धर्म र माक्र्सवाद

 

धर्म मानिसको सामाजिक चेतनाको एउटा निकै पुरानो रुप हो र संसारका सबै भागहरूमा यसको व्यापक प्रचार र ठूलो प्रभाव रहेको हामी देख्छांै । धर्म एउटा लामो इतिहास बोकेको एउटा सामाजिक परिघटना हो र यो सर्वसाधारण जनतामाझ एउटा परिचित र प्रभावकारी तत्वरहेको छ । बाल्यकालदेखि नै व्यावहारिक जीवनमा आफूले सुनेका र देखेका कुराबाट नदेखिनेर नजानिदो ढङ्गले मानिसहरूमा त्यसको प्रभाव परेको हुन्छ ।

धर्मको उत्पत्ति धेरै पहिले भएको थियो र त्यसको मूल स्रोत मानिसहरूको आफू र बाह्य प्रकृतिबीचको सम्बन्धबारे गलत धारणा थियो । आदिम जमानाका मानिसहरूले प्रकृतिमा घटेका आँधीबहेरी, मेघ गर्जन, तुफान, बिजुली चम्काइ आदि घटनाहरू देख्दा कस्तो धारणा बनाए भने ती सारा घटनाहरूका पछिल्तिर कुनै पारलौकिक शक्ति, ईश्वर छन् । त्यसरी, मानिसहरूका तर्फबाट ईश्वरको सृष्टि हुन गयो । उक्त धारणा अज्ञानतामाथि अधारित थियो र त्यही अज्ञानताका कारणबाट कुनै अलौकिक, अप्राकृतिक (supernatural) तथा रहस्यात्मक शक्तिहरूप्रति उसमा विश्वास पैदा भयो । सुविदित तथ्य के छ भने कुनै अलौकिक शक्ति, ईश्वरप्रति विश्वास नै धर्मको मूल सार र आधार हो, किनभने संसारमा कुनै पनि त्यस्तो धर्म छैन, जसमा ईश्वर नभएको होस् जहाँ धर्म छ, त्यहाँ ईश्वरको अस्तित्व रहेकै हुन्छ ।

ज्यार्जी प्लेखानोवले धर्ममा रहेका मुख्य तत्वहरूका आधारमा त्यसलाई निम्न रुपमा परिभाषित गरेका छन् :

“धर्मलाई धारणा, भाव र क्रियाहरूको थोरबहुत व्यवस्थित परिपाटीको रुपमा परिभाषित गर्न सकिन्छ । धारणाहरू धर्मका मिथकीय (पौराणिक)तत्व हुन्, भावहरू धार्मिक भावनाको क्षेत्रमा पर्छन् भने क्रियाहरू धार्मिक पाठपूजा क्षेत्रमा पर्छन् ।” -(प्लेखानोव,“छानिएका दार्शनिक लेखहरू,” अङ्ग्रेजी संस्करण, भाग २, पृष्ठ ३१०)

कुनै पनि धर्ममा, कुनै पनि धार्मिक दृष्टिकोणमा अन्तर्निहित एउटा आधारभूत र आवश्यक तत्व आत्मा, ईश्वर वा कुनै अलौकिक शक्तिको अस्तित्वमा विश्वास हो । आदिम मानिसको चेतनाको अभिव्यक्ति स्वरुप रहेको मिथक ९ःथतज० अर्थात् पुराणको प्रमुख विशिष्ट तत्व पनि सो विश्वास रहेको थियो । पुराणले झैं, धार्मिक दृष्टिकोणले ईश्वर वा त्यस्तै अर्को कुनै अदृश्य, अलौकिक शक्तिलाई आधार र प्रस्थानविन्दु बनाएर प्राकृतिक घटनाहरूको व्याख्या–विश्लेषण गर्छ । आदिम जमानामा मानव समाजको विकास एकदमै तल्लो स्तरमा थियो र प्राकृतिक शक्तिहरूसामु मानिसहरू बिलकुल निःसहाय र निरींह रहेका थिए । अनि, उसको कस्तो विश्वास रह्यो भने प्राकृतिक घटनाहरूको पछिल्तिर आफूजस्तै इच्छा । चाहना, उत्साह भएका खास जीवहरूको अस्तित्व छ र ती जीवहरूले नै ती घटना घटाएका हुन् । त्यस ढङ्गबाट उसले प्राकृतिक घटनाहरूमा जीवन–सञ्चार गर्छ, त्यसलाई सञ्जीवता प्रदान गर्छ र त्यसलाई कुनै अलौकिक प्राणी वा ईश्वरको काम ठान्दछ । उसको उक्त विश्वास नै धार्मिक दृष्टिकोणमा निहित मूल आत्मा र सार हो, जसलाई आत्मावाद (Animism) भन्ने गरिन्छ । Animism भन्ने शब्द लेटिनको Anima बाट आएको हो, जसको अर्थ हो श्वास, आत्मा) । स्पष्ट छ उक्त विश्वास अज्ञानतामा आधारित थियो । तर, उक्त विश्वासका सामाजिक जराहरू थिए र त्यो तत्कालीन सामाजिक विकासको स्तरअनुरुप थियो । प्लेखानोवले आत्ममावादलाई जङ्गली अवस्थामा रहेका मानिसहरूका तर्फबाट गरिएको प्राकृतिक घटनाहरूको व्याख्या गर्ने प्रयत्न र काल्पनिक रुपमा यथार्थताको सामान्यीकृत प्रतिबिम्बका रुपमा परिभाषित गरेका छन् । उनले निम्न विचार व्यक्त गरेका छन् :


