महासङ्घको एकता राष्ट्रिय भेला–२०८०मा पारित समसामयिक प्रस्ताव तथा नाराहरू

महासङ्घको एकता राष्ट्रिय भेला–२०८०मा पारित समसामयिक प्रस्ताव तथा नाराहरू

मङ्सिर २७ गते अखिल नेपाल जनसांस्कृतिक महासङ्घको एकता राष्ट्रिय भेला–२०८०मा पारित समसामयिक प्रस्ताव तथा नाराहरू

१. जनयुद्ध एवम् न्यायपूर्ण सबै सङ्घर्षहरूमा सहादत प्राप्त गर्ने कृष्ण सेन ‘इच्छुक’ लगायतका सांस्कृतिक सहिदहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै सहिदको बाटोमा अघि बढिरहने प्रतिबद्धता जाहेर गर्दछ ।

२. साम्राज्यवादी युद्धोन्माद तथा साना राष्ट्रहरूमाथिको सामरिक तथा सांस्कृतिक हस्तक्षेपको तीब्र विरोध गर्दछ । प्यालेस्टाइन भूमि र जनतामाथि भइरहेको इजरायली बर्बर नरसंहारको तीव्र विरोध र भत्र्सना गर्दछ । प्यालेस्टाइन जनताको सार्वभौम अधिकार र जीवनरक्षाको सम्मान र ग्यारेन्टीका लागि आवाज उठाउन विश्व समुदायलाई अपिल गर्दछ ।

३. भारतीय शासकद्वारा नेपाली भूमिमाथि निरन्तर भइरहेको भौगोलिक तथा सांस्कृतिक अतिक्रमणको विरोध गर्दछ र नेपाली भूमिमाथिको हस्तक्षेप तुरुन्त बन्द गर्न माग गर्दछ । भारतसितको असमान सन्धि–सम्झौताहरू खारेज गरी अतिक्रमित भूमि फिर्ता गर ।

४. सबैखाले अश्लील, विकृत, छाडा, उपभोक्तावादी कलासाहित्य र संस्कृतिलाई निषेध गरी जनवादी र वैज्ञानिक कलासाहित्य र संस्कृतिको विकासमा जोड दिन आह्वान गर्दछ । नेपाली जनताको सार्वभौमिकता, राष्ट्रिय स्वाधीनतामाथि हस्तक्षेप गर्दै गरिएको एमसीसी सम्झौता तत्काल खारेजीको माग गर्दछ ।

५. रेडियो, टीभी र प्राज्ञिकलगायत सबै क्षेत्रमा कुनै एक भाषा, एक जाति र एक संस्कृतिको एकाधिकारको अन्त्य गरी सबै जाति, भाषा र संस्कृतिहरूले विकास गर्ने नीति–निर्माणको माग गर्दछ । देहव्यापार र लागूपदार्थ सेवनको अखडा, स्रोत र विकृतिका प्रेरक रहेका क्याबिन तथा डान्स रेस्टुरेन्ट र बारहरू अविलम्ब बन्द गर्न माग गर्दछ ।

६. महासङ्घका तत्कालीन केन्द्रीय समितिका सदस्य दाताराम शर्मालगायतका सबै बेपत्ता नागरिकहरूलाई अविलम्ब सार्वजनिक गरी दोषीमाथि कडा कारबाही गर । राज्यद्वारा बेपत्ता पारिएका सम्पूर्ण नागरिकलाई अविलम्ब सार्वजनिक गर ।

७. रेमिट्यान्स भित्र्याउने नाममा विदेशमा युवा पैठारी गर्ने प्रवृत्तिको अन्त्य गर्दै देशभित्रै रोजगारी सिर्जना गर । भूमण्डलीकृत सांस्कृतिक साम्राज्यवाद र उत्तर–आधुनिकतावादी विभ्रम र पाखण्डको विरोध गर्दछ ।

८. बढ्दो असुरक्षा, अशान्ति, महँगी, भ्रष्टाचार, आर्थिक अनियमितता तुरुन्त बन्द गरी जनजीविकाको ग्यारेन्टी गर । सामन्तवादी तथा साम्राज्यवादी संस्कृतिका उपज रुप रुढीवाद, अन्धविश्वास, सामाजिक छाडा विकृति–विसङ्गीतको अन्त्य गरी नयाँ संस्कृतिको निर्माण गर्न आह्वान् गर्दछ ।

९. दलित, महिला तथा जनजातिहरूमाथिका सबैखाले विभेद अन्त्य गर्न तथा भाषा, जाति र धर्मका आधारमा भएका शोषण, उत्पीडन र विभेदको अन्त्य गर्दै सांस्कृतिक समानता र सांस्कृतिक आत्मनिर्णयको अधिकारको ग्यारेन्टीको माग गर्दछ ।

१०. दलाल पुँजीवाद र दलाल संस्कृतिको अन्यका साथै, विभिन्न स्वरुपमा भएका धार्मिक वितण्डा र अतिक्रमण तत्काल बन्द गरिनुपर्दछ । संसारभर भइरहेका जनपक्षीय लेखक, कलाकार तथा साहित्यकारमाथिको गिरफ्तारी, यातना र हत्याको बर्बर शृङ्खला तुरुन्त बन्द अपिल गर्दछ ।

११. भूकम्पबाट पीडित जाजरकोट, रुकुम, बझाङका जनताको आवास, स्वास्थ्य, शिक्षाको ग्यारेन्टी गर्दै पुनर्निर्माणको कार्य तत्काल सुरु गर्न माग गर्दछ ।

१२. सम्पूर्ण झुट्टा मुद्दाहरू खारेजी गर्दै सम्पूर्ण राजबन्दीहरूको रिहाइको माग गर्दछ । साथै, क्रान्तिकारीहरूलाई उत्तेजित बनाउन गरिएका पक्राउ पुर्जी जारीलगायतका जनविरोधी तथा अराजनीतिक हर्कत बन्द गर्न माग गर्दछ ।

समसामयिक नाराहरू
 नयाँ जनवादी क्रान्ति सम्पन्न गर्दै वैज्ञानिक समाजवादी क्रान्तिको दिशामा अघि बढौँ !
 सांस्कृतिक बलिदानको मूल्यलाई माथि उठाऔँ !
 सामन्तवादी, साम्राज्यवादी संस्कृतिको विरोध गरौँ !
 जनवादी तथा समाजवादी संस्कृति स्थापनाको लागि एकतावद्ध बनौँ !
 एससीसीलगायतका सम्पूर्ण राष्ट्रघाती सम्झौता खारेज गर !
 सबै खाले सांस्कृतिक अतिक्रमणको विरोध गरौँ !
 सबै खाले भाषिक विदू्रपीकरणको विरोध गरौँ !
 महान् सांस्कृतिक सहिदहरू लाल सलाम !
 क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल जिन्दावाद !
 अखिल नेपाल जनसांस्कृतिक महासङ्घ जिन्दावाद !