कसैकसैको जीवन धेरै लोभलाग्दो हुन्छ । फलानोको जस्तो जिन्दगी बाँच्ने भनेर मान्छेहरूलाई चाख लागेकै हुन्छ । आफ्नो कर्मले जीवनको रेखा कोर्नेहरूको सङ्घर्षका कथाहरू अरूका लागि प्रेरणाको श्रोत बन्दछ । जीवनपछि पनि फलानोको जस्तो भनेर मृत्युले समेत मार्न नसक्ने जिन्दगी भने कमै मात्र मान्छेको हुन्छ । आफ्नो जीवन र मृत्यु दुवैले समाजलाई प्रभावित पार्न सक्नु नै सार्थक जीवन बाँच्नु हो । मरेपछि पनि बाँची रहनु हो । आफ्ना आफन्तहरू पनि मृत्युपछि याद नराखिने समाजमा मृत्युको धेरै पछि पनि चर्चामा आइरहनु, अरूको सम्झनामा बसिरहनु त्यस्तो जीवन बाँच्नु पो बाँच्नु हो त । आफ्नो मृत्युपछि पनि जनजनको मनमा बाँचीरहेको एउटा नाम हो शारदा श्रेष्ठ, सहिद कमरेड शारदा श्रेष्ठ (ऋतु) ।
२०६३ सालको भदौ महिनामा म प्रवासबाट स्थानान्तरण भएर चितवन आइपुगेको थिएँ । गणतान्त्रिक अभियान चलिरहेको थियो । म अभियानमा जोडिएँ । पश्चिम चितवनका गाउँबस्ती जता पनि शारदासहित कैयौं सहिदहरूको चर्चा आम जनता समेतले गर्दथे । बडो आदर र प्रेमका साथ मान्छेहरू शारदालाई सम्झन्थे । कसैले उहाँको बोलचाली र व्यवहारको कुरा गर्दथे । कसैले गीत र नाचको तारिफ गर्दथे । कोही उहाँको भाषणको फ्यान नै थिए । एक कुशल सङ्गठक र गतिशील नेताको रूपमा सहकर्मीहरूले शारदालाई सम्झन्थे ।
शारदालाई सम्झने थुप्रै मान्छे छन् । तीमध्य केही मान्छेहरूको स्मृतिको आँखीझ्यालबाट उहाँको जीवनको एउटा टुक्रालाई चिहाउने कोशिश गर्दैछु ।
आँखैमा राख्छु मेरो देश
मुटुमा राख्छु मेरो देश
परेलीमा सजाउँछु मेरो देश
गुराँस फुल्ने पाखामा छ यो देशको छायाँ
छायाँभित्र लुकेको छ यो देशको मायाँ ….
जनताका बिचमा देशको गीत गाउँदै शारदा नाचेपछि मान्छेहरू मन्त्रमुग्ध हुन्थे । उहाँको राजनीतिक जीवन नै कला क्षेत्रबाट शुरु भएको थियो । खुसीराम पाख्रीनको प्रशिक्षणमा शारदाले शान्ति लामा र कल्पना पौडेलसँग मिलेर २०४७ मा पहिलो प्रस्तुति दिनु भयो ‘झलमल तारा र जुन, ल्याउन प¥यो सुनौलो त्यो दिन..’ । चितवन, गोर्खा, धादिङ लगायत सीमानाका जिल्ला हुँदै शारदाको कलाकर्म देशैभरि फैलिदै थियो । २०४८ सालमा पहिलो पटक अपेरा खेलेर दर्शकलाई रुवाएको शारदाको कलाकर्म कृष्ण सेन ‘इच्छुक’, खुसीराम पाख्रीन, विणा शर्मा सहित मेची खोला तरेर टिष्टा पारी बाग्राकोट, मालबजार, लुकसान, बिरपाडा सहित दार्जिलिङ र डुवर्सका भारतीय नेपाली बहुल जनतासम्म फैलियो । सगरमाथाको क्रान्तिका गाथा हिन्द महासगरको तटसम्मै बिस्तार गर्नु भयो ।
शारदाको व्यक्तित्व राजनीतिबाट कलासाहित्य अलग गर्दा अपुरो र कला साहित्यबाट राजनीति अलग गर्दा अधुरो रहन्छ । साहित्यकार पूर्णबहादुर अधिकारीले शारदाको सम्झनामा लेख्नु भएको छ ‘उनी नाच्न र गाउन मात्रै सिपालु थिइनन्, चेतनाहिनताको अँध्यारोमा रुमल्लिरहेका जनताका चेतनाका आँखा खोल्न उनका सुमधुर गीत, वक्तव्य र कुराकानी पनि उत्तिकै प्रभावकारी हुन्थे ।’ (स्रष्टा, चैत २०६८)
प्रगतिवादी कलासाहित्यको विस्तार र विकास भीषण सङ्घर्षका बिचबाट भएको छ । जनताको पक्षमा लेख्ने, गाउनेहरू सँधै सत्ताको निशानामा रहिरहे । विभिन्न डर, धम्की र प्रलोभनमा पारी सत्ताको कित्तामा उभ्याउने, कित्ता फेर्न नचाहे सास फेर्न बन्देज लगाउने शासकहरूको पुरानै रवैया हो । शारदाले यो रवैयाको डटेर प्रतिवाद गर्नु भयो । आफुलाई दह्रो गरी जनताको कित्तामा उभ्याई राख्नु भयो । जीवनको भिख मागेको भए सायद उहाँको ज्यान बाँच्थ्यो होला ! ‘आत्मसमर्पण गरेको भए सायद उहाँ बाँच्नु हुन्थ्यो होला । आत्मसमर्पण गर्न शारदा श्रेष्ठको स्वाभिमानले दिएन । अन्त्यमा बलात्कारपछि हत्या भएको आशंका गरिन्छ । उहाँको लास समेत बेपत्ता पारियो ।’ (पोषराज पौडेल÷स्रष्टा, अंक ६)
