विश्व प्रसिद्ध कम्युनिस्ट घोषणापत्र(सन १८४८)मा तीनपक्रारका समाजवाद भनिएको छ :
(१) काल्पनिक समाजवाद (२) वैज्ञानिक समाजवाद (३) सामन्ती समाजवाद
यस सत्रमा काल्पनिक समाजवादवारे, जसलाई वैज्ञानिक समाजवादको विकासको पूर्वाधार भन्ने गरिन्छ, त्यसवारे संक्षिप्त वर्णन गर्ने प्रयास गरिने छ ।
काल्पनिक समाजवाद पूर्व माक्र्सवादी समाजवादको प्रमुख धारालाई वर्णन गर्नका लागि प्रयोग गरिएको शव्दहरू हुन , जुन १९सौ शताब्दीको पहिलो आधामा उत्पति र विशिष्ट भए । काल्पनिकहरू भन्ने शब्द कल्पनाको विचारबाट ल्याइएको थियो जसको अर्थ चीजहरूको अवस्थाको अनुमान थियो, जहाँ प्रत्येक चीज पूर्ण हुन्छ । ‘समाजवाद’ पहिलो पटक १८३०को दशकमा लोकपृय बन्यो । तिनीहरू विचारकहरूको एउटा समूहवारे वर्णन गर्न प्रयोग गरियो, जसले मानव स्वभावमा प्राप्त व्यक्तिवाद, स्वार्थीपन र प्रतिष्पर्धात्मक हटाएर एउटा बढता समानतावादी आधारमा समाज रूपान्तरण गर्ने सिद्धान्त विकास गरे । ती चिन्तकहरू धेरै अथवा तिनीहरूका अनुयायीहरूले आदर्श समुदायहरू जहाँ सबै सदस्यहरूले सहकारीको आधारमा काम गर्दथे, वस्दथे र उनीहरूको कामको फलहरू बाँडफाँड गर्दथे । तिनीहरूले विश्वास गर्दथे कि यस्ता आदर्श समुदायहरूले उदाहरण प्रस्तुत गर्ने छन् ताकि समाजमा बाँकीले अनि त्यसलाई अनुसरण गरिने छन् । तिनीहरूले यसरी समाजवादको आफ्नो योजना निर्माण गर्नका लागि समाजमा वास्तविक प्रक्रियाहरूमाथि भर परेनन् । यसको अलवा तिनीहरूले सोंचेकी तिनीहरूका योजनाहरू र विचारहरूको वैज्ञानिक व्याख्या आफैमा जनतालाई बुझाउन र समाज परिवर्तन गर्न प्रयाप्त थियो ।
काल्पनिक समाजवाद, जसलाई अंग्रेजीमा युटोपियन सोसियलिज्म भनिन्छ, यो शब्दको प्रयोग सबैभन्दा पहिले अंग्रेजी विचारक तथा धार्मिक नेता थोमस मोर(१४७८–१५३५)ले गरेका थिए । उनले युटोपिया नामक एउटा पुस्तिका लेखे, जसमा एउटा काल्पनिक टापुको कल्पना गरे र त्यो टापुमा त्यसबेला बेलायतमा पाइने भन्दा भिन्दै खालको राजनीतिक व्यवस्था,उत्पादन तथा वितरणको न्यायोचित व्यवस्था,पैसाको कुनै खाँचो नभएको, न नीजि पुँजी, न धनी, न गरिब, न अल्छीका पिण्डहरु, न कम्मर भाँचिनेगरी मेहनत गर्नेहरुआदि हुने छन् ।
यसरी थोमस मोरले अंग्रेजी सामन्ती भूमिपतिहरुको स्वच्छाचारिता र उनीहरुद्वारा गरिएको किसानहरुको पाशविक दमनको जोडदार रुपमा विरोध गरे । तत्कालिन निरंकुश शासकहरुको विरोध गरेकोमा उनलाई नजरबन्द गरियो, र १५३५मा उनको टाउको काटियो र लन्डन पुलमा त्यसको प्रदर्शन गरियो । यिनलाई काल्पनिक समाजवादका संस्थापक पनि भनिन्छ ।
पछि १८औ शताब्दीको अन्त्य र १९औ शताब्दीको मध्यतीर काल्पनिक समाजवादका तिन जना हस्तिहरु– क्लाउदे हेनरी द सेन्ट–साइमन(१७६०–१८२५), फ्रांस्वा मेरी चाल्स फ्युरेर(१७७२–१८३७) र रवर्ट ओवेन(१७७१–१८५८) को प्रादुभाव भयो ।
१. क्लाउदे हेनरी द सेन्ट–साइमन(१७६०–१८२५)
एक अभिजातवर्गीय परिवारमा जन्मेका उनी फ्रान्सेली पुँजीवादी क्रान्तिका पक्षपाती थिए । उनले मानव समाजको विकासको इतिहासलाई विभिन्न चरणमा विभाजित गर्दै, उनले के देखाए भने ती चरणहरु तल्लो स्तरबाट माथिल्लो स्तरतर्फ मानवजातिको प्रगतिका चरण हुन । उनको विचारमा, दास व्यवस्था आदिम व्यवस्थाभन्दा प्रगतिशील थियो, किनभने दास व्यवस्थाअन्तरगत शासकवर्गहरुले आफ्नो बुद्धिको विकास गर्ने मौका पाए । त्यस्तै, सामन्ती व्यवस्था दास व्यवस्थाभन्दा प्रगतिशील थियो, किनभने त्यसले दासहरुको अवस्थामा सुधार गरेर र पुरानो व्यवस्था हटाएर मानवजातिको ठूलो सेवा गर्यो र त्यो सामाजिक विकासमा एक महत्वपूर्ण पाइला थियो । अनि सामन्ती व्यवस्थाको ठाउँमा नयाँ सामाजिक व्यवस्था आयो । उनले जुन सामाजिक व्यवस्थाको कुरा गरेका थिए, त्यो समाज जसमा बहुसंख्यक जनतामाथि अल्पसंख्यकको शासन हुने छैन र मानिसहरु माझका सम्बन्धहरु सबैको भलाइको लागि सामूहिक प्रयत्नमा आधारित हुने छन् ।
उनको जोड उत्पादकहरुलाई प्राथमिकता नदिई अल्छीहरुलाई दिइनु हुँदैन् भन्ने थियो । उनले भावी सामाजिक व्यवस्थावारे जुन चित्र प्रस्तुत गरे, त्यो एक दम अस्पष्ट थियो । उनले नयाँ व्यवस्थालाई “औधोगिक व्यवस्था”भन्ने संज्ञा दिए तर उद्योगपति सम्वन्धी उनको परिभाषामा पुँजीपति र मजदुर समावेश थिए ।
सेन्ट–साइमनका विचारहरु सुधारवादी र असंगतिपूर्ण भए पनि,उनका कतिपय विचारहरु धेरै उपयोगी र महत्वपूर्ण थिए । खास गरेर त्यस्तो सामाजिक व्यवस्थाको सम्भावना सम्वन्धी उनको विचार महत्वको थियो, जसमा समाजको प्रत्येक सदस्यले आफ्नो सामथ्र्यअनुसार काम गर्नेछ र आफ्नो कामअनुसार पाउनेछ । उक्त सिद्धान्त सर्वहारावर्गको समाजवादी कार्यक्रमको एउटा अंग बनेको छ । त्यस्तै, मानिसद्धारा मानिसको शोषण खतम भएपछि समाजले विशाल शक्तिहरुलाई प्रयोग गर्नका लागि विज्ञान र प्रवृद्धि–विज्ञानको विकासलाई आफ्नो काम तथा उद्येश्य बनाउनेछ भन्ने विचार पनि त्यत्तिकै उपयोगी थियो । त्यसका साथै, जनतामाथि दमनको साधन बनेको राज्यलाई समाजका कार्यहरुको सञ्चालन गर्ने साधनमा फेर्ने विचार पनि निकै महत्वपूर्ण थियो ।
२. फ्रांस्वा मेरी चाल्स फ्युरेर(१७७२–१८३७)
फ्रांस्वा मेरी चाल्स फ्युरेर(१७७२–१८३७) अर्को महान फ्रान्सेली काल्पनिक समाजवादी हुन् । उनी पुँजीवादी व्यवस्थाका कट्टर तथा कडा आलोचक थिए र उनले सामाजिक न्यायको आधारमा समाजको पुनर्गठन गर्ने सवालमा अनेकौ पुस्तकहरु लेखे । उनले मानवजातिको विकासको चरणलाई तिन भागमा बाँडे–विगत, वर्तमान र भावी । विगत मानवजातिको “बाल्यकाल”, आफू रहेको काललाई “सभ्यता” र भावी “मेलमिलापको समाज” भन्ने संज्ञा दिए । पुँजीवादी समाजमा अनेकौ विकृति र विसंगतिहरु जस्तै मजदुरहरुको चाखबिना बलपूर्वक श्रममा लगाइन्छ र मजदुरहरुको उद्योग र धनको बृद्धिमा हिस्सेदारीको ग्यारेन्टी हुँदैन ।
