको टोपी, अत्याधुनिक राइफल बोकेर डिउटीरत जनसेना, कोही शिबिलमा कोही ड्र«ेसमा भित्र बाहिर गरिरहेका दृश्य । त्यहीभित्र मिसिएका बुवा आमाका उत्साहपूर्ण अनुहार ।
उसबेलाका डिउटीवाल लडाकुका आवाज कानमा गुञ्जिन्छ– “के छ सिर्जना नानी ?” झस्कन्छु अनायास । एकोहोरिएका मेरा ज्यान चल्मलिन्छ । बिगतबाट फर्केर यथार्थमा पछारिन्छु । हेर्छु– वरिपरि । केही छैन । न लडाकु डिउटीमा उभिएका छन् । न गेट छ । न कोही नै भित्र बाहिर गरिरहेछन् । बरू लडाकुबीहिन गेटका भग्नावशेषहरूले मसित गुनासो गरिरहेझैँ लाग्छ । अझ वर केही घरहरू थपिएका छन्, बजारिकरणको जामा पहिरिएर । अपरिचित मान्छेहरू होटेल भित्र बाहिर गरिरहेछन् । “कान्छी आउनु न ।”– दिदीको यो आवाजले मेरो मन्त्रमुग्धता तोडिन्छ ।
उहिले जनसेनाहरू हरेक बिहान ‘हा हु’ गर्दै डौडिरहने बाटोलाई पाइलामा खाप्दै अघि बढ्छौँ, दुई बहिनी । मनमा अनिगिन्ति भावनाका नागबेलीहरू उभिन्छन्, तँछाड मछाड गर्दै । दायाँ बायाँ हेर्छु । घाँस र झारपातहरू मौलाएका छन् बेस्सरी । जीर्ण देखिन्छन् घरहरू । अझ धेरैजसो भत्किसकेका भग्नावशेष भनुँ । तहस नहस छन् उहिले सेन्ट्री बस्ने बंकरहरू, जनसेनाका सँगठन भत्के जसरी । उहिलेका रमणीय चौर र टनेलहरूमा बनमारा र कुरघाँसले अधिपत्य जमाएको छ, माओवादी सपनामा ऐजेरु पलाए जसरी । बिल्कुल सुनसान र निर्जनझैँ लाग्छन् भलिबल खेल्ने चौर र क्यारेमबोर्ड खेल्ने घरअगाडिका आँगनहरू । घरमाथिका टिनका छानाहरूमा खिया लागिसकेको छ– केही माओवादी नेताका दिमागमा भ्रष्टिकरण छाए जस्तै । कुइनेटाहरू, धारा, पानीट्याङ्खी, बंकर, टनेल, बिजुलीखम्बा, घर– सब सब बिल्कुल एकला र बिरानो लाग्छन्, कुनै कुनै माओवादी नेताले जनतालाई छाडेजस्तै । सात नम्बर बटालिएन बस्ने पल्नोपट्टिको खरेनीले मसित गहिरो पीडा पोख्दै केही आश गरेझैँ लाग्छ । म कहाँ बिर्सन्छु र ? त्यहाँ चराका गुँड खोज्दै हिँडेकी थिएँ, उफ ! त्यो बालउमँगको उमेर कहाँ आउँछ र घुमेर ? सम्झिरहेकी छु म अझै पनि, त्यहाँ कोकल्याक चराले मलाई बेस्सरी लखेटेको ।
म कहाँ भुल्न सक्छु र ? फोर्षले भान्छा चलाएका मेषघर र वरिपरिका ठाउँलाई– जहाँ बन्दुक समाएका बलिया हातहरू बन्चरो समाएर मुढामा प्रहार गरिरहेका हुन्थे । म सम्झन्छु– उनका मिजाशिला बोली, सभ्य ब्यवहार, नैतिकवान छवि । जसले मलाई मायाले बोलाउँथे । सोँच्छु, अचेल ती अंकलहरू, अन्टीहरू के गर्दै होलान ? कहाँ होलान् ? मैले जसरी उनीहरूले मलाई सम्झेर भक्कानिन्छन् कि नाई ? भावनाका पिँधमा थिग्रिएर उनका मन पनि मेरो जस्तै बिकल बन्छ कि बन्दैन होला ? सम्झेर रन्थनिन्छु म । कल्पनामा रुमलिन्छु म । र, म आफैलाई जवाफ दिन्छु– “कोही घरब्यवहारमा झेलिए होलान् । कोही बिदेश, कोही ब्यापार ब्यवसाय त कोही खेती किसानी गरेर जिन्दगीको गाडी हाँक्दै होलान् । कोही कता कोही कता । अथवा अपुरो सपना र घाइते लक्ष्य सम्झेर बिह्वल पो होलान कि ?
