फाल्गुन २५, २०७९
काठमाडौँ — नेपालले क्रिकेट विश्वकप लिग २ मा पपुवा न्यु गिनीविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ । पपुवा न्यु गिनीले बिहीबार टस जितेपछि त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा नेपाललाई ब्याटिङका लागि बोलाएको हो ।
कुशल भुर्तेल नेपाली टोलीमा फर्किएका छन् । उनलाई प्रतिश जिसीको स्थानमा प्लेइङ ११ मा राखिएको छ । ग्रोइन इन्जुरीका कारण उनले सोमबार दुबईमा यूएईविरुद्ध लिग २ को अन्तिम खेल गुमाएका थिए ।
कुशल मल्लको उत्कृष्ट फर्म नेपाललाई गएको एक महिना यता बोनस बन्दै आएको छ । गत महिना नामिबिया र स्कटल्यान्डविरुद्धको लिग २ को शृंखलाबाट राष्ट्रिय टोलीमा फर्किएका कुशलले ८ खेलमा ४१ माथिको औषतमा २ सय ९३ रन बनाएका छन् । देब्र हाते बलिङबाट उनले प्रभावकारी अलराउन्डरको भूमिकामा आफूलाई स्थापित गरिरहेका छन् ।
सन् २०१८ को विश्वकप छनोटमा पपुवा न्यु गिनीलाई पराजित गर्दै नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता प्राप्त गरेको थियो । त्यही पपुवा न्यु गिनीविरुद्धको दुई खेल जितेमा नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय मान्यतालाई कायम राख्ने छ ।
तर नेपालको लक्ष्य शीर्ष तीनभित्र पर्नु रहेको छ । नेपालले लिग २ मा आफ्नो नवौं र अन्तिम शृंखलामा यूएई र पपुवा न्यु गिनीविरुद्ध २–२ गरि चार खेल खेल्दै छ । यी सबै चार खेल जितेमा नेपाल लिग २ को शीर्ष ३ राष्ट्र बन्दै जिम्बावेमा हुने विश्वकप छनोटमा पुग्ने छ ।
लिग २ का शीर्ष ३ राष्ट्र विश्वकप छनोटमा र शीर्ष ५ राष्ट्रले एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता जोगाउने प्रावधान रहेको छ । सात राष्ट्र सहभागी लिग २ को अंक तालिकामा छैटौं र सातौं हुने टोली सुपर लिगको प्लेअफमा झर्नेछन् ।
स्कटल्यान्ड ५०, ओमान ४४, नामिबिया ३९ र अमेरिका ३९ अंकका साथ पहिलो चार स्थानमा छन् । यी टोलीले आफ्नो सबै ३६ खेल खेलिसकेका छन् । नेपाल ३२ खेलमा ३२ अंकका साथ पाँचौं, यूएई ३१ अंकका साथ छैटौं र पपुवा न्यु गिनी ९ अंकका साथ सातौं स्थानमा छ । यूएई पुछारमा रहने निश्चित भइसकेको छ ।
अघिल्लो साता दुबईमा नेपालले पपुवा न्यु गिनीविरुद्ध लिग २ को दुवै खेल जितेको थियो । कुशल भुर्तेलको अर्धशतकमा नेपालले पहिलो खेलमा ४ विकेटको विजय हात पारेको थियो भने आसिफ शेखले अविजित ८६ रन बनाएपछि नेपालले दोस्रो खेलमा ३ विकेटको जित निकालेको थियो ।
तर गत वर्ष मार्चमै पपुवा न्यु गिनीविरुद्ध घरेलु मैदानमा खेलिएको द्विपक्षीय शृंखलाको दुवै खेलमा नेपाल पराजित रहेको थियो । पपुवा न्यु गिनीले पहिलो खेलमा नेपाललाई ६ रनले र दोस्रो खेलमा ३ विकेटले पराजित गरेको थियो ।





