“अस्तित्वका लागि आफ्नो सङ्घर्षमा, आदिम मानिस खास कामहरू गर्छन् र सो कामबाट खास घटनाहरू पैदा हुन्छन् । यसरी उसले आफूलाई सो घटनाहरूको कारक तत्व ठान्दछ । यही कुरालाई आधार बनाएर उसले कस्तो सोच्छ भने अन्य सबै परिघटनाहरूको उत्पति पनि त्यसैगरी अन्य प्राणीहरूका कामबाट भएको हो र तिनका उत्पत्ति पनि त्यसैगरी अन्य प्राणीहरूका कामबाट भएको हो र तिनका आफ्नो जस्तै संवेदना, खाँचो, उमङ्ग, विचार र चाहना रहेका छन् । ती प्राणीहरूलाई आफूले देख्न नसकेको हुँदा उसले त्यसलाई ‘आत्मा’ भनेर सकार्छ, किनभने साधारण परिस्थितिमा उसको इन्द्रियले देख्न सकेको हुँदैन (र अपवादीय रुपमा मात्र ती उसका इन्द्रियहरूमा प्रत्यक्ष रुपले क्रियाशील रहन्छन्)। सामाजिक विकासक्रमद्वारा निर्धारित पछिल्लो विकासस्वरुप अस्तित्वमा आएको धर्म त्यही आत्मावादबाट पैदा भएको हो ।” -(प्लेखानोव, “छानिएका दार्शनिक रचनाहरू,” भाग २, पृष्ठ १५७)

पौराणिक (Mythological) धारणा आदिम मानिसको चिन्तन गर्ने तरिका हो । सो चिन्तनमा एकातिर आदिम साम्यवादी समाजमा प्राकृतिक शक्तिसामु मानिसको निरीहता प्रतिबिम्बित भएको छ भने अर्कोतिर ती शक्तिहरूलाई आफ्नो नियन्त्रणमुनि ल्याउने उसको प्रयत्न पनि अभिव्यक्त भएको छ ।

कुनै पनि धार्मिक व्यवस्थामा त्यसको मुख्य चुरो धार्मिक अवधारणा  (देवदेवतासम्बन्धी) अवधारणा रहेको हुन्छ । उक्त अवधारणाको तार्किक विकासका साथसाथ मानिसहरूमा धार्मिक मनस्थिति र भावनाहरूको विकास हुने गर्छ । मठ–मन्दिरको निर्माण, पाठपूजा, प्रार्थना, भजन, तन्त्रमन्त्र, बलि आदि सब धार्मिक धारणा र भावनाका बाह्य अभिव्यक्ति हुन् ।

आदिम जमानामा मानिसहरूको धार्मिक आस्था र विश्वास स्वस्फूर्त थियो । समयको क्रममा धार्मिक कार्यलाई सङ्गठित रुपमा सञ्चालित गर्न धार्मिक सङ्गठनहरू बनाइए अनि धर्मले सामाजिक चरित्र धारण गर्न थाल्यो । त्यसरी धर्मले साङ्गठिनक रुप लिएपछि, विभिन्न धार्मिक सम्प्रदायले आ–आफ्नो पहिचानको आवश्यकतामुताविक विधिर नियमहरू बनाउने गरेर आफ्ना समर्थकहरूलाई त्यसको परिपालन गर्न प्रेरित गरे । यस्ता कार्यहरूको फलस्वरुप, धर्मको सामाजिकस्वरुप अधिक स्पष्ट र प्रगाढ बन्यो । धार्मिक सङ्गठनमा मानिसहरू आबद्ध भएपछि, धार्मिक विश्वास र काम–कारबाहीले एकरुपता र स्तरीयता हासिल गरे, जसले गर्दा सम्पूर्ण सामाजिक जीवन त्यसबाट प्रभावित भयो र त्यसले एउटा महत्वपूर्ण सामाजिक शक्तिका रुपमा स्थापित ग¥यो ।

