अमेरिकी सैन्य रणनीतिक सम्मेलनमा नेपालको सहभागिता

अमेरिकी सैन्य रणनीतिक सम्मेलनमा नेपालको सहभागिता

भारतको नयाँ दिल्लीमा आज असोज आठदेखि १० गतेसम्म हुने इण्डो–प्यासिफिक (अमेरिकी सैन्य रणनीतिक सम्मेलन) मा नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माको नेतृत्वमा सैन्य अधिकारीहरुको सहभागितालाई लिएर बिभिन्न प्रश्नहरु उठेका छन् । ०६३ को परिवर्तनपछि मात्र नेपाली सेना इन्डो–प्यासिफिक सैनिक सम्मेलनमा सहभागी हुनथालेको पाइएको छ । नेपालले अवलम्बन गरेको असंलग्न परराष्ट्रनीतिका कारण कुनैपनि अन्तराष्ट्रिय सैन्य संगठनहरुमा सहभागी हुन नमिल्ने अवस्थामा शर्मासहितको सैन्य टोलीले अमेरिकी सैन्य रणनीतिक सम्मेलनमा भाग लिनु आफैमा गंभिर बिषय भएको छ । त्योभन्दा पनि आपत्तिको बिषय के छभने नेपाल आफै उक्त संगठनको सदस्य होइन । तर उसले भारतीय सेनाको निमन्त्रणामा सो सम्मेलनमा भाग लिन आफ्नो देशमा सेना प्रमुखलाई गत भदौ २३ गतेको मन्त्रिपरिषदको निर्णयअनुसार स्वीकृतिसमेत प्रदान गरेको देखिएको छ । सेना प्रमुख शर्मा नेतृत्वको टोली हिजो आइतबार दिल्ली पुगिसकेको छ । सो संगठनमा भारत, अमेरिका, अष्ट्रेलिया, बंगलादेश, इन्डोनेसिया, जापान, मलेसिया, भुटान, ब्रुनाई, कम्बोडिया, दक्षिण कोरिया, माल्दिभ्स, मंगोलिया, म्यानमार र न्युजिल्याण्डलगायतका ३५ देशहरु संलग्न रहेका छन् । हुन त यस्तो सम्मेलनमा नेपालले यसअघि पनि पटक, पटक सहभागिता जनाइसकेको पाइएको छ । यसअघि ०७५ को भदौ १७ देखि २१ गतेसम्म काठमाडौंको हयात होटलमा अमेरिकी सेनाको सम्मेलन भएको थियो । त्यतिबेला प्रतिनिधिसभामा हालको सत्तारुढ दल माओवादी केन्द्रका महासचिव तथा तत्कालीन नेकपाका प्रमुख सचेतक देवप्रसाद गुरुङलेनै अमेरिकी सेनाको सम्मेलन नेपालमा किन भएकोभन्दै प्रश्न उठाउनु भएको थियो । जतिबेला नेपालमा अमेरिकी सेना एशिया प्यासिफिकको इन्टेलिजेन्स चिफहरुको सम्मेलन भएको थियो । सो सम्म्ेलनमा २४ वटा मुलुकको सहभागिता रहेको बताइएको थियो । त्यतिबेलै बिद्यमान भूराजनीतिक परिस्थिति, अमेरिका र चीनको प्रतिद्वन्दिताको अवस्थामा नेपालको परराष्ट्र नीति बिपरित त्यस प्रकारका कार्यक्रमहरु किन भैरहेका छन् ? भन्ने प्रश्न उठेको थियो । सांसदहरुले त्यतिबेलानै नेपालले यस्ता क्षेत्रीय सहयोग संगठनमार्फत अमेरिकी सैन्य गठबन्धनमा प्रवेशगर्ने काम गर्‍योभने त्यसबाट नेपालले दीर्घकालीनरुपमा रणनीतिक, राजनीतिक र कुटनीतिक