दुःखद खबर सुन्छु, कोही त धरती नै छाडिसके रे ! आँखामा नाच्छिन् सोनु चौधरी, दाङकी थिइ, आठ नम्बर बटालिएनकी, ती अन्टीले पनि यही पाखामा अन्तिम सास फेरेकी थिइ । मृगीका कारण संसार त्यागेकी थिइ । सोही बटालिएनकै उवागाउँको अंकलले पनि संसार परित्याग गरिसकेका छन् । सोही बटालिएनकै अभियात्री अन्टीले पनि आत्महत्याको बाटो रोज्न बिवश भइन्, ठुलो दुर्भाग्य । यस बेला म सम्झन्छु, सबैको श्वास्थ्यलाई निको पारिदिने श्वास्थ्यकर्मी आजाद अंकलले आफ्नै श्वास्थ्यलाई निको पार्न सकेनन् । उनी यस संसारमा छैनन् अब । द्रवित हुन्छु सम्झेर । भावुक हुन्छु । उनका सजिव ओँठहरू मुस्कुराएर मेरा अन्तरदृष्टिमा उभिन्छन् । उसबेलाका उनका बोली कानमा टड्कारो बन्छ, मलाई भनेथे– “स्कुलबाट आयौ नानी ।”
अन्तरमनका पर्दामा प्रकट चित्रसँग बोल्छु । बोलिरहन्छु बेसुरे भएर म ।
“हार्दिक श्रद्धाञ्जली सबै मृत पूर्वलडाकुहरू, जो लडाई जितेर पनि मृत्युसित पराजित भए ।”– मनमनै भन्छु । सोँचाईको अर्को कोणबाट डिग्री नापेर भन्छु फेरि– “उनीहरू मरे पनि उनीहरूले देखेका देश र जनताका समृद्ध सपना मर्नु हुन्न, मारिनु हुन्न ।”
यता उता गर्छु चौरमा उभिएर । उनकै अनुहार खोज्छु, कहाँ पाउनु ? बरू उनीहरूका सामुहिक अनुहारले सामुहिक रूपमै अभिवादन गरिरहेझै आभाष पाएँ, सिर्फ कल्पनाको रंगमञ्चमा मात्र । अतीतस्मरणले मेरा आँखा धमिलिएर मनमा बेचैनको सुल बल्झिन्छ ।
भावनाका तरंगहरूलाई जबरजस्त थन्क्याएर मेरा पाईला अझ अघि बढ्छन् । म्युजियम भ्रमण गएझैँ चारैतिर डुल्छन् उत्सुक र बिह्वल मेरा आँखाहरू । जीर्ण बन्दै गएका संरचनाहरूको दृष्टिपातपछि मर्माहतमा पुग्छु म । थाहै नपाई परेली नाघेर बिगत चुहिन्छ । गौरवगाथा बोकेका ब्यारेकीय सर्बाङ्गका दृश्यावलोकनले द्रविभूत हुन्छु म । अस्तित्वको मैमानामा संघर्षरत संरचनाहरूले मसँग आशालु नजरले भारी गुनासो गरिरहेझैँ लाग्छ । यस्तो बिलखबन्द कि कसरी सम्बोधन गर्न सक्छु र यो गुनासो । त्यो हैसियत छैन मसित । यही ब्यारेकमा म जन्मिएर हुर्केकी हुँ । जीवनयात्राको पहिलो शुरुवातबाट आठ वर्ष यहीँ बिताएँ, अफशोच ! आठ घण्टा यहीँ बिताउने अवस्थामा छै न म अहिले ।
