नेपाल पत्रकार महासंघलाई साझा चरित्रको बनाउन माग

नेपाल पत्रकार महासंघलाई साझा चरित्रको बनाउन माग

नवलपरासी – क्रान्तिकारी पत्रकार महासंघका केन्द्रीय महासचिव रवि पाण्डेयले नेपाल पत्रकार महासंघलाई साझा चरित्रको बनाउन माग गर्नुभएको छ ।

उहाँले पेशागत संघसंगठनहरुलाई पेशागत तथा आस्थाका आधारमा समाबेस गर्नुपर्ने बताउदै नेपाल पत्रकार महासंघलाई साझा मञ्चको रुपमा विकास गर्न जरुरी रहेको औल्याउनुभयो ।

शनिवार नेपाल पत्रकार महासंघ नवलपरासी (बसुप)ले आयोजना गरेको संस्था शुद्धीकरण अभियान सम्बन्धि अन्तरक्रिया तथा सम्मान कार्यक्रममा बोल्दै उहाँले पत्रकारिता क्षेत्रमा शुद्धीकरणको अभियान शुरु देखि नै चल्दै आएपनि दोस्रो जनआन्दोलन पछि जनपक्षीयधारका पत्रकारहरुले शुद्धीकरणको माग गर्दै आएको उल्लेख गर्नुभयो । ‘हामी जनपक्षीय पत्रकारहरुलाई वाइसिएल भन्ने गरेर पनि पाखा लगाउने काम गरियो’– विगतको अनुभव सुनाउदै उहाँले भन्नुभयो – ‘त्यो इतिहास बोकेर हामी यहाँ सम्म आएको कुरा नर्बिसियोस् । त्यसैले महासंघलाई मर्यादित र ब्यवसायिक बनाउन शुद्धीकरण आवश्यक छ । तर भेदभाव र जोरजबरजस्ती चल्दैन् । भेदभावले संस्था शुद्धीकरण हुन पनि सक्दैन ।’

उहाँले कुनै पनि राजनैतिक दलको प्रचार तथा प्रकाशन बिभागमा काम गरेकै कारण पत्रकार सदस्यताबाट बन्चित हुन नहुने बताउदै सबै नीतिहरुको मुल नीति राजनीति रहेको प्रति सचेत गराउनुभयो । महासचिव पाण्डेले सबै पेशागत संघसंगठनहरुको महासंघमा सहभागिता आवश्यक रहेकोले नेपाल पत्रकार महासंघलाई साझा बनाउन महासंघको केन्द्रीय समितिको ध्यानाकर्षण समेत गराउनुभयो ।
फरक प्रसंगमा उहाँले क्रान्तिकारी पत्रकार संघको बिराशत बोकेका क्रान्तिकारी पत्रकार महासंघ र क्रान्तिकारी पत्रकार संगठनको एकता सन्देश बोकेर देशैभर जनपक्षीय पत्रकार आउने चर्चा गर्नुभयो ।
कार्यक्रममा सम्बोधन गर्दै नेपाल पत्रकार महासंघका केन्द्रीय महासचिव रोशन पुरीले सदस्यता शुद्धीकरण गर्दा बनाइएको मापदण्डलाई पुर्ण रुपमा कार्यान्वयन गरिने दावी गर्नुभयो । उहाँले पत्रकार महासंघका शाखाहरुले पनि मापदण्डलाई पालना गर्नको लागि आग्रह गर्नुभयो ।
महासचिव पुरीले अन्य पेशा व्यवसायमा रहेका व्यक्तिहरुले पनि पत्रकार महासंघको सदस्यता लिएका कारण शुद्धीकरण आवश्यक परेको भन्दै स्वघोषणा गरी सदस्यता परित्याग गरेका व्यक्तिहरु पुनः पत्रकारीतामा फर्किएको खण्डमा पुरानै सदस्यताको आधारमा सदस्यता प्रदान गर्ने खालको बहस चलाइएको जानकारी गराउनुभयो ।
त्यस्तै कार्यक्रममा नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश महासचिव विक्रम खड्काले महासंघलाई वास्तविक पत्रकारहरुको संगठन बनाउने मुख्य ध्येय रहेको भन्दै शुद्धीकरणको सन्र्दभमा नवलपरासीले राम्रो सन्देश दिएको बताउनुभयो ।
कार्यक्रममा प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य नारायण भण्डारीले अहिले पनि वास्तविक पत्रकारहरुले सदस्यता नपाएको भन्दै शुद्धीकरणमा वास्तविक पत्रकारहरु महासंघबाट बन्चित हुन नहुने बताउनुभयो ।
कार्यक्रममा पत्रकारिता क्षेत्रमा योगदान पुर्याएको र महासंघको सदस्यता स्वघोषित रुपमा त्याग गरेका तारा बर्मा, रेशम शर्मा, उमानाथ शर्मा र कुल प्रसाद शर्मालाई महासंघले सम्मान गरेको हो ।
कार्यक्रममा प्रेस चौतारी नेपाल पश्चिम नवलपरासीका अध्यक्ष मेघराज गौतम, प्रेस युनियन नवलपरासीका अध्यक्ष उमेश वि.क. लगायतले मन्तव्य राख्नुभएको थियो । अन्तरक्रिया कार्यक्रममा शुद्धीकरणको विषयमा सहभागी पत्रकारहरुले विभिन्न प्रश्नहरु समेत राखेका थिए । कार्यक्रम महासंघका शाखा सचिव राजकुमार रेश्मीको संचालनमा भएको थियो ।