एउटा भर्खर निर्मित मञ्च
शोभायमान सजधज
खोजेको छ उत्कृष्ट कलाकार
आज
उचित कलाकार नपाएर
मञ्चले दर्शकको मन जित्न सकेको छैन
दर्शकहरू धारे हात लगाउन थाले
कुर्सीमा हिर्काउन थाले
विद्रोहमा जाग्न थाले
मञ्च देखि भाग्न थाले
स्वयम मञ्च निर्माताको
कुरूप अभिनयले
मञ्चको गरिमा गिर्न थाल्यो
फेरि उहीॅ बुढो कलाकार छिर्न थाल्यो
रङ्ग न ढङ्गको
जसलाई दर्शकहरूले पहिल्यै लखेटेका थिए
ए दर्शकहरू!
बुढो कलाकारको नाच देखेकै हो
भोगेकै हो
उसको चरण ढोगेकै हो
अहॅ हुॅदैन
यो मञ्च
नयाॅ हुनुपर्छ
अझ सुन्दर
अझ भव्य हुनुपर्छ
दर्शकको मन छुनुपर्छ
सुन्दर नयाॅ मञ्चमा
नयाॅ कलाकार
नयाॅ दृश्य
नयाॅ कथा
नयाॅ अभिनय
लिएर आउनुपर्छ
स्वयं दर्शकहरूबाटै
नयाॅ कलाकारको जन्म होस्
२०७९ चैत्र २२, काठमाडौं
