दृष्टिकोणबाटसमेत ठूलो क्षति व्यहोर्नुपर्ने कुराप्रति सरकारलाई सचेत गराउनु भएको थियो । ०७९ को साउन नौदेखि ११ गतेसम्म अष्टे«लियामा भएको एनुअल चिफ्स अफ डिफेन्स कन्फ्रेन्समा पनि सेना प्रमुख शर्माले भाग लिनुभएको थियो । जहाँ इन्डो–प्यासफिक क्षेत्रका सैनिक प्रमुखहरुको सहभागिता रहेको थियो । त्यस्ता सम्मेलनहरु कहिले सिंगापुर, कहिले हवाई र कहिले अष्ट्रेलियामा हुँदैआएका छन् । अष्ट्रेलियाको सो सम्मेलनमा भागलिनु भन्दा दुई साता अघिमात्र शर्माले अमेरिकाको औपचारिक भ्रमणगरी त्यहाँका उच्च सैनिक अधिकारीहरुसँग भेटवार्ता गर्नुभएको थियो ।
अष्ट्रेलियाको सो सम्मेलन पनि अमेरिकी सेनाको इन्डो–प्यासिफिक कमाण्डको पहलमा आयोजना भएको थियो । जसको उद्देश्य अमेरिकाले इन्डो–प्यासिफिक क्षेत्रका सैनिक नेतृत्वसँग रणनीतिक सम्बन्ध विस्तारगर्ने रहेको थियो । सो सम्मेलनमा अमेरिकी सेनाका वरिष्ठ अधिकारीहरुकोसमेत सहभागिता थियो । हुन त अमेरिकाको इन्डो–प्यासिफिक कमाण्डले नेपाली सेनासँग रणनीतिक साझेदारीका लागि बिभिन्न समयमा बिभिन्न प्रस्ताव अघिसार्दै पनि आएको छ । अष्ट्रेलियाको सो सम्मेलन हुनुभन्दा एक महिना अघि नेपाल आएका युएस आर्मी प्यासिफिकका कमान्डर जर्नेल जनरल चाल्र्स ए फ्लिनले इन्डो प्यासिफिक रणनीतिको एक प्रमुख अंग रहेको स्टेट पार्टनरसिप कार्यक्रम (एसपीपी) सम्बन्धी सैन्य सम्झौता अघिबढाउन तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा र नेपाली सेनाका प्रधानसेनापति शर्मालाई आग्रह गर्नुभएको समाचार बाहिर आएको थियो । सो सम्झौतामा हस्ताक्षरका लागि देउवा सकारात्मक भएपनि संसदमै चर्को बिवाद भएपछि खुलेर संझौता हुनसकेको थिएन । त्यतिबेलै अमेरिकाको स्टेट पार्टनरसिप कार्यक्रम (एसपीपी) मा नेपाली सेनाको सात बर्षदेखि संलग्नता रहिआएको रहस्य पनि खुलेको थियो । एसपीपी सन् २०१९ मै अमेरिकी सैन्य रणनीति इन्डो–प्यासिफिक स्ट्राटेजीमा समेटिएको थियो । अमेरिकाले उक्त सैन्य रणनीतिमा नेपाल र श्रीलंकालाई नयाँ साझेदार मुलुकारुपमा सूचीकृत गरेको आफ्नो प्रतिवेदनमा उल्लेख गरेको थियो । त्यतिबेला नेपालको सरकारले अमेरिकालाई एसपीपीमा भाग नलिने पत्र पठाउने भनिएपनि हालसम्म औपचारिकरुपमा त्यस्तो पत्राचार भएको देखिएको छैन । बरु एसपीपीमा भाग लिन नयाँ प्रस्ताव तयार गरिएको रहस्य खुलेको छ । आजबाट दिल्लीमा शुरुभएको इण्डो–प्यासिफिक सम्मेलनकाक्रममा आयोजना हुने ४७ औँ इन्डो–प्यासिफिक आर्मिज