क्रान्तिकारी कम्युनिस्ट पार्टीद्वारा संघर्षका कार्यक्रम घोषणा : भदौं १ देखि असोज १० सम्म ७७ वटै जिल्लामा प्रदर्शन गर्ने

क्रान्तिकारी कम्युनिस्ट पार्टीद्वारा संघर्षका कार्यक्रम घोषणा : भदौं १ देखि असोज १० सम्म ७७ वटै जिल्लामा प्रदर्शन गर्ने

काठमाडौं । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालले राष्ट्रियता, जनतन्त्र, जनजीविकासँग सम्बन्धित जल्दाबल्दा समस्या लिएर एक महिने संघर्षका कार्यक्रम घोषणा गरेको छ । यही श्रावण ३० गते बसेको संघर्ष परिचालन समितिको बैठकले संघर्ष सम्बन्धी निर्णय गरेको हो ।
बैठकले निम्न अनुसारका ८ वटा विषयसँग सम्बन्धित रहेर संघर्ष सञ्चालन गर्ने निर्णय गरेको छ । जसमा
“१. महंगी, भ्रष्टाचार एबम कालोबजारीका विरुद्ध सशक्त संघर्ष गर्ने । पार्टीका कार्यकर्ता, पत्रकार लगायत जनसहभागिता सहित राजधानी तथा प्रदेशका गोदाम घरहरु अनुगमन गर्ने ।
२. मिटर ब्याजीहरुलाई कार्यबाही गर्ने र जनतामाथि चरम वित्तीय सुदखोरी गर्ने लघुवित्तहरु बन्द गराउन संघर्ष गर्ने ।
३. शिक्षामाथि भएको व्यापारीकरणको अन्त्य गर्न सरकारलाई दवाव दिने । शिक्षामा समानता ल्याउन सरकारी तथा व्यापारिक स्कुलहरुमा तत्काल समान पाठ्यक्रम र समान पाठ्य पुस्तक लागु गराउने । निजी स्कुलहरुलाई राष्ट्रिय करण गरी सबैका लागि गुणस्तरीय शिक्षा सुनिश्चित गर्ने । विद्यार्थीका लागि “अध्ययन सहित कामको” व्यवस्था गर्न आन्दोलन गर्ने ।
४. उदयपुर सिमेन्ट कारखाना, जनकपुर शिक्षा सामग्री केन्द्र, नेपाल वायुशेवा निगम निजीकरण गर्ने षडन्त्रका विरुद्ध संघर्ष गर्ने, बन्द गरिएको उदयपुर सिमेन्ट कारखाना संचालन गर्न दवाव दिने ।
५. भृकुटी कागज, बुटवल धागो, बाँके कपास, हेटौडा कपडा, गोरखा टायर लगायतका बन्द उद्योगहरु खुलाउन प्रदर्शन तथा कारखानामा धर्ना दिने ।
६. निःशुल्क स्वास्थ्यका लागि अनिवार्यरूपमा “युनिभर्सल हेल्थकेयर इन्स्युरेन्स” (सम्पूर्ण स्वास्थ्य सेवा बिमा)को माग गरी केन्द्र र प्रदेश सरकारलाई ज्ञापनपत्र दिने, प्रदर्शन गर्ने, विचार गोष्ठी, पत्रकार सम्मेलन गर्ने, प्रचार गर्ने ।
७ माध्यमिक शिक्षा तथा १२ पास गरेका विद्यार्थीलाई विदेश धकेल्ने नीति तत्काल खारेज गरी गुणस्तरीय शिक्षा उपलब्ध गराउन उचित शैक्षिक वाताबरण बनाउन आन्दोलन गर्ने । त्रिभूवन विश्वविद्यालयको शैक्षिक क्यालेन्डर नियमित गराउन आन्दोलन गर्ने ।
८. यी बिषयहरुमा पार्टीको नीति स्पष्ट गर्न काठमाण्डौमा विचारगोष्ठी एवम अन्तरक्रिया कार्यक्रम सन्चालन गर्ने ।” रहेको छ ।
घोषित कार्यक्रम अनुसार भदौ १ देखि असौज सम्म देशका ७७ जिल्लाहरुमा प्रदर्शन गर्ने, जिल्ला सदरमुकाममा हुने प्रदर्श पहिले वार्ड पालिका, गाउ÷नगर पालिकाहरुमा प्रदर्शन र सभा गर्ने, राजधानी तथा सातै प्रदेश राजधानीमा हुने जुलुस÷सभामा केन्द्रीकरण गर्ने । यी सभामा कार्यलयका सदस्यहरुले सम्बोधन गर्ने र वार्ड, गाउ÷नगर र जिल्ला सभाको तालिका प्रदेश इन्चार्जहरुले निर्माण गरी सम्प्रेशण गर्ने ३१ गते पार्टीपंक्तिमा प्रेषित सर्कुलरमा उल्लेख गरिएको छ ।