‘संसदीय व्यवस्थाको अन्त्य गरेर जनगणतन्त्र हुँदै वैज्ञानिक समाजवादतिर जानु नै असली विकल्प हो’

‘संसदीय व्यवस्थाको अन्त्य गरेर जनगणतन्त्र हुँदै वैज्ञानिक समाजवादतिर जानु नै असली विकल्प हो’

विस्तृत शान्ति प्रक्रिया सुरु भएको १७ वर्ष पूरा भएको छ । यो अवधिमा के भयो, के भएन र के हुनुपथ्र्यो ? तपाईंको समीक्षा के हो ?

आन्दोलनमा सम्झौता त गर्नुपर्ने हुन्छ । शान्ति सम्झौता पनि त्यही अनुसार भयो । वास्तवमा यो शान्ति प्रक्रिया माओवादी जनयुद्धलाई समाप्त पार्ने हिसाबले अगाडि बढ्यो । हामीले दश वर्षको जनयुद्ध नेपालमा नयाँ जनवादी राष्ट्रियता स्थापना गर्दै वैज्ञानिक समाजवादतर्फ जाने भनेर सुरु गरेका थियौं । तर यसले संसदीय व्यवस्थाको ठाउँमा संसदीय व्यवस्था नै ल्याइदियो । त्यसैले यो प्रक्रिया गलत रह्यो भनेर भन्दै आएका छौं । जनताका समस्या समाधान भएनन् । यो सफलतापूर्वक अगाडि बढ्न सकेन ।

त्यसो भए विकल्प के हुनसक्थ्यो ?

विकल्प धेरै हुनसक्थे । एउटा विकल्प त आन्दोलन अगाडि बढ्दै गएको अवस्थामा हाम्रो जित हुनसक्थ्यो । मलाई लाग्छ, हामीले जित्न सक्थ्यौं । यो तरिकाले शान्ति प्रक्रियामा नगएर युद्धलाई अलिकति लम्ब्याइदिएको भए हाम्रो जित हुन्थ्यो ।

भारतको नक्सलिस्ट जस्तो आन्दोलन कहिल्यै नटुंगिने, नतिजा ननिस्किने जोखिम पनि हुनसक्थ्यो नि हैन ?

त्यस्तो होइन । जुन तरिकाले शान्ति प्रक्रिया अगाडि बढ्यो त्यो क्रान्तिकारीहरूलाई आत्मसमर्पण गराउनका लागि गरिएको हो । आखिर आत्मसमर्पण भइहाल्यो । नयाँ जनवादी राज्यसत्ता स्थापना गरेर वैज्ञानिक समाजवादतर्फ जाने हाम्रो जुन लक्ष्य थियो त्यो पूरा हुन सकेन । यो शान्ति प्रक्रियाले देशलाई गलत बाटोमा लग्यो ।

तपाईंले नेतृत्व गरेको पार्टी शान्ति प्रक्रिया नै गलत भनेर फरक बाटोबाट जान खोजेको छ । तर तपाईंले विद्रोह गरेको एक दशकभन्दा बढी भइसक्दा पनि नतिजा त केही निस्किन सकेन है ?

हामीले त विद्रोह गर्दा नै १२ बुँदे सहमति गलत भएको छ भनेर भन्यौं । जनयुद्धको अन्त्य भनेर भन्नु नेतृत्वको गल्ती हो भनेर भन्दै आएका छौं । नतिजा निस्किन सकेन भनेको ठीकै हो । एकै ठाउँमा भएको भए हामी अर्कै ठाउँमा पुग्थ्यौं । तर त्यत्रो पार्टी विभाजित भयो । विभाजित भइसकेपछि त कसरी गर्न सकिन्छ । हामीले संसदवादमा विलीन हुनुभन्दा क्रान्तिको झण्डा उठाएरै राखौं, फेरि उपयुक्त परिस्थिति आयो भने आन्दोलनको प्रक्रियालाई अगाडि बढाएर देश र जनताले चाहेको सत्ता र व्यवस्था स्थापना गर्न सकिन्छ भन्ने हो ।

त्यो उपयुक्त मौका भनेको कस्तो हो ? त्यसपछि गर्ने भनेको हिजोको जस्तै जनयुद्ध हो कि अरू केही मोडेल छ ?