उपरोक्त तथ्यलाई माक्र्सले यसरी प्रस्तुत गरेका छन् :  “वर्तमान समयमा विद्यमान धार्मिक सवालहरूको सामाजिक महत्व रहेको छ । त्यसैले, त्यो धार्मिक चासोको विषय रहँदैन । त्यो धर्मका रुपमा धर्मको सवाल हो भन्ने कुरामा देववादीहरूमात्र विश्वास गर्छन् ।” -(माक्र्स र एंगेल्स, “सङ्कलित रचनाहरू,” अङ्ग्रेजी संस्करण, भाग ४, पृष्ठ १०८)

माथि बताइएअनुसार, धर्मको जरा मानिस र प्रकृतिबीचको सम्बन्धबारे उसको गलत धारणामा रहेको छ । आदिम जमानामा सामाजिक उत्पादक शक्तिहरूको विकास ज्यादै तल्लो स्तरमा थियो, प्राकृतिक शक्तिहरूमाथि मानिसको नियन्त्रण निकै कमजोर थियो र त्यसले गर्दा तिनीहरूको बोध–शक्ति पनि तल्लो स्तरमा रहेको थियो । त्यस स्थितिमा मानिसहरू प्रकृतिका विशाल शक्तिहरूका सामु निरीह थिए र उनीहरूले आफूलाई आफ्नो भाग्यको मालिक बनाउन सकेको थिएनन् । पछि, दास व्यवस्था र सामन्ती व्यवस्थाको समयमा उत्पादक शक्तिहरूको केही मात्रामा विकास भए पनि, वर्गीय शोषण तथा उत्पीडनमुनि बाँच्नुपरेका दासहरू र अर्धदासहरू आफैले आफ्नो भाग्यको नियन्त्रण गर्नसक्ने स्थितिमा थिएनन् । पुँजीवादी समाजमा पनि विशाल सङ्ख्यामा रहेका श्रमजीवी जनताको सम्बन्धमा स्थिति त्यस्तै खालको रह्यो, किनभने तिनीहरू पुँजीवादी शोषण तथा उत्पीडनमुनि थिचिएका थिए । सो समाजमा पुँजीपतिहरूसमेत पनि आफ्नो बीचमा चल्ने गरेका भयानक होडबाजी र ज·लको नियमको क्रियाशीलताका कारण आफूले चाहेअनुसार गर्नसक्ने स्थितिमा रहेनन् । पुँजीवादअन्तर्गत नाफाको लागि चल्ने होडबाजी, बेरोजगारी, गरिबी, आदिका कारण मानिसहरूबीचका सम्बन्धहरू एकदमै असहयोगात्मक र असाहनूभूतिक रहेका थिए । त्यस स्थितिमा, जब मानिसहरू आफ्नो भाग्यको नियन्त्रण आफै गर्नसक्ने स्थितिमा रहँदैनन्, तब तिनीहरूका निम्ति सान्त्वना र आशाका लागि धर्मको सहारा लिनुपर्ने खाँचो पर्छ । यसरी, प्राकृतिक शक्तिहरूमाथि र त्यस्तै शोषण–व्यवस्थाअन्तर्गत सामाजिक शक्तिहरूमाथि मानिसको नियन्त्रण कमजोर रहँदा, उसले कुनै काल्पनिक शक्तिको सहारा लिनु अस्वभाविक होइन र धर्मको स्रोत यहाँ नैरहेको छ ।

उपरोक्त सामाजिक स्थिति र वातावरण, जुन अवस्थामा मानिसहरूमा जीवन, संसार, सामाजिक परिपाटी, सामाजिक व्यवहार, आदिप्रति कुनै वैज्ञानिक दृष्टिकोण र धारणा बनिसकेको हुँदैन र उनीहरूले मानिस र प्रकृतिबीचको, व्यक्ति र समाजबीचको सम्बन्धलाई बुझेका हुँदैनन्, त्यस अवस्थामा तिनीहरूलाई सबै कुरा आकस्मिकता वा भाग्यको खेल वा देवी इच्छा लाग्नु स्वाभाविक छ । भम्र अन्योलमा परेका तिनीहरूले सान्त्वनाका लागि धर्मको सहारा लिनु अस्वाभाविक होइन । यही प्रमुख कुरा हो, जसमाथि धर्मको अस्तित्व आधारित रहेको छ ।

