पोखरा । २०८० जेष्ठ १ गते “मानव तस्कर तथा भ्रष्टाचारीलाई कार्वाही गर”, “राष्ट्रघाती नागरिकता विधेयक खारेज गर” भन्दै क्रान्तिकारी कम्युनिष्ट पार्टी, नेपाल र नेपाल कम्युनिष्ट पार्टी (मशाल) गण्डकी प्रदेशको संयुक्त आयोजनामा पोखरामा बिरोध प्रर्दशन कार्यक्रम सम्पन्न भएको छ ।
नेपाली नागरिकलाई नक्कली भुटानी नागरिक बनाएर अमेरिका पठाउने कार्यमा नेपालका उच्च राजनीतिक नेतृत्वमा रहेका नेताहरुको संलग्नता देखिन थालेपछि त्यसको विरोधमा देशव्यापी विरोध प्रदर्शनहरु भईरहेका छन् । विरोध प्रदर्शनहरुमा सर्वसाधारण जनता, नागरिक समाजका अगुवा, मानव अधिकारकर्मीहरु,पत्रकारहरु,विभिन्न पेशा व्यवसायहरुमा संलग्न ब्यवसायी, उद्योगीहरु लगायतका सर्वसाधारणहरुको व्यापक सहभागिता देखिएको छ । आफ्ना देशका नागरिकलाई विदेशी नागरिक बनाएर विदेश पठाउने कार्यलाई मानव तस्करीको रुपमा ब्याख्या गर्दै प्रदर्शनमा सहभागीहरुले दोषीमाथि कडा भन्दा कडा कानूनी कारवाहीको माग गरेका छन् ।
मोहन वैद्य “किरण” नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल र सन्तबहादुर नेपाली नेतृत्वको नेकपा (मशाल)ले “विदेशी दलालहरु मूर्दावाद, मानव तस्करहरुलाई कारवाही गर, भ्रष्टाचारीहरुलाई कारवाही गर” लगायतका चर्का नाराबाजीका साथ पोखरा महानगर स्थित मुस्ताङ्गचोकबाट सुरु भएको जुलुस शहीदचोकमा पुगी शुरु भएको उक्त विरोध सभामा क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका केन्द्रीय कार्यालय सदस्य रामसिंह श्रीसले अहिलेको दलाल संसदीय व्यवस्था कायम रहेसम्म मुलुकमा दलालीतन्त्र, भ्रष्टाचार, अनियमितता र बेथिति कायमै रहनेभएकाले यो भन्दा राम्रो वैज्ञानिक समाजवादी व्यवस्था स्थापना गर्न वर्तमान दलाल संसदीय व्यवस्था विरुद्ध संघर्ष सरु गरिनु पर्नेमा जोड दिनु भयो।
वाम बुद्धिजीवि एवं वरिष्ठ अधिवक्ता तिलक पराजुलीले नेपाली नागरिकलाई विभिन्न प्रपञ्च गरेर विदेशी नागरिक बनाउने र नेपालको नागरिकता संशोधन गरी विदेशी नागरिकलाई नेपाली नागरिकता दिएर सच्चा नेपालीलाई अल्पमतमा पारेर नेपाली राष्ट्रियता नै सखाप पार्ने षडयन्त्र चलिरहेकाले यस षडयन्त्रका विरुद्ध संघर्षमा उत्रिन आम नेपालीहरुलाई आब्हान गर्नु भयो ।
कार्यक्रममा बोल्ने वक्ताहरुले अहिलेको संसदीय व्यवस्था रहेसम्म यस्ता भ्रष्टाचार, अनियमितता र बेथिति कायमै रहने भएकाले यस व्यवस्था विरुद्ध नै संघर्ष गर्नुपर्नेमा कुरामा जोड दिएका थिए ।
क्रान्तिकारी कम्युनिष्ट पार्टी, नेपालका महाधिवेशन आयोजक समितिका सचिवालय सदस्य, पूर्व नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादीं) का पोलिट ब्यूरो सदस्य एवंम ४ नंम्बर प्रदेश सेक्रेटरी कमरेड केश वहादुर परियारको अध्यक्षतामा सम्पन्न बिरोध कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (मशाल) गण्डकी प्रदेशका प्रवक्ता कमरेड पुष्पलाल श्रेष्ठ, क्रान्तिकारी कम्युनिष्ट पार्टी, नेपालका महाधिवेशन आयोजक समितिका सदस्य, पूर्व नेपाल कम्युनिष्ट पार्टी (बहुमत)का केन्द्रिय सदस्य कमरेड गोकुल पराजुली, बिद्यार्थी नेता गगन परियार लगायतले बोल्नु भएको थियो । कार्यक्रमको सञ्चालन नेपाल कम्युनिष्ट पार्टी (मशाल) गण्डकी प्रदेशका सदस्य कमरेड विक्रम थापाले गर्नु भएको थियो ।