२३ चैत्र हेटौडा ।
सरकारी मिलेमतोमा व्यक्तिको नाममा नाप नक्सा गरिएको हेटौंडा उपमहानगरपालिका वडा न. १५ भोर्ले स्थित सुकुम्बासी वस्तीमा रहेको जग्गा सुकुम्बासी समुदायको व्यापक उपस्थितिमा नेकपा (क्रान्तिकारी माओवादी) र नेकपा (बहुमत)ले एक कार्यक्रम विच कब्जा गरेका छन ।
विगत ४० वर्षदेखि नियमित वसोवार गर्दै आएको सुकुम्बासी वस्तीमा सरकारी मिलेमतोमा टेक बहादुर वलको नाममा नाप नक्सा भएको थाह पाएपछि आक्रोसित सुकुम्बासी र दुई माओवादी पार्टीले उक्त स्थानमा रहेका १, ५ ,३४, २६, ७७, ७४, ६१ र २६७ न कित्ताका जग्गामा पार्टीको झण्डा गाडेर कब्जा गरेको हो । ्
जग्गा कब्जा घोषणा कार्यक्रममा बोल्दै नेकपा( क्रान्तिकारी माओवादी) मकवानपुर जिल्ला सेक्रेटरी दिक्पालले वर्तमान दलाल संसदीय व्यवस्था गरिव किसान र सुकुम्बासीको पक्षमा नभएर मुठ्ठीभर सामन्त, दलाल र नोकरशाहहरुको पक्षमा रहेको कुरा सुकुम्बासी वस्तीमाथिको अहिलेको राज्य आतंकले प्रमाणित गरेको वताउदै सुकुम्बासी समुदायले आफू लामो समयदेखि बसोबास गर्दै आएको यश क्षेत्रमा उनीहरुले विनासर्त अधिकारसहित वसोवासको व्यवस्था नहुन्जेल आफ्नो पार्टी सुकुम्बासीहरुको पक्षमा लडिरहने बताउनु भयो ।
उक्त कार्यक्रममा नेकपा( बहुमत) मकवानपुर जिल्ला संयोजक शक्तिले सुकुम्बासीहरुले बसोवास गर्दै आएको क्षेत्रमा कसैले आक्रमण गर्न आए तिनिहरुको प्रतिकार गर्ने बताउँदै सुकुम्बासी समुदायको समस्या समाधान नभएसम्म आन्दोलन नरोकिने बताउनु भयो ।
जग्गा कब्जा घोषणा कार्यक्रम पछि दुबै पार्टीले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै उक्त जग्गा कब्जामा लिएको बताएका छन । संयुक्त प्रेस विज्ञप्तिमा “सरकारी कर्मचारिको मिलेमतोमा व्यक्तिको नाममा रहेको १, ५, ३४, २६, ७७, ७४, ६१, र २६७ कित्ता न. भित्र वसोवास गर्दै आएका सुकुम्बासीहरुलाई उनीहरु बसोबास गर्दै आएको जमिन विनासर्त उनीहरुकै नाममा उपलब्ध गराउन हुन हामी सम्वन्धित सरोकारवाला पक्षसंग जोडदार माग गर्दै उक्त कार्य पूरा नहुदासम्म सो स्थानमा रहेका सम्पूर्ण कित्ताहरु आजको मितिवाट कब्जा गरिएको जानकारी गराउँदछौ,“ भनिएको छ ।
जग्गा कब्जा कार्यक्रम नेकपा (क्रान्तिकारी माओवादी) केन्द्रीय सदस्य तथा मकवानपुर जिल्ला इन्चार्ज अशोक शर्मा र नेकपा (बहुमत) केन्द्रीय सदस्य तथा मकवानपुर जिल्ला इन्चार्ज ध्रुव खड्का सहित सुकुम्बासी समुदायको व्यापक उपस्थित र चर्काे नारावाजी विच सम्पन्न भएको थियो ।