यसैबारे प्लेखानोव भन्छन् : “उसका (मानिसका–कृ.दा.) उत्पादक शक्तिहरू निकै कम विकसित छन् : प्रकृतिमाथि उसको शक्ति नगण्य छ । तर, मानवीय विचारको विकासमा, व्यवहार जति बढी फराकिलो र बढी सही प्रकृतिसम्बन्धी उसको समझदारी हुन्छ । त्यसको उल्टो, उक्त क्षेत्र जति बढी सही प्रकृतिसम्बन्धी उसको साँघुरो हुन्छ, उसको सिद्धान्त त्यत्तिकै बढी कमजोर हुन्छ । उसको सिद्धान्त जति बढी कमजोर हुन्छ, कुनै कारणवश आफ्नो ध्यान तानेका परिघटनाहरूको व्याख्याका लागि कल्पनाको क्षेत्रतर्फ लाग्न मानिस त्यत्तिकै बढी तत्पररहन्छ ।” – (प्लेखानोव, “छानिएका दार्शनिक रचनाहरू,” भाग ३, पृष्ठ ३१७)

कुनै पनि सामजिक व्यवस्थामा विद्यमान सामाजिक सम्बन्धहरू र सामाजिक अन्तरविरोधहरू मानिसहरूको आत्मचेतनामा केन्द्रीत रुपमा प्रतिविम्बित हुन्छन् । धर्म पनि तिनै कुराहरूको मानिसको मनमा प्रतिबिम्बित आत्मचेतना हो, तर त्यो वैज्ञानिक प्रतिविम्ब नभएर “उल्टो पारिएको, ” “विकृत”प्रतिबिम्ब हो । माक्र्सको शब्दमा, “धर्म भनेको त्यस्तो मानिसको आत्मचेतना र आत्मसम्मान हो जसले यो त आफूलाई अझसम्म भेट्टाएको छैन या आपूmलाई गुमाइसकेको छ । तर मानिस संसारभन्दा बाहिर रहेको कुनै अमूर्त प्राणी होइन । मानिस भनेको मानिसको संसार हो,राज्य हो, समाज हो । ” (हेर्नुहोस् माक्र्स, “आलोचनामा देन,” प्रस्तावना)

माक्र्सको उपरोक्त भनाइ निकै गहन र सारगर्भित छ, किनभने त्यसले विषयको सारतत्वलाई स्पष्ट पारेको छ अर्थात् त्यसले कुन भित्री सारलाई खुलस्त पा¥यो भने मानवीय हुनाले, धर्म भनेको त्यस्ता मानिसहरूको आत्मचेतना हो जसले ती सम्बन्धबारे सही समझदारी हासिल गर्न सकेका हुँदैनन् । त्यसैले तिनीहरूका लागि ती सम्बन्धहरू विकृत रुपमा देखापर्ने गर्छन् । धर्म त्यस्तै विकृत पारिएको विश्व–चेतना हो । विभिन्न समाजमा धर्मको अस्तित्व त्यसैमा टिकेको छ र त्यसैले सबै राष्ट्रहरूको इतिहास र संस्कृतिको धर्मसित सम्बन्ध रहेको पाइएको छ । धर्म सम्बन्धमा माक्र्सवादी दृष्टिकोणको मुख्य सार उपरोक्त रहेको छ र सो दृष्टिकोणमा धर्मको अस्तित्वको मूल आधार र त्यसको विकासलाई खुलस्त पार्ने त्यसको सैद्धान्तिक उद्देश्य अभिव्यक्ति भएको छ ।

मानिसहरूमा तिनका सामाजिक सम्बन्धहरू र सांसारिक परिघटनाहरूको विकृत प्रतिबिम्ब हुनाको वास्तविक कारण सामाजिक जीवन–प्रक्रियामा रहेको छ । त्यसको कारण के हो भने उत्पादक शक्तिहरूको विकाससँगै मानिसहरूमाझको सम्बन्ध र अन्तरक्रिया अधिकाधिक व्यापक बन्दछ, मानसिक र शारीरिक श्रमबीच विभाजन छ र समाजमा कामहरूको विभाजन अधिक सूक्ष्म हुन्छ । जीवन र जगत्लाई त्यसका सारा जटिलता र विविधतामा ठीकसित बुझ्न नसक्दा, मानिसको दिमागमा ती गलत र विकृत रुपमा प्रतिबिम्बित हुन्छन् ।