धनी र गरीबको बिचको खाडल झन झन फराकिलो र गहिरिदै, थोरैजनाको सुख धेरैजनाको दु:खमाथि आधारित रहेको छ र सार्वजनिक हित र निजी हितका माझ मेल तथा सामन्जस्य छैन । पुँजीवादी समाजका वास्तविक खराबीहरुलाई छोप्न खोज्ने फट्याइँहरुको पर्दाफास गर्दै, उनले के देखाए भने पुँजीवादी व्यवस्थामा “कागजी अधिकारहरु” धेरै छन्, तर ती सब भ्रम मात्रै हुन किनभने जुन अधिकारको प्रयोग गर्न सकिदैन, त्यो भ्रम सिवाय अरु के हुन सक्छ । सबै अधिकारहरुमा काम पाउने अधिकार सबभन्दा महत्वपूर्ण हो भन्ने जनाउदै, उनले स्पष्ट रुपमा के घोषणा गरे भने पुँजीवादी “सभ्यता”अन्तरगत उक्त अधिकार असाध्य छ र त्यसको अभावमा अरु सबै अधिकारहरु बेकम्मा छन् । उनको धारणा के थियो भने संविधानमा जनताको सार्वभौमसत्ता उल्लेख भएता पनि , जसले बांच्नका लागि रोटीसम्म कमाउन सकेको हुँदैन र कामको ग्यारेन्टी पाएको हुँदैन, उ सार्वभौम हुन सक्ने कुराको कल्पना पनि गर्न सकिदैन ।
त्यसरी, पुँजीवादका खरावीहरु र पुँजीवादी भ्रमहरुको पर्दाफास गरिसकेपछि, उनले के निष्कर्ष निकाले भने यस्तो नयाँ सामाजिक व्यवस्थाको खाँचो छ, जसमा पुँजीवादी समाजमा रहेका मुख्य अन्तरविरोधहरु रहने छैनन् र सामाजिक मेलमिलाप तथा शान्ति कायम हुने छ । जुन “मेलमिलापको व्यवस्था”को उनले परिकल्पना गरेका थिए, सो नयाँ समाज समूहहरुमा विभाजित हुने र प्रत्येक समूहमा ३००देखि ४०० परिवारहरु(१५००देखि १६०० मानिस जति )हुनेछन् र त्यसको गठन मूलुकभर स्वच्छाको आधारमा हुनेछ । समूहमा महिला र पुरुषको समान अधिकारहरु हुनेछन् र पहिले सदस्यहरुमाझ केही असमानता भए पनि, सो असमानतालाई विभिन्न उपायहरुद्धारा विस्तार–विस्तार निर्मूल पारिनेछ । त्यसका लागि अपनाइने उपायहरुमा–सबै केटाकेटीहरुको समान शिक्षा, श्रममा धनीहरुको सहभागिता, औधोगिक कार्यदक्षताको वृद्धिको निम्ति प्रतियोगिता र ज्यालाको उन्मूलन । प्रत्येक समूह एउटा विशाल दरवारमा रहने छ, जसमा काम गर्ने ठाउँ, स्कुल, पुस्तकालय, खाजाघरआदि हुनेछन् । समूहभित्र कामको संगठन कामदारहरुलाई चित्तबुझने ढंगबाट गरिनेछ । मानिसले आफूलाई मन नलाग्ने काम गर्नु र एउटै काममा टाँसिरहनु पर्ने छैन । मानिसले आफ्नो चाख र सार्मथ्र्यअनुसारको काम छान्न पाउनेछन् । र काम फेर्ने मौका पाउनेछन् । त्यस तरिकाबाट श्रमको रुपान्तरण हुनेछ, अर्थात कामगर्नेहरुका लागि बोझ तथा अभिश्रापसमान रहेको श्रम आनन्दको स्रोत बन्नेछ ।
मानिसको व्यक्तित्वलाई पंगु बनाउने भएकोले पुँजीवादी श्रम–विभाजनलाई हटाउनुपर्ने आवश्यकतासम्बन्धी उनको विचार उल्लेखनीय छ । भावी समाजमा श्रम मनोरञ्जनको साधन बन्ने छ भन्ने उनको विचार गलत थियो, किनभने समाजवादी समाजमा श्रम मनोरञ्जनको साधन वा खेलबाडको कुरा होइन, बरु जीवनको एक प्रमुख आवश्यकता बन्नेछ । तर पनि श्रमको रुपान्तरणसम्बन्धी उनको धारणा निकै महत्वपूर्ण थियो । त्यस्तै, सहर र गाउँ बीचको भेदलाई मिटाउन पर्ने खाँचोसम्बन्धी उनको विचार पनि एउटा ठूलो उपलब्धि थियो ।
पुँजीवादी व्यवस्थाका कट्टर विरोधी फ्युरेरले चहकिला विचारहरु प्रस्तुत गरे, तर पनि उनी काल्पनिक नै रहे । पुँजीवादी समाजको ठाउ‘मा नयॉ समाजको स्थापना कुन ढंगबाट गर्न सकिन्छ र सो स्थापना गर्न सक्ने प्रमुख शक्तिहरु कुन हुन भन्ने कुरा उनले बुझ्न सकेनन् । उनले के कुरा बुझेनन् भने पुरानो समाजबाट नयाँ समाजतर्फ संक्रमण वर्ग सङ्घर्षद्धारा मात्र हुन सक्छ र सो संक्रमण ल्याउन सक्ने एक मात्र सामाजिक शक्ति सर्वहारावर्ग हो । सो कुरा नबुझेको कारणले गर्दा, उनले आफ्नो योजनाको कार्यान्वयनका लागि धनीहरुमाथि पुरा भरोसा राखे । उनको के विचार थियो भने धनीहरुले समूहमा सम्मिलित भएर सहयोग गर्ने छन् र जग्गा तथा अन्य सरसामानहरु किन्न आफ्नो पैसा दिने छन् । उनलाई कुन कुराको आशा थियो भने “असल” पुँजीपतिहरु र उत्साहीहरुले समूह निर्माणको काममा स्वेच्छाले पूर्ण मात्रामा सहयोग गर्ने छन् र त्यस्तो सहयोगका लागि उनले आव्हान पनि गरे । तर उनले त्यस्तो सहयोग पाउन सकेनन् र उनको सारा योजनाले समर्थन र सहयोग पाउन किन नसकेको हो भन्ने कुरा बुझ्न नपाउदै फ्युरेरको देहान्त भयो ।
३ रवर्ट ओवेन(१७७१–१८५८)
अंग्रेज काल्पनिक समाजवादीहरुमा सबभन्दा महान् रबर्ट ओवेन थिए । ठुलो सामथ्र्य, बलियो चरित्र र सिर्जनात्मक दिमाग भएका व्यक्ति हुनाले, दस वर्षको छोटो अवधिमा नै उनी एक व्यापारिक फर्मको चिठी पुर्याउने केटोबाट कारखानाका मालिक बन्न पुगे । सन् १८००को सुरुमा उनी स्कटल्यान्डको न्यू लानार्कको एउटा ठूलो सुती कपडा मिलका व्यवस्थापक बन्न पुगे । उक्त मिलका मजदुरहरुको अवस्था निकै खराब थियो, उनीहरुको बौधिक तथा नैतिक स्तर ज्यादै तल थियो । आफू व्यवस्थापक भएपछि उनले मजदुरहरको अवस्था सुधार्न विभिन्न उपायहरु गरे । उनले कामको समय छोट्याए, जरिमाना गर्ने चलन खारेज गरे, मजदुरहरुको निम्ति बस्ने घर बनाइदिए, र मजदुरहरुका केटाकेटीहरुका लागि शिशु–गृह, शिशु पाठशाला र स्कुलहरु स्थापना गरे । वास्तवमा बेलायतमा शिशु पाठशाला(किन्डरगार्टेन)स्थापना गर्ने पहिलो व्यक्ति उनी नै थिए । ओवेनका उपरोक्त सुधार कार्यहरुबाट सबै दृष्टिले राम्रा नतिजाहरु निस्के: मजदुरहरुको आर्थिक–राजनीतिक स्तर बढयो, उनीहरुमा मानवीय प्रतिष्ठाको भावना जागृत भयो र मिलको नाफा पनि निकै बढयो । न्यु लानार्क सहर एउटा आदर्श नमूना र आकर्षणको केन्द्र बन्यो, र विभिन्न ठाउहरुबाट ठूल्ठूला मानिसहरु त्यहा हेर्न आए र गरिबहरुको राम्रो स्थिति देखेर खुब प्रभावित भए । ठुलो परोपकारीको रुपमा ओवेनको ख्याति चारैतिर फैलियो ।