सात नम्बर बटालिएनको भलिबल चौर थियो जहाँ, त्यहाँ उद्यमी आमा समुहको साबुन उद्योग रहेछ अचेल । अलि अगाडि गेटपिल्लरको माथिल्लो छटमा दायाँ बायाँ उभिएका थिए, जनसेनाका युगल मुर्ति । टाटेपाटे फौजी पोशाकमा कुँडिएका ती मुर्तिले हामीतिर फर्केर सलाम टक्र्याइरहेका थिए, मुठ्ठी कसेर । एकातिर पुरुष योद्धा र अर्कोतिर महिला वीराङ्गानाकी प्रतिमा कुँडिएको थियो । माओवादी जनयुद्धमा महिला छापामारहरू काखमा बच्चा सम्भालेर बन्दुक बोकी युद्धमोर्चामा सहभागी बनेका अनुकरणीय ऐतिहासिक क्षणलाई प्रतीकात्मक ढंगले मुर्तिमा अनाबरण गरिएको थियो । सैन्य पोशाकमा बन्दुक र बच्चा सँगसँगै बोकेर मुठ्ठी कसिरहेकी ती महान महिलाकी मुर्ति देखेर छाती गर्वले चौडा हुन्छन् । मुर्तिमा मेरै बुवाआमाका अनुहार देख्छु । गौरव र श्रद्धाले आँखामा रस भरिन्छ, हर्षाश्रुका पीरो रस । मनमनै मुर्तिलाई सलाम गर्छु म । त्यही गेटभित्र म्युजियमको स्थापना भएको छ । पहिलेको ब्रिगेड कार्यालयमा नेपाल सरकारको सुरक्षाकर्मी तैनाथ छन । हर्लक्कै बढेछन् मसलाका रुखहरू । “दुखियाका सपना पनि यसरी बढेको भए !”– मनमनै गम्छु । मोबाइलबाट केही पोज फोटा लिन्छु । मेरा पृष्ठभागमा ती चित्रहरू देखाएर फोटा खिचाउँछु दिदीसँगै । मोबाइलको फोटा र परिबेश भन्दा फोटा खिच्ने मनको हुट्हुटीमा भिन्नै महत्व र अर्थ राख्ने भावना छ म मा, न कि हिजो आजका सस्तो सेल्फीको फेसन ।
दिदीका कुरामा औपचारिक सहमति दिँदै म मनमनै आफुभित्र कतै हराइरहेकी हुन्छु ।
आँखालाई अझ माथि टन्काउँछु । ब्यारेकको चुचुरो पुग्नु भन्दा वरको भितामा पहिले आठ नम्बर बटालिएनको संरचना थियो । अझ परको टाकुरामा नवौ बटालिएन । उसबेला ब्यारेकभित्र उनीहरूका सपना र लक्ष्य जस्तै परिवार थियो, जीवन थियो, आत्मीयता थियो, एकता थियो, प्रेम थियो । अँ, सम्झन्छु, धेरै जनाको जोडीले यहीँ बिवाह बन्धनमा बाँधिएर जीवनको संयोगान्त कथा र उपकथा पनि रचे । प्रेम सम्झौताको कसीमा नवजीवनको शुरुवात गरे । पहिल्यै बिबाहित जोडीहरूले पनि ब्यारेक बसाईमा समीप्यताको सुगम वतावरण बनाएका थिए, मेरा पुज्यनीय बुवाआमाजसरी । मलाई याद छ, धेरैले यहीँ नै सपनाका उतराधिकारी पनि जन्माए । त्यही