यसरी, धर्म सामाजिक जीवन–प्रक्रियाको मानिसको मनमा रहेको प्रतिबिम्बको एउटा प्रक्रिया हो, जसमा भौतिक तत्व र चेतनाबीचको सम्बन्ध विकृत रुपमा अभिव्यक्त भएको छ । कुनै पनि राष्ट्रको संस्कृति र चिन्तनमाथि धर्मको ठूलो प्रभाव रहने गरेका छ र त्यसरी यो उक्त संस्कृतिको एउटा महत्वपूर्ण अङ्ग रहेको छ । कुनै पारलौकिक शक्ति, त्यसैमा सीमित पारेर लिनु बिलकुल बेठीक छ, किनभने धर्म पनि भौतिक तत्व र चेतनाबीच, प्रकृति र मानिसबीच सम्बन्धहरूको समष्टिलाई बुझ्ने र व्याख्या गर्ने र त्यसलाई अभिव्यक्ति प्रदान गर्ने एउटा मानवीय प्रयत्न हो । त्यसैले, धर्मको सवाललाई समयको ऐतिहासिक तथा सामाजिक अवस्थाहरूको परिप्रेक्ष्यमा हेरिनुपर्छ, जसरी हामी नैतिकता, लोकतन्त्र, कानुन आदिलाई हेर्ने गर्छौ । त्यसको अर्थ ऐतिहासिक–भौतिकवादी दृष्टिकोणबाट त्यसलाई हेर्नु हो । एंगेल्सको भनाइ छ :

“धर्म भनेको संसारसम्बन्धी सामान्य सिद्धान्त हो, त्यसको विश्वकोशीय सारसङ्क्षेप (Encyclopedic compendium) हो, प्रचलित रुपमा त्यसको तार्किकता (Logic)  हो,” वर्ग समाजको “आत्महीन अवस्थाहरूको आत्मा”का रुपमा धर्म भनेको “त्यसको अध्यात्मवादी सम्मानको विषय (point of honour), त्यसको नैतिक विधि (Sanction)” हो । -(माक्र्स एंगेल्स, “भाग ३ पृष्ठ १७५)”

ठूला विश्व धर्महरूको ९बौद्ध धर्म, इसाई धर्म र मुस्लिम धर्मप्रति मानिसको विश्वास सामान्यत : ईश्वरप्रति विश्वासमात्र होइन, धर्म त संसारप्रति एउटा पूरै सिद्धान्त रहेको छ । जो मानिसहरू धर्मप्रति आस्था र विश्वास राख्छन्, तिनीहरूका लागि धर्मले तिनले पालन गर्नुपर्ने मूल्य–मान्यता र आचार–सहिताको एउटा पूरै व्यवस्था गरेको छ र त्यसमा आस्थाबारे तिनीहरूको आत्मचेतना अभिव्यक्त भएको छ । यसरी, विश्व धर्महरू सामान्य रुपमा ईश्वरप्रति विश्वासमात्र नभएर, ती सामाजिक जीवनमा उठ्ने समस्याप्रति दृष्टिकोणहरूका एउटा पूर्ण समूह हुन् र साथै, ती ठोस ऐतिहासिक अवस्थाहरूलाई हेर्ने बुझ्ने उपायहरूका पद्धति पनि हुन् । प्रत्येक विश्व धर्ममा संसार, समाज, प्रकृति, जीवनप्रति निश्चित धारणाहरू रहेका छन्, जसले आफ्ना विश्वासीहरूको मनमा धेरथोर प्रभाव पारेका हुन्छन् । त्यसैले, अन्य ऐतिहासिक परिघटनाहरूको हामी जसरी व्याख्या–विश्लेषण र मूल्याङ्कन गर्छौ, धर्मको सम्बन्धमा पनि त्यसरी नै गर्नु आवश्यक छ । अर्थात्, धर्मको उत्पत्तिका सामाजिक जराहरू । त्यसले खेल्ने गरेको सामाजिक भूमिका रत्यसको विकास तथा त्यसको भविष्य आदिबारेको हाम्रो चर्चा ऐतिहासिक दृष्टिकोणका आधारमा हुनुपर्छ ।

