
नवलपरासी – पश्चिम नवलपरासीको बर्दघाट नगरमा निर्माण हुने भनिएको ट्रमा सेन्टर बारे मंगलवार आयोजित नगरस्तरीय अन्तरक्रिया कार्यक्रममा बर्दघाट नगर उप प्रमुख रुद्र प्रकाश उपाध्यायले ‘सुरक्षाको कारण देखाउदै’ अनुपस्थिति हुनुभएको छ ।
यहाँ सबैको चाँसो र चर्चा रहेको बर्दघाट ट्रमा सेन्टरका बारेमा केन्द्रित रहेर एक संचार सम्बद्ध संस्थाले सर्बदलीय अन्तरक्रिया गरेको थियो ।
उक्त कार्यक्रममा उपप्रमुखको दल नेकपा(माओवादी केन्द्र)को प्रतिनिधि समेत सहभागी भएनन् । बर्दघाट ट्रमा सेन्टरको अहिले सम्मको कानुनी प्रक्रिया कहाँ सम्म पुगेको छ ? र यसका बारेमा नगरका राजनीतिक दलहरुको आधिकारिक धारणालाई नगरवासी समक्ष ल्याउने उद्धेश्यले साक्षात्कार कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको थियो ।
साक्षात्कार कार्यक्रममा नेकपा माओवादी केन्द्रले दलको आग्रहमा सहभागिता नजनाउने र बर्दघाट नगर उप प्रमुख रुद्रप्रकाश उपाध्यायले आफ्नो सुरक्षाको कारणले आफु कार्यक्रममा आउन नसकेको बिषय कार्यक्रमका अध्यक्ष कुश्माकर ढकाल (कृष्ण)ले जानकारी गराउनुभएको एक सहभागीले जानकारी दिनुभयो ।
‘बर्दघाट प्रेस क्लब’ले ‘आयोजना’ गरेको उक्त कार्यक्रममा नगर प्रमुख शम्भुलाल श्रेष्ठ लगायत नगरका बिभिन्न राजनितिक दलका नगर स्तरीय जिम्मेवार नेताहरुको सहभागिता रहेको थियो ।
साक्षात्कार कार्यक्रमा बोल्दै नगर प्रमुख श्रेष्ठले गुम्नै लागेको ट्रमा सेन्टर बर्दघाटमा नै ल्याउन सफल भएको बताउदै निर्माणका लागि बर्दघाट नगरपालिका र राष्ट्रिय आवास कम्पनी बीच जग्गा ४० बर्षका लागि लिजमा लिनेगरी समझदारी भएको जानकारी गराउनु भएको थियो ।
उहाँले अहिले १/२ बर्ष मात्र सम्झौता अनुसारको रकम तिरेपनि त्यसपछि क्याविनेटमा लगेर मिनाहा गर्नेगरी सम्झौता गरेको दावी गर्नुभएको थियो ।

कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका नगर सभापति दामोदर जि.सी.ले चिसापानीको जग्गा नगरको नाममा ल्याउने बिषयमा आफ्नो पार्टीको धारणा हिजो शम्भुलाल श्रेष्ठ नगर सभापति हुदाँ पनि रहेको र आज आफु हुदाँ पनि त्यही धारणा कायम रहेको बताउनु भएको थियो ।
नेकपा एमालेका नगर कमिटी अध्यक्ष रबिन्द्र बिक्रम हमालले अहिले ट्रमा सेन्टरको पहल पारदर्शी नभएको बताउदै बर्दघाट नगरपालिका र राष्ट्रिय आवास कम्पनी बीच भएको सम्झौताले कतै तिमिलसीनालाई सहयोग गरेको त हैन ? भन्नेमा शंका उब्जिएको धारणा राख्नु भएको थियो ।
नेकपा एकीकृत समाजवादीका नेता शोभाखर भुषालले नेपाल सरकारको जग्गा नेपाल सरकारलाई नै भाँडा दिने कुरा गलत भएको धारणा राख्नु भएको थियो ।
त्यस्तै राप्रपाका प्रकाश जंग रायमाझीले आफ्नो जग्गालाई आफैले भाँडामा लिएर गल्ती त गरेनौ शँका गर्ने ठाँउ छ भन्दै चिसापानीमा बन्नुपर्छ तर भााडा दिएर हैन भन्नु भएको थियो ।
त्यसैगरी क्रान्तिकारी कम्युनिष्ट पार्टीका नेता चुडामणी भण्डारीले तिमिल्सिना टे«डर्सको वास्तविक कुरा के हो ? स्पष्टसंग आउनु पर्ने धारणा राख्नु भएको थियो । उहाँले ट्रमा सेन्टरलाई निशुल्क रुपमा जग्गाा उपलब्ध हुनुपर्ने जोड दिनुभयो ।
बि.स.२०७७ भाद्र १८ गते नेकपा (क्रान्तिकारी माओवादी) पश्चिम नवलपरासी अन्तरगत बर्दघाट नगर समितिले बर्दघाट–२ चिसापानीस्थित ढेडारीफाँटमा रहेको सो जग्गा भूमाफियाको नियन्त्रणमा रहेको भन्दै झण्डा गाडेर कब्जा गरेको घोषणा गरेको थियो ।
अर्का बक्ता राष्ट्रिय स्वतन्त्र पार्टीका आकाश यादवले राम्रा कामका वारेमा समर्थन रहने तर ट्रमाको काममा भ्रष्टाचार हुने खतरा रहेको धारणा राख्दै ट्रमा सेन्टर चिसापानीमा नै रहनु पर्ने धारणा राख्नु भएको थियो ।
राष्ट्रिय जनमुक्ति पार्टीका शेर बहादुर थापाले ट्रमा सेन्टर चिसापानीमा नै हुनु पर्ने तर जनताको सहमति अनुसार चल्नु पर्ने धारणा राख्नु भएको थियो ।
नेकपाका नेता गणेश पाठकले तिमिल्सीनालाई प्लटीङ्ग गर्न नदिएर आवासले नगरलाई जग्गा निःशुल्क उपलब्ध गराउनु पर्ने धारणा राख्नु भएको थियो । कुश्माकर ढकालको अध्यक्षता सचिव प्रकाश न्यौपानेको संचालन र सह–सचिव रामु भुषालको स्वागतमा कार्यक्रम भएको थियो । कार्यक्रममा आयोजक संस्थाको पनि केही पदाधिकारी तथा अधिकाँश सदस्यहरु उपस्थिति थिएनन् ।