पति पोषराज र बुहारी शारदा पौडेललाई भेट्न माडीबाट भरतपुर कारागार आउँदा ‘आमा मान्छेको ज्यान त ज्याद्रो पो हुँदो रैछ, जति पिटे पनि सजिलै नमर्ने है आमा’ यशोदा पौडेलको कानमा अहिले पनि शारदा श्रेष्ठको स्वर बजिरहेकै छ । शारदा श्रेष्ठ आफैंले लेखेका गीत÷कविता वा अन्य कुनै लेखहरू फेला पार्न सकिनँ । तर स्रष्टा रविकिरण निर्जीवले शारदालाई ‘गीतकार, संगीतकार र गायिका यसै थिइन् यसबाहेक उनी एउटी कवि र नृत्यकार पनि थिइन्’ भन्नु भएको छ । पार्टी निकटका सांस्कृतिक मोर्चामा सहकार्य मात्रै गरेनन् थुप्रै सांस्कृतिककर्मीहरूले सँगै जेल जीवन पनि बिताएका थिए । चितवनका प्रगतिवादी साहित्यकारहरूको साझा मञ्च साहित्यसंगम चितवनको २०५५–५७ कार्यकालमा रविकिरण निर्जीव अध्यक्ष र शारदा कोषाध्यक्ष हुनुहुन्थ्यो ।
थुप्रै गीत अपेराहरू शारदाको प्रेरणाले लेखेको जनवादी कलाकार खुसीराम पाख्रिनले सगर्व उल्लेख गर्नु भएको छ । ‘गोरखाको विरांगना, क्रान्तिकी छोरी ‘(अपेरा), ‘वेदनाले छटपटिएको, रगतमा लतपतिएको, त्यो पारी गाउँमा कमरेडले विरगति पाएको खबर सुन्दै छु’ (गीत); ‘प्यारो गोर्खा, आस्थाको दियो’ (कविता) लगायतका सिर्जनाहरू पाख्रिनले शारदाकै सल्लाह अनुसार लेख्नु भएको थियो । जनताको बीचमा रहेर राजनीतिक सङ्गठन र सांस्कृतिककर्मीका रूपमा शारदा उत्तिकै क्रियाशिल हुनुहुन्थ्यो । जनताको संस्कृति निर्माणका लागि कम्युनिस्ट राजनीति र राजनीतिलाई जनतासँग जोड्न जनसांस्कृतिक अभियान जरुरी छ भनेर शारदाको गहिरो बुझाई थियो । उहाँको राजनीतिक जीवनको शुरुआत सांस्कृतिक कार्यक्रमबाटै भएको थियो ।
‘टाढैबाट चिनियो, ढाका टोपी लाउनेलाई
देख्दैमा माया लाग्यो नि, देशै छोडी आउनेलाई
अर्कैको देशैमा, रेलको टेसनैमा…..’
शारदाहरूले सिकाएर छोडेको त्यही लय समाएर एकता समाजको ब्यानरमा भारतका कुनाकाप्चासम्म हामीले जनवादी गीत÷सङ्गीतको माध्यमबाट किसान, मजदुर र उत्पीडित जनतालाई आफ्नो स्वाभिमानका साथ जीउन जागरण अभियानहरू सञ्चालन ग¥यौं । देशभित्र सांस्कृतिक सहिदहरूको नाममा थुप्रै सांस्कृतिक टोली÷परिवारहरू निर्माण भए । सहिद शिव श्रेष्ठ र शारदा श्रेष्ठको स्मृतिमा शिव–शारदा सांस्कृतिक परिवार क्रियाशील थियो । शारदाकै नामबाट चितवनमा शारदा स्मृति प्रतिष्ठान (२०६७) गठन भएर क्रियाशील छ । भरतपुरको कैलाशनगरमा चितवनका सहिदहरूको स्मरणमा स्मृति केन्द्र निर्माण गर्ने गरी जग्गा खरिद गरिएको थियो । माओवादी पार्टीभित्रको अन्तरसङ्घर्ष, टुटफुट र एकहदसम्मको उदासिनताले गर्दा समर–ऋतु स्मृति केन्द्र निर्माण हुन सकेन । समर–ऋतु स्मृति केन्द्रको नामाकरण चितवनका सहिदहरू केशव रिमाल (समर) र शारदा श्रेष्ठ (ऋतु) को सांकेतिक नामबाट गरिएको थियो । सहिदहरूको आदर्शीकरणका लागि चितवनसहित देशैभरि केही न केही कामहरू भएका छन् । तर बिडम्बना जुन उद्देश्यका खातिर बलिदान भयो, आज ती उद्देश्यहरू अलपत्र छन् । कोही बलिदानको भ¥याङ चढेर शासक भए, कोही त्यही रगतले लतपतिएको झण्डा उठाएर अघि बढ्न खोज्दै छन् ।
जस्तै जटिलतालाई पनि शारदा सहजताका साथ लिनु हुन्थ्यो । २०५७ सालतिर लमजुङको एउटा प्रशिक्षण कार्यक्रममा जाँदा रुट गाइडले बाटो बिर्सिए । माडीको जङ्गलमा बाटो बिराएर रातभरि हिँड्दा शरीरभरि जुकैजुका थिए । शारदासँग सहकार्यका विगत स्मरण गर्दै तत्कालीन अभियान सांस्कृतिक परिवार, गोर्खाकी संयोजक जनकलाकार सुशीला थापा भन्नुहुन्छ ‘सय डेढसय जुका थिए होला जिउभरि । त्यो जुका देखेर हामीले भात पनि खान सकेनौं तर शारदाजीले त्यसलाई सहज रूपले लिनु भयो । जुकाले टोकेको ठाउँबाट रक्तस्राव बन्द नभएर एन्टिबायोटिक नै चलाउन प¥यो । धन्न स्वास्थ्य विभागका साथीहरू पनि हुनुहुन्थ्यो र नत्र धेरै गाह्रो हुने थियो । तर शारदाजीले यसरी रियक्ट गर्नु भयो मानौ केही भएकै छैन । यसरी दुःख खप्न कमै मात्र मान्छेले सक्छन् । लमजुङको माडी जङ्गलमा एघार दिनसम्म हामीलाई प्रशिक्षण दिनु भएको हो । मुख्य प्रशिक्षक नै शारदाजी हुनुहुन्थ्यो । एकदमै सजिलो गरि हामीलाई नृत्य सिकाउनु भयो । गोर्खा र लमजुङको संयुक्त प्रशिक्षण थियो । थोरै सहकार्यमा पनि धेरै प्रभाव पार्नु भयो ।’