वर्गविभक्त समाजमा धर्मले खेल्ने गरेको एउटा भूमिका कस्तो रहेको छ भने त्यसले श्रमिक जनताको क्रान्तिकारी चेतनालाई भुत्ते पारेर समाजका शोषक–शासक वर्गहरूको हितको सेवा गर्छ । कुनै पारलौकिक शक्तिलाई संसारको सृष्टिकर्ता र हर्ताकर्ता ठान्ने त्यसको धारणा एक प्रकारको आदर्शवादी धारणा हो । क्रान्तिकारी वर्गहरूको मुक्ति सङ्घर्षको विरुद्ध र सामाजिक सङ्घषको विरुद्ध र सामाजिक रुपान्तरणका विरुद्ध प्रतिक्रियावादी वर्गहरूले धर्मलाई एउटा साधनका रुपमा प्रयोग गर्ने गरेको र धर्मले प्रतिक्रियावाद र शोषण–व्यवस्थाको एउटा खम्बाका रुपमा भूमिका खेल्ने गरेको हामीले देख्दै आएका छौं । वस्तुगत यथार्थताबाट जनताको ध्यानलाई गलत दिशातर्फ मोड्नु, जनताको सङ्घर्षशील र क्रान्तिकारी भावनालाई खतम पार्नु, उनीहरूमा काल्पनिक पारलौकिक शक्तिको (ईश्वरको) सर्वशक्तिशालीता, सर्वव्यापकता र परिचालक भूमिकाप्रति अन्धविश्वास पैदा गर्नु–आदि रुपमा त्यसले सो भूमिका पूरा गर्न खोज्छ । धर्मले कस्तो शिक्षा दिन्छ भने संसारमा जे जति भइरहेका छन्, ती सब ९अनिकाल, भोकमरी, गरिबी, शोषण, धनी र गरिबबीचको, शोषक र शोषितबीचको भेद, आदि० ईश्वरका चाहना र इच्छाअनुसारका हुन् र मानिसले संसारमा भोगिरहेका दुःखकष्ट, उत्पीडन आदि सब उसको भाग्यमा लेखिएअनुसारका हुन् । जीवनको अर्थ र उद्देश्यको सम्बन्धमा उठ्ने सवालको सजिलो जवाफको रुपमा त्यसले के भन्छ भने यस जीवनमा पाएको दुःखको बदलामा उसले परलोकमा वा अर्को जुनिमा सुख–भोग पाउनेछ । त्यसरी त्यसले मानिसलाई सान्त्वना दिने गर्छ । त्यसको अर्थ के भने जनताले समाजमा शोषण र उत्पीडनको विरुद्ध लड्नुको कुनै अर्थ र औचित्य छैन, उनीहरूका लागि परलोकमा सुखी जीवन उपलब्ध हुन्छ र उनीहरूका निम्ति सबै कुरा धैर्य र शान्तपूर्वक सहनु नै एकमात्र उपाय हो, किनभने ईश्वरको निर्णय र निर्धारणलाई कुनै पनि शक्तिले फेर्न सक्दैन । यसरी धर्मले आमजनतामा भ्रम र झूटको खेती गरेर शोषण, उत्पीडन, गरिबी आदिको अस्तित्वको औचित्यलाई सावित गर्न खोज्दछ । यस तथ्यको सन्दर्भमा माक्र्सले धर्मलाई निम्न रुपमा परिभाषित गरेका छन् : 
“धर्म भनेको उत्पीडित प्राणीको आर्तनाद हो, एउटा दयहीन संसारको भावुकता हो, जस्तो कि यो आत्माविहीन अवस्थाहरूको आत्मा हो । यो जनताका निम्ति अफिम हो ।”
आमश्रमिक जनतामा भ्रम फैलाएर तिनलाई क्रान्तिकारी सङ्घर्षबाट अलग पार्न खोज्ने धर्मको सामाजिक भूमिका एउटा स्पष्ट यथार्थता हो र यसलाई सो उद्देश्यमा प्रतिक्रियावादीहरू र शोषक–शासक वर्गहरूले प्रयोग गर्दै आएका छन् र अहिले पनि गरिरहेका छन् । धर्मको मूल्याङ्कन गर्दा त्यसको उक्त पक्षमा जोड दिनु आवश्यक र स्वाभाविक छ, तर त्यसको अर्को पक्षलाई नजरअन्दाज गरिनुहुन्न । त्यो पक्ष के हो भने त्यसले समय–समयमा प्रगतिशील सामाजिक उद्देश्यको पक्षमा सेवा गरेको छ । ऐतिहासिक विकासका केही खास अवसरहरूमा, जस्तो कि चीनमा भएका किसान, युद्धहरूमा, मध्ययुगीन युरोपमा भएका किसान विद्रोहहरूमा र सत्रौं शताब्दीका युरोपका पुँजीवादी क्रान्तिहरूमा त्यसले प्रगतिशील भूमिका खेलेको थियो । उक्त तथ्यको प्रमाणको रुपमा हावर्ड सेल्सामले आफ्नो रचनामा निम्न कुरा उल्लेख गरेका छन् :

