क्रान्तिकारी माओवादीसहित तीन माओवादी घटक पत्रकार सम्मेलनमा सहभागी भएनन्

क्रान्तिकारी माओवादीसहित तीन माओवादी घटक पत्रकार सम्मेलनमा सहभागी भएनन्

काठमाडौं । जनयुद्धकालीन मुद्दालाई नियमित अदालतमा प्रवेश गराएर सिंगो जनुद्धलाई नै अपराधीकरण गर्न खोजेको भन्दै ८ वटा माओवादी घटकहरु एकै ठाउँमा उभिएका थिए । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निवास बालुवाटारमा दुई पटक आठवटै घटकको बैठक बसेर साझा सहमतिको आधारमा सार्वजनिक अपिल तयार पार्ने, २८ गते संयुक्त रुपमा पत्रकार सम्मेलन गर्ने र ३० गते संयुक्त रुपमा अन्तरक्रिया गर्ने सहमति कायम गरिएको थियो । तर प्रधानमन्त्री समेत रहेको माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले साझा सहमति विपरीत छुट्टै अपिल तयार पारेपछि २८ गते (आइतबार) गर्ने भनिएको संयुक्त पत्रकार सम्मेलनमा नेकपा (क्रान्तिकारी माओवादी)सहित तीनवटा माओवादी घटकले पत्रकार सम्मेलनमा सहभागी नहुने निर्णय गरेको नेकपा (क्रान्तिकारी माओवादी)का बरिष्ठ नेता सिपी गजुरेल गौरवले जानकारी दिनुभयो ।
उहाँले दिएको जानकारी अनुसार साझा सहमतिको आधारमा तयार पारिएको अपिललाई एकातिर थन्क्याएर प्रचण्डले छुट्टै अपिल तयार पारेपछि मोहन वैद्य किरण नेताृत्वको नेकपा (क्रान्तिकारी माओवादी), धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा (बहुमत) र गोपाल किराती नेतृत्वको माओवादी कम्युनिस्ट पार्टी नेपालले पत्रकार सम्मेलनमा सहभागी नहुने निर्णय गरेका हुन् ।

संयुक्त रुपमा गर्ने भनिएको ३० गतेको अन्तरक्रिया कार्यक्रम समेत प्रचण्डहरुले नगराउने सोच बनाएपछि क्रान्तिकारी माओवादीसहित तीन पार्टीले भने ३० गते नै जनयुद्धकालीन मुद्दाकै विषयलाई लिएर अन्तरक्रिया गर्ने समेत समझदारी बनाएको नेता गजुरेलले जानकारी दिनुयभो ।