शनिबारीय साहित्य ः निबन्ध
***
बितेका केही बर्सदेखि हाम्रो समाजमा बाहिर आएका कतिपय घटना र अवस्था हेर्दा मुलुकभित्र गम्भीर स्थिति पैदा हुँदै आएको छ । हाम्रो राज्य ब्यवस्था र यसले निर्माण गरेको सामाजिक कुरुपता देख्दा स्वाभिमानी नागरिकले शीर निहु¥याउनु पर्ने देखिन्छ । हामी कुनै यात्रामा निस्किएका हुन्छौँ र उक्लनु पर्ने गन्तव्य शिखरतिर छ तर हामी उल्टो यात्रातिर पाइला चाल्दै छौँ । खर्खरे ओह्रालोमा चिप्लिँदै जाँदा फेदिमा पुग्न समय लाग्दैन ।
केही राजनीतिक दलहरूले नेपालको सम्बिधान २०७२ लाई उत्कृष्ट भनेर बिजयोत्सव मनाउँदै गर्दाका दिनमा उनीहरू आफैँले मानेको सम्बिधान कुल्चिएर धज्जी उडाइरहेछन् । सम्बिधानको रक्षा र पालनामा अनुगमन गर्ने शक्तिको रूपमा रहेको राष्ट्राध्यक्षले नै सम्बिधानको ठाडो उल्लङ्घन गर्नुले समाजका अराजक तत्वले फाइदा उठाउन थालेका छन् । सिङ्गो मुलुकको अविभावकत्व लिएको संस्थामा देखिएको यो असङ्गत बिषयमा जनचासो बढ्नु स्वाभाविक हो । एकातिर सङ्घीय संरचनाको बिरूद्ध प्रतिगामीहरू सल्बलाउन थालेका बेला सम्बिधानको रक्षा र प्रयोग गर्ने भन्नेवाला नै पुनरुत्थानी तत्वलाई बल पुग्ने काम गर्नुले यिनीहरू अक्षम साबित भैसकेका छन् । मुलुकका धेरै बिषयहरू राज्यसत्तासित जोडिएका हुन्छन् । राज्यसताको हकदारको दाबी गर्ने राजनीतिक शक्तिहरू ब्यवस्था बदलियो अब अवस्था बदल्ने गुड्डी हाकिरहेका छन् तर सतहमा हेर्दा फेरियो भनिएको ब्यवस्था उही पुरानो ब्यवस्थाको समान रूप हो । सरकार वा राष्ट्राध्यक्षले गरेका कतिपय निर्णयहरू र मस्यौदा अध्यादेशहरू जनस्तरले नरुचाएका बग्रेल्ती उदाहरण छन् । हाम्रो लोकसंस्कृतिमा कतिपय उखान उपदेशहरू जनहितका पनि छन् । एउटा सर्वमान्य सिद्धान्त छ ‘बाटोमा आँखा हेरेर हिँडे पो ठकानमा पुगिन्छ’ तर आकासतिरको ध्यानले जमिनमा कता उकालो कता भिरालो भेउ पाउनै सकिँदैन । कुनै कुनै अवस्थितिमा धेरैले भन्ने गर्छन ‘भकारीमा धान छ छोराछोरी भोकै’ जब हेरचाह गर्ने बाआमाहरू अविवेकी हुन्छन् भकारीभरी भएको धान मुसा घुन र पुतलिले खाइदिन्छ अनि छोराछोरी भोकै हुन्छन् । भकारिभरी धान भएर पनि समयमा चामल बनाइएन भने चुल्होमा कसौँडी वा कुकर बस्दैन । अहिले नेपाली समाज यहि अवस्थामा गुज्रिएको छ ।
नेपालको सम्बिधानलाई केही दलहरूले उत्कृष्ट मानेको कुरा माथि नै भनिएको छ र त्यसमा लेखिएको समाजवाद शब्दलाई सबैजसो राजनीतिक दलहरूले मागिखाने भाँडो बनाएर आफ्नो घोषणा पत्रमा लेखेका छन् । समाजवाद शब्द कागजमा लेखेर मात्र पुर्ण हुन्छ कि विधि र ब्यवहारमा लागू हुने हो ? यो प्रश्न ती दल सम्बद्ध नेतृत्वमा राखियो भने उनीहरू मुखमा पानी हालेर बस्छन् । समाजवाद ल्याउन लागू गर्न र टिकाउनका लागि अर्थ, राजनीति, संस्कृति, शासन– प्रशासन तद्नुरूपको हुनुपर्नेमा यी आम बिषय पुरानो समाज भन्दा भिन्न हुन सकेको छैन । अहिलेको समय एकातिर नयाँ नेपालको फलाकोमा शासकहरू रमाउने र शासितहरू पुरानो उत्पीडनमा टसको मस नभएको अनुभूति खपिरहेको अवस्था हो । अर्थजगतमा