चैत्र १५, २०७९
काठमाडौँ — नेपाली राष्ट्रिय टिमले २४ वर्षअघि दशरथ रंगशालामा भएको दक्षिण एसियाली महासंघीय खेलकुद (साफ खेलकुद १९९९) मा भुटानलाई ७–० ले हराएको थियो । नेपाली पुरुष टिमले अन्तर्राष्ट्रिय फुटबलमा हात पारेको सबैभन्दा फराकिलो जित त्यही हो ।
बराबरीको झट्का : प्रधानमन्त्री कप त्रिदेशीय फुटबलमा मंगलबार भुटानविरुद्ध गोलको प्रयासमा नेपाली खेलाडी (नीलो) ।
पछिल्लोपल्ट पाँच वर्षअघि ढाकामा भएको साफ च्याम्पियनसिप (सन् २०१८) को भेटमा पनि नेपालले ४–० को जित पाएको थियो । त्यसैले उत्कृष्ट लयमा नरहेको भए पनि नेपालले प्रधानमन्त्री त्रिदेशीय कपमा मंगलबार भुटानमाथि शतप्रतिशत जित कायमै राख्ने अपेक्षा गरिएको थियो ।
तर, ६ हजार ६ सय ४० दर्शकसामु घरेलु टिम दक्षिण एसियाली फुटबलमा सबैभन्दा कमजोर मानिएको भटानमाथि लगातार १३ औं जित हात पार्न चुक्यो । नतिजामात्रै होइन, प्रदर्शन पनि कुनै पनि हालतमा प्रशंसा गर्न लायक भएन । बल नियन्त्रणमा भुटानी टिम हाबी रह्यो । ४० महिनापछि मैदानमा फर्किएको भुटानी टिमका खेलाडीहरूले नेपालका सेन्टर–ब्याकमा झरेका ‘भर्सटायल फुटबलर’ रोहित चन्द, लेफ्ट–ब्याकमा उत्रिएका विकास खवास र नयाँ राइट–ब्याक सनिश श्रेष्ठलाई सजिलै पन्छाइरहे । विशेषगरी एक घन्टासम्म नेपाल कुनै पनि पोजिसनमा राम्रो देखिएन । डिफेन्स, मिडफिल्डदेखि अग्रपंक्तिसम्मै संघर्षरत रह्यो । पाहुना टिमले बल खेलाउँदा घरेलु टिमले पछ्याइरह्यो ।
सब्स्टिच्युट स्ट्राइकर दीपकराज सिंह ठकुरीले इन्ज्युरी समयमा गोल गरेपछि मात्रै नेपालले खेल १–१ को बराबरी टुंग्याउँदै भुटानसँग पहिलो हार टार्यो । यस नतिजाले भुटानसँग ३९ वर्षको प्रतिद्वन्द्वितामा नेपालको जित शृंखलाले भने १२ खेलमा विश्राम लियो । नेपालमै आएर पहिलोपल्ट हार टारेको भुटान भने प्रतियोगिताको समूह चरणबाटै बाहिरिए पनि शिर उँचो गरेर स्वदेश फर्किने भएको छ । भुटानका प्रशिक्षक पेमा दोर्जीले भने, ‘हामीले पहिला नेपालसँग सबै खेल हारेका थियौं । पहिलोपल्ट बराबरी गरेका छौं । इतिहास बनाएका छौं । जितिराखेको गेम अन्तिममा गोल खाएर जित्न नसक्दा दु:ख त लाग्छ नै । फाइनल पुग्न सकेनौं । अब अर्कोपल्ट बलियो बनेर आउने छौं । इतिहास बनाएकाले हामी शिर उँचो बनाएर फर्कने छौं ।’