२०५८ सालमा चितवनका केही कलाकारसहित गोर्खाका कलाकारहरूले करिब पाँच हजार मान्छेहरूका माझ लमजुङ तिनपिप्लेको साँहिलीटारमा लमजुङ जिल्ला जनसरकार घोषणामा सांस्कृतिक प्रस्तुती दिए, जसको संयोजन शारदाले गर्नुभएको थियो । जिल्ला जनसरकार घोषणा कार्यक्रममा सांस्कृतिक प्रस्तुतिका लागि चार दिने प्रशिक्षण थियो । त्यही कार्यक्रमबाट लमजुङ जिल्ला जनसरकार प्रमुखमा पूर्णबहादुर तमु र उपप्रमुखमा कौशिला तमु निर्वाचित भएका थिए ।
पश्चिम चितवनमा एकदिन शारदा र अनन्त (अशोक लम्साल÷अनुकूल) नहरको बाटैबाटो पार्वतीपुरबाट शुक्रनगर तर्फ जाँदै हुनुहुन्थ्यो, एक सयभन्दा बढी शाही सेना त्यही बाटो विपरीत दिशाबाट आउँदै रहेछन् । उहाँहरूका साथमा केही दस्तावेज र छोटा हतियार थिए । ‘शारदालाई त भागौं झैं लागेको थियो । तर मैले त्यसो गर्नु आत्मघाती हुनसक्छ, बरु साइकलबाट नओर्ली सिधै जाऔं भनेँ । हामी छुट्टाछुट्टै साइकलमा थियौँ । नहरको साँघुरो पगडण्डीमा सल्लाह गर्दै अघि बढिरहनु पनि गाह्रो थियो, रोकिनु झन् मुर्खता हुन्थ्यो । सेनाले हामीलाई केरकार गर्न थाल्यो । हामीले सहजरूपले शुक्रनगर मामा घर जान लागेको भनेर भन्यौँ । झोलामा फलफूल कोसेली छ भनेपछि चेक गरेन । गजबको अनुशासन र सुझबुझ थियो, शारदामा’ अशोक लम्साल विगत सम्झनुहुन्छ । नगर क्षेत्र बाहेक पश्चिम चितवन र माडी समेतको यौटा इलाका थियो । जसमा अशोक लम्साल, शारदा श्रेष्ठ, कमल सुयँल (संगिन), शोभा कट्टेल, कञ्चन खनाल, गुणराज लोहनी, ईश्वरी खनाल (प्रतीक), डम्बर गुरुङ (लेकाली), सम्झना श्रेष्ठ, शान्ति लगायतका सदस्यहरू कार्यरत थिए । अरू साथीहरूले सेल्टर नपाएर जङ्गलमा बास बस्नुपर्दा पनि शारदा र आफूले जनताको घरमै बास बसेको कुरा अहिले अनन्त आफैँलाई रोचक लाग्छ ।
शारदाकै प्रभाव र प्रेरणाले भरतपुरका कैयन युवाहरू माओवादीप्रति आकर्षित भएका थिए । लंकुका दीपक गौतम तिनीहरू मध्ये एक हुन् । युवाहरूको धेरै राम्रो टिम थियो । ज्ञानु खरेल, मीनबहादुर कुँवर अनिशहरूले सहादत प्राप्त गरे । सुधीर सापकोटा शारदासँगै गिरफ्तार परेर लामो सैन्य हिरासत र जेल ब्योहोरे । सुधीरका बारेमा शोभा कट्टेलहरूसँग भरतपुर ब्यारेकमा शारदाले भन्नु भएको थियो ‘यो सुधीर भाइले मलाई साइकलमा राखेर हिँडाएको कारण मैले जत्तिकै यातना भोगेको छ । ….पारिवारिक रूपमा समेत दुःख नभोगेको यो सानो मान्छे स्पात बनेर उदायो ।’ शोभा कट्टेललाई शारदा र अम्बिका जीवित रहुञ्जेल आफू मारिए पनि आफ्नो छोरा टुहुरो हुँदैन भन्ने लाग्थ्यो । वर्गीय माया र विश्वासकै भरमा उनीहरू जोखिम पनि सहजै रूपमा पचाइरहेका थिए ।
सङ्कटकाल लागेको थियो । पेजरको जमाना थियो । फोन गरेर म्यासेज टिपाएपछि लिखित म्यासेज पेजरमा आउँथ्यो । दीपकसँग पार्टीकै एउटा मोटरसाइकल थियो । शारदाले कतै जानु पर्ने भयो । मोटरसाइकल लिन सुधीर आउँदै थिए । शारदासँग पेजर थियो । सुधीर आउन ढिला भएपछि दीपकले शारदालाई पेजर गरे । एकैछिनमा फोन आयो । फोन पर्खेर बसेका दीपकले फोन उठाएर एकैचोटि दिदी भने । उताबाट नचिनेको मान्छे बोल्यो ‘शारदाजीले मलाई पठाउनु भएको हो । तपाईं घरमै बस्नोस, म आउँदै छु’ । त्यो क्षेत्रमा भएका शारदाका साथीहरू दीपकले नचिन्ने कुरा थिएन । उसले आफ्नो नाम पनि बताएन । मनमा शङ्का लागेपछि दीपक घरबाट केही पर मात्रै के पुगेका थिए, दुश्मनले घर घेरा हालिहाल्यो । शारदा र सुधीर गिरफ्तार परिसक्नु भएको रहेछ ।’ दिदी अरू नेतृत्व जस्तो पर बसेर हेर्न सक्नु हुन्नथ्यो । मोटरसाइकल लिन सुधीरलाई मात्रै पठाएको भएपनि शायद दुर्घटना घटने थिएन कि ? सबै काममा आफू संलग्न हुने स्वभावले गिरफ्तार पर्नु भयो’ घरको भित्तामा झुन्डिएको शारदाको तस्बिर हेर्दै दीपकका आँखा रसाए । दीपक शारदाकै प्रेरणाले संकटकालकै बीचमा ’एकीकृत जनप्रतिरोध अभियान’ मा रोल्पा, रुकुम पुगे । त्यहाँ पुगेर साङ्गठनिक र राजनैतिक काम त गरे नै, मान्छेलाई ट्वाइलेटमा दिसा गर्न पनि सिकाए । घरको भुइँ तलामा सुँगुर पाल्ने र माथ्लो तलामा मान्छे बस्दथे । माथिबाटै दिसा गर्थे, तल सुंगुरले खान्थ्यो । राजनीतिसँगै सरसफाइ र स्वास्थ्य सचेतना अभियानमा जोडिएका दीपकहरूको टोलीले रोल्पा, रुकुम र डोल्पाका छ सातवटा विद्यालयमा चर्पी पनि निर्माण ग¥यो ।
‘२०५७ सालमा महिला सङ्गठनको कार्यक्रम लंकुमा थियो, दमन हुने निश्चितै थियो । शारदा दिदी सहित केही नेताहरू त्यहाँ नजाने भन्ने पार्टीको निर्णय थियो । तर दिदी गेटअप बदलेर जानु भएछ । निरञ्जन र मैले देखेर जनताको घरमा बाहिरबाट ढोकामा चुकुल लगाएर भित्र थुनिदियौं । त्यही कार्यक्रममा प्रहरीले गोली चलायो । कार्यक्रम स्थल नजिकैको घरमा गुवाहटीतिरबाट पाहुना आएकी गौरी सापकोटा, रमा ढुंगाना, सरस्वती प्याकुरेल, ज्ञानु खरेल लगायतलाई गोली लाग्यो । गौरी सहिद हुनुभयो ।’ सिनेमाको रिलझैं दीपकको मनमा दृश्यहरू घुमिरहन्छन् ।
‘शारदा छ कक्षा पढ्ने बेलामा बुबाले जनकलाकार खुसीराम पाख्रिनको जिम्मा लगाइदिनु भयो । उनी सांस्कृतिक टोलीमा सक्रिय रहँदै पनि आफ्नो पढाइलाई निरन्तरता दिइन् । कक्षामा अब्बल थिइन् । निरन्तर अभियानमै हिँड्दा कक्षामा उपस्थिति न्यून हुन्थ्यो, तर पनि राम्रै अंक ल्याएर उत्तीर्ण हुन्थिन् । परिवारकै अभिभावक जस्ती थिइन् । उनी पार्टीको विभिन्न जिम्मेवारी बहन गर्दै क्षेत्रीय ब्युरो सदस्य र चितवन जिल्ला इन्चार्जको भुमिकामा थिइन् । पटकपटक जेल र हिरासत परिन् । यातनाले उनलाई गलाउन सकेन । कान्छो भाइ राम र कान्छी बहिनी सम्झना (शान्ति) पनि पार्टीको पूर्णकालीन सदस्य भइसकेका थिए । परिवार नै राज्यको आँखाको कसिंगर बनेको थियो । बुबालाई पनि कहिले प्रहरीले त कहिले सेनाले समाउने, सैन्य हिरासत र जेलको चक्र चलिरहेकै थियो । परिवार नै युद्धमा थियो । मुक्तिको उत्कट चाहनाले सत्ताको आतङ्कको भुमरीमा हामी बाँचिरहेका थियौं ।’ शारदाका दाजु कृष्ण समयको मलमले खाटा बसाउन नसकेको घाउको पीडाले रन्थनिइरहेका थिए । एकदिन शाही सेना आएर बन्दुकको सङ्गीन तेर्साएर भने ‘तेरो बहिनीलाई अस्ति मा¥यौं, अब आज तेरो पालो, हिँड ।’ असारको महिना उनी रोपाइँको तयारी गर्दै थिए, खेतबाटै गिरफ्तार गरेर उनलाई घिसार्दै लगे । उनले आफ्नो गिरफ्तारीसँगै बहिनीको सहादतको खबर पाए, त्यही पनि दुश्मनको मुखबाट । उनी भित्रभित्रै रोए । मुटु फुलेर बाहिरै निस्कन्छ किझैं भयो । शारदा परिवारका आफूभन्दा ठुलाहरूको पनि अभिभावक हुनुहुन्थ्यो । आमापछिको आमाझैं लाग्थ्यो कान्छी बहिनी सम्झना (शान्ति) लाई । शारदाको सहादतको खबर पाएपछि सम्झनाले आमाबुबालाई साँहिली दिदी सावित्रीको घर लिएर गइन् । आमा अष्टमाया र बुबा नारायणलाई छोरीको सहादतको बारेमा थाहा थिएन । घरमा सम्हाल्न सक्दिनँ कि भनेर सम्झनाले दिदीको घर लिएर गएकी थिइन् । त्यहीँ उनले आमाबुबासहित दिदी भिनाजुलाई शारदाको सहादतको खबर सुनाइन् । शारदालाई खोज्न आउने सुरक्षाकर्मीले कैयौंपटक कन्चटमा बन्दुक तेर्साउदा नडराएकी आमा अष्टमायालाई त्यो घटनाले भित्रैबाट कमजोर बनायो । रोग र छोरीको शोकले आमालाई गाल्दै लग्यो र असमयमै उहाँको निधन भयो ।’ दिदी हुनु भएको भए शायद आज हाम्रो परिवार पुर्ण हुन्थ्यो होला’ धागो चुँडिएर छरिएको मालाजस्तै लाग्छ सम्झनालाई परिवार पनि ।
गाउँघर उज्यालो हुन्छ बिहानै उदाउने घामले
संसारै उज्यालो हुन्छ जनताको महान एकताले
झुप्रा झुप्रा बस्तीबाट हातेमालो गर्दै
उठ्न थाले किसान मजदुर हातमा औजार बोक्दै’..