व्यवस्थापन गोष्ठीमा नेपाली सेनाका दुईजना उपरथीहरु सहभागी हुनुहुने कार्यक्रम रहेको छ । भारतीय र अमेरिकी सेनाको सहआयोजनामा सञ्चालन हुने दिल्ली सम्मेलनमा सहभागीभई प्रधानसेनापति नेतृत्वको टोली आगामी ११ गते स्वदेश फर्कने कार्यक्रम छ । सम्मेलनमा अमेरिका, फ्रान्स र बेलायतलगायत ३० देशका सेनापतिहरुनै सहभागी हुँदैछन् । सम्मेलनको शीर्षक शान्तिका लागि एकैसाथ : हिन्द–प्रशान्त क्षेत्रमा दिगो शान्ति र स्थायित्व राखिएको छ । सम्मेलनको मुख्य उद्देश्य हिन्द–प्रशान्त क्षेत्रका मुलुकबीच साझेदारी एवं सहकार्य, बिचार आदान–प्रदान र आपसी समझ्दारी विकासगर्नु हो भनिएको छ । सम्मेलनमा आपसी हित र सुरक्षा चासोका विषयहरुमा छलफल हुने बताइन्छ । आपसी समझदारी, सुरक्षासँग सम्बन्धित सबै विषयमा बिचार एवं आपराधिक/आतंकवादी गतिविधि हुननदिन सूचना आदान–प्रदान, यस क्षेत्रमा शान्ति एवं स्थायित्व प्रवद्र्धन, आपसी समझ्दारी र सम्वादको प्रक्रियालाई निरन्तररुपमा अघिबढाउन सम्मेलन महत्वपूर्ण हुने भनिएको छ । नेपालका प्रधानमन्त्रि पुष्पकमल दाहाल चीन भ्रमणमा रहिरहेको र चीन सरकारले नेपालको सीमामा सूचना संकलनगर्न २० थान शक्तिशाली ड्रोनदिने घोषणा गरेको केही दिनमै नेपाली सेनाका प्रधानसेनापति शर्मा इण्डो प्यासेफिक क्षेत्रका चिफहरुको दिल्ली सम्मेलनमा सहभागी हुनुभएको छ ।
स्मरणिय के पनि छभने सेनापति शर्मा दिल्ली सम्मेलनमा सहभागी हुनुहुने भएपछि नेपाली सेनाले चीनबाट ल्याउन लागिएको हतियार केही प्राविधिक कारणभन्दै रोकिएको छ । इण्डो प्यासेफिक सैन्य संगठनबारे नेपालमा पनि बिवाद रहँदैआएको छ । चार वर्षअघि अमेरिकी सेनाको इण्डो प्यासिफिक कमाण्डले आयोजना गरेको पहिलो इण्डो प्यासेफिक ल्याण्ड पावर सम्मेलनमा पनि नेपाली सेना सहभागी भएको थियो । जुन सम्मेलनमा नेपाली सेनासहित विश्वका २३ देशका उच्च सैनिक अधिकारीहरुको सहभागिता रहेको थियो । सो सम्मेलनमा पनि नेपाली सेनाकातर्फबाट तत्कालीन बलाध्यक्षरथी र हालका प्रधानसेनापति शर्मालेनै सहभागिता जनाउनु भएको थियो । दिल्लीमा आजबाट शुरुभएको सम्मेलनमा सैनिक अधिकारीहरुले आआफ्नो क्षेत्रमा भोगेका समस्या, मतभेदहरु, चुनौतीहरुको समाधानगर्न र बहुराष्ट्रिय सैनिकहरुकाबीचमा समानता खोज्न बिचारहरुको आदान–प्रदान गर्ने भनिएको छ । क्वाडजस्ता महत्वपूर्ण संस्थाहरुकोसमेत प्रतिनिधित्व रहेको भनिएको इण्डो प्यासिफिकमा अमेरिकाको बहुपक्षीय सुरक्षा साझेदारीलाई