तर ओवेनलाई भने आफ्ना उपलब्धिहरुबाट त्यति सन्तोष लागेको थिएन । मजदुरहरुको अवस्थामा तुलनात्मक रुपले सुधार त भयो तर मालिकप्रतिको उनीहरुको पराधीनता हटेको थिएन । अनि उनले नयाँ कारखाना ऐनको माग गरे त्यसको पक्षमा व्यापक प्रचार अभियान चलाए । उनले के माग गरे भने यन्त्रले काम गर्ने कारखानामा काम समय घटाएर दस घण्टा गरियोस र दस वर्ष मूनीका बालबालिकालाई कारखानामा काम गराउन मनाही गरियोस । सन १८१९मा संसदले यसवारे ऐन स्वीकृत गरेर उनको मागलाई सम्बोधन गर्यो । तर ज्यादै संशोधित र सिमित । फेरि सो ऐन कागजमा मात्र सिमित रहन गयो । यसले उनी क्रमस सामाजिक सुधारकका रुपमा फेरिन लागे र उनले काल्पनिक समाजवादका स्थितिहरु अपनाए ।
ओवेन निजी सम्पतिका कट्टर विरोधी थिए । निजी सम्पति नै मानिसको विकासमा सबभन्दा ठुलो तगारो हो भन्ने विचारले उनको सिद्धान्तमा निकै स्पष्ट र सशक्त रुपमा अभिव्यक्ति पायो । उनले निजी सम्पत्तिलाई सारा सामाजिक खराबी र सामाजिक अन्यायको मूल जड ठान्दथे । नयाँ नैतिक संसार नामक आफ्नो कृतिमा उनी भन्दछन्–“निजी सम्पत्ति मानिसका निम्ति अनन्त अपराध र दु:खको कारण रहेको छ र आजसम्म पनि छ ।” फेरि निजी सम्पत्तिबाट उत्पन्न भएको खराबी र अपराधहरुको वर्णन उनी यसरी गर्दछन्–“निजी सम्पत्तिले मनलाई मनबाट बेग्लाउँछ, त्यो सम्पूर्ण समाजमा घिनलाग्दो काम कारबाहीको एक स्थाई कारण हो, मानिस–मानिसकाबिचमा धोखेबाजी र जालसाजीको अविरल स्रोत हो र महिलाहरुकोबिचमा वेश्यावृतिको निम्ति एक बलियो प्रेरणा हो । यसले विश्वको ज्ञात इतिहासका सबै विगत युगहरुमा युद्ध पैदा गरेको छ र यो अनगिन्ति निजी हत्याहरुका लागि एक प्रेरक तत्व रहेको छ ।”(जी.पी.फ्रान्टशोव, दर्शन र समाजशास्त्र, मस्को, पृष्ठ ७५)
त्यसैले, उनले बडो जोडदार रुपमा कुन तर्क पेस गरे भने निजी सम्पत्तिलाई खतम पार्नु आवश्यक छ र सो खतम हुनुमा नै सामाजिक, बौद्धिक तथा नैतिक प्रगति रहेको छ । उनको विचारअनुसार, निजी सम्पत्तिको सट्टामा सार्वजनिक सम्पत्तिमा आधारित सामाजिक व्यवस्थाको स्थापनापछि मात्र, मानव जातिको निमित सच्चा प्रगति र सुखको विहानी आउने छ ।
तसर्थ, ओवेन कुन निष्कर्षमा पुगे भने व्यक्तिगत सम्पत्तिमा आधारित समाजिक व्यवस्थालाई साझा सम्पत्तिमा आधारित व्यवस्थामा फेर्नु आवश्यक छ । र भविश्यमा स्थापना हुने समाजमा निजी सम्पत्तिको लागि कुनै स्थान हुने छैन । उनको के धारणा थियो भने विद्यमान सामाजिक व्यवस्थालाई रुपान्तरित गर्ने सवाल उतपादक शक्तिहरुको विकाससित सम्बन्धित छ । “उत्पादक शक्तिहरु” भन्ने वाक्यांशको प्रयोग गर्ने पहिलो व्यक्ति ओवेन थिए, सो वाक्यांश माक्र्सवादको शब्दावलीको एउटा अंग बनेको छ ।
उनको विचारमा पुँजीवादी व्यवस्था भनेको दु:ख, गरिबी तथा अपराधको व्यवस्था हो र त्यसको ठाउँमा साझा मालिकत्वको व्यवस्थाको प्रारुप उनले तयार पारेका थिए । उक्त नयाँ समाजको आधारभूत इकाइको रुपमा उनले कम्युनलाई छाने । प्रत्येक कम्युनमा ८०० देखि ३०००सम्म सदस्य हुने छन । सामूहिक काम, साझा मालिकत्व, सबैको समान अधिकार तथा कर्तव्य, सारा सामाजिक भेद तथा वर्गभेदहरुको उनमूलन–यी कम्युनको जीवन प्रणालीका आधार हुने छन । सो समाजमा गरिब र धनी, दास र मालिक हुने छैनन् , मानसिक श्रम र शारीरिक श्रमकाबिच मेल कायम हुने छ र मानिसले आफूलाई चाहिएका चिजहरु साझा भण्डारबाट प्राप्त गर्ने छन् । त्यसरी यो समाजमा सबे समान हुने छन् र वर्ग द्धन्द्ध तथा धनी–गरिबबिच झगडा हुने छैन । विस्तार विस्तार यस्ता कम्युनहरु मुलुकभर र अनि संसारका अन्य मुलुकहरुमा फैलिएर जानेछन् । र सारा संसार एउटा ठूलो परिवार हुने छ । ओवेनको भावी समाजको प्रारुप यस्तो थियो ।
ओवेनले शिक्षामा ठुलो जोड दिए र उनको योजनामा शिक्षा–प्रणाली र शैक्षिक कार्यलाई ठुलो स्थान दिइएको थियो, किनभने उनको विचारमा, शैक्षिक काम उनको समाजतर्फ लैजाने मार्ग थियो । उनी के ठान्थे भने कम्युनहरु श्रमजीवी जनताको राम्रो शिक्षा–दिक्षाको निम्ति र उनीहरुलाई जीवनसम्वन्धी विवेकयुक्त दृष्टिकोणबाट सुसज्जित पार्नका लागि माध्यम बन्ने छन् । उनको धारणाअनुसार, उनको सुधार योजनाप्रति जनसमर्थनको लागि सर्वप्रथम मानिसलाई प्रबुद्ध बनाउन आवश्यकछ । उनको के विचार थियो भने मानिसको मनलाई मुक्त परिनु पर्छ र उसको मनको पुनर्जन्म हुनुपर्छ , जसले गर्दा उ सुखी र बुद्धिमान हुन सकोस् । सो काममा सरकारको ठुलो भूमिकामा उनले जोड दिए, किनभने राजनीतिक सत्ता लिएकाहरुले सामाजिक व्यवस्थामा सुधारका लागि तुरुन्त पाइलाहरु चाल्नुपर्छ ।
ओवेनका विचार तथा सुधार–योजना उपयुक्त थिए । पछि उनले जति पनि साहित्यिक र प्रचारात्मक तथा आन्दोलनकारी गतिविधि चलाए, ती सब उक्त विचार तथा योजनाको समर्थन र विकासमा केन्द्रित रहे । उनले यसलाई केबल प्रचारपसरमा मात्र सिमित राखेनन् । उनले आफ्नो सामाजिक सुधारलाई कार्यरुप दिन शासकहरुलाई प्रभावित पारे सहायता प्राप्त गर्न खोजे, तर यसमा उनी असफल भए । शासकहरुबाट र आफ्ना समर्थकहरुको सहयोगबाट आफ्नो योजनालाई कार्यमा परिणत गर्ने प्रयास गरे । १८२४मा उनी संयुक्त राज्य अमेरिका गए, र त्यहाँ उनले एउटा पुरै सहर र जग्गाजमिन किने । उक्त खरिदकार्यमा उनको सबै पैसा खर्च भयो । अनि उनले आफ्ना ८०० जना अनुयायीहरुको साथमा मे १९२५मा एउटा कम्युन अर्थात कम्युनिस्ट वस्ती बसाले । सो वस्तीलाई “नयाँ जर्मनी” भन्ने संज्ञा दिइयो । आफ्नो सामाजिक सुधारको आदर्शलाई एउटा बस्तीको साँघुरो घेराभित्र व्यवहारिक रूप दिने उनको त्यो प्रयास थियो । उक्त प्रयोग एक असफलता सावित भयो । दुई वर्षको छोटो जीवनपछि “नयाँ जर्मनी”को अस्तित्व खतम भयो ।