२०४९ सालमा एसएलसी परीक्षापछि फुलबारी मनकामना चोककी लिला थापा मगर आफ्नी दिदीलाई भेट्न माडी गएकी थिइन् । साँझ सांस्कृतिक कार्यक्रम हेर्न गएकी उनी आफ्नै साथी शारदाले नाचेको देखेर तीन छक्क परिन् । शारदा, लिला र धनकुमारी तीनजना असाध्यै मिल्ने साथी थिए । गट्टा खेल्नेदेखि मेलापात सबै मिलेर गर्दथे । लामो समयसम्म शारदा कार्यक्रममा जाँदा धनमाया र लिलाले छुटेको पढाइलाई जोड्दथे ।’ त्यत्रो दिन हराउँदा कहाँ जान्छ होला भनेको त त्यस्तो कार्यक्रममा पो जाँदो रैछ’ क्यान्सर अस्पतालको जागिरे लिला थापा विगत सम्झेर रोमाञ्चित हुन्छिन् र शारदा सम्झेर दुःखी । लिलाको परिवार काङ्ग्रेस थियो, शारदा माओवादी । तर कहिल्यै पनि शारदाले लीलालाई पार्टीमा आउनु भन्नु भएन । मित्रतामा राजनीतिको कुनै रङ नपोती उनीहरू सप्तगण्डकी क्याम्पसमा भर्ना भएका थिए । पछि कुनै कारणले लिलाले सप्तगण्डकी कलेज छाडिन् । शारदाले त्यहीँबाट प्रवीणता प्रमाणपत्र तह उत्तीर्ण गरेर स्नातक तहमा भर्ना हुनुभयो, तर लगतै पूर्णकालीन बनेर पढाइ स्थगित भयो ।
‘सानोमा हामी धेरै नै मिल्थ्यौं । यिनीहरू दुइटी भएपछि केही चाहिदैंन भन्थे ।’ शारदालाई सम्झँदा साँहिली दिदी सावित्रीको आँखा आँशुले भरिएर टिलपिल थियो । एक डेढ वर्ष जेठी कान्छी दिदीबहिनी साथीजस्तै थिए । सावित्रीलाई पनि बुबाले कलाकार बनाउन खोज्नु भएको थियो । पाख्रिन दाइले बाजागाजा लिएर फुलबारी उनीहरूको घरमै रिहर्सल गराउन पनि थाल्नु भएको थियो । तर दुवै जना हिँड्दा घरको काममा अप्ठ्यारो पर्ने हुँदा सावित्री दिदीको कला यात्रा शुरु नहुँदै रोकियो । ‘फिलिम हेर्न मन लाग्थ्यो, बुबाले जान दिनु हुन्नथ्यो । पाख्रिन भाउजूलाई पनि सिनेमा हेर्न मन लागे हामीलाई बोलाउनु हुन्थ्यो । तिमीहरू आओ न, तिमेरु आएपछि दाइले रोक्दैनन् क्या’ भाउजुले बोलाउनु हुन्थ्यो । हामी धेरैचोटि शारदानगर हलमा गएर फिलिम हेरेका छौं ।’ झल्झल्ती सम्झना ताजै छ सावित्री दिदीको दिमागमा । शारदाको आँखा अप्रेसन गरेर पट्टी बाँधिएको थियो, हस्पिटलबाट डिस्चार्ज हुने बित्तिकै दिदीबैनी साइकल चढेर नारायणगढ गएर फिलिम हेरेको सिनेमाको दृश्य जस्तै आँखामा घुमिरहन्छ । शारदा र अम्बिका भएर उनीहरू घर सर्ने बेलामा घर सरसफाइ गर्नेदेखि सामान ओसार्ने, मिलाउने सबै गरेका थिए । शारदा, राम र सम्झना गरी उनका तीन भाइबहिनी माओवादी पार्टीका पूर्णकालीन कार्यकर्ता थिए । तीसहित तिनका पछि लागेर आउने कार्यकर्तालाई खाना खुवाउनु, बास बसाउनु कम चुनौतीपूर्ण काम थिएन । तर सबै जोखिम मोलेर पनि उनीहरू क्रान्तिको सेवा गरिरहेकै थिए । सावित्रीका श्रीमान श्याम श्रेष्ठको परिवार काङ्ग्रेस थियो । परिवार मात्रै हैन समीचोकको त्यो टोल नै काङ्ग्रेसहरूको बाहुल्य भएको टोल थियो । गजबको संयोग के भने उनीहरूको राजनीति मात्रै फरक थिएन, उनी कमाउन भारत गएका थिए भने सावित्री पाकिस्तान । पाकिस्तानबाट फर्केपछि प्रहरी हिरासतमै गएर शारदालाई भेटनु परेको नमिठो याद ताजै छ । काङ्ग्रेस–माओवादी र भारत–पाकिस्तान केमिस्ट्री भएको घर अब शारदाको राम्रो सेल्टर थियो । शारदालाई कार्यक्रममा पु¥याउने÷ल्याउने गर्दैगर्दा श्याम छिमेकीका आँखामा अब माओवादी भइसकेका थिए । बेला कुनबेला आएर सेना र प्रहरीले खानतलासी गर्ने, छातीमाथि सङ्गीन तेर्साउने गर्न थालेपछि बिस्तारै उनी पनि माओवादी नै बने ।
