आन्दोलनरत मिटरब्याज पीडितहरु धेरैजसो बिरामी परेपछि आज आराम गर्ने

आन्दोलनरत मिटरब्याज पीडितहरु धेरैजसो बिरामी परेपछि आज आराम गर्ने

काठमाडौं । महोत्तरीको बर्दिवासबाट हिँडेरै काठमाण्डौ आएका मिटरब्याज पीडितहरु बिरामी पर्न थालेका छन् । ११ दिन पैदल हिँडेर आएका उनीहरु थकित भएका छन् । धेरैजसो चिसोका कारण बिरामी परेका छन् ।

धेरैजसोको घाँटी दुखेको छ भने हातखुट्टा र अनुहार सुन्निएको छ । हिजो मिटरब्याजीविरुद्ध धर्ना र प्रदर्शन गरे पनि धेरैजसो बिरामी भएकाले आज आराम गर्ने मिटरब्याजविरुद्धको संघर्ष समितिका संयोजक मनोजकुमार पासवानले जानकारी दिनुभयो । उहाँका अनुसार लगातारको हिँडाइले धेरैजसो थकित भएका छन् भने तराईको गर्मीमा हुर्किएका उनीहरुलाई काठमाडौंको चिसोले पनि छोएको छ ।

गएको २ गते बर्दिबासबाट हिँडेका उनीहरुमध्ये धेरैजसो खाली खुट्टै काठमाण्डौ आइपुगेका छन् । गएको आइतबार मातातीर्थमा बसेका उनीहरु अस्ति सोमबार खुलाजञ्चमा बस्ने तयारी गरेका थिए । तर काठमाण्डौ महानगरपालिकाले खुलामञ्चमा छिर्न नदिए पछि उनीहरुले चिसो सडकमै रात बिताएका थिए ।

मिटरब्याजपीडितहरु अहिले अनामनगरको तमु बौद्धमा बसेका छन् । यस्तै, सरकारले मिटरव्याजलाई अपराधको रुपमा ब्याख्या गर्नेगरी कानुन संशोधन गर्ने निर्णय गरेको छ । पीडितहरुले प्रधानमन्त्रीलाई भेटेर आफ्नो समस्या सुनाउने प्रयास गरे पनि प्रधानमन्त्री प्रचण्डले समय दिएका छैनन् ।