पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता नलिए ‘नेपाल बन्द’ गर्ने क्रान्तिकारी कम्युनिस्ट पार्टीको चेतावनी

पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता नलिए ‘नेपाल बन्द’ गर्ने क्रान्तिकारी कम्युनिस्ट पार्टीको चेतावनी

काठमाडौं । मूल्यवृद्धि फिर्ता लिन जोडदार माग गर्दै क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालले एक प्रेस वक्तव्य जारी गरेको छ । पार्टीका प्रवक्ता कञ्चनले जारी गरेको वक्तव्यमा जनताको ढाड सेक्नेगरी भएको मूल्यवृद्धि तत्काल फिर्ता नलिए पार्टी जनविरोधी प्रतिक्रियावादी सत्ताका विरुद्ध नेपाल बन्दसम्म जान वाध्य हुने चेतावनी दिइएको छ ।

वक्तव्यमा भनिएको छ, “जनताको ढाड सेक्नेगरी भएको मूल्यवृद्धि तत्काल फिर्ता नलिए हाम्रो पार्टी जनविरोधी प्रतिक्रियावादी सत्ताका विरुद्ध नेपाल बन्दसम्म जान वाध्य हुने कुरा पनि यही वक्तव्य मार्फत् जानकारी गराइन्छ । देशमा भैरहेको भ्रष्टाचार र तस्करीलाई रोक्न र तत्काल मूल्यवृद्धि फिर्ता गराउन पार्टीले नेतृत्व गरेको आन्दोलनमा ऐक्यवद्धता प्रकट गर्न पनि सबै क्षेत्रमा हार्दिक अपील गर्दछौ ।”

वक्तव्यमा मूल्यवृद्धिका विरुद्ध देशभर विरोध प्रदर्शनमा उत्रन पार्टी पार्टीका सम्पूर्ण निकायहरु, जनवर्गीय संगठनहरु, देशका किसान, मजदुर, महिला, आदिवासी जनजाति, युवा, विद्यार्थी, शिक्षक, वकिल, डाक्टर, पत्रकार, बुद्धिजीवी लगायत देशका सम्पूर्ण जनतामा हार्दिक अपील गरिएको छ ।

यस्तो छ वक्तव्यको पूर्णपाठ 
“२०८० साल श्रावण ३१ गते बिहान ००.०१ बजेदेखि लागुहुने गरी नेपाल आयल निगमले प्रतिलिटर पेट्रोलमा रु ५ र डिजेल तथा मट्टितेलमा रु १४ का दरले मूल्यवृद्धि गरेको छ । पेट्रोलियम पदार्थमा भएको यो मूल्यवृद्धिले देशभरि सबै उपभोग्य वस्तुको मूल्य आकाशिने अवस्था आउनु अनिवार्य हुने छ । र, चौतर्फी रुपमा महंगीको मार खेपिरहेका नेपाली जनताले यो मूल्यवृद्धिबाट झन ठुलो महंगीको भारी बोक्नु पर्नेछ ।
एकातिर सरकारले भ्रष्टाचारका विरुद्ध कानुनी कार्बाहीको अभियान चलाएको देखाएको छ भने अर्कोतिर भ्रष्टाचारका मूल नाइकेलाई जोगाउन भित्रभित्रै षडयन्त्रहरु पनि भएरहेका छन् । सुन तस्करी, ललिता निवास प्रकरण र नक्कली भुटानी शरणार्थी जस्ता भ्रष्टाचारका पछिल्ला मुद्दाहरुलाई क्रमशः कमजोर बनाउँदै लगेर अपराधिहरुलाई उन्मुक्ति दिन खोजिएको छ । संसदीय प्रतिपक्षले गरेको कथित प्रतिनीधिसभा बन्धक बनाउने काम र सरकारको राजीनामाको माग पनि भ्रष्टाचारमा संलग्न आफ्ना मान्छेलाई जोगाउने र संसदीय व्यवस्थाका विकृतिहरु छोपछाप गर्ने चालबाजी मात्र हुन् । यस प्रकारको फोहर र जनविरोधी राजनीतिक परिदृश्यमा जनताको जीवनमाथि सिधा प्रभाव पार्ने पेट्रोल, डिजेल र मट्टीतेल जस्ता उपभोग्य वस्तुमा गरिएको एकाएक मूल्यवृद्धिले नोकरशाही दलाल संसदीय व्यवस्थाको अत्यन्तै देशघाती चरित्र एवम् यो सत्ताको गहिरो संकट अभिव्यक्त भएको छ ।
जनताको जीवन धात्रै नसक्ने गरी भएको मूल्यवृद्धि तत्काल फिर्ता लिन र जनजीवन सहज बनाउन हाम्रो पार्टी नेपाल सरकारसँग जोडदार माग गर्दछ । राजनीतिक अस्थिरता, आर्थिक संकट र जनताको कमजोर अवस्थाको दुरुपयोग गर्दै मूल्यवृद्धि मार्फत् जनतामाथि चरम शोषण, उत्पीडन गर्ने सत्ताको कर्तुत रोक्नका लागि संघर्षमा उत्रन हाम्रो पार्टी समस्त नेपाली जनतामा हार्दिक अपील गर्दछ ।
जनताको ढाड सेक्नेगरी भएको मूल्यवृद्धि तत्काल फिर्ता नलिए हाम्रो पार्टी जनविरोधी प्रतिक्रियावादी सत्ताका विरुद्ध नेपाल बन्दसम्म जान वाध्य हुने कुरा पनि यही वक्तव्य मार्फत जानकारी गराइन्छ । देशमा भैरहेको भ्रष्टाचार र तस्करीलाई रोक्न र तत्काल मूल्यवृद्धि फिर्ता गराउन पार्टीले नेतृत्व गरेको आन्दोलनमा ऐक्यवद्धता प्रकट गर्न पनि सबै क्षेत्रमा हार्दिक अपील गर्दछौ ।
मूल्यवृद्धिका विरुद्ध देशभर विरोध प्रदर्शनमा उत्रन हाम्रो पार्टी पार्टीका सम्पूर्ण निकायहरु, जनवर्गीय संगठनहरु, देशका किसान, मजदुर, महिला, आदिवासी जनजाति, युवा, विद्यार्थी, शिक्षक, वकिल, डाक्टर, पत्रकार, बुद्धिजीवी लगायत देशका सम्पूर्ण जनतामा हार्दिक अपील गर्दछ ।”