उतराधिकारी मध्यकी एक हुँ म पनि । म जस्तै धेरै जन्मे यहाँ । मलाई लाग्छ, उनीहरू पनि म जस्तै भावनाको डोरीले बेरिएर कुनै बेला आफ्नो सालनाल गाडिएको पवित्र स्थान हेर्न आउने नै छन् । मातृभुमिको प्रेमले डो¥याएर, तानेर यहीँ ल्याउने छ । र, रोमाञ्चित बन्नेछन् म जस्तै । श्रद्धाले निहुरिने छन् उनका शिर ।
मनको नजानिँदो केही चिजले घचेत्दै, धकेल्दै मेरा पाइतलालाई माथि चुचुरोमा पु¥याएको छ एकै सासमा । मेरै पाइला पछ्याउँदै छिन दिदी पनि ।
पूर्वमा दार्बोत गजदम्म परेको छ अघाएको मान्छे बसेझैँ । नाकाको निकै पर धवलागिरी मुस्कुराईरहेछ, रोमाञ्चकी युवतीझैँ । उतरतिर थुर्पालेक अँगालो फैलाईरहेको छ, कुनै प्रेमिकालाई धेरै दिनपछि भेटेको युवकझँै । चिसो सिरेटोले मेरो निधारमा मिठो चुम्वन दिन्छ । लाग्छ, म पहिलो पल्ट आमाको गर्भबाट बाहिरी दुनियाँमा निस्कने बेला पनि यही र यस्तै सिरेटोले म्वाई खायो होला । मन प्रफुल्लित हुन्छ त्यसै त्यसै । चञ्चल छन आँखाहरू । कुनै आरोहीले पहिलो पल्ट चुचरा टेक्दाको अनुभूतिझै उत्साहित छ छाती । तरंगित र उमँगित छन भावनाहरू । उहिले आमाको मायालु काखमा बसेर स्तनपान गरेजसरी सन्तुष्टि मिलिरहेछ अहिले पनि ।
“सिर्जना तँ यहीँ त जन्मेकी होस नि ।”– दिदीले भन्छिन् ।
“या हुऽऽऽ…।”– भावावेशम म चिच्याउँछु अनायासै ।
“यहीँनेर थियो हाम्रो टेन्ट । तँ पहिलो पल्ट यहाँ च्याँ गरेकी होलिस है ?”
“उः ती गुराँसहरूलाई सलाम गर, जसले तँलाई छहारी दिएको थियो नि । मैले तँलाई बोकेर यही गुराँस फेददेखि वरपर गरेकी थिएँ नि ।”– दिदी बोलिरहेकी थिइन् ।
उतेजनामा म बाख्रापाठाझैँ बुरुक्क बुरुक्क उफ्रिन्छु थाहै नपाई ।
दुब्ला र पातला थिए गुराँस र अँगेरका बुटा, मानौँ कि तिनले पाउने पौष्टिक प्रेमजल सब मैलाई अर्पण गरेर रितै उभिरहेछन् । बुढेसकालमा छोरा बुहारीले गाउँमा एक्लै छाडेका कुनै बुवाआमाझैँ नीरिह, शुष्क र क्लान्त थिए ती रुखहरू । ठीक म जन्मेको ठाउँभरि बनमारा बेजोडैले फेलिएको छ ।
बनमारा उखेलेर त्यस मुनिको माटोलाई म मुट्ठीमा उठाउँछु । श्रद्धाले आँखा चिम्लिएर माटो सुँघ्छु । फेरि सुँघ्छु । फेरि पनि सुँघिरहन्छु म ।
१२ चैत्र २०७८ हाल दाङ ।