मोवाइल किन्ने कि दशैं मान्ने ?

मोवाइल किन्ने कि दशैं मान्ने ?

शनिबारीय साहित्य 
***

मोवाइल किने दशै मान्न नसकिने
र दशैं माने मोवाइल किन्न नसकिने भैयो
छोरी तिमी नै भन-
मोवाइल किन्ने कि दशैं मान्ने ?

दशैं आयो भनेर
कति खुसी छौ छोरी तिमी
तर तिमीलाई थाहा छ
दशैं नजिक आएदेखि
यो मन रोएको रोयै छ
यो बाउको मन रोएको देख्यौ छोरी ?

रहर त थियो
तिमीलाई फोन पनि किनिदिने
एउटा जखमले खसी पनि काट्ने
र गजबले दशैं मनाउने
तर छोरी
आम्दानीले धानेन
साहुले पत्याएनन्
र यो सालको दशैं
झुरभन्दा पनि झुर हुने भयो ।

प्यारी छोरी !
गरीब हुनु दु:ख त हो
तर अपराध होइन
असङ्ख्य धनीहरूले गरेका
असङ्ख्य अपराधहरूले हामी गरीव भएको हो !

न त हामी भाग्यले ठगेर गरीव भएका हौं
भाग्य भन्नु संबिधान र कानून हो
भाग्य भनेको राज्य हो सरकार हो
हो ती कुरा हाम्रा नभएर हामी गरीव भएको हो ।

हामी अल्छी भएर पनि गरीव भएका होइनौं
अल्छि भएर गरीब
र जाँगरिलो भएर धनी होइने भए
यो संसारका अरवपतीहरू रोडपती हुने थिए
भोक भोकै मर्ने थिए
र ज्यामी-मजदूरहरू अरवपती हुने थिए
बास्तविक अर्थशास्त्र
तिमीले पढेकोभन्दा बेग्लै छ छोरी !

बाबाको गरीवीमा लाज नमान छोरी
चित्त पनि नदुखाऊ
धनीका छोराछोरी देखेर
थुक पनि निल
लाज मान्नु पर्ने कुनै गल्ती गरेको छैन बाबाले
बरू लाज मान्ने काम नगरेको हुनाले
तिम्रो बाबा गरीब भएको हो
लाज मान्ने काम गर्न मजा मानेको भए
टाउको झुकाएको भए
अपराध लुकाएको भए
तिम्रो बाबा सरकारको कुनै मन्त्री हुने थियो
माननीय त हुन्थ्यो हुन्थ्यो
आजका माननीयका अनुहार हेर त छोरी
के ती इमान्दार भएकोले भएका हुन त ?

थाहा छैन
आउँदो वर्षको दशैं कस्तो हुने हो
यो सालभन्दा अझ झुर पो हुने हो कि
घरी घरी लाग्छ
किन आउँछ यो धनीहरूको दशैं
यो शासकहरूको दशैं
यो शोषकहरूको दशैं
धनीहरूका घरमा खुसी
र हामी गरीबहरूका घरमा आँशु बाँड्न ?!

बाहिर त लुकाउन सकिएला छोरी
गफ लगाएर पनि चल्ला
घरभित्र कसरी लुकाऊँ यो अभाव ?
दशैं त गफ लगाएर कट्दैन
मोवाईल त गफ लगाएर किनिदैन
आँशु मात्रै हो राज्यले नि:शुल्क बाँड्ने
खुसी त किन्नु पर्छ हाताहाती
जति धेरै पैसा उति धेरै खुसी
जति थोरै पैसा उती थोरै खुसी
जो उल्टो ऋणले चलेको छ
उसको जिन्दगीमा कसरी आउँछ खुसी ?

प्यारी छोरी
हरेक बाबु-आमा चाहन्छन
आफ्ना सन्तानलाई खुसी राखौं
तर खुसी बजारमा छ
साहुको पसलमा छ खुसी
र त्यहाँ लेखिएको छ
‘आज नगद कल उधार !’

यो तिम्रो र मेरो मात्र दु:ख होइन
हरेक गरीबको घर घरको कहानी हो
परिस्थितिले हामीलाई
दुईमध्ये एउटा छान्न भनेको छ
अब तिमी नै भन छोरी
दशैं मान्ने कि मोवाइल किन्ने ?

२०८० कार्तिक २
सिनामंगल