ढलिमली गर्दै मौलाएको पश्चिमा उदारतन्त्र र यसले भित््याएको उपभोक्तावादले हाम्रो मुलुकको संस्कार संस्कृतिको पहिचान हेर्दाहेर्दै गायब भैसकेका छन् । हाम्रा सांस्कृतिक मान्यतालाई बजारले क्वार्लप्पै खाइदिएको छ भने धर्म निरपेक्षताको आड लिएर धार्मिक साम्राज्यको जालो फैलदै छ । समाजवादी संस्कार संस्कृतिको ढ्वाङ फुकेर मौन बसेको राजनीतिक नेतृत्वको सत्ता हेर्दा हाम्रो इतिहासमा स्वाधिनताको लागि बगेको योद्धाहरूको रगत चौलानी सरह साबित भएको छ ।
आफुलाई क्रान्तिकारी र परिवर्तनको पक्षधर भनाउन किन्चित धक नमान्ने एउटा शक्ति सत्ताको केन्द्रमा छ । उसलाई भजाएर अनाधिकृत र गैह्र कानुनी बाटोबाट आफ्नो निजी भलाई चाहनेको झुण्ड त्यही शासन सत्ताको वरिपरि मुख मिठ्याएर बसेको देखिन्छ । यसको सबुद उदाहरण आफ्ना स्वदेशी नागरिकहरूलाई अर्कै देशको शरणार्थी बनाएर बाहिर पठाउने कार्यमा लिप्त हुनु हो । सत्ताको छातामुनी घुस्रिएर प्राकृतिक सम्पदाको दोहन, भन्सार छली, जस्ता कार्य र मुलुकको हित विपरीत गरिएका बैदेशिक सन्धी सम्झौताहरूले यो स्थितिको पुष्टि गर्दछ । सबैभन्दा ठूलो कुरा राष्ट्र र राष्ट्रियता हो तर गएको बर्स मुलुकको सम्सदले पारित गरेको एमसिसि जस्तो घातक सम्झौताले देशको भविष्य अर्कैको नियन्त्रणमा जान सक्ने टड्कारो सम्भावना छ ।
वर्तमानको आँखाले हेर्दाहेर्दै यो मुलुक युवा विहीन बन्दै गएको छ भने बचेका युवाहरूलाई पनि उत्पादनमा जोड्न सकिएको छैन । जुन दल सरकारमा गए पनि यो समस्यालाई गम्भीर रूपले लिएको पाइँदैन । अल्प बिकशित भए पनि देशभित्र कयौँ सम्भावनाहरू छन् । भएका सम्भावना प्रति युवा पुस्ताको विश्वास गुम्दै गएको छ भने शासनको बागडोर सम्हालेको बाम वा गैह्र राजनीतिक नेतृत्व नुन खाएको पोथि जस्तो झोक्राएर बसेको भान हुन्छ । यतिबेलाको युवा पुस्ता परिवार, समाज र राज्यप्रति कृतघ्न बन्दै गएको छ । परिवार अनि राज्यले लगानी गरेर माध्यमिक वा त्यो भन्दा माथि उनीहरूको शैक्षिक हैसियत प्राप्त भएको हुन्छ । जब उनीहरूले देश र समाजको लागि केही दिन सक्ने उमेर हुँदै जान्छ अनि आकाश मार्ग हुँदै पराइ भुमिमा दौडने परम्परा मौलाउन थाल्यो । एकातिर उनीहरूको घर परिवार आफ्नो सन्तती स्वदेसमा रहिदेवस् भन्ने मान्यताबाट विमुख छन् र छोराछोरी पराय मुलुकमा पुगेकोमा गर्व समेत गरेका हुन्छन् । आफ्ना सन्तती आफ्नो परिवार र समाजमा रहँदा श्रमप्रति अनुदार बनेका युवाहरू बाह्य मुलुकमा जस्तोसुकै काममा श्रम खर्चन तयार हुनु र जुन देशमा श्रम बिक्री गरिएको छ त्यही मुलुकको सरकारले आय कट्टी गरेर सम्पन्न बनेको देख्दा देख्दै किन मरिहत्ते गरिन्छ सोचनीय बिषय छ ।
मुलुकले ग्रहण गर्दै गरेको यो ओह्रालोको यात्रा भविष्यको निम्ति शुभ संकेत पटक्कै होइन । ओह्रालो यात्राले गन्तब्यमा पुर्याउँछ भन्ने हेक्का समयमा राख्न नसक्नु वर्तमान नेतृत्वको नियत र क्षमतामाथि प्रश्न उब्जिएको छ । सचेत जनताले समयमा नै यो अवस्थालाई बुझेर हस्तक्षेप गरिएन भने देशको भविष्य अन्धकार हुने सङ्केत देखिन्छ ।