जितपुरसिमरा गोल्डकप : हिमालयन शेर्पा फाइनलमा

जितपुरसिमरा गोल्डकप : हिमालयन शेर्पा फाइनलमा

चैत्र १६, २०७९

बारा — सिमरामा जारी जगदम्बा स्टिल १३ औं जितपुरसिमरा गोल्डकप अन्तर्गत बुधबार भएको खेलमा मकवानपुर ११ हेटौंडालाई ३–० ले स्तब्ध पार्दै हिमालयन शेर्पा क्लब फाइनलमा प्रवेश गरेको छ । उपाधि जित्ने होडमा दुवै टिमबीच भएको रोचक प्रतिस्पर्धामा शेर्पा उपाधि नजिक पुग्न सफल भएको हो ।

सुन्तला रंगको जर्सीमा शेर्पा र निलो रंगको जर्सीमा मकवानपुरका खेलाडी
सिमरा रंशालामा सम्पन्न पहिलो सेमिफाइनलमा मकवानपुरविरुद्ध आक्रामक प्रस्तुत हुँदै एक दशकपछि हिमालयन शेर्पा फाइनलमा प्रवेश गर्‍यो । २०६७ मा सम्पन्न प्रतियोगिताको दोस्रो संस्करणको उपाधि जितेको २०६९ को चौथो सिमरा गोल्डकपमा उपविजेता बनेको थियो । सिमरा रंशालामा हरेक संस्करणमा सहभागिता जनाउँदै आएको शेर्पाले दशक पछि तेस्रो पटक फाइनल यात्रा तय गर्न सफल भएको हो ।

हिमालयन शेर्पाले खेलको २९ औं मिनटमा सुशील राईको गोलबाट अग्रता लिएर फाइनल प्रवेशको अवसर सदुपयोग गर्‍यो । अब्योमीको पासमा सुशीलले पेनाल्टी एरियाबाट गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । शेर्पाको डिएरियाबाट बल खोस्दै काउन्टर मूभ बनाएका अब्योमी र सुशीलको आपसी तालमेलमा पहिलो हाफमा शेर्पाको अग्रता सम्भव भएको थियो ।

हिमालयन शेर्पाको जितमा निशान लिम्बू म्यान अफ द म्याच बने । खेलको ७४ औं मिनटमा कप्तान विश्वास श्रेष्ठको ठाउँमा मैदान प्रवेश गरेका निशानले दनादन दुई गोल गरेर टिमको जीतलाई उचाइमा पुर्‍याउँदै फाइनल प्रवेशको अवसर जुरायो । उनैको गोलले टिम उपाधि नजिक पुग्न पक्कापक्की भयो ।

खेलको ८७ औं मिनटमा मिलन राईको पासलाई गोलमा परिणत गर्दै निशान लिम्बूले हिमालयन शेर्पाको अग्रता दोब्बर बनाए । डिबक्सभित्र मकवानपुरका डिफेन्डरले क्लिएर गर्न नसकेको बल खोस्दै मिलनले निशानलाई सुन्दर पास उपलव्ध गराएका थिए । खेलको ७४ औं मिनटमा खामिर गिल्सनको ठाउँमा मैदान प्रवेश गरेका मिलन राईले उत्कृष्ट प्रदर्शन गरेका थिए ।
खेलको अन्तिम समयमा निशान लिम्बूको व्यक्तिगत दोस्रो गोलबाट हिमालयन शेर्पाले ३–० को जित सुनिश्चित गर्दै फाइनल यात्रा तय गर्‍यो । इन्जुरी समयको चौथो मिनटमा हिमालयन शेर्पाका मिलन राईको पासमा निशानले अर्को गोल थपे । डिबक्सभित्र डिफेन्डरको गल्तीका कारण मकवानपुरले अन्तिम मिनटमा तेस्रो गोल बेहोर्नु परेको थियो ।

क्वाटरफाइनलमा भरतपुर फुटबल क्लबविरुद्ध आकर्षक खेल प्रदर्शन गरेको मकवानपुर ११ हिमालयन शेर्पाको सामू अलमल देखियो । शेर्पाविरुद्ध मकवानपुरले सम्झन लायक अवसर बनाउन सकेन ।

प्रतियोगिता अन्तर्गत बिहीबार साबिक विजेता न्युरोड टिम एनआरटी र चर्च ब्वाइज युनाइटेडबीच दोस्रो सेमिफाइनल खेल हुनेछ ।

शनिबार हुने फाइनल खेलको प्रमुख अतिथिका रुपमा उप–राष्ट्रपति रामसहायप्रसाद यादव उपस्थित हुने तय भएको आयोजक कमिटीका अध्यक्ष रामचन्द्र लामाले जानकारी दिए ।