उपयुक्त भनेको आत्मगत स्थिति बलियो बनाएर जाने भनेको हो । दोस्रो, हिजोको जस्तै जनयुद्ध हुँदैन । हतियार त उठाउनुपर्छ । तर कसरी उठाउने भन्ने कुरा त्यो बेलाको परिस्थितिले निर्धारण गर्छ । हामी आफ्नो तरिकाले जनसंघर्ष र जनविद्रोहको बाटो हुँदै जान्छौं । सरकारले कस्तो रवैया अपनाउँछ त्यही अनुसार जानुपर्ने हुन्छ ।

हिजो क्रान्तिलाई त्यो स्तरमा उठाउने जो मूल नेतृत्व हुनुहुन्थ्यो, तपाईंहरूलाई एकठाउँमा ल्याउने परिस्थिति आउला रु यदि आयो भने त्यसलाई के चिजले जोड्न सक्छ ?

त्यसलाई नेतृत्व गर्ने बाबुराम, प्रचण्ड र हामी नै हौं । बाबुरामजीले कम्युनिस्ट विचारधारा नै मान्दिनँ भन्नुभयो । उहाँको कुरा सकिइहाल्यो । प्रचण्डजीको कुरा हो । उहाँ यही संविधान र व्यवस्थाको रक्षा गरेर जानुपर्छ भन्नुहुन्छ । यही संविधान र व्यवस्थाको रक्षा गर्ने भए रूपान्तरण कहाँ गर्ने ? कुरा नै मिलेन । त्यस कारणले नेतृत्व तहमा उही ढंगले मिलेर जाला जस्तो लाग्दैन । तर कैयौं नेता र कार्यकर्ता आन्दोलन गर्नुपर्छ भन्ने पक्षमा हुनुहुन्छ ।

आन्दोलनमा शुद्धतावादी धारबाट जाने, नेताहरू टुक्राटुक्रा भएर कोठामा सीमित हुने, जनताको समस्या उठाउने शक्ति नहुने देखियो । जनता सडकमा आउने र त्यसको नेतृत्व तपाईंहरू जस्ता क्रान्तिकारीले गर्न नसक्ने किन भयो ?

यसमा विवाद गर्नुपर्ने छैन । क्रान्तिकारी शक्तिको आत्मबल कमजोर भयो । हामी विभाजित भयौं । हाम्रो शक्ति कमजोर भयो । त्यसो हुँदा अरू शक्ति अगाडि आइहाल्छन् । तर सधैंभरि यस्तो भइरहन्छ भन्ने छैन । आत्मगत र वस्तुगत परिस्थितिमा द्वन्द्वात्मक सम्बन्ध हुन्छ । जहाँ बलियो कमजोर हुन्छ, कमजोर बलियो हुन्छ । उदाहरणका लागि हाम्रो दशवर्षे जनयुद्ध नै छ । हामी थोरै नै थियौं । सानो अवस्थामा थियौं । मिहिनेत गर्यौं । देशव्यापी पार्टी बन्यो । संघर्ष गरियो । हिजोको माले र आजको एमाले २०२८ सालमा कस्तो थियो ? आखिरमा विशाल शक्ति भएर आयो । अहिले हामी कमजोर छौं, अवस्था यो हो ।

जनताले पटक–पटक धोका पाउँदा क्रान्तिकारी शक्तिलाई विश्वास गर्ने अवस्था एकदमै कमजोर बनेको देखिन्छ नि ?

हामीले विश्वास गर्ने अवस्था बनाउनुपर्छ । जनताले विश्वास गर्ने स्थितिमा पुर्याउनका लागि हाम्रा काम र गतिविधि बढाउनुपर्छ । दोस्रो, जनता आफैं सक्रिय नभइकन क्रान्ति सम्भव हुँदैन । क्रान्तिमा जनता लाग्नुपर्छ । कुनै पार्टीले भनेर लाग्ने होइन ।

स्वस्फूर्त ढंगले लाग्ने भन्नुभएको ?

जनता स्वस्फूर्त ढंगले क्रान्तिमा लाग्ने होइन । सचेत ढंगले लाग्नुपर्छ । यी पार्टीले ल्याएका कुरा ठीक छन्, लाग्नुपर्छ भनेर लाग्ने हो । पार्टीले पनि त्यो विश्वास बनाउनु पर्यो, जनता लाग्छन् । अहिले हुँदैन, अलिकति समय लाग्छ ।

तपाईंहरूले आफ्नै शक्तिको मूल्यांकन गरिरहनुभएको होला । कमजोर भए पनि क्रान्तिको झण्डा उठाइरहेका छौं भन्नुभएको छ । तपाईंकै दर्शनले कुनै पनि वस्तुको विकास वा विनाशका लागि बाह्य भन्दा आन्तरिक पक्ष प्रधान हुन्छ भन्छ । तपाईंले अहिलेको अवस्था आउनुमा के कमजोरी भए भनेर समीक्षा गर्नुभएको छ ?

