साताको साहित्य ः संस्मरण
दिनहरूको ऐठन
दिउँसोको समय बाहिरी चौरमा डुल्नु, कुँजिएका खुट्टा तन्काउनु, पट्याइलाग्दो समय कटाउनु, जेलभित्रको उपक्रम उही र उस्तै छ । बिहान ६ बजे तागो (मूल ढोका) उघ्रिएपछि खोरका बाख्राहरू निस्किएझैं बाहिर निस्कनु, आफ्नो हिस्सामा परेको कालो चिया चुस्नु, पैसा हुने चियाका अम्मलीहरू सोमे चेपाङ्गको चिया निल्थे । सोमे चेपाङ्ग ज्यान मुद्दामा सजाय कटाईरहेका एउटा जनजातिका छोरा हुन् । अर्को औसरवादी व्यापारी लीले दमाई पनि छन्् । जबरजती करणीको फैसला थापेका जेलको भित्रका नाइके उनी जेलभित्रका सेठ हुन् । चौविसकोठीको महाजनझैं ओछ्यान ओछ्यानमा चिया पु¥याउन भ्याउँथे ।
दश बजेतिर खानाको सिठ्ठी लाग्थ्यो । सिठ्ठी फुक्ने सरोज राई, घर दार्जिलिङ्ग भन्थ्यो । ऊ पनि ज्यान मुद्दाको दोषी । प्रशासनको मान्छे । बडो छुच्चो स्वभाव । सिठ्ठी पछि खानाको लाइन । थाल सङ्ख्या पचास । थुनुवा, बन्दी र कैदी सङ्ख्या एकसय तीस । खाना तीन चरणमा सकिन्छ । खाना भन्नु ढुङ्गा, बालुवा, भुस, कनिका र चामलको बराबर प्रतिशत । पानी बोक्से धाराको । गोरखाली दिदीबहिनीहरूको कपाल, फरिया पखालेको निकाशमा पाइप जोडिएको छ । सफा, स्वच्छ, शुद्ध दाल एक नम्बरको । पचास लिटर पानीमा दुई मुठी बेसार, एकमाना नुन र आधाकिलो मुसुरो घोलिएको बेसार पानी । नाइकेहरूको स्वेच्छा छ ।
हिजो बिहान खाना खाँदै थियौं, एकहुल टाटेहरू जेलभित्र पसे । पुलिस भन्दा हट्टा कट्टा र बलिया देखिने सैनिकको हुल थिए । हामी नजरबन्दका पूर्जीवालालाई ठीक गर्न आएका । क–कसलाई लछार्ने हुन् । पछार्ने हुन् । खसी पार्ने हुन् ?
म निहुरीमुन्टे न हुँदै थालैमा मुख जोतिरहेछु । एक गाँस भातसँग एक घुट्को पानीले धकेल्नु पर्ने गले रोगी । पानीको जर्किनमा देब्रे हात छ । उमेर अड्चालिस् नकाट्दै लङ्गुरे ढेडु जस्तो देखिन्छु । कति छिट्टै बुढो भएछु । म भन्दा पाको दाइ तिल चामले हुनु भएको छैन । दिक्क लागेर आउँछ । घरमा राधाले कर गर्थिन् । नुहाउने, दाह्री काट्ने, तातो पानीको व्यवस्था मिल्थ्यो । जेलभित्र इस् खा । अहिले त हातले दाह्री काट्ने पनि हुँदैन । थरथरी काँप्छ । खेताला खोजेर कति निर्वाह गर्नु यी टाटेपाटेले कसलाई ‘औषधी’ गर्न आए ? मुटु ढुक्क फुल्यो । सास बढ्यो ।
‘ओइ बूढा तँ किन ह्याँ गरेको ?’ जमदारी फूली भिरेको एउटा जँगे बोल्यो । सबै निरुत्तर भात चपाई रहेछन्् । यस्ता प्रश्नहरू पटक पटक सुनिएका बासी हुन् । उत्तर दिएर के को साध्य प्रश्न सुनिन्छ, सहन्छि ।
यो गोरखा जेल । डेढ वर्ष अघि ६ वटी सुरा बहिनीहरूले सुरुङ्ग खनेर युद्ध मोर्चामा पुगे । उनीहरूको त्यो सहास, त्यो धैर्यले विश्वमा विरताको नतिजा कायम भयो । उच्चतामा दह्रियो । हामी ह्याउ नभएका हिनामी । हामीमा त्यस्तो साहस किन उम्रन्थ्यो ।
‘लौ भन् ए बूढा किन मरिस् ?’ मेरा पछाडि ढाँडमा एक लात्तीसँगै उही प्रश्न मूर्तिकृत भयो । ‘मलाई चिठी काटेर डाकिएको हो ।’ मेरो सत्य जवाफ थियो ।
‘वनतिर न मरेर मीठो खान आएको ।’ उही घोचाई एकछिन्पछि बन्दीका कोठाको खान तलासी । ओछ्यान्, तकियाको पोको, ओढेने वर्को । घरि घरिको निगरानी । पालुङ्गटारमा भैंसीले हानेको जोगी सल्यानटार पुगेर भैंसीलाई कुटे जस्तो । मनलागी ओछ्यान चाले, गाली गरे र बाहिर निस्किए । थालमा पस्किएको भात कसैको घाँटिबाट गएन । एकादशीको उपवास जस्तो सबैले छाक छोडे ।