समूह चरणको अन्तिम खेलअघि तीनै टिमको फाइनल पुग्ने सम्भावना खुला थियो । प्रतियोगिताको पहिलो खेलमा नेपालले लाओसलाई २–० ले हराएको थियो । त्यसपछि लाओसले भुटानविरुद्ध २–१ को जित रचेको थियो । त्यसैले फाइनल पुग्न भुटानलाई नेपालविरुद्ध ऐतिहासिक जित चाहिएको थियो । तर, खेल बराबरीमै टुंगिएपछि नेपाल र लाओसले शीर्ष दुई स्थान हासिल गर्दै उपाधि होडमा शुक्रबार प्रतिस्पर्धा गर्ने पक्का भयो ।
फेरिएको भुटानी टिम
भुटानी कप्तान चेन्चो ग्याल्सेनले ११ औं मिनेटमा रोहितलाई पन्छाउँदै ‘सिक्स यार्ड बक्स’ नजिक पुर्याएको बल अनन्त तामाङले क्लियर गर्दै नेपालको संकट टारेका थिए । तर, भुटानले अग्रता लिन धेरै कुर्नुपरेन । १९ औं मिनेटमा दावा छिरिङको कर्नरमा तेन्जिन नोर्बुको ‘फ्री हेडर’ मा भुटान १–० अगाडि बढ्यो । कर्नरमा तेन्जिनको चाल नेपाली डिफेन्सले बुझ्नै सकेन । कप्तान एवं गोलकिपर किरण चेम्जोङलाई पनि प्रतिक्रिया जनाउने समय थिएन ।
पहिलो हाफको अन्त्यतिर नेपालले बराबरी गर्ने मौका पाएको थियो । तर, नजिकैबाट सनिशको हेडरमा बल पोस्टमाथि गयो । चोटमुक्त भएर फर्किएका अञ्जन विष्टले दोस्रो हाफको पहिलो मिनेटमै हेडद्वारा प्रहार गरेको बल गोलकिपर छिरिङ धेन्डुपले समाते र यसमा धेन्डुपसँग ठोक्किएपछि अञ्जन फेरि चोट बोक्दै मैदान छाड्न बाध्य भए ।
पहिलो हाफमा साह्रै फितलो देखिएको नेपालले दोस्रो हाफमा खेलाडी परिवर्तनसँगै केही गति लियो । मनीष डाँगी, दीपकपछि ६८ औं मिनेटमा कमल थापा मैदानमा प्रवेश गरेसँगै मिडफिल्डमा घरेलु खेलाडी देखिन थाले, भुटानी पोस्टमा धावा बोल्न सुरु गरे । दीपकले पोस्टमा गोलकिपरमात्रै रहेको अवस्थामा ७० औं मिनेटमा हानेको बल पोस्टमाथि गयो । नेपालले बराबरी गर्ने अर्को अवसर ७७ औं मिनेटमा गुमायो । मनीषले पोस्टनजिकबाट ‘सेकेन्ड बार’ च्याप्दै सशक्त रूपमा प्रहार गरेको बल बाहिरिएको थियो ।
नेपाली टिम गोलको खोजीमा हतारिँदै गयो । गोलकिपर किरण आफैं कर्नरमा गोल प्रयासमा विपक्षीको पेनाल्टी क्षेत्रमै पुगेका थिए । भुटानी खेलाडीहरू थकित देखिन थाले । पाहुनाको गति घट्दै गयो । ठीक यही बेला पाएको कर्नरमा निशान खड्काले बल प्रहार गरे, जसमा अनन्तले मिलाइदिएको बललाई सिक्स यार्ड बक्समा ‘अनमार्क’ रहेका दीपकले हेडर गोल गर्दै ९१ औं मिनेट ९इन्ज्युरी समय० मा नेपाललाई १–१ को बराबरीमा पुर्याए । लाओसविरुद्ध २–० को जितबाट राष्ट्रिय टिममा डेब्यु गरेका दीपकको पहिलो अन्तर्राष्ट्रिय गोल हो यो । सातदोबाटो युवा क्लबका यी स्ट्राइकर जारी सहिद स्मारक ‘ए’ डिभिजन लिगमा ५ खेलमा ४ गोल गरेपछि राष्ट्रिय टिमका नयाँ प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसले प्रधानमन्त्री कपको लागि बोलाएका थिए । उनले अन्तिम मुभमा पनि मनीषको पासमा बललाई जाली चुमाएका थिए तर सहायक रेफ्रीले अफसाइड करार गरिदिए ।
