फाल्गुन २८, २०७९
पेरिस — केलियन एमबापेले खेलको अन्त्यतिर गरेको गोलको मद्दतले पेरिस सेन्ट जर्मेन (पीएसजी) ले शनिबार फ्रान्सेली लिग वानमा ब्रेस्टलाई २–१ ले हराएको छ । बायर्न म्युनिकसँग पराजित हुँदै युरोपेली च्याम्पियन्स लिगबाट बाहिरिएयता पीएसजीका लागि यो राहतपूर्ण जित भएको छ ।
कतारी स्वामित्वमा रहेको पीएसजीले यस सिजन अब यसै लिग उपाधिका लागि मात्र आफ्नो चुनौती पेस गर्नेछ । ब्रिटानीमा भएको खेलमा पीएसजीले कार्लोस सोलेरको गोलले अग्रता लिएको थियो ।
तर रेलिगेसनबाट बच्न संघर्षरत ब्रेस्टका लागि फ्रान्क होनोरटले बराबरी गोल फर्काए । त्यसपछि एमबापेले निर्णायक गोल गरेका हुन् । यो जितपछि पीएसजीले लिग तालिकाको शीर्ष स्थानमा ११ अंकको अग्रता बनाएको छ ।





























