क्रान्तिकारी कम्युनिस्ट पार्टीको प्रदेशस्तरीय एकता अधिवेशन सुरु, प्रदेश ३ को एकता अधिवेशन सम्पन्न हुँदै

क्रान्तिकारी कम्युनिस्ट पार्टीको प्रदेशस्तरीय एकता अधिवेशन सुरु, प्रदेश ३ को एकता अधिवेशन सम्पन्न हुँदै

काठमाडौं । नेपालमा नयाँ जनवादी क्रान्ति पूरा गर्दै वैज्ञानिक समाजवादी क्रान्तिको कार्यभार पूरा गर्ने उद्देश्यलाई केन्द्रमा राखेर तत्कालीन नेकपा (क्रान्तिकारी माओवादी) र नेकपा (बहुमत)ले पार्टी एकता गरेका छन् । पार्टी एकतापछि पार्टीको नाम ‘क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल’ राखिएको छ । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालले केन्द्रीय एकता अधिवेशन, पार्टी एकता घोषणासभा हुँदै पार्टीको केन्द्रीय सचिवालय समितिको बैठक समेत सम्पन्न गरिसकेको छ । पार्टीको केन्द्रीय सचिवालयको बैठकले पार्टीको कार्यालय सदस्य, सचिवालय सदस्य र महाधिवेशन आयोजक समितिका सबै सदस्यहरुको समेत कार्यविभाजन गरिसकेको छ । पार्टीको केन्द्रीय सचिवालय बैठककै निर्णय अनुसार आज (असार ३)बाट प्रदेशस्तरीय एकता अधिवेशन, राजनीतिक प्रशिक्षण र बैठक सुरु भएको छ ।

क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल प्रदेश ३ को आयोजनामा आयोजित एकता अधिवेशन असार ३ र ४ मा सम्पन्न हुँदैछ । समाजको क्रान्तिकारी रुपान्तरणका निम्ति जीवनको अमूल्य बलिदान गर्ने महान सहिदहरुप्रति श्रद्धाञ्जली र पार्टीको अन्तर्राष्ट्रिय गीतसँगै सुरु भएको एकता अधिवेशनमा पार्टी अध्यक्ष किरण, कार्यालय सदस्य गौरव, कार्यालय सदस्य तथा पार्टी प्रवक्ता कञ्चन, कार्यालय सदस्यहरु राजवीर, सुदर्शन लगायतका नेताहरुले वैचारिक, राजनीतिक, सांगठानिक तथा संघर्षसम्बन्धी महत्वपूर्ण प्रशिक्षण दिनुभयो ।

पार्टी प्रदेश ३ का संयोजक अटलको अध्यक्षतामा आयोजित कार्यक्रमको सञ्चालन सहसंयोजक शार्दुलले गर्नुभएको थियो । प्रदेश सहसंयोजक प्रवेशले स्वागत गरेको एकता अधिवेशनमा पार्टी केन्द्रका राजनीतिक दस्तावेज, सर्कुलर लगायतका डकुमेन्टहरु अर्का प्रदेश सहसंयोजक सरदले वाचन गर्नुभएको थियो ।

क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालले प्रदेश एकीकरण बैठक र राजनीतिक प्रशिक्षणका लागि प्रदेश नं. ४ मा असार ६ र ७, प्रदेश २ र प्रदेश ५ मा असार ९ र १०, प्रदेश १ र ६ मा असार १२ र १३ गते, प्रदेश ७ मा असार १५ र १६ गतेको समय निर्धारण गरिएको छ ।

क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालको हालै सम्पन्न केन्द्रीय सचिवालय बैठकमा प्रस्तु्त एवम् पारित दस्तावेजमा पार्टी एकताको सम्बन्धमा भनिएको छ, “माक्र्सवाद–लेनिनवाद–माओवादको पथप्रदर्शनमा क्रान्तिको आवश्यकता अनुसार पार्टी एकतालाई मूर्त रुप दिएर हामीले नेपाली कम्युनिस्ट आन्दोलनको इतिहासमा एक महान् कामको प्रक्रियालाई अगाडि बढाएका छौं । अव यो एकतालाई विचारधारात्मक, साङ्गठनिक तथा भावनात्मक रुपमा पनि सुदृढ तुल्याउँदै एकता–सङ्घर्ष–रुपान्तरणका आधारमा एक पछि अर्को अग्रगामी छलाङ् हान्दै जान आवश्यक छ ।”