सो असफलतापछि ओवेनले आफ्नो बाँकी तिस वर्षको जीवन मजदुरवर्गकोबिचमा काम गरेर बिताए । त्यसैले उनको जीवनको पछिल्लो अवधि मजदुरहरुसित प्रत्यक्ष रूपमा गाँसिएको थियो । अथकित तथा अदम्य प्रचारकको रूपमा उनले मजदुरहरुका माझ आफ्ना विचारहरुको व्यापक रूपमा प््रचार गरे र उनका विचारहरबाट मजदुरहरु प्रभावित र जागृत भए । मजदुरहरुकोबिचबाट ओवेनपन्थी ल्कब । सहकारी संस्था, उत्पादक समाजआदि देखा परे । उनको सहकारी आन्दोलन ज्यादै महत्वपूणर्, उपयोगी रहयो । वास्वमा उनी अंग्रेजी सहकारी आन्दोलनका जन्मदाता थिए । त्यसताका अंग्रेजी मजदुर आन्दोलनमा ओवेनको ठुलो प्रभाव परेको थियो । त्यस अवधिको आन्दोलनमा ओवेनको प्रभावबारे चर्चा गर्दै एङ्गेल्सले आफ्नो कृति ड्युरिङ मत–खण्डन, पृष्ठ ३१२मा लेख्नुभएको छ–“बेलायतमा मजदुरहरुको तर्फबाट हुने प्रत्येक सामाजिक आन्दोलनले, प्रत्येक वास्तविक अग्रगतिले आफूलाई रबर्ट ओवेनको नामसित गाँस्ने गर्छ ।”
ओवेन सामाजिक व्यवस्थाको आधारभूत परिवर्तनका कट्टर पक्षपाती थिए, तर अन्य काल्पनिक समाजवादीहरुलाई झै, उनलाई पनि त्यस्तो परिवर्तन ल्याउने बाटो थाहा थिएन । ओवेनलाई कुन कुरामा पक्का विश्वास थियो भने चाहे धनी होस् चाहे गरिब, चाहे शासक होस् चाहे शासित, सबैको स्वार्थ एउटै हुन्छ । त्यही विश्वासमा उनले के अनुमान गरे भने समाजको परिवर्तन सुधारहरुद्धारा हुन सकिन्छ, र शासकहरुले उनको सामाजिक सुधारको कार्यान्वयनमा सहयोग गर्ने छन । तसर्थ, त्यस बेलाका सरकार र शासकहरुको सामु आफ्ना सुधार योजना वरावर पेस गर्दथे, र तिनीहरुबाट कुनै सहयोग प्राप्त नहुँदा पनि तिनीहरुको सद्भावनामा उनको आस्था रहिरहयो । उनी वर्गसंघर्ष र राजनीतिक संघर्षका एकदम विरोधी र सामाजिक शान्तिका दृढ समर्थक थिए । जीवनको आखिरसिम्म उनी त्यस्तै रहे र कुनै पनि खालको संघर्ष नगरिकन नै आमूल सामाजिक परिवर्तन हुन सकने र गर्नु पर्ने आफ्नो विश्वासमा दृढ रहे । त्यो उनको काल्पनिक विचार थियो । त्यही विचारअनुसार, उनले वर्गसंघर्षको एउटा साधन रहेको मजदुर संघलाई शान्तिपूर्ण सामाजिक सुधारको साधनमा फेर्न समेत खोजे ।
यसरी यहाँ १८औ शताब्दीका तिन जना महान काल्पनिक समाजवादी र उनीहरुका विचार तथा परिकल्पनाहरुको बारेमा संक्षिप्त चर्चा गरियो । अब तिनले विकास गरेका काल्पनिक समाजवादका सकारात्मक तथा नकारात्मक पक्षहरुबारे विचार गरौ ।
हुनत ती तिनै जना काल्पनिक समाजवादीहरुले विकास गरेका काल्पनिक समाजवाद सम्वन्धी अवधारणाहरु एक अर्कोबाट विभिन्न दृष्टिले फरक छन् । काल्पनिक समाजवादका विभिन्न सम्प्रदायहरुमा एकलाई अर्कोबाट छुट्याउने अनेकौ वैयक्तिक विशेषताहरु छन । तर तिनीहरुबिचमा पाइने साझा विशेषताहरु यहाँ हाम्रो चर्चाका विषय हुनेछन् ।
काल्पनिक समाजवादीहरु पुँजीवादी व्यवस्थाका कट्टर आलोचक तथा विरोधी थिए । तिनीहरुले गरेको महान् सेवा कुन तथ्यमा रहेकोछ भने उनीहरुले पुँजीवादद्धारा गरिएको आम जनताको शोषण र त्यसबाट उत्पन्न खराबीहरुको बडो जोडदार र गहनरुपमा आलोचना र भण्डाफोर गरे । त्यसरी उनीहरुले सामाजिक विचारहरुको अग्रगतिमा ठुलो योगदान गरे । साथै उनीहरुले पुँजीवादी समाजको विरुद्ध भार्वी समाजवादी समाजको परिकल्पना गरेर त्यसको प्रारुप प्रस्तुत गरे । उनीहरुले के कुरा राम्ररी देखाए भने पुँजीवादी व्यवस्थाको ठाउँमा नयाँ सामाजिक व्यवस्था स्थापना गर्नु विल्कुलै सम्भव र उपयोगी छ र सो समाजमा सार्वजनिक मालिकत्व र सबै सदस्यहरुको सामूहिक श्रमले प्रचुर मात्रामा धनदौलत पैदा गर्नेछ र सबै सदस्यहरुको व्यापक सांस्कृतिक विकासलाई सुनिश्चित पार्नेछ । भावी समाजसम्वन्धी उनीहरुका केही निष्कर्षहरु यस प्रकार थिए: ज्यालादारी श्रमको उन्मूलन, सहर र गाउँबिचको भेदको उन्मूलन, राज्यलाई औधोगिक व्यवस्थापनमा रुपान्तरित गर्नु, श्रमलाई एक सिर्जनात्मक पेसा र प्राकृतिक आवश्यकतामा फेर्नु ।
कमिकमजोरीहरु
काल्पनिक समाजवादीहरुले समाजको रुपान्तरणको लागि सही मार्ग पत्ता लगाउन सकेनन् । पुरानो समाजको आलोचना गरे पनि, उनीहरुले त्यसलाई फेर्नका लागि कुन शक्तिमा भरोसा राख्नुपर्छ भन्ने कुरा बुझ्न सकेनन् । उनीहरु सर्वहारावर्ग र शोषितपीडित जनताप्रति सहानुभूति राख्दथे, तर त्यसको गरिबीभित्र निहित रहेको क्रान्तिकारी पक्षलाई देखेनन् । उनीहरुले कुन कुरा बुझेनन् भने सर्वहारावर्ग पुरानो समाजलाई फाल्ने क्षेमता भएको सामाजिक शक्ति हो र सामाजिक प्रगतिको पक्षमा एक संगठित शक्ति हो । सम्पत्तिको असमानता नहटाइकन सामाजिक शन्ति कायम हुन नसक्ने कुराप्रति सचेत भए पनि, उनीहरुले कस्तो उपाय प्रस्तुत गरे भने सम्पत्तिबाट जसले फाइदा उठाइरहेका छन । उनीहरुले नै सम्पत्तिको असमानतालाई हटाएर सामाजिक शान्ति कायम राख्नु पर्छ, अर्थात अर्को शब्दमा भन्ने हो भने, उनीहरुले धनीमानी र सत्ताधारीहरुमाथि भरोसा राखे ।
काल्पनिक समाजवादको ठुलो त्रुटि के थियो भने उनीहरुले समाजको आमूल रुपान्तरणसित सम्बन्धित अति महत्वपूर्ण सवालहरुलाई पन्छाइदिए । उनीहरु राजनीतिप्रति उदासीन र वर्ग–संघर्षका विरोधी थिए । वर्ग–संंघर्ष, राजनीतिक संघर्ष, राजनीतिक सत्तामाथि कब्जा, पुँजीवादी शासनको तख्ता पल्टाउने कुरा, आदि सामाजिक रुपान्तरणको लागि आवश्यक कुराहरुलाई उनीहरुले अस्वीकार गरे । उनीहरुको मुख्य विचार के थियो भने मानिसहरुलाई प्रबुद्ध तथा शिक्षित पार्नु र वर्गहरुमाझ सहयोग कायम गर्नु समाजवाद प्राप्त गर्ने उपाय हुन ।
