मंसदको बैठक

मंसदको बैठक

ब्यङ्ग्य साहित्य

गरिमामय मंसदका माननियहरू,
आजको वैठक ढ्याप ढ्यापबाट शुरु हुन्छ ।
ढ्याप ढ्याप गर्दै एकजना माननीय उठे
मुखैमा माइक जोड्दै बोले–
‘यो गरिमामय मंसद बैठकमा
झन्माननीय ज्यू भैसी सवारमा किन ?
मंसदलाई जानकारी चाहियो’
अर्का एकजना माननीय महोदय,
मुठ्ठी उचाली हान्नीदै बोले–
‘नियमापत्ति मुखमहोदय,
भैसी सवारी भन्न पाइदैन,
मंसदीय मर्यादा विपरीत बोल्न हुँदैन
भैसी सवारी रेकर्डबाट हटाइयोस्’
ढ्याप ढ्यापको आवाजले मंसद कोलाहल भयो ।

अर्का माननीय, हान्ने राँगोझैँ रन्थनिदै बोले–
‘मुखमहोदय, नियमापत्तिमा नियमापत्ति’
मुख महोदय बोले–
‘केमा निमापत्ति माननीय ज्यू
झन्माननीय ज्यू आफैले बोलेको कुरा हो,
किन हटाउन पर्यो रेकर्डाबाट ?’
झन्माननीय ज्यू पनि के कम
कुमहल्लाउदै गर्जिए–
‘मुर्रा राँगोलाई भैसी भन्ने ?
आफुले ल्याउँदा ठिक, अरूले ल्याउँदा बेठिक ?
लोली अध्यादेश ठिक हाम्रो आदेश बेठीक ?
ऐले दिइ पठाए, ल्याँएँ, के बिराएँ ?
यी आयातित मुर्रा हुन्
यिनको अपमान गर्न पाइदैन,
यिनको बीजबाट धेरै मुर्रा जन्मन्छन्
जन्मेको मुर्रा वंशज हुन्छन्
वंशज भविश्यको माननीय र झन्माननीय हुन्
देश मुर्राले चलाउने हो, रैथानेले हैन
यी भविश्यका झनमाननीय मुर्रालाई
सिमाबाटै नागरिकता कण्ठी लगाइदिएको
के यो कण्ठीको कूरा लोली अध्यादेशमा थिएन ?
हु बहु थियो, जुन ऐले पास भयो’

नियामापत्ति मुख महोदय,
झन्माननीयको कुरामा नियमापत्ति
लोली अध्यादेशको मुर्रा थ्याप्चो थियो,
ऐलेको मुर्रा चुच्चे छ
अर्का माननीय ढ्याप ढ्याप गर्दै फेरी उठे
‘नियामापत्ति मुख महोदय,
अध्यादेशको मुर्रा पनि चुच्चे थियो
ऐले आयातित मुर्रा पनि चुच्चे नै छ,
चुच्चे प्रतिको मोह दुबैको उस्तै हो,
चुच्चे विना दुवैको जीवन पुर्ण छैन’
नियामापत्ति मुख महोदय,
उत्ताकुनाबाट माननीय बोले
नियमापत्तिमा निमापत्ति, छेउबाट बोले,
बिचबाट अर्का माननीय हात उठाएरै उठे,
उताबाट अर्का उठे,
अगाडीबाट उठे÷पछाडीबाट उठे,
ढ्याप ढ्याप गर्दै उठे÷मंसदहल कोलाहल भयो ।

गरिमामय मंसद वैठकमा,
रैथाने कि मुर्रा ?
भैसी कि राँगो ?
तिम्रो ठिक कि मेरो ठिक ?
गरिमामय छलफल चलिरहेकै बेला
घडी हेर्दै मुखमहोदयले आदेश खोले–
माननीयहरू, पाँच बज्यो, आजको वैठक स्थगित हुन्छ
भोली दशै बजे यसरी नै वैठक वस्ने छ ।
२०८० जेठ २३