टिप्पणी
 
एनआरएनको उद्घाटनमा रामकुमारी झाक्रीले देशको नागरिकता त्यागेर विदेशको नागरिकता लिनेले देशका नेतालाई गाली गर्ने ? हामी छम् देशको चिन्ता गर्ने । तपाईंहरूले गर्नु पर्दैन भनेर झाँको झारिछन् । राम्रो भनिन् झाक्रीले भन्नेहरू थुप्रै छन् सामाजिक सञ्जालमा तर यो यति फितलो विषय होइन । कुरा गालीको र वाहीवाहीको मात्रै होइन । गलत गर्नेले गाली पाउनु र सही गर्नेले ताली पाउनु सामान्य कुरा हो ।
विषय राष्ट्रियता र स्वाभिमानको हो । पन्ध्र लाख भन्दा बढी एनआरएनहरू नेपालमा सहज भोटिङको अधिकार चाहान्छन् । नेपालमा लगानी गर्न र आफ्नो पैतृक सम्पत्तिको संरक्षण/उपभोग गर्न चाहान्छन् । भलै सम्पत्ति बेचेर लगे भने देशको मुद्रा बाहिरिएला(नीतिले रोक्न पनि त सकिन्छ) तर बंशजका नेपालीलाई  धपाएर अंगिकृतको नाममा अस्वभाविक तरिकाले नागरिक बनाउने काम गलत हो । यसले विस्तारवादी नीति लिएको भारत र सम्राज्यवादी शक्ति अमेरिकाको चोचोमोचो मिलानमा देशका दलाल पार्टी र नेताहरूले सघाउ पुर्याउन खोजेको देखिन्छ । यसैले पनि हुनसक्छ एनआरएनप्रति पूर्वाग्रही भएर भोटिङको अधिकारमा व्यवधानहरू राखिएको । यस पक्षलाई पनि नजरअन्दाज गर्न मिल्दैन । आशंका उब्जिने ठाउँ प्रशस्त देखिन्छ ।
देशमा अमेरिका छिराइ सकिएको छ । एमसिसिको नाममा । अमेरिका जहाँ छिर्छ त्यहाँ ध्वस्त बनाउँछ त्यसको उदाहरण अहिले इजरायल र प्यालेस्टाइन विश्व सामु प्रत्यक्षमा छ । अमेरिका देशमा हुलेर यिनै नेताहरूले देशलाई रणमैदान बनाउँदैछन् । नेपालीको बेहाल हुने खतारा धेरै टाढा छैन । भोलि यी नेताहरू पुच्छर लुकाउँदै कुन कुन देश पुग्छन् थाहा छैन । साथ सहयोग कहाँ कसको चाहिन्छ त्यतिबेला नै थाहा हुने कुरा हो । के थाहा देशलाई बचाउने यिनै एनआरएन पनि त हुन सक्छन् । आपत विपत पर्दा सेवा र सहयोग उनैले गरिरहेकै छन् । भोलि बाहिरको हस्तक्षेपले आक्रान्त पारेको खण्डमा पहिलो दुखाई तिनै नेपालीका छोराछोरी (एनआरएन) लाई हुने हो । उनीहरू भनेको देशको रगत हो देशका सन्तान् हुन् । देशको विपतमा दुख्छ, पक्कै दुख्छ ! कोहीलाई नदुख्ला,धेरैलाई दुख्छ । अहिले पनि देश दुखेरै नेताहरूलाई गाली गरेका हुन् ।
गाली गर्नै नहुने के त्यस्तो काम गरेका छन् र यिनीहरूले ? देश डामाडोल पार्ने नेताहरूलाई केही प्रश्न गरे, रोष व्यक्त गरे भन्दैमा उल्टै झपार्नु कुनै बहादुरी हो भन्ने लाग्दैन ।
नेपालीलाई थाल खाउँ कि भात खाउँ बनाएर किशोर उमेर नकाटेका नागरिक बाहिरिन बाध्य पार्ने नीति बनाउने यिनै नेताहरू हुन् । अन्तराष्ट्रिय विमानस्थलबाट रूँदै देश छाड्नेहरू दिन प्रति दिन बढिरहेछन् । उनीहरूले दुःख गरे कमाए रमाए भन्दैमा घरको विषयमा किन बोलिस् भन्नु मनासिब होइन । चर्चा र वाहीवाहीका भाषण धेरै सुनियो । वाहीवाहीले देश बन्दैन भन्ने त भोगि सकिएकै छौँ । हामीलाई अधिकार दिनुस् हामी देश बनाउँछौँ भनिरहेछन् उनीहरू तर किन डराइरहेछन् सत्ताधारी ? कतै दुहुनु गाई सक्काइदेलान् भन्ने चिन्ता त होइन ? होइन भने एनआरएनसँग हातेमालो गरेर मुलुक सपार्नमा आपत्ति किन ?
सात सालदेखि पटक पटक लड्ने जनतालाई थाङ्नामा सुताएर ऐस आरामको जिन्दगी उपभोग गर्ने पार्टी र नेताहरू को को हुन् ? देशमा टिक्ने योजना र अवसर सिर्जना गर्न नचाहाने /नसक्ने को हो ? उठी सुख न बसि सुख बनाएर विदेशिन बाध्य पार्ने पनि यिनै, अनि तँ विदेशीले अधिकार खोज्छस् ? भनेर धर्काउने पनि यिनै । यो झन् डर लाग्दो रूप हो नेताहरूको । यसै बिच नेपाल नागरिकता (तेस्रो संशोधन) नियमावली, २०८० बमोजिम गैरआवासीय नेपाली नागरिकता प्रमाणपत्रको नयाँ व्यवस्था लागु भएको छ र कार्तिक १ देखि नागरिकता वितरणको काम पनि शुरु भएको छ ।
यद्यपी, देशलाई सिक्किमीकरण तिर लैजाने योजना बनिरहेको भान भएको यस अवस्थामा भोलि ती पन्ध्र लाख माथिका एनआरएनको भोटले विफल पार्न पनि सक्छ भन्ने आशंका पो छ कि दलालहरूलाई ? त्यसैले अहिल्यै लखेट्न उद्धत पो भएका हुन् कि ? । यसले प्रश्नहरू उब्जाएको छ । यो कसैको वाहीवाहीको विषय मात्रै होइन । विश्लेषणको गम्भीर विषय हो । राष्ट्रियता र स्वाभिमानसँग प्रत्यक्ष जोडिएको विषय हो । त्यसैले यस विषयमा व्यापक विमर्श हुन जरूरी देखिन्छ । 

प्रतिक्रिया

सम्बन्धित खवर