त्यस्तो कमजोरी हामीमा पनि छन् । कम्युनिस्ट आन्दोलनमा निम्न पूँजीवादी प्रवृत्ति हावी हुन्छ, भइराख्छ । हामी त्यो निम्न पूँजीवादी प्रवृत्तिका विरुद्ध लड्दै जानुपर्ने हुन्छ । अलिकति ठूलो बलियो भयो भने तात्ने, अलिकति कमजोर भएपछि सेलाइहाल्ने हुन्छ । हाम्रा आफ्नै पनि कतिपय कमी–कमजोरी र सीमा छन् भन्ने हामी मान्छौं । हामीले पनि आफ्ना कमजोरीको रिभ्यू गर्नुपर्छ । मूल कुरा सच्चा क्रान्तिकारी शक्तिलाई गोलबद्ध गर्न नसक्नु हाम्रो कमजोरी हो ।

क्रान्तिकारीहरू गोलबद्ध गर्ने भन्दै हुनुहुन्छ । प्रचण्ड, बाबुराम, विप्लव लगायत शक्ति छलफलमा छन् । यतातिर तपाईं र नेकपा बहुमत पनि एक हुनुभयो । तपाईं सबै एकैठाउँमा आउने गरी छलफल भएको छैन ?

यही संसद् र यही संविधानलाई बलियो बनाउने भन्ने उहाँहरूको छ । हामी यसैलाई ढाल्ने भन्छौं । मूल कुरा नै मिलेको छैन । मूल कुरा नै नमिलेपछि कसरी सहमति हुने ? 

युद्ध रोकिएको केही समयमा नै तपाईं क्रान्तिकारीहरू भनिएकाहरूले पार्टी विभाजन गर्नुभयो । तर तपाईं क्रान्तिकारी भन्नेहरू नै एकठाउँमा रहन सक्नुभएको छैन । तपाईंहरू आफैं एकठाउँमा नहुँदा जनता कसरी कन्भिन्स हुने ?

जनता कन्भिन्स हुने कुरा त हाम्रै व्यवहारले हो । जनता किन कन्भिन्स भएनन् भनेर भन्ने कुरा हुँदैन । हामीले सकेनौं । हामीले क्रान्तिकारीलाई गोलबद्ध गर्न पनि सकेनौं, आफ्ना कमजोरीलाई हटाउन पनि सकेनौं । यिनै कमजोरीका बारेमा समीक्षा गरेर सच्चा क्रान्तिकारीहरू एकठाउँमा आएर क्रान्तिकारी पार्टी बनाउनुपर्छ भन्ने हाम्रो ध्येय हो । अहिले क्रान्तिकारी माओवादी र नेकपा बहुमत एकताबद्ध भएका छौं । अझै हाम्रो प्रयास अरू क्रान्तिकारीलाई पनि एकताबद्ध गर्ने हुन्छ । अर्को कुरा हाम्रा नीति र कार्यक्रममा रहेका कमी–कमजोरीलाई पनि सच्याउँदै, परिमार्जन गरेर नयाँ ढंगले जानुपर्छ । तेस्रो, हामीले संघर्षका कार्यक्रम लिएर जनतामा जानुपर्छ ।

तपाईंहरू जनतामा जाने भन्नुहुन्छ । तर सडकमा जनता आउने र त्यसको नेतृत्व दुर्गा प्रसाईं वा त्यस्तै कसैले गरिरहेको हुन्छ । बस्तीमा मिटरब्याज पीडितहरू आन्दोलन गर्ने, तर तपाईंको पार्टी बेखबर हुने । जनताका मुद्दाबाट टाढा पुग्यौं भन्ने लाग्दैन ?