अघिबढाउनको लागि एक महत्वपूर्ण कोसेढुंगा मानिएको छ । इन्डो प्यासिफिक आर्मी चिफ सम्मेलन एक प्रमुख फोरम हो । जहाँ सैन्य नेतृत्वकाबीचमा रणनीतिक बिचारहरुको आदान–प्रदान गर्नेगरिएको छ । दिल्ली सम्मेलनकाक्रममा सेनापति शर्माले अमेरिकी सेना र भारतीय सेनाका समकक्षीसँग अलग्गै भेटवार्तागर्ने कार्यक्रमसमेत रहेको बताइन्छ । दिल्ली सम्मेलनअघि अमेरिकी सेनाको इण्डो प्यासेफिक कमाण्ड र फिजी मिलिटरी फोर्सेसको आयोजनामा फिजीमा भएको चिफ अफ डिफेन्स सम्मेलन (चोड)मा पनि नेपाली सेनाका बलाधिकृत रथीको सहभागिता रहेको थियो । भनिन्छ फिजीमा पनि अमेरिकी सैनिकको आयोजनामा सो सम्मेलन भएको थियो ।
अमेरिकी राष्ट्रपति बाइडेनले युक्रेनको रक्षा र रुसी आक्रमणको विरोधमा स्वतन्त्र विश्वको पक्षमा वकालतगर्दै आउनु भएको छ । जसका लागि उहाँले हालै युक्रेनलाई क्षेप्यास्त्रहरु सहयोगगर्ने घोषणा पनि गर्नुभएको छ । अमेरिकी सरकारको इण्डोप्यासिफिक रणनीतिलाई चीनविरोधी सैन्य ध्रुवकारुपमा हेर्ने गरिएको छ । जसमा नेपाल सहभागी हुनु असंलग्न परराष्ट्र नीतिको विरुद्धमा हुनेभन्दै कूटनीतिका जानकारहरुले गंभिर प्रश्न र जिज्ञासाहरुसमेत उठाउन थालेका छन् । नेपाल राष्ट्रसंघीय शान्ति सेनामा सबैभन्दा धेरै योगदानगर्ने १० देशमध्ये एक भएकोभन्दै अमेरिकाले आफ्नो विश्व शान्ति सञ्चालन अभियान (जीपीओई) को सदस्यकारुपमा राखेको उसका कतिपय प्रतिवेदनहरुमा उल्लेख हुनेगरेका छन् । अमेरिकाले सुरक्षा साझेदारीको पहल गरेका दक्षिण एशियाली देशहरुको सूचीमा पनि नेपाललाई उल्लेख गर्नेगरेको छ । अमेरिकाले दक्षिणपूर्वी एशियामामात्रै नभई दक्षिण एशियाली देशहरुमासमेत आफ्नो प्रभाव विस्तार गर्दैलगेको र चासो बढाएको देखिएको छ । अमेरिका र भारतबीच साझा हित र बृहत् रणनीतिक साझेदारी कायम छ । यस्तो अवस्थामा भारतले नेपाललाई पनि अमेरिकी सैन्य रणनीतिमा जोडेको देखिएको छ । चीन र भारतजस्ता अलग नीति भएका देशहरुका बीचमा रहेको नेपालले खासगरी सैन्य रणनीतिमा ततष्टता अपनाउन नसकेका कारण नेपाल कुनैपनि बेला अकल्पनीय घटनामा पर्नसक्ने अवस्थामा पुगेको छ । ०६३ पछि सत्ता र शक्तिमा आएकाहरुले नेपाललाई चौतर्फीरुपमा अलग, थलग बनाएर बिघटनमा पुर्‍याउने प्रयास गरिरहेकै बेला यहाँको सेना भारतीय सैनिकमार्फत अमेरिकी सैन्य रणनीतिमा जोडिएको देखिनु अत्यन्त गंभिर बिषय भएको छ । त्यसैले यसबारे सरकार बाहिर रहेका दलहरुकाबीचमा पनि गंभिर छलफल हुनु जरुरी छ ।