वर्ग–संंघर्ष, राजनीतिक संघर्ष, आदि प्रभावकारी उपायहरुलाई अस्वीकार गरेर उनीहरुले आफ्नो व्यवहारिक कृयाकलापमा यस्ता उपायहरु अपनाए, जुन बिलकुल अयथार्थवादी र अप्रभावकारी रहे । कसैले समाजको पुनर्गठनका अयथार्थवादी योजनाहरु बनाउनमा नै आफूलाई सिमीत पारे, भने कसैले शासक र पुँजीपतिहरुलाई आफ्नो योजनाको पक्षमा तान्न असफल प्रयास गरे । उनीहरु कुन भ्रममा परे भने शासक र धनीहरुलाई उनीहरुको विचार फेर्न लगाउन सकिन्छ र शोषहरुलाई पुनर्शिक्षित पारेर शोषितको पक्षमा ल्याउन सकिन्छ । त्यही भ्रममा उनीहरुले व्यवहारिक गतिविधि चलाए । तसर्थ, उनीहरका सारा योजना असफल हुनु स्वाभाविक थियो ।
काल्पनिक समाजवादीहरुको सबभन्दा ठुलो गल्ती के थियो भने उनीहरुले ऐतिहासिक विकासको वस्तुगत क्रममा ध्यान दिएनन् र त्यसमाथि भरोसा राखेनन्, बरु मानिसहरुको शुभेच्छा र असल भावनाहरुमा भरोसा राखे । उनीहरुले सामाजिक प्रगतिको सवाललाई उत्पादन–सम्बन्धहरुको आधारमा होइन, बरु नैतिकता, न्याय र त्यस्तै अन्य भावनाहरुको आधरबाट हेरे । उनीहरु ऐतिहासिक विकासको वैज्ञानिक विश्लेषणको आधारमा समाजवादी बनेका थिएनन्, तर भावनाले, मानवजातिप्रति शुभेच्छा र सद्भावनाले समाजवादी बन्न पुगेका थिए । त्यसैले, उनीहरुको समाजवाद भावनाहरुको समाजवाद(कयअष्बष्किm या झयतष्यलक) थियो । वस्तुगत विकासक्रममा आधारित नहुनाको र ऐतिहासिक विकासको धारासित नमिल्दो हुनाको कारणले गर्दा नै, उक्त समाजवाद काल्पनिक बन्न गएको थियो ।
तर, यस सम्बन्धमा ध्यानमा राख्नुपर्ने कुरा के छ भने काल्पनिक समाजवादी सिद्धान्तहरुमा जुन काल्पनिक चरित्र रहन गयो, त्यो कदापी आकस्मिक थिएन । त्यसको गहिरो ऐतिहासिक कारण थियो । त्यो कारण के भने त्यसताका पुँजीवादी सामाजिक सम्बन्धहरु त्यति हदसम्म विकसित भइसकेका थिएनन्, जहाँ पुगेपछि नै श्रमजीवी जनताको सामाजिक मुक्तिको निम्ति आवश्यक अवस्थाहरु उत्पन्न हुने थियो । त्यसो भए पनि, काल्पनिक समाजवादीहरु सर्वहारावर्गका सिद्धान्तकार हुन भन्ने कुरा स्पष्ट पार्नुको साथै, माक्र्सले उनीहरु काल्पनिक हुनाको ऐतिहासिक कारणबारे आफ्नो प्रसिद्ध कृति ‘दर्शनको गरिबी’को पेज १०९मा चर्चा गर्दै भन्नु भएको छ : “सर्वहारावर्ग आफूलाई वर्गको रुपमा स्थापित गर्न सक्ने गरी पर्याप्त मात्रामा विकसित भइसकेको छैन र फलस्वरुप, पुँजीपतिवर्गको विरुद्ध सर्वहारावर्गको संघर्ष स्वयम्ले राजनीतिक चरित्र लिइसकेको छैन र पुँजीपतिवर्गको वक्षस्थलभित्र उत्पादक शक्तिहरुको यति पर्याप्त मात्रामा विकसित भइसकेको छैन कि हामी सर्वहारावर्गको मुक्तिको लागि र नयाँ समाजको निर्माणका लागि आवश्यक भौतिक अवस्थाहरुको झझल्को पाउन सकौं । यस्तो स्थितिमा उक्त सिद्धान्तकारहरु त्यस्ता कल्पनावादी मात्र रहन्छन्, जो उत्पीडित वर्गहरुका चाहनाहरु पूर्ति गर्नका लागि व्यवस्थाको प्रारुप तयार पार्छन् र पुनर्जीवित विज्ञानको खोजमा हिंडछन् ।”
पछि, समयको क्रममा जसै पुँजीवादको विकाससंगै सर्वहारा र पुँजीपतिबिचका अन्तर्विरोधहरु चर्किर्दै गए, काल्पनिक समाजवादी सिद्धान्तहरु अपर्याप्त र अफाप सिद्ध भए । वर्ग–संघर्षको अस्वीकृति, समाजका माथिल्ला तहहरुमा अपिल, सुधारको समर्थन, वर्गहरुबिच मेल, आदिमा उनीहरुका धारणाहरुको प्रतिकृयावादी रूप स्पष्ट भए, किनभने ती मजदुर संघको विकासमा र सर्वहारावर्गको वर्ग–चेतनाको अभिबृद्धिमा बाधक भए । एकातिर मजदुरहरुमा असन्तोष, क्रोध तथा संघर्षको भावना बढिरहेको थियो भने अर्कोतिर सेन्ट–साइमन, फ्युरेर र ओवेनका अनुयायीहरु कस्तो भ्रम फैलाउदै रहे भने वर्गहरुबीच मेल तथा सहयोगद्धारा समाजवाद हासिल गर्न सकिन्छ, र नयाँ समाज व्यवस्थाको स्थापनाको लागि धनीहरुको दया–कृपामाथि भरोसा राख्नुपर्छ । सो भ्रममा परेर उनीहरुले सर्वहारावर्गको बढदो क्रान्तिकारी संघर्षको विरोध गरे । त्यसले गर्दा उनीहरु मजदुरहरुबाट अलग्गिन गई सानो गुटमा फेरिए । १८४०को दशकसम्ममा सेन्ट–साइमनवाद, फ्युरेरवाद र ओवेनवाद पतित भएर सँघुरो साम्प्रदायमा फेरि सकिएका थिए । त्यसरी मजदुरवर्गको संघर्षको विकास भएपछि, काल्पनिक समाजवादको सारा व्यावहारिक मूल्य र सैद्धान्तिक न्यायोचितता हराएर गयो ।
तर जे होस आफ्ना कैयौ त्रुटि र कमजोरीहरु हुँदाहुँदै पनि, १८औ शताब्दीका महान काल्पनिक समाजवादीहरुले महत्वपूर्ण योगदानहरु गरेका छन् । समाजवादी विचारको विकासको इतिहासमा काल्पनिक समाजवादको महत्वपूर्ण स्थान रहेको छ भने त्यसले वैज्ञानिक समाजवादी सिद्धान्तको निर्माणको लागि बाटो तयार पारिदियो । उन्नाइसौ शताब्दीको समयसम्ममा त्यसले वैज्ञानिक समाजवादको लागि ठाउँ छाडिदियो ।
माक्र्स र एङ्गेल्सले काल्पनिक समाजवादीहरुका योगदानहरुको निकै सराहना गर्नु भएकोछ र उनीहरुप्रति यथोचित सम्मान दर्शाउनुभएकोछ । माक्र्स र आफूद्धारा गरिएको वैज्ञानिक समाजवादी सिद्धान्तको प्रतिपादनमा उनीहरुको भूमिको चर्चा गर्दै एङ्गेल्सले माक्र्स र एङ्गेल्स, चुनिएका कृतिहरु, भाग १, पृष्ठ ६५२मा लेख्नु भएकोछ : वैज्ञानिक समाजवाद “ सेन्ट–साइमन, फ्युरेर र ओवेनको काँधमाथि अडेको छ । उनीहरु त्यस्ता तिन व्यक्ति हुन, जसले आफ्ना काल्पनिक धारणाहरु र आफ्नो सारा कल्पनावादका बावजुद, सबै कालका सबभन्दा प्रमुख विचारकहरुमा आफ्नो स्थान बनाएका छन् र जसको प्रतिभाले त्यस्ता असंख्य चीजहरुको पूर्वानुमान गरेको छ जसको औचित्यलाई हामी अहिले वैज्ञानिक रुपबाट प्रमाणित गर्दैछौ ।” राजनीतिमा “युटोपिया”को खास अर्थबारे लेनिनका संकलित रचनाहरु, भाग १८, पृष्ठ ३३५मा यसरी व्याख्या गरिएको छ–“राजनीतिमा युटोपिया भनेको यस्तो इच्छा हो, जुन कहिले पनि साकार हुन सक्दैन् , न अहिले न पछि साकार हुनेछ । त्यो यस्तो इच्छा हो, जुन सामाजिक शक्तिहरुमाथि आधारित छैन र जसलाई राजनीतिक, वर्गीय शक्तिहरुको बृद्धि र विकासले समर्थन गर्दैन ।”
