
काठमाडौं । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल र नेकपा (मशाल)को पूर्व घोषित कार्यक्रम अनुसार कर्णाली प्रदेशको सदरमुकाम सुर्खेतको विरेन्द्र चोक र प्रदेश ३ को सदरमुकाम हेटौडामा विरोध प्रदर्शनसहितको सभा सम्पन्न गरिएको छ ।

‘भुटानी शरणार्थी प्रकरणका अभियुक्तहरुलाई कारबाही गर, राष्ट्रघाती नागरिकता विधेयक खारेज गर, दलाल संसदीय व्यवस्था मूर्दावाद’सहितका नारासहित विरोध प्रदर्शनमा उत्रिएका दुवै पार्टीका नेता कार्यकर्ताहरुले सुर्खेतको विरेन्द्र चोकमा विरोधसभा सम्पन्न गरेका छन् । विरोधसभालाई नेताहरु दिपकबहादुर शाही र हिमालले सम्बोधन गर्नुभएको थियो ।

विरोधसभाको सञ्चालन क्रान्तिकारी कम्युनिस्ट पार्टीका महाधिवेशन आयोजक समितिका सदस्य कर्ण विसीले गर्नुभएको थियो ।
त्यसैगरी प्रदेश ३ को हेटौडाको बुद्धचोकमा आयोजित विरोध प्रदर्शनसहितको सभालाई क्रान्तिकारी कम्युनिस्ट पार्टीका महाधिवेशन आयोजक कमिटिका सदस्य अशोक शर्मा लगायत मशालका नेताहरुले सम्बोधन गर्नुभएको थियो ।
आज दुवै पार्टीले प्रदेश १ को विराटनगर र सदुरपश्चिम प्रदेशको धनगढीमा विरोध प्रदर्शनसहितको सभाको अयोजना गरिएको छ । दुवै पार्टीले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न भ्रष्ट मानव तस्करहरुलाई कडाभन्दा कडा कारबाही गर्न र राष्ट्रघाती नागरिकता विधेयक खारेज गर्न जोडदार रुपमा माग गर्दै आएको छ ।
