२०५४ सालमा नुवाकोट–काठमाण्डु हुँदै चितवन बसाइँसराई गरी सप्तगण्डकी क्याम्पस भर्ना भएकी अम्बिका मुडभरी माओवादी कार्यक्रम खोज्दै शुक्रनगर पुगिन् । साइकल चलाउन नजान्ने मान्छेको लागि आवतजावत अप्ठ्यारो थियोे त्यो बेलामा । उनलाई साइकल चलाउन आउँदैन थियो । बस कुरेर जाँदाजाँदै कार्यक्रम सक्किएछ । चिनेका मान्छे पनि थिएनन् । उनले म कार्यक्रम हेर्न आएको, सप्तगण्डकी पढ्छु भनेपछि कसैले अब फुलबारीमा कार्यक्रम छ, हिँड्नु नि त म पु¥याई दिउंँला भनेर साइकलमा फुलबारी ल्याई दिए । अखिल क्रान्तिकारीमा संगठित अम्बिकाको शारदासँग पहिलो भेट र चितवन पार्टीसँग सम्पर्क त्यहीँ भयो । त्यसपछि उनीहरूको सहकार्य र घनिष्ठता बढ्दै गयो । ‘जनता र सहयोद्धाहरूसँग छिट्टै घुलमिल हुन सक्ने उहाँको स्वभाव थियो । आफ्नो दुःख कहिल्यै नदेखाउने, साथीहरूको सामान्य समस्या पनि बोध गर्ने खुबी थियो । कतिपय नेता कार्यकर्ताहरू नआइदिए पनि हुन्थ्यो भन्ने शुभेच्छुक जनताहरूमा पनि शारदालाई घरमा राख्न, खाना खुवाउन हानाथाप हुन्थ्यो । दशैं वा अरू कुनै चाडबाडमा आफ्ना छोराछोरीलाई नयाँ लुगा किन्दा शारदालाई नछुटाउने मान्छे पनि छन् ।’
चितवनका पूर्णकालीन महिला कार्यकर्ताहरू पम्फा थापा बाहेक प्रायः सबै उमेरमा बीस र वजनमा चालिस हाराहारीका थिए । अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको सन्दर्भमा २०५४ क्याम्पाचौर, नारायणगढमा भएको कार्यक्रममा ठूलो देखिन उनीहरूले साडी लगाएर उपस्थित भएका थिए । शारदाले क्याम्पस जाँदा साडी लगाउने बानी भएर केही अप्ठ्यारो भएन, बाँकी सबैलाई साडी सम्हाल्दै हैरान परेको थियो । शारदाले त्यहाँ भाषण र नृत्य दुवै प्रस्तुत गर्नु भयो । २०५५ सालको चैतमा अम्बिका गिरफ्तार हुँदासम्म शारदाको पार्टी कमिटी चितवनमा थिएन । २०५८ मा रिहा भएर आउँदा शारदा गिरफ्तार परेर छुटी पनि सक्नु भएको थियो । चितवनको कोराकमा प्रचण्ड, बाबुराम लगायत सहभागी भएको दलित मोर्चाको राष्ट्रिय भेला उनीहरू सहभागी भए ।
‘२०५९ साल बैशाखमा शोभा दिदी र अस्मिता, २०५९ भदौमा शारदा दिदी र सुधीर गिरफ्तार पर्नु भयो । गिरफ्तारी गर्ने र झुठा मुठभेडका समाचार दिनहुुँ आइरहेकै हुन्थ्यो । कमल सुँयलहरू पनि गिरफ्तार परिसक्नु भएको थियो । सेनाको आतङ्क व्याप्त थियो । २०५९ सालकै मंसिरमा म मंगलपुरबाट फेरि गिरफ्तार परेँ । शान्ति र म थियौं । शान्ति सानो मान्छे, रुख चढेर जोगिइन् । सेनाले गिरफ्तार गरेकाहरू बाँच्ने सम्भावना कम थियो । शारदा, शोभाहरू जीवितै हुनुहोला भन्ने आश मात्रै थियोे, विश्वास कम थियो । भरतपुर ब्यारेकमा सेनाको यातना चरम थियो ।’ एउटा कहालीलाग्दो विगत अम्बिकाको मानसपटलमा घुमिरहन्छ । ‘पानी भरिएको ड्रर्ममा चोबलेर राख्थे, रातभरि चिसो सिमेन्टको भुइँमा पंखा चलाएर लडाउँथे । आँखाको कालो पट्टी कहिल्यै खुलेन । एउटै डोरीले घाँटी, हात र खुट्टा बाँधिएको हुन्थ्यो । आफू कहाँ छु र आफ्नो वरिपरि को को छन् भन्ने समेत थाहा थिएन । गाडी चलेको आवाज सुन्दा चाहिँ हाइवेको नजिकै छौँ जस्तो लाग्थ्यो । सुनिएको शरीर दिउँसो घिसार्दै चौरमा लगेर सुकाउँदथे । हामी सिपाहीहरूसँग संवाद गर्न खोज्थ्यौं, उनीहरूलाई आफ्नो उद्देश्य बताउँथ्यौं । हाकिम नभएको बेला सिपाहीहरूले यातनामा केही मोलाहिजा गरेजस्तो गर्दथे । उनीहरूले घिसार्दा घिसार्दै एक दिन आँखाको पट्टि अलिकति स¥यो । म चौरमा लडिरहेको थिएँ । मेरो छेउबाट केही मान्छे हिँडेको जस्तो लाग्यो, सरेको पट्टिबाट चिहाएँ । दुब्लो पातलो शरीर मलाई शारदा दिदी जस्तो लाग्यो । पछाडिबाट नचिने पनि फर्केर आउँदा पक्का चिन्छु भनेर कोल्टे नफर्की बसें । आफैं कोल्टे फर्किन सक्ने स्थिति पनि थिएन । कुप्री परेको शरीरलाई कालोपट्टीको चेपबाट नियाल्ने कोशिस गरें, धमिलो चित्र नजिक आउँदा शारदा दिदी नै हो भन्ने प्रष्ट भयो । दिदीलाई जिउँदो देखेर ममा अचम्मको रक्तसञ्चार भयो ।’ कुरा गर्दै जाँदा मेरो मुटु काम्यो अम्बिकाको शरीरभरि काँडा उम्रियो ।
भरतपुर सैनिक हिरासतबाट उनीहरूलाई भरतपुरकै प्रहरी हिरासत हुँदै जेल चलान गरियो । जेल जीवन सैन्य हिरासतभन्दा धेरै सहज थियो । यातनाले थिलथिलिएको शरीर एकाअर्कालाई स्याहार सुसार गर्ने, परिवारदेखि देशका समस्या छलफल गर्दथे । व्यक्तिगतदेखि सांगठनिक÷राजनैतिक विषयमा छलफल गरेर बिताउँथे । शारदा, शोभा, सावित्री, वर्षा गजमेर, अम्बिकासहित दर्जनभन्दा बढी महिला राजनीतिक बन्दीहरू थिए । सबैले पालो गरेर खाना पकाउँथे । समरको भर्खरै सहादत भएकोले शोभालाई उनीहरू सबैले अलिक बढी ध्यान दिन्थे । एक दिन शोभा र शारदाको खाना पकाउने पालो थियो । मट्टीतेलवाला स्टोभमा उनीहरू लट्टे पकाउँदै गफ गरिरहेका थिए । उनीहरू लट्टे चलाइरहेका थिए । स्टोभ कतिखेर निभ्यो, थाहै पाएनन् । धेरैबेरपछि साथीहरूले हेर्दा पो खाना त काँचै रहेछ । गफको सुरमा भ्यारर बज्ने स्टोभ बलेको वा निभेको पनि चाल पाएनन् ।
जेलमा भएका कैदीहरूमा सबैभन्दा रिसाहा सावित्री र रिसाएकै नदेखिने चैं शारदा हुनुहुन्थ्यो । ’रिसाएको देखिन्थेन तर धेरै पानी पिउनु भयो भने आज दिदी रिसाउनु भएछ भनेर थाहा पाउँथ्यौं’ अम्बिका मुडभरी शारदासँगको सहकार्य स्मरण गर्नुहुन्छ ।
जेल परेका राजनीतिक बन्दीहरू दुश्मनका यातना र सत्ताको धुर्त्याईं अगाडि टिक्न नसकेर आत्मसमर्पण गर्नेहरू पनि थिए । आत्मसमर्पण गर्ने र नगर्नेहरूको बारेमा जेलभित्रैबाट रिपोर्ट तयार गर्नु पर्छ भन्ने थियो शारदाको ।
‘शारदा दिदीको विवाहको कुरा पनि चलिरहेको थियो । कास्कीका विजय ढकाल त्यतिबेला चितवन जिल्ला सेक्रेटरी हुनुहुन्थ्यो । शारदा दिदी र विजयको विवाहको प्रस्ताव पार्टीको तर्फबाट श्याम दाइले अलिक जोड गरिरहनु भएको थियो । इन्चार्ज र सेक्रेटरीको विवाह गर्दा पार्टी पंक्ति र जनतामा नराम्रो सन्देश जान्छ भन्ने दिदीको तर्क थियो । अफसोस छलफल निस्कर्षमा नपुग्दै दुवैजनाको सहादत भयो ।’ मालामा गाँसिनु अघि नै फूलहरू दुश्मनको बुटले कुल्चिएको अनुभुति हुन्छ अम्बिकालाई । माओवादीहरू जेल मुक्त हुन कि सरकार–माओवादी वार्ताकाल हुन पथ्र्यो या त कमल सुयँलहरू जस्तै झुठा मुठभेडको शिकार ।
२०६० असारमा वार्ताको क्रममा शारदाहरू जेलबाट छुट्नु भयो । शारदाको कार्यक्षेत्र चितवन नै प¥यो । चितवन त्यतिखेर गण्डक ब्युरो अन्तर्गत पर्दथ्यो, जसका इन्चार्ज थिए कान्छा बहादुर अर्थात देव गुरुङ । २०६१ असारमा चितवन जिल्ला इन्चार्जको रूपमा गण्डक क्षेत्रीय ब्युरोको बैठकमा सहभागी हुन आफ्नो सहयोगी एवं पार्टी ईलाका सदस्य दिपा मोक्तान सुमित्रा (कोराक, चितवन) तनहुँका रुट गाइड शान्तकुमार श्रेष्ठ (प्रज्ज्वल)सहित जाँदै हुनुहुन्थ्यो । त्यो भन्दा २९ गते तनहुँको तत्कालीन साभुङ भगवती गाबिसको साभुङमा उहाँहरू शाही नेपाली सेनाको घेराभित्र पर्नु भयो । हात पछाडि बाँधेर तीनैजनालाई भिमाद बजार हुँदै दोभान खोलाको किनारमा लगेर कायरता पुर्वक हत्या ग¥यो ।