वैज्ञानिक समाजवादको विकासको पूर्वाधारका कुरा गर्दा निम्न दार्शनिकहरुको योगदानको कदर नगरीरहन सकिदैन :
नयाँ जर्मन दर्शनको आविर्भाव – जर्ज विलियम्स हेनरिक हेगेल(१७७०—१८३१)
माथि उल्लेख गरिएका काल्पनिक समाजवादीहरुको साथमा र त्यसपछि एउटा नयाँ जर्मन दर्शनको आविर्भाव भयो, जसको परिणति हेगेलका रचनाहरुमा भयो । यस दर्शनको सबभन्दा ठूलो विशेषता यो थियो कि यसले द्धन्द्धवादलाई नै तर्कको सर्वोच्च रुप मान्यो र दर्शनको क्षेत्रमा त्यसलाई फेरी प्रतिष्ठित गर्यो । युनानका प्राचीन दार्शनिकहरु सबै जन्मजात स्वत: स्फूर्त द्धन्द्धवादी थिए र उनीहरुमध्ये सर्वाधिक सर्वज्ञानसम्पन्न मनीषी अरस्तुले द्धन्द्धवादी तर्कका प्रमुख रुपहरुको विश्लेषण गरिसकेका थिए । यद्यपि नवीनतर दर्शनका अनुयायीहरुमा (देकार्त अनि स्पिनोजा जस्ता)द्धन्द्धवादका प्रतिभाशाली व्याख्याकार थिए, तापनि यो दर्शन विशेष रुपले अंग्रेज दार्शनिकहरुको प्रभावले तथाकथित अधिभूतवादी तर्क–प्रणालीसँग अधिकाधिक आबद्ध हुँदै गयो ।
नयाँ जर्मन दर्शनको मूल भावना यी हुन् : विश्व, त्यसको विकास, मानव जातिको विकास र मानवको मस्तिष्कमा यस विकासको प्रतिबिम्बको सच्च चित्र द्धन्द्धात्मक प्रणालीद्धारा नै प्राप्त हुन सक्छ, किनभने यही प्रणालीले जीवन र मृत्यु, परोगामी र प्रतिगामी परिवर्तनहरुका असंख्य क्रिया–प्रतिक्रियाहरुलाई सदा ध्यानमा राख्दछ । नयाँ जर्मन दर्शनको चरम विकास हेगेलको प्रणालीमा भयो । यस प्रणालीमा(र, यही नै यसको ठुलो विशेषता हो) यो पुरा जगत(प्राकृतिक, ऐतिहासिक तथा बौद्धिक) पहिलो पटक एउटा प्रक्रियाको रूपमा, अर्थात सतह प्रवाह, गति, परिवर्तन, रुपान्तरण तथा विकासको अवस्थामा चित्रित गरियो, साथै त्यो आन्तरिक सम्बन्धलाई, त्यस सूत्रलाई ग्रहण गर्ने कोशिस गरियो, जसबाट यी समस्त गति तथा विकासलाई एउटा क्रमबद्ध व्यवस्थाको रूप प्राप्त हुन्छ । यस दृष्टिकोणबाट मानव जातिको इतिहास निरर्थक, हिंसक कार्यहरुको प्रचण्ड आवर्तन रहन गएन, बरु यस दृष्टिबाट यो इतिहास स्वयम् मानवको विकास प्रकृयाको रुपमा देखा पर्यो । अब यो काम बुद्धिको थियो कि त्यसले उक्त प्रक्रियाको बाङगोटिङगो मार्गबाट क्रमिक विकासको गतिलाई ठम्याओस् र जुन घटनाक्रमहरुलाई बाहिरबाट हेर्दा आकस्मिकजस्तो लाग्छ, तिनीहरुमा अन्तर्निहित नियमलाई खोजेर निकालोस् ।
हेगेल प्रणालीको युगान्तकारीक महत्व यस कुरामा छ कि यसले समस्यालाई निरुपण गर्यो । यो समस्या नै यस्तो हो कि जसलाई कोही एक व्यक्तिले कहिल्यै पनि समाधान गर्न सक्दैन । सेन्ट–साइमनसँगै हेगेल आफ्नो युगमा सबभन्दा अधिक सर्वज्ञानसम्पन्न व्यक्ति थिए, जसको मस्तिष्क वास्तवमै विराट थियो, तर पनि उनी सबभन्दा पहिले, आफ्नो युगका विस्तार एवं गहिराई दुवैमा सिमित ज्ञान र धारणाहरुको सिमाद्धारा बाँधिएका थिए । यिनीहरुको अलावा एउटा तेस्रो सिमा थियो हेगेल भाववादी(अध्यात्मवादी) थिए । उनका लागि मस्तिष्कको विचार वास्तविक वस्तुहरु र क्रियाहरुको न्यूनाधिक अमूर्त प्रतिबिम्ब थिएन, यसको विपरीत, यी वस्तुहरु र क्रियाहरु त्यस ‘विचार’का फलीभूत चित्र थिए, जसको अस्तित्व विश्वको सृष्टिभन्दा अगाडि अनादि कालदेखि नै सहिआएको छ ।यस चिन्तन प्रणालीले हर चिजलाई सिरको बलमा उभ्याइदियो र संसारमा वस्तुहरुको यथार्थ सम्बन्धलाई विल्कुल उल्टो बनाइदियो । यद्यपि हेगेलले कैयौ विशिष्ट तथ्य–समूहहरुलाई ठिक–ठिक एवं अत्यन्त सुझबुझका साथ ह्दयगम गरे, तापनि उपरोक्त कारणहरुबाट उनका रचनाहरुमा धेरै कुराहरु यस्ता छन्, जुन असंगत छन्, बनावटी छन, जबरजस्ती किसिमले कोचिएका छन् । अर्थात संक्षेपमा भन्दा, तथ्यगत कुराहरुमा गलत छन् । हेगेलको प्रणाली एउटा भयङकर भ्रुणपात हो । वास्तवमा यो प्रणाली एउटा यस्तो आन्तरिक विरोधबाट पीडित थियो कि जसको कुनै उपचार थिएन । एकातिर यसको मूल प्रस्थापना यो धारणा थियो कि मानव इतिहास विकासको एउटा प्रकृया हो, जसको स्वभावत: यो परिणति कहिल्यै हुन सक्दैन कि कुनै तथाकथित निरपेक्ष सत्यको आविष्कारलाई बुद्धिको चरम सिमा मानियोस । तर अर्कोतिर यस प्रणालीको यो दावी थियो कि यो त्यही निरपेक्ष सत्यको सार हो । प्राकृतिक तथा ऐतिहासिक ज्ञानको एउटा यस्तो व्यवस्था, जुन सर्वव्यापी एवं सदाका लागि निश्चित होस, द्धनद्धवादी तर्कप्रणालीको मूलभूत नियमको प्रतिकूल छ । साथै बाह्य जगतको विषयमा हाम्रो व्यवस्थित ज्ञानले एक युगबाट अर्को युगसम्म विराट प्रगति गर्न सक्छ भन्ने विचार यस नियमबाट बाहिर नभएर यसै अन्तरगत् पर्दछ ।