नेपाली खेलाडीले गोलसंख्या वृद्धि गर्ने र टिमले ठूलो अन्तरको जित निकालेर आत्मविश्वास बढाउने प्रतिस्पर्धीको रूपमा भुटानको पहिचान बनेको थियो । भुटानविरुद्ध प्रदर्शन र नतिजा दुवैमा नेपाली टिम सधैं हाबी हुने गरेको थियो । तर, प्रधानमन्त्री कपको नतिजा र प्रदर्शनले विल्कुलै फरक देखाइदियो । नेपालीभन्दा राम्रो खेल पस्कन सक्ने टिमका रूपमा भुटानले आफूलाई साबित गरिदियो । खेलाडी पलायनले संक्रमणकालमा धकेलिएको नेपाली टिममा भने साफ च्याम्पियनसिप २०२३ अघि लयमा फर्किन आमूल परिवर्तन र आकाश–जमिनको सुधार आवश्यक देखिएको छ ।
सकारात्मक सोच्न आग्रह
‘सँगै खेलेका धेरै खेलाडी अस्ट्रेलिया गएको असर परेको छ नै,’ नेपालका कप्तान किरण चेम्जोङले भने, ‘अहिले धेरै खेलाडी नयाँ छन् । उनीहरूसँग राम्रो समन्वय बनाएर राम्रो टिममा रूपान्तरण हुनका लागि हामीलाई समय लाग्छ । प्रतियोगितालाई तयारीको समय थोरै भयो वा नयाँ प्रशिक्षकका कारण यस्तो भयो भन्न मिल्दैन । पूरा टिमले दुई दिनमात्रै प्रशिक्षण गरेको छ । त्यसैले नकारात्मक होइन, सकारात्मक सोचिदिनुहोला । हामी देशका लागि राम्रो गर्न चाहन्छौं ।’
तेन्जिनको हेडरबाहेक किरणले अर्को चुनौती सामना गर्नुपरेन । आई लिग च्याम्पियन क्लब राउन्डग्लास पन्जाबमा उनका सहकर्मी चेन्चो पनि गोल गर्न र राम्रो प्रभाव देखाउन असफल रहे । भुटानविरुद्ध जितको शृंखलामा लागेको ‘ब्रेक’ बारे किरणले भने, ‘पहिलो हाफमा हामी ओभर कन्फिडेन्ट भयौं कि १’
पहिलो जिम्मेवारीमै प्रधानमन्त्री कपमा नेपाली टिम सम्हालेका इटालियन प्रशिक्षक एनेस भने पोस्टम्याच कन्फ्रेन्समा अलि रुखो सुनिए, ‘यो खेल सकियो । हामी फाइनलमा पुगिसक्यौं । टिम र देशको राम्रोका लागि हामी सबैले सकारात्मक सोच्नुपर्छ । भुटानविरुद्ध पहिलोपल्ट बराबरी खेलेको कुरा गर्दा हामीले लाओसविरुद्ध नियमित समयमा पहिलो जित पनि हात पारेका थियौं । त्यसबारे प्रश्न किन गरेनौं रु’ उनले अगाडि भने, ‘गल्तीहरू भएको छ, त्यसको मूल्य चुकाएका छौं । हामीले बल पोजेसनदेखि सबै पोजिसनमा सुधार गर्नुपर्छ ।’ खेलाडीको अस्ट्रेलिया पलायनले असर गरेको पनि उनले सुनाए ।