“धार्मिक विचारमार्फत इजरायलका सङ्घर्षरत प्रजातिहरू एक एकीकृत राष्ट्रका रुपमा मिलेका थिए र माक्र्स र एंगेल्सले आफ्नो पत्राचारमा गरेका विस्तृत छलफलअनुसार,धार्मिक सिद्धान्तहरूले महम्मदलाई लामो समयदेखि दुःख भोगेर आएका अरबहरूलाई एउटा शक्तिशाली राष्ट्रमा एकबद्ध पार्न समर्थ बनाए । त्यस्तै, क्याथोलिक सामन्तवादको विरुद्ध चलेको महान् जनविद्रोह, जसले आधुनिक व्यापार र उद्योगको विकासका लागि अनुकूल अवस्थाहरूको सिर्जना गरेको थियो, त्यसको नेतृत्व गर्ने व्यक्ति संन्यासी (Monk)मार्टिन लुथर थिए र काल्भिनपन्थी प्युरिटानहरूले, धार्मिक विचारबाट अभिप्रेरित भएर, यस महाद्वीपमा न्यायको (Righteousness)राज्यसम्बन्धी आफ्नो आदर्शको सिद्धीकरणका लागि प्राय  : अनुलंध्य प्रतिकूलताहरूको विरुद्ध न्यु इंग्ल्यान्डमा सङ्घर्ष चलाएका थिए ।” -(हावर्ड सेस्साम, “दर्शन भनेको के हो रु” अङ्ग्रेजी संस्करण, पृष्ठ ४१)

उपरोक्त तथ्यको पक्षमा हालको ठूलो दृष्टान्त इस्लामी “जिहाद” का लागि आह्वानमा पाउँछौं, जसले साम्राज्यवादको विरुद्ध मुस्लिमहरूका माझ यत्रो जोस र प्रेरणा पैदा गरिरहेको छ । हामीले कुन तथ्यलाई देख्ने गरेका छौं भने समय–समयमा धार्मिक व्यक्तित्वहरूले साम्राज्यवादी र प्रक्रियावादीहरूद्वारा गरिएका अन्याय, अत्याचार, आमहत्या, युद्ध आदिको विरोध गरेका छन् ।उपरोक्त खालको घटना हाम्रो मुुलुकमा पनि देख्नमा आएको छ । एक समय पूर्वतर्फ ब्रिटिस साम्राज्यवादको अग्रगति भइरहेको स्थितिमा नेपाली धर्मावलम्बीहरूले त्यसलाई “फिर” को संज्ञा दिई नेपाली जनतालाई त्यसको विरुद्ध लड्न प्रेरणा र हौसला प्रदान गरेका थिए । मुलुकमा राणाशाही विरोधी आन्दोलन चलिरहेको एक समयमा, नेपाली जनतालाई त्यसको विरुद्ध जागृत गर्नका लागि शुक्रराज शास्त्रीले काठमाडौंमा गीता प्रवचन गरेका थिए । त्यो तथ्य पनि तत्कालीन स्थितिमा प्रगतिशील उद्देश्यको पक्षमा धर्मले खेलेको भूमिकाको एउटा दृष्टान्त हो ।
धार्मिक विश्वासको सकारात्मक भूमिकाको अर्को एउटा पक्ष पनि छ । विश्व धर्महरूले आफ्ना अनुयायीहरूलाई पालन गर्नका लागि निर्देशनस्वरुप अघि सारेका न्यायी बन्ने, साँचो बोल्ने, स्वार्थी नबन्ने व्यक्तिवादको विरोध गर्ने, लोभलालचमा नफस्नेजस्ता नैतिक मूल्यहरूले तिनीहरूमा धेरथोर सकारात्मक प्रभाव पारेका हुन्छन् । सामन्ती तथा पुँजीवादी संस्कृतिको बोलवाला रहेको स्थिति र वातावरणमा त्यसको प्रभाव त्यति क्रियाशील नरहेको पाइन्छ तर उपरोक्त निर्देशनहरू समाजवादी संस्कृति र नैतिकताको हितमा फाइदाजनक हुनसक्छन् ।

