मजदुरसँग महासंघ अभियान : अभिमुखिकरण एवं प्रशिक्षण कार्यक्रम सम्पन्न

मजदुरसँग महासंघ अभियान : अभिमुखिकरण एवं प्रशिक्षण कार्यक्रम सम्पन्न

कुपोन्डोल, ललितपुर । अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ, संगठन विभागले ‘मजदुरसँग महासंघ’ अभियान अभिमुखिकरण एवं प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा केन्द्रीय अभियान दल , प्रदेश अभियान दल र राष्ट्रिय परिषद सदस्यहरुको सहभागिता रहेको थियो ।

अभिमुखिकरण एवं प्रशिक्षण कार्यक्रमलाई प्रशिक्षित गर्दै प्रमुख अतिथि तथा महासंघका अध्यक्ष दिनेश शर्माले क्रान्तिकारी मजदुर आन्दोलनको नेतृत्वका निम्ति संगठनका नेता कार्यकर्ताहरु जुझारु, लाल र निपुर्ण बन्नुपर्नेमा जोड दिनुभयो ।


‘हामी जुन अभियानमा, आन्दोलनमा छौं, यो वर्तमान व्यवस्था र सिङ्गै युग बदल्ने आन्दोलन हो । त्यसका निम्ति हामीले संगठनमा जुझारु, लाल र निपुर्ण नेता कार्यकर्ताहरुको फौज निर्माण गर्नुछ । त्यसप्रकारको फौज निर्माणका निम्ति हामीले हाम्रो अध्ययनमा निरन्तर धार लगाउनुपर्छ, त्यसकारण हामी सबैले अध्ययनमा जोड गरौं, अध्ययन बढाऔं’ उहाँले अगाडि भन्नुभयो, “यससँगै आज संगठनलाई हजारौं नयाँ सदस्यहरूको आवश्यकता छ, वर्तमान र आगामी मजदुर आन्दोलनको कार्यभार पुरा गर्न संगठनमा हजारौं नयाँ सदस्यहरु भर्ती गर्नुपर्छ र तिनीहरुलाई मालेमावादी विचारले प्रशिक्षित र एकताबद्ध गर्नुपर्छ । यो अभियानले त्यहाँ काम गर्नुपर्छ । यससँगै १३४ औं अन्तर्राष्ट्रिय मजदुर आन्दोलन दिवस मई ( १ भव्य र ऐतिहासिक बनाउन मेहनत गर्नुपर्छ । यो मजदुरहरुको अन्तर्राष्ट्रिय उत्सव हो ।’

त्यसैगरी कार्यक्रमलाई प्रशिक्षित गर्दै उपाध्यक्ष इश्वर तिमिल्सिनाले कम्युनिस्ट कार्यकर्ताहरुले मान सम्मान होइन, राजनीति, कर्म र व्यबहारबाट आफुलाई प्रमाणित गर्नुपर्ने स्पष्ट गर्दै सम्पूर्ण नेता कार्यकर्ताले कम्युनिस्ट जीवनशैली अवलम्बन गर्नुपर्ने जोड गर्नुभयो ।

यसैगरी कोषाध्यक्ष कुमार घतानेले नेता कार्यकर्तामा कर्तव्यबोध हुनुपर्नेमा जोड गर्दै संगठनका प्रत्येक सदस्यले कर्तव्यबोध गर्नुपर्ने र जिम्मेवारी पुरा गर्नुपर्ने स्पष्ट गर्नुभयो ।

यस अभियान अन्तरगत महासंघले पाँच लाख मजदुरसम्म पुग्ने, दशहजार मजदुर संगठित गर्ने र एक हजार इकाई निर्माणको लक्ष्य लिएको छ । कार्यक्रमको सञ्चालन महासंघका सचीव रंगवीर दोङले गर्नुभएको थियो ।