जर्मन भाववाद(क्ष्मभबष्किm)को यस मौलिक अन्तरविरोधको अवोधको नतिजा यही भयो कि दार्शनिकहरुको झुकाव फेरि भौतिकवाद तिर भयो, तर ध्यान दिनु पर्ने कुरा यो छ कि उक्त भौतिकवाद अठारौ शताब्दीको अधिभूतवादी, सर्वथा यान्त्रिक भौतिकवादबाट फरक थियो । पुरानो भौतिवादको दृष्टिमा समस्त पूर्णकालीन इतिहास हिंसा र बुद्धिहीनताको एउटा पुञ्ज हो, आधुनिक भौतिकवादको दृष्टिमा यो इतिहास मानव जातिको विकासको एउटा प्रक्रिया हो र त्यसको लक्ष्य यो विकासका नियमहरलाई पत्ता लगाउनु हो । आठारौ शताब्दीका फ्रान्सेलीहरु र हेगेलसमेतको यो धारणा थियो कि सम्पूर्ण प्रकृति एउटा सीमित वृतमा घुम्छ र सदाको लागि अपरिवर्तनशील छ । जस्तो कि न्यूटनले भनेका थिए, उनका आकाशीय पिण्ड नित्य छन् त्यस्तै लिनियसले भनेका थिए, सबै जैव जातिहरु नित्य र अपरिवर्तनशील छन् । आधुनिक भौतिकवादले प्रकृति विज्ञानका हालैका आविष्कारहरुलाई ग्रहण गरेको छ, जसका अनुसार कालको प्रवाहमा प्रकृतिको पनि एउटा इतिहास छ, प्रकृति पनि समयको अधिन छ, र खगोलीय पिण्डहरु, ती जैव जातिहरु जस्तै, जसले अनुकूल परिस्थितिमा त्यहाँ उत्पन्न हुन्छन् र नष्ट पनि हुन्छन् । यदि अझै पनि यो भन्नु पर्छ कि सम्पूर्ण प्रकृति निरन्तर पुनरावृति हुने बृतमा घुम्दछ भने त्यसको त्यसको साथमा यो पनि मान्नु पर्छ कि उक्त बृत निरन्तर बढदै जान्छ । दुवै पक्षबाट आधुनिक भौतिकवाद मूलत: द्धन्द्धात्मक छ र यसलाई अब त्यस्तो दर्शनको साहायताको आवश्यकता रहेन, जसले बाँकी सबै विज्ञानहरुमाथि त्यसरीनै शासन गर्ने दावी गरोस जसरी राजाले प्रजामाथि गर्दछ । जबदेखि प्रत्येक पृथक विज्ञानले वस्तुहरुको विस्तृत समष्टिमा र तिनीहरुको बारेमा ज्ञानको समष्टिमा आफ्नो स्थितिलाई स्पष्ट बनाउँछ, तबदेखि त्यस समष्टिसँग सम्बन्ध राख्ने विशेष विज्ञान निरर्थक अथवा प्रयोजनहीन हुन जान्छ । पुरानो दर्शनको यदि कुनै भाग बाँचिरहन्छ भने त्यो हो–चिन्तन तथा त्यसका नियमहरको विज्ञान, अर्थात तर्कशास्त्र र द्धन्द्धवाद । बाँकी सबै प्रकृति तथा इतिहासका तथ्यविषयक विज्ञानका अंग बन्न जान्छन् ।
यद्यपि प्रकृतिसम्बन्धी धारणामा क्रान्ति त्यसै हदसम्म हुन सक्थ्यो, जुन हदसम्म त्यसको लागि अनुसन्धानद्धारा तथ्यविषयक सामग्री प्रस्तुत गरिएको छ । धेरै पहिले नै केही यस्ता घटनाहरु घटिसकेका थिए, जसको कारणले इतिहासको धारणामा एउटा निर्णायक परिवर्तन सम्भव थियो । सन १८३१मा लियो नामको नगरमा मजदुरहरुको पहिलो विद्रोह भयो, १८३८ र १८४२को बिचमा इगलैन्डको चार्टिष्ट आन्दोलन, जुन पहिलो राष्ट्रव्यापी मजदुर आन्दोलन थियो, आफ्नो शिखरमा पुग्यो । सर्वहारावर्ग र पुँजीपतिवर्ग बिचको वर्गसंघर्ष युरोपका सबभन्दा उन्नत देशहरुको इतिहासमा सामुन्ने आए र त्यस हदसम्म सामुन्ने आए, जुन हदसम्म ती देशहरुमा एकातिर आधुनिक उद्योगको र आर्कोतीर पुँजीपतिवर्गको नयाँ राजनीतिक प्रभुत्वको विकास भएको थियो । तथ्यहरुले आधिकाधिक प्रबल रुपले पुँजीवादी अर्थशास्त्रका उपदेशहरुलाई झुटा सावित गरे, जसका अनुसार पुँजी र श्रमको हित एउटै हो र अनियन्त्रित होडको नतिजा विश्वव्यापी सामञ्जस्य र समृद्धि हुनेछ । यी नयँँ तथ्यहरुलाई अब अरु उपेक्षा गर्न सकिन्नथ्यो, जुन उक्त तथ्यहरुको सैद्धान्तिक, अपूर्ण नै सही, अभिव्यक्त थियो । तर पनि इतिहासको पुरानो भाववादी धाराणामा ( र अझसम्म त्यो धारणा निमूल भएको थिएन) आर्थिक हितहरुमाथि आधारित वर्ग संघर्षहरुको या आर्थिक हितहरुको कुनै स्थान थिएन । त्यस धारणाका अनुसार उत्पादन तथा सबै आर्थिक सम्बन्ध “सभ्यताको इतिहास” का आनुषांगिक र गौण तत्व हुन् ।
यी नयाँ तत्थ्यहरुको कारणले समस्त विगत इतिहासको पुन: परीक्षा गर्नु आवश्यक हुन गयो । तब यो देखिन आयो कि आदिम युगहरुलाई छाडेर, समस्त विगत इतिहास वर्गसंघर्षको इतिहास रहिआएको छ, र समाजका यी संघर्षरत वर्गहरु सदा आफ्नो युगका उत्पादन तथा विनिमय प्रणालीबाट या संक्षेपमा भन्ने हो भने, आफ्नो युगका आर्थिक परिस्थितिहरुबाट उत्पन्न भएका हुन् र यो तथ्य कि समाजको आर्थिक ढाँचा नै वास्तवमा त्यो आधार हो, जसमाथि कुनै पनि ऐतिहासिक युगका कानुनी र राजनीतिक संस्थाहरुको र धार्मिक, दार्शनिक तथा अरु विचारहरुको माथिल्लो ढाँचा निर्माण गरिन्छ र यस आधारलाई ग्रहण गरेर नै हामी उक्त माथिल्लो ढाँचालाई पूर्णतया बुझ्न सकछौ । हेगेलले इतिहासलाई अधिभूतवादबाट मुक्त गरे, उनले यसलाई द्धन्द्धवादी रूप दिए, तर इतिहाससम्बन्धी उनको धारणा मूलत: भाववादी थियो । भाववादको अन्तिम आश्रय इतिहासको दार्शनिक धारणा थियो तर अब त्यो आयको पनि अन्त्य भयो । अब इतिहासको एउटा भौतिकवादी विवेचना प्रस्तुत गरियो । अहिलेसम्म मनुष्यको चेतनालाई उसको अस्तित्वको आधार मानिएको थियो, तर अब मनुष्यको अस्तित्वलाई उसको चेतनाको आधार प्रमाणित गर्ने मार्ग खुल्यो ।
दर्शको क्षत्रमा माक्र्सवादको विकासको निम्ति पछिल्लो विकास हेगेलको सास्त्रीय दर्शनका रुपमा व्दन्दवाद र लुडविक फायरवाखको भौतिकवाद थिए ।
काल्पनिक समाजवादका विरूद्धको संघर्ष र वैज्ञानिक समाजवादको स्थापना
काल्पनिक समाजवाद पुँजीवाद अन्तरगत मजदुर वर्गको उत्पीडन र शोषणको पहिलो सर्वोत्तम प्रतिक्रिया थियो । गरिखाने जनताले सामन्तवादलाई फयाक्नका लागि ज्यादै कठिन लडाई लडेका थिए । तै पनि पुँजीपतिहरूको स्वतन्त्रता, समानता र भाईचाराका नाराहरूको अर्थ स्वतन्त्रता केबल पुँजीपति वर्गका लागि थियो र गरिखानेहरूमाथिको शोषणलाई अझ घनिभूत गराउनु थियो । विभिन्न समाजवादी मान्यताहरू पुँजीपतिहरू र मजदुरहरूबीच उत्पन्न भईरहेको अन्तरविरोधहरूको परिणाम शोषण विरूद्धको एउटा विद्रोहका रूपमा उत्पन्न भएका थिए । तिनीहरूले यस्तो प्रणाली निर्माणका लागि प्रयास गरे जसले शोषितहरूलाई न्याय दिलाउन सक्दथ्यो ।
यस्तो नयाँ समाजवादी सिद्धान्तहरूका लागि पुँजीवादी उत्पादनको अराजकता अर्को एउटा कारण थियो । काल्पनिक समाजवादीहरूले वुद्धिसंगत प्रणाली निर्माण गर्ने प्रयास गरे जसले सद्व्यवहार र सौहाद्रपूर्ण तरिकाले मानवजातीका आवश्यकताहरूलाई पुरा गर्न सक्दथे । तिनीहरूमध्ये केहीले त पुँजीपतिहरू र सरकारी अधिकारीहरूलाई सम्झाउन कोशिस पनि गरे कि उनीहरूको समाजवादी प्रणालीहरू जहाँ ज्यादा बुद्धिसंगत, योजनावद्ध र त्यसकारणले भइरहेका पुँजीवादी प्रणालीभन्दा अनुकुल थियो । तिनीहरूले उनीहरूको परियोजनाहरूलाई धनीहरूबाट पैसा लिन यसरी पनि कोशिस गरे ।