धर्मबारे चर्चा गर्दा त्यसको सामाजिक स्रोतलाई जानेर पुग्दैन । धर्म भनेको त्यसमा विश्वास गर्ने मानिसको आत्मचेतना, विश्वलाई हेर्ने–बुझ्ने उसको दृष्टिकोणको सवाल हो । मानिसहरूको धार्मिक अन्धविश्वासलाई हटाउनु भनेको तिनको विश्व–दृष्टिकोणलाई पनि फेर्नु हो । जनताको चिन्तन–क्रिया एउटा निकै जटिल प्रक्रिया हो र तिनको चिन्तन–तरिकालाई फेर्नु भनेको कुनै साधारण कुरा होइन । संसारसम्बन्धी वैज्ञानिक दृष्टिकोणको आधारमा त्यसलाई फेर्ने काम एउटा यस्तो प्रक्रिया हो, जुन जटिल र लामो छ यो काम सामूहिक सामाजिक व्यवहारमार्फत मात्र हुनसक्छ । माथि बताइएअनुसार, धर्मको उत्पत्ति कुनै खास सामाजिक–आर्थिक तथाराजनीतिक अवस्थाहरूअन्तर्गत भएको थियो । तसर्थ, जनताको धार्मिक चिन्तन र विश्वासको उन्मूलन वैचारिक आलोचना र खण्डन–मण्डनबाट मात्र कदापि हुनसक्दैन र त्यस्तै बल–प्रयोगको उपायबाट पनि त्यसको उन्मूलन हुनसक्दैन । यसका लागि त्यसको उत्पत्ति–स्थललाई खतम पार्नु जरुरी रहन्छ अर्थात् वर्गीय शोषणमा आधारित सामाजिक व्यवस्थाको उन्मूलन गर्नु आवश्यक रहन्छ । त्यसको उन्मूलनले जनताको अवैज्ञानिक चिन्तन–तरिकालाई निर्मूल पार्न भौतिक आधार प्रदान गर्नेछ र त्यसका लागि मार्ग प्रशस्त गर्नेछ । समाजवादी समाजमा पनि धार्मिक विश्वासहरू तत्काल निर्मूल हुँदैनन् र त्यहाँ पनि वैज्ञानिक दृष्टिकोणको आधारमा त्यसको विरुद्ध विवेकपूर्ण ढङ्गले वैचारिक सङ्घर्ष गर्नु जरुरी रहन्छ ।

कम्युनिष्टहरू धर्ममा विश्वास गर्दैनन् र तिनीहरूको आफ्नै विश्व–दृष्टिकोण छ र त्यो हो माक्र्सवादी विश्व–दृष्टिकोण । माक्र्सवादीहरू धार्मिक अन्धविश्वास, धार्मिक चिन्तन–तरिका, देववादी धारणाका विरोधी छन् । तिनीहरू अनिश्वरवादी हुन् र त्यसैले धार्मिक दृष्टिकोणको विरुद्ध अनिश्वरवादी धारणासहित आफ्नो विश्व–दृष्टिकोणको प्रचार–प्रचार गर्नु अधिकार र दायित्वभित्रको कुरा हो र धर्मावलम्बीहरू रिसाउलान् वा चिढिएलान् भनेर तिनीहरूले आफ्नो विचारको प्रचार गर्न छाड्दैनन् र छाड्नु हुँदैन, किनभने यो विचारधाराको क्षेत्रभित्रको सवाल हो । तर, धर्म र त्यसको सामाजिक भूमिकबारे चर्चा गर्दा त्यसको जाँचबुझ र मूल्याङ्कन एकपक्षीय तथा अतिभूतवादी ढङ्गबाट होइन, बरु द्वन्द्वात्मक ढङ्गबाट, सर्वपक्षीय तथा ठोस रुपमा गर्नु आवश्यक छ । धार्मिक अन्धविश्वासको विरोध र अनिश्वरवादको प्रचार कुन ढङ्गबाट गर्नु आवश्यक छ भने धर्मावलम्बीहरूको भावनामा चोट नपुगोस् र उनीहरूमा कम्युनिष्टहरूले लिएको महान् लक्ष्य र आदशप्रति निषेध र उदासीनता पैदा नहोस् । सर्वसाधारण जनतामा धार्मिक विश्वासको प्रभाव गहन रुपमा रहेको स्थितिमा, उपरोक्त प्रचार बडो विवेकपूर्ण र विश्वस्त (Concincing) हुनुपर्छ, जसले उनीहरूसिएत आफ्नो सम्बन्धमा कुनै विग्रह नहोस् र उनीहरूलाई विस्तारै वैचारिक रुपले रुपान्तरित गर्न सकियोस् । यहाँ, धर्मावलम्बीहरूसित राजनीतिक रुपले एकताबद्ध भएर जानुपर्ने आवश्यकतालाई कम्युनिस्टहरूले ध्यानमा राख्नुपर्छ ।
स्रोत– माक्र्सवादका सैद्धान्तिक स्थिति र अवधारणा