जेलभित्र ‘सल्लाह’ सङ्गठन केही हुँदैन । बचाउनका लागि हामी होईन ‘म’ भाव निर्णायक हुन्छ । जुझारु भाव नास्ति । बरू आत्मसमर्पण पो मौलाउँछ । शायद शंकर घिमिरे, शिव लामिछानेका कारणले होला पार्टीप्रति आस्था होइन कुण्ठा छ, आशा होईन निराशा व्याप्त छ । सोह्रै आना अन्याय हुँदा पनि मौन रहनु र कारागार बन्दीमाथि दमनको आधार बलियो देख्ने सरकारी द्रष्टा । सत्ता बचाउने उल्लासले फौजीकरणलाई दुई हातले मात्र होइन मनषा, कर्मणा, बाचाले स्वागत गरिरहेछन्् । अन्यायको विरुद्ध हामी कोही अघि सर्दैनौ । बोल्यो की पोल्यो । स्वदेश, परदेश जस्तो । साँझ बिहानको सिदा पनि फगत बाँच्नकै लागि हिरिन हालेका छौं । शिक्षकहरूको जमात ठूलो छ के अध्यक्ष । के कोषाध्यक्ष । के प्राध्यापक । के लेखक, के बुद्धिजिवि । के व्यापारी सबै पानीमरुवा । हामी सबै लाछी ।
ज्यान मुद्दा, चोरी डकैती र बलात्कारीका दोषीहरू हामीलाई आतङ्ककारी देख्छन्् । हामीमाथि गर्नु नगर्नु गर्छन् । दाइ नाइके, भाइ नाइके, चौकीदारको निरङ्कुशता । पुलिस प्रशासनमा चुक्ली । हामी रामधुलाई खान्छौं । जेल परेको एक महिनामै कति साथीले कुनै अमुक कार्यालयमा विन्तीपत्र पनि हालियो । शौचालयमा पसेर सही धस्काइयो । आदेश उदेश केही आएन । तातो छारो केही भेटिएन । यस्ता घुँडा टेकुवाहरूले केको आस्थाको गर्व गर्नु । गाईको अनुहारका हामी गोरुहरू । तै बरू ती आई.सी.आर.सी.का प्रतिनिधिहरू जेलमा भेट्न आए । स्वीट्जरल्याण्डका बासिन्दालाई हामीहरूको कत्रो माया । उनीहरूले भेटेर गएपछि थोरै आशा पलाएको छ । जिल्ला सदरमुकामका मानवअधिकारकर्मी भन्नेलाई हाम्रो चासो न चिन्ता । राजधानीमा जस्तो झिनो स्वर यतातिर कस्ले निकाल्नु । कि त चुपचाप… कि त मौन…।
हामी जेल आएर सास फेर्न त पाएका छौं । बिचरा केशरबहादुर, नीरु, बिष्णुहरू हिरासतबाटै गायब भए । यस्ता साथीहरूको फेहरिस्त दुई बीसभन्दा बढी होला । ती निश्चल अनुहार अब सम्झनामा मात्र बाँकी छन्् । केशरबहादुर नेपालीलाई चित्रे पोखरीबाट छोप्राक हुँदै चोरकाटे झार्दा खुट्टा र अनुहार हप्प सुनिएको थियो । सत्ताका चितुवाहरूले मासु लुछे । हाड चपाए । उनीहरूका छिमेकीहरूले मलाम जान पनि पाएनन् ।
अस्ति जस्तै लाग्छ । बिचरी नीरु हिरासतको झ्यालमा बसेर गीत गाइरहन्थिन् । ती शब्दहरू हावामा तरङ्गित भइरहेछन्् । उनको रगतले छेवेटारको ताप्रेघारी मौलायो । त्यहाँ नीरुको मात्र होइन, बिष्णुको, सङ्गीताको, महिन्द्रको र अरूहरूको रगतको आहाल जमेको छ । अब म नीरुकी आमालाई भेट्दा के भन्न सक्छु र ? भीमसेनको शोकमाथि नीरुको शोक । जिन्दगी भरिको रुवाई ।
मारिएकाहरू शहीद भए । इतिहासमा हकदाबी लेखियो । हामी बाँचेका भनिएकाहरू जिउँदै मरिरहेछौं । मलामी दिनका खबर सुनेर बेखबर हुँदै । हामी हुनुको स्वत्व गुमाउँदै । म आगो पचाउन नसकेर चिसिएको मान्छे । सङ्कटकालको असिनाले थला परेको हुतिहारा दिन गनेर थेचिएको छु । सङ्कटकालको स्याँठले गमर्किएको छु, साँपे भएर । दिनमाथि दिनहरूको झापट खाएर ।
गोरखा जेल
२०५९/०४/०६