पूर्व माक्र्सवादी समाजवादी, जसलाई काल्पनिक समाजवादी भनिन्छ, उनीहरुको मान्यताहरूको प्रमुख खरावी यो थियो कि तिनीहरूसँग समाजमा बाहिर नआएका वर्ग अन्तरविरोधहरू र वर्ग सङ्घर्षहरूमा वास्तविक रूपले आधारित थिएन् । यद्धपि तिनीहरूका विचारहरू समाजभित्रका वर्गसङघर्षहरूका आफैमा उत्पादन थिए । काल्पनिक समाजवादीहरूले त्यसलाई महशुस गरेनन् कि समाजवाद प्राप्त गर्नका लागि वर्गसङघर्ष पूर्णत आवश्यक थियो । ता पनि उनीहरूका विचारहरू सही मानेमा वालक सर्वहाराको उत्कट चाहनाहरूको एउटा परावर्तन थियो, काल्पनिक समाजवादीहरूले समाजवाद ल्याउनमा सर्वहाराको क्रान्तिकारी भूमिकाको केन्द्रीय महत्व स्विकार गरेनन् ।
जव माक्र्स र एङ्गेल्स समाजवादी कम्युनिष्ट समूहहरूसँग सम्पर्कमा आउनु भयो, उहाँहरूले काल्पनिक समाजवादका अनुयायीहरूलाई उनीहरूका विचारहरूको असान्दर्भीकताका वारेमा सम्झाउने कोशिस सुरू गर्नु भयो । उहाँहरूले विभिन्न क्रान्तिकारी र मजदुर वर्ग समूहहरूमा चल्ने बहस, छलफलमा निरन्तर गहन रूपले भाग लिनु भयो, जहाँ ती सिद्धान्तहरू र विचारहरू बहस छलफल गरिने गरिन्थ्यो । उहाँहरूको प्रमुख लक्ष्य समाजवादी सिद्धान्तलाई वैज्ञानिक आधार दिनु थियो । यसका लागि उहाँहरूले पहिलेका समाजवादीहरूका खरावीहरू र गलत सोंचाइहरूलाई भण्डाफोर गर्नु खुलस्त पार्नु थियो र समाजवादलाई वर्गसङ्घर्षको माक्र्सवादी सिद्धान्तको ठोस आधारमा स्थापित गर्नु थियो ।
किनभने माक्र्सले आफैले वर्गसङ्घर्षको सिद्धान्त उहाँद्धारा कुनै नयाँ चीज पत्ता लगाइएको थिएन् भनेर बताइसक्नु भएको थियो । वास्तवमा पहिलेका समाजवादीहरू र पुँजीवादी लेखकहरू समेत यसवारे धेरै सचेत थिए र वर्गसङ्घर्ष र वर्गहरूवारे उनीहरूले निकै लेखेका थिए । ता पनि वर्गसङ्घर्षको माक्र्सवादी सिद्धान्तको अत्यावश्यक फरक यो हो कि यसले (वर्गसङघर्षले) समाजवाद र साम्यवादतर्फ अनिवार्यत लैजान्छ ।
माक्र्सले देखाउनु भयो कि प्रथम वर्गहरू यस्ता चीज होइनन् जो मानव समाजमा सधैभरी अस्तित्वमा छन् । उहाँले देखाउनु भयो कि मानव इतिहासमा एउटा लामो अवधि थियो, जब त्यहाँ कुनै पनि वर्गहरू थिएनन् (आदिम साम्यवादको अवधिमा) भविश्यमा पनि एउटा अवधि हुनेछ जब त्यहाँ फेरी वर्गहरू हुने छैनन् । दोस्रो माक्र्सले खासगरी वर्तमानको सर्वहारा र पुँजीपतिबीचको सङघर्षको विश्लेषण गरेर देखाउनु भयो कि कसरी यो वर्गसङ्घर्षले मजदुरद्धारा क्रान्तितर्फ अनिवार्यरूपले लैजाने छ र सर्वहारा वर्गको अधिनायकत्व, त्यो भनेको समाजवादको स्थापना गर्ने छ । तेस्रो, माक्र्सले देखाउनु भयो कि यो सर्वहारा वर्गको अधिनायकत्व आफैमा संक्रमणको एउटा अवधि थियो । सर्वहाराले एउटा वर्गका रूपमा आफैलाई र सवै वर्गहरूलाई ध्वस्त पारेर एउटा वर्ग विहिन समाज जसलाई साम्यवाद भनिन्छ, को स्थापना गर्दै विकास गर्न सक्ने छ ।
वर्गसङघर्षको यो सिद्धान्त हो जसलाई माक्र्स र एङ्गेल्सले विकास गर्नु भयो, प्रचारप्रसार गर्नु भयो र आफ्नो जीवनभर व्यवहारमा लागु गर्नु भयो । वर्गसङघर्षको यो नै माक्र्सवादी सिद्धान्त हो, जसले समाजवादलाई विज्ञानमा बदलि दियो, जसले वैज्ञानिक समाजवादको आधार बसाल्यो । यसले गर्दा समाजवाद लामो समयसम्म केही चलाख दिमागको उपजको रूपमा हेरिएन् बरू यो सर्वहारा र पुँजीपति –यी दुई ऐतिहासिक रूपले विकसित वर्गहरूबीच सङघर्षको अत्यावश्यक उपलब्धी भयो । वैज्ञानिक समाजवादको कारणले समाजवादीहरूको कर्तब्य काल्पनिक समाजवादीहरूले जे गर्न कोशिस गरेका थिए त्यस्तै समाजको एक दमै पूर्ण, हार्मेनियस र तर्कसंगत प्रणालीको विकास गर्नका लागि कोशिस सिवाय केही थिएन् । वैज्ञानीक समाजवाद अन्तरगत समाजको विश्लेषण गर्नु, इतिहासको र समाजका वर्ग अन्तर विरोधहरूको विश्लेषण गर्नु थियो र यो आर्थिक आधारबाट सबै वर्गीय विवादको अन्त्य गर्ने मार्ग पत्ता लगाउनु थियो र समाजवाद र साम्यवाद ल्याउनु थियो ।
माक्र्सवादी समाजवादी सिद्धान्तको वैज्ञानिक स्पष्टता यति महान् थियो कि सन १८४०को दशकका विभिन्न समाजवादी र कम्युनिष्ट संगठनहमा बहुसंख्यक इमान्दार तत्वहरूले तुरून्तै पूर्व माक्र्सवादी समाजवादको वर्गहिन विभिन्नताहरूलाई इन्कार गर्यो । माक्र्स र ऐङ्गेल्स छिट्टै समाजवादी आन्दोलनभित्रका वैज्ञानिक नेताहरू बन्नु भयो । जव सन १८४७मा विभिन्न देशहरूका मजदुरहरू, बुद्धिजीवीहरू र क्रान्तिकारी समाजवादी समूहहरूलाई एकत्रित गर्दै एउटा नयाँ अन्तराष्ट्रिय संगठनको गठनमार्फत उहाँहरू तुरून्तै यसका नेताहरू हुनु भयो । उहाँहरूले यसको नाम ‘द कम्युनिष्ट लिग’भनेर सुझाव गर्नु भयो र उनीहरूले नै यसको कार्यक्रम ड्राफ्ट गर्नका लागि उहाँहरूलाई नै नियुक्त गर्यो । यो कार्यक्रम विश्व ऐतिहासिक कम्युनिस्ट घोषणापत्र हो ।
कम्युनिस्ट घोषणापत्र अन्तराष्ट्रिय सर्वहाराको पहिलो कायक्रम र सामान्य लाइनमात्रै थिएन् , यसले वैज्ञानिक समाजवादको आधारभूत सिद्धान्तहरू र समाजवादका सबै अन्य प्रकारका पद्धति स्थापित गर्यो । यसको विभिन्न भाषाहरूमा छिटो अनुवादसंगै घोषणापत्रले तुरून्तै युरोपभर र अनि विश्वभर माक्र्सवादी वैज्ञानिक समाजवादका आधारभूत विचारहरूलाई फैलायो । यो दस्तावेजमा उल्लेख गरिएका सिद्धान्तहरू करीव १७५ वर्षभन्दा बढी आजका दिनसम्मका लागि सान्दर्भिक रहेका छन् ।
फ्रेडरिक एङगेल्स समाजवाद काल्पनिक र वैज्ञानिक सन १८८० ्
लेनिनका संकलित रचनाहरु, भाग १८, पृष्ठ ३३५
माक्र्स र एङ्गेल्स, चुनिएका कृतिहरु, भाग १, पृष्ठ ६५२
पार्टीको स्कुलिङ(१२—१७ कार्तिक २०८०)का लागि तयार पारिएको हेण्ड नोटस
हुकुमबहादुर सिंह
वैज्ञानिक समाजवाद स्कुलिङ नोट—१
वैज्ञानिक समाजवादको विकासको पूर्वाधार