चरम यातनाका बावजुद शारदाले पार्टीको गोपनीयता भङ्ग गर्नु भएन । उहाँहरूलाई गिरफ्तार गरिएको ठाउँभन्दा केही दुरीमा सांस्कृतिककर्मीहरूको केन्द्रीकरण थियो । क्षितिज सांस्कृतिक परिवारको प्रशिक्षणमा ‘शारदाजी पनि प्रशिक्षक भएर आउँदै हुनुहुन्थ्यो । बिचैमा गिरफ्तार पर्नु भयो । उहाँले बरु मृत्यु रोज्नु भयो र झण्डै एक डेढसय साथीहरूको ज्यान जोगाउनु भयो ।’ शारदालाई पर्खेर बसेका सुशीला थापाहरूले सहादतको खबर पाए ।
सहिदहरू मर्दैनन् । उनीहरू गीत बनेर गुन्जिरहन्छन् । अठोट बनेर सङ्घर्षरत मान्छेहरूमा ज्युँदै हुन्छन् । प्रेरणा बनेर हारमा पनि जितको सपना देखाइरहन्छन् । अजर र अमर जीवनगाथा मान्छेले सुनाइरहनेछन् । लेखिइरहनेछ इतिहास । बलिदानलाई जति नै बदनाम गर्न खोजे पनि विद्रोहका हरेक भुल्कामा झण्डा बनेर सहिदहरू अघिअघि हुन्छन् । यो कल्पना हैन, न त कुनै मिथक वा अध्यात्म नै हो । न त कुनै पागल कविको स्वैरकल्पना । जब मान्छेहरूले अन्यायका विरुद्ध मुट्ठी कसेर बन्दुकको सङ्गीनसँग लड्छन् त्यतिबेला अग्रज सहिदहरूको सम्झनाले मात्रै पनि धेरै उर्जा थप्दछ । दुश्मनका अगाडि जीवनको भिख माग्नु भन्दा स्वाभिमान पूर्वक मृत्यु रोज्नेहरू कविको कवितामा बाँचिरहेका हुन्छन् । पुर्ण बिरामको कविताको एउटा अंश छ
‘बाँच्नुका नाममा एक थोपा पनि
¥याल नचुहाएको एउटा सत्यको अनावरण गरेरै म¥यौ
हृदयको गति यथावत राख्नका निम्ति
र अर्थहीन भएर कपाल फुलाउनका निम्ति
नादिर शाहहरूसंग भिक्षाटनको अलख नजगाएरै म¥यौ
मरे पनि जत्रो सुकै प्रलयले समेत
हल्लाउन नसक्ने एउटा विशाल मजबुत
यस युगको
युगिन स्तम्भ भएरै म¥यौ ।’
– पूर्ण विराम÷ सम्वाददाताहरू भन्छन्
नाम : शारदा श्रेष्ठ ऋतु
ठेगाना : फुलवारी, चितवन
आमा/बुबा : अष्टमाया÷नारायण श्रेष्ठ ‘पहाडी’ ।
जन्म : २०३२ चैत १५; इन्द्रपुरी, गीतानगर ९, चितवन ।
दिदीबहिनी/दाजुभाइ ः ३ दिदी, १ दाजु, १ भाइ, १ बहिनी ।
शिक्षा : प्राथमिकदेखि माध्यमिक तह श्रीपुर मावि, फुलबारीबाट २०४९ मा प्रवेशिका उत्तीर्ण, प्रवीणता प्रमाणपत्र तह २०५२, सप्तगण्डकी कलेज, स्नातक तह पूरा नभएको । काठमाण्डु कला केन्द्र, पुतली सडकबाट आधारभुत नृत्य तालिम संगीततर्फ किबोर्ड र हार्मोनियम कोर्स बानेश्वरबाट ।
राजनीति : २०४७ बाट खुसीराम पाख्रीनको कलाकार टोलीबाट यात्रा शुरु, नेपाल र भारतका विभिन्न ठाउँमा सांस्कृतिक प्रस्तुति र प्रशिक्षण । अखिल नेपाल जनसांस्कृतिक संघ र सामना परिवार, विद्यार्थी संगठन, महिला संगठन हुँदै पार्टी जिम्मेवारीमा । पटकपटक गिरफ्तार परी प्रहरी हिरासत, सैन्य हिरासत, जेल र चरम यातना । २०५३ सालमा पार्टीको ईलाका इन्चार्ज र जिल्ला सदस्य (खुशीराम पाख्रीनका अनुसार) हुँदै पार्टी क्षेत्रीय ब्युरो सदस्य एवं चितवन जिल्ला इन्चार्जको जिम्मेवारी सम्हाल्दै गर्दा २०६१ असार २९ गतेका दिन सहादत ।
सन्दर्भ श्रोत : अशोक लम्साल, अम्बिका मुडभरी, पोषराज/यशोदा पौडेल, कृष्ण श्रेष्ठ, सावित्री/श्याम श्रेष्ठ, पूर्णबहादुर अधिकारी, दीपक गौतम, भुमिश्वर/लक्ष्मी कडेल, लीला थापा, सम्झना श्रेष्ठ, प्रकाश चापागाईं, विष्णु/डिलु सापकोटा, सुशीला थापा लगायतसँगका कुराकानी र समरका स्मृतिहरू (शोभा कट्टेल), भदौरे झरी (रविकिरण निर्जीव), स्रष्टा चौमासिक (शारदा विशेषांक), मोक्ष (सिर्जन अविरल) ।
नारायण शर्मा (विपिन)