यो कुरा ठीकै हो । तर यसमा एउटा गुनासो मिडियासँग पनि छ । हामीले गरेका आन्दोलनमा मिडियाबाट असहयोग भइरहेको हुन्छ । सबैलाई लक्षित गरेर भनेको होइन । सबै होइन, केही मिडिया नै संसद्वादी पार्टीहरूका जस्ता भए । श्रमजीवी पत्रकारलाई भनेको होइन । श्रमजीवीका पनि आफ्नै समस्या हुन्छन् । भूमण्डलीकृत साम्राज्यवादको एकाधिकार छ । पूरा सूचना र सञ्चार चलाउने एक ठाउँमा बसेको छ । र, उसले नियन्त्रण गरेको छ । अनि संसद्मा हुनेहरू पार्टी भए, संसद् बाहिरका पार्टी होइनन् भन्ने जस्तो स्थिति छ । यहाँसम्म कि हामीसँग अन्तर्वार्ता लिइन्छ, तर छापिन्न । यहाँनेर के हो भने हामी जनतासँग जाँदै नगएको वा उनीहरूका समस्यामा सँगै नउभिएको होइन ।

भूमण्डलीकृत विश्व साम्राज्यवाद, सूचनाप्रविधिको कुरा गर्नुभयो । तपाईंले पार्टीको नीति र कार्यक्रम बनाउँदा अहिलेको नयाँ पुस्ताले के रुचाउँछ, उनीहरूको आवश्यकता के हो भनेर केही सोच्नुहुन्छ ?

हाम्रो समाजमा भूमण्डलीकृत उपभोक्तावाद व्याप्त छ । यसलाई चिर्दै जानुपर्छ । तीसवर्षे पञ्चायती शासनकालमा जनताको अभिव्यक्ति स्वतन्त्रता के थियो र पछिल्लो समयमा के छ भनेर हेर्नुपर्छ । अघिल्लो व्यवस्थालाई ढाल्ने पार्टी मात्रै होइनन्, मिडियाको पनि भूमिका थियो । श्रमजीवी पत्रकारलाई पनि परिवर्तन चाहिएको थियो । तर यहाँ रूपान्तरणकारी शक्ति बनाउने भन्दा पनि उपभोक्ता बनाउने काम भइरहेको छ । पूँजीवादका अगाडि निरीह बनाउने किसिमले सामग्री पस्किन लगाइन्छ । त्यो पनि भूमण्डलीकृत साम्राज्यवादको असर हो । त्यो पुस्तालाई हामीले यो कुरा बुझाउन सकेका छैनौं, यो बुझाउनुपर्नेछ ।

सडकमा हजारौं मान्छे आइसकेका छन्, तपाईंहरू चाहिं छलफल र बहसमा नै व्यस्त भइयो भन्ने लाग्दैन ?

हाम्रा कमजोरी र सीमा छन् । सबै ठाउँमा हामीले नेतृत्व गर्न सक्यौं भन्ने होइन । जनजीविका र राष्ट्रियताको विषयमा त हामीले उठाएका नै छौं । सडकमा आएका नै छौं । अब एकीकृत भएर आउन सकेका छैनौं । यसलाई जनताको कमजोरी भन्न मिल्दैन । यो हाम्रै कमजोरी हो । यसमा तपाईंहरूले पनि औंल्याउनुपर्छ ।

अहिले सडकमा देखिएको असन्तुष्टिलाई नेतृत्व दिनुपर्छ भनेर केही सोच्नुभएको छ ?

योजनाबद्ध ढंगले सडकमा आन्दोलन उठाउने विषयमा हाम्रो प्रयास जारी छ ।

सडकमा आउने असन्तुष्ट नागरिकलाई के भन्न चाहनुहुन्छ ?

सडकमा आउने जनताले राम्रो गर्नुभएको छ । उहाँहरू रूपान्तरणका लागि लाग्नुपर्छ, एकछिन स्वतस्फूर्त ढंगले सडकमा आएर मात्रै हुँदैन । सचेत भएर आउनुहोस् । चुनावको चक्र चलेको छ । हिजो कांग्रेसले संसदको मसीहा भनेर भन्थ्यो । पछि एमाले थपियो । अहिले माओवादी केन्द्र पनि थपियो । अहिले संसदीय व्यवस्था कांग्रेसको हो कि कम्युनिस्टको भन्ने देखियो । अहिले त रास्वपा पनि आइसक्यो । यिनीहरू सक्दैनन्, हामी गर्छौं भन्दैछन् । अहिले सबै फेरि आगामी चुनावको लागि लागेका छन् । यो चक्रव्यूहमा फसेर हुँदैन । हामीले यसलाई चिरेर सडकलाई आफ्नो बनाउनुपर्छ भन्ने हो । संसदीय व्यवस्थाको अन्त्य गरेर जनगणतन्त्र हुँदै वैज्ञानिक समाजवादतिर जानु नै असली विकल्प हो । त्यसका लागि जनताले सचेत भएर लाग्नुपर्छ ।

(अनलाइन खबरका लागि पत्रकार सुदर्शन खतिवडा र दिपेश शाहीले लिएको अन्तर्वार्तामा आधारित)