यूएई र ओमानको दाबेदारी

यूएई र ओमानको दाबेदारी

वैशाख ७, २०८०

काठमाडौँ — यूएई र ओमानले बुधबार एसीसी प्रिमियर कप क्रिकेटमा आफ्नो दाबेदारी प्रस्तुत गरेका छन् । वृत्या अर्विन्द र रोहन मुस्ताफाले शतक बनाएपछि यूएईले कुवेतलाई १ सय ४३ रनले र ओमानले कतारलाई ४० रनले पराजित गर्‍यो ।

कुवेतले टस जितेपछि ब्याटिङमा आएको यूएईले त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा निर्धारित ५० ओभरमा ६ विकेट गुमाई ३ सय ७१ रन बनाएको हो । वृत्याले १ सय ८५ र मुस्ताफाले १ सय १८ रन बनाए ।

पाँचौं ओभरमा २४ रन बनाउँदा ३ विकेट गुमाइसकेको अवस्थामा यी दुईले चौथो विकेटमा २ सय ७५ रनको साझेदारी गरे । ४७ औं ओभरमा मुस्ताफा लेग साइडमा गएको बलमा विकेटकिपरलाई क्याच दिन पुगेपछि यो साझेदारी टुटेको थियो ।

मुस्ताफाले १ सय २५ बल खेली १० चौका र ४ छक्का प्रहार गरे । अन्तिम ओभरमा आउट भएका वृत्याले सानदार १ सय ८५ रन बनाए । वृत्याले १ सय ४७ बल खेली १७ चौका र ९ छक्का प्रहार गरे । आसिफ खानले ९ बलमा २ चौका र ३ छक्का प्रहार गरी ३० रन बनाए ।

कप्तान मोहम्मद वासिम पहिलो ओभरमै ८ रन बनाई आउट भएका थिए । अर्का ओपनर आर्या लकराले खाता खोल्न सकेनन् । रमिज सेहजाद पनि ९ रनमै आउट भएपछि यूएई ठूलो दबाबमा परेको थियो । कुवेतका साहरूख कुडोस र परविन्दर कुमारले २–२ तथा सैयद मोनिबले १ विकेट लिए ।

यूएईको १६ छक्काको तुलनामा कुवेतले पनि १३ छक्का प्रहार गर्‍यो । तर टोली ३६.३ ओभरमा २ सय २८ रनमा अलआउट भयो । नवौं नम्बरमा ब्याटिङ गरेका सैयद मोनिबले ३६ बल खेल्दै ५ चौका र ६ छक्कासहित ६८ रन बनाए । परविन्दरले २६ बलमा १ चौका र ७ छक्कासहित ५३ रन जोडेका थिए । त्यस्तै कप्तान मोहम्मद अस्लाम ३३, उस्माङ्गी इब्राहिम १६ तथा सिराज खान र यासिन पटेल समान १४ रनमा आउट भए । यूएईका जुनाइद सिद्धिकी र कार्थिक मेइयापनले ३–३ विकेट लिए ।

मूलपानी क्रिकेट मैदानमा पहिला ब्याटिङ गरेको ओमानले ८ विकेट गुमाई २ सय ४९ रन बनाएको थियो । आयान खान ६४ रन बनाई अविजित रहे । उनले ५९ बल खेली ५ चौका र १ छक्का प्रहार गरे । कप्तान जेसन मक्सुदले ७१ बल खेली २ चौका र १ छक्कासहित ४१ र सन्दीप गोउडले ३७ बल खेली २ चौका र १ छक्कासहित ३४ रन बनाए । कश्यप प्रजापति १८, जतिन्दर सिंह १६, अकिब इल्यास १७, मोहम्मद नदिम १८, अदिल सफिक १६ रनमा आउट भए । कतारका मोहम्मद उराद र अमिर फारुकले ३–३ तथा इक्रामुल्लाह खानले २ विकेट लिए ।

जवाफमा कतार ४७.२ ओभरमा २ सय ९ रनमै अलआउट भयो । कप्तान मोहम्मद रिजलानले ४३ रन बनाए । उनले ६९ बल खेली ६ चौका प्रहार गरे । खुराम सेहजाद ३०, इमाल लिएङ्गे २७, इक्रामुल्लाह २६ र मोहम्मद तानभिरले १९ रन बनाए । ओमानका बिलाल खानले ४ विकेट लिए । उनले ८.२ ओभरमा ४२ रन खर्चे । जय ओडेड्रा र इल